यसरी खोसियो बर, पिपल र तुलसीसँग सार्कीसँगको साइनो

          |   प्रकाशित मितिः शनिबार, बैशाख २७, २०७७     ::: 139 पटक पढिएको   |  

डिवी नेपाली– कर्नाली प्रदेशको जुम्ला जिल्लाको साविकको कुडारी गाविसमा रहेको सराक पहाडलाई नेपालका अनादिकालीन मुलवासी सार्की जातिको उद्गमस्थलको रूपमा मानिएको छ । सराक, साराक शब्दको अपभ्रंश हुँदै सार्की नामकरण भएको मानिन्छ । साबर (रसा युनिकलर) हिमालयको दक्षिणी ढालमा पाइने मृग हो । चर्चित दैलेखी जुत्ता यसैबाट बन्छ । सार्की जाति चर्मशास्त्र र छालाजन्य कलाका आविष्कारक हुन् ।

महेशचन्द्र रेग्मीको अ स्टडी इन नेप्लिज इकोनोमिक हिस्ट्रीका अनुसार छालाको काम गर्नेले सैन्य अस्त्रका लागि छाला र नगद कर तिर्ने गर्थे । सन् १९७८ मा युएनडिपीले गरेकोे एक अध्ययनअनुसार नेपालले आर्थिक वर्ष सन् १९७६/७७ मा कूल निर्यातको करिब १५ प्रतिशत छालाले मात्रै ओगटेको देखाइएको छ ।

जो शिल्प (मानव) सभ्यतासँग सम्बन्धित रहेको छ । विश्लेषक/लेखक सौरभका अनुसार सार्की शब्द तिब्बतको साँर्याकबाट आएको भन्ने भनाईलाई मान्ने हो भने तिब्बती प्रभावलाई मान्नुपर्ने हुन्छ ।

शिल्पी पहिचान २०७६, पुस्तकका अनुसार हिमाल/पहाडका उत्पीडित समुदाय मुलतः अनार्य मंगोल/किराँत, द्रविड र खस तीन नश्रलको मिश्रित जातीय समूहबाट विकास भएको पाइन्छ । यसमा सबैभन्दा बढी मंगोल रक्त मिश्रण भएको समुदाय सार्की समुदायमा रहेको देखिन्छ । उनीहरूको शारीरिक बनावट र जिउडालले पनि मंगोल मुलको प्रमाणित गर्दछ ।

मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सार्की समुदायको जातीय नामबाट दर्जनौं कोट, किल्ला र गढीको नामकरण गरिएको पाइन्छ । यसले उनीहरूको परापूर्व कालमा राजा र राज्य रहेको पृष्टि हुन्छ ।बिडम्बना शासक पक्षधर लेखक र इतिहासकारले यो गौरवशाली इतिहास लेख्नुभन्दा मेटाउनमै व्यस्त रहे । तर, भूमिको अस्तित्व रहुञ्जेल इतिहासमा नलेखे पनि अहिले तथ्य प्रमाणको रूपमा भौलिक प्रमाण जिवितै रहेको पाइन्छ ।

सरकारी स्वामित्वमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको अध्ययनका अनुसार बनस्पति पर्यावरण सन्तुलन र आफन्तको मृत्युको सम्झनामा मृतकको घरभन्दा ५/६ सय मिटर टाढा बरपिपल र तुलसी रोप्ने चलनसमेत सार्की समुदायकै जातीय सँस्कृति रहेको उल्लेख छ । पछि मनुको दण्डविधानले शुद्र/अछुतलाई सँस्कार, सँस्कृतिमा पूर्णरूपमा बन्देज लगायो ।

यसै मेसोमा यी समुदायलाई बर, पिपल र तुलसी रोप्न निषेध गरियो । यहि समयबाट सार्कीले रोप्ने बर, पिपल र तुलसीलाई कथित ठूलाबडाले घरआँगनमा रोप्ने थालेको देखिन्छ । म आफैँले पनि ‘बर, पिपल र तुलसी तिमीहरूले रोप्नुहुँदैन’ भन्ने सुनेको हुँ । यसको कारण र परिणाम बल्ल बुझियो ।

शुद्र अछुतसँग भएका गौरवशाली सँस्कृति, सभ्यता खोसेर, लुटेर धार्मिक नीतिले बाँधेर शून्य बनाएपछि अहिले तिमीहरूको के छ र ? भन्ने अवस्थामा पु¥याइएको छ । शिक्षाका ज्ञान र इतिहास लेखन मै लामो खाडल र लिखित तथ्यप्रमाणको अभावमा यी समुदाय आफ्नो गौरवशाली विगतको इतिहासबाट बञ्चित छन् । अझैँ हुने क्रम जारी छ ।

कर्नालीका शिल्पी र दलित समुदायको सामाजिक (साँस्कृतिक सम्पदा रस्थिति विश्लेषण –२०७६) पुस्तकका अनुसार सार्की समुदायको प्रमुख मौलिक चाडको रूपमा बैशाख संक्रान्तिमा घटाल देवताको पूजा गरि मनाउने गरेको उल्लेख गरिएको छ ।

यस अवसरमा आफन्तहरू जम्मा भई एकआपसमा खुशी साटी मिठो मसिनो खाने र नाचगान गर्ने चलन छ । बोका, हाँस, कुखुरा आदिलाई बलि चढाई घटाल देवता खुशी पार्न झाँक्री बसाली पूजा गर्दछन् । भिमसेनका छोरा हेडम्वा पट्टिका छोरा घटोचकन नाम गरेकालाई घटाल देवताको रूपमा मानेर पूजा गर्दछन् । सार्की समुदाय घटाललाई शिवको रूपमा पनि मान्ने गर्दछन् ।

स्मरणीय कुरा के छ भने हिन्दुकरण हुनुअघि शिव अनार्य किराँतीहरूको देवता थिए । कुनै रोगब्याधी, महामारी फैलिए पनि यीनै घटाल बाबाको पुजा गर्ने र पानी नपरेर खडेरी पर्दा पनि पानी माग्ने काममा समेत सार्की समुदाय घटाललाई आफ्नो कुल देवताकै पूजा आराधना गर्ने गर्दछन् । जो हरेक वर्षको वैशाख १ गते पर्दछ ।

१२ औ शताब्दीमा खस साम्राज्यको बिस्तार भएपछि कर्नाली र सुदूरपश्चिम क्षेत्रबाट हिमाल र पहाडका उत्पीडित समुदाय राप्ती र भेरी हुँदै गण्डकीलगायत अन्यत्र बिस्तार भएका थिए । पर्वत मल्लाजका कहरसिंह दमाई (८५) का अनुसार जुम्ला हुँदै भोटबाट आएकोले भेडाँको साँढले कुल पूजा गर्दै आएको बताइन्छ ।

यस तथ्यबाट पनि उत्पीडित समुदाय पृथ्वीनारायण शाहको एकीकरणभन्दा शताब्दीयौ अघि नै नेपालको अन्य भूगोलमा बिस्तार भएको प्रमाणित हुन्छ । पृथ्वीनारायण शाह सँगसँगै अन्य भू–भागमा आएका हुन् भन्ने गलत इतिहास लेखिएको छ । १६६२ ई. देखि सेन वंशीय राज्य विस्तारको अभियान फेरि अठारौं शताब्दीको मध्य (१७४३ ई.) कालदेखि नेपाल एकीकरणलाई पृथ्वीनारायण शाहको नेतृत्वमा शुरू भएको थियोे ।

अर्काे यस क्षेत्रको चर्चित जगन्नाथ देवतासमेत शासकीयकरण गरिनुअघि सार्की समुदायकै पुर्खाहरूले पाएको इतिहासमा उल्लेख गरिएको पाइन्छ । त्यसैगरी कालसी, मसानी, भागेश्वर, निङ्लासैनी, खपर्यालगायत चर्चित देविदेवता समेत उत्पीडित समुदायकै पुर्खाहरूले पाएको प्राचीन मल्लकालीन इतिहास, विभिन्न वंशावली तथा देवी देवताहरूको उत्पत्तिझ पुस्तकमा चर्चा गरिएको छ ।

सार्की समुदायको विशेष पर्वको रूपमा मनाइने कुल घटाल पुजाको एउटा ऐतिहासिक महत्व छ । छुट्टै पहिचान बनाएको यो चाडको विषयमा राज्य बेखवर जस्तै छ । आगामी वर्षमा सार्की समुदायको प्रमुख चाडलाई खुला मञ्चमा आयोजना गर्न सम्बन्धित सरोकारवालाको ध्यान जाओस् ।





Leave a comment

Your email address will not be published.


*