बाढी, पहिरो र चट्याङबाट १९५ जनाको मृत्यु, ५२ बेपत्ता

          |   प्रकाशित मितिः शुक्रबार, साउन २, २०७७     ::: 23 पटक पढिएको   |  

दैलेख साउन २ गते। बैशाख देखि मनसुन शुरु भएपछि शुक्रबारसम्म नेपालमा १९५ जनाको मृत्यु भएको छ। बाढी, पहिरो र चट्याङमा परी तीन महीनाको अवधिमा १९५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

पहिरोबाट सवैभन्दा धेरै १०२ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा लगायत जिल्लामा बढी मानिसको पहिरोमा परी ज्यान गएको छ। विभिन्न स्थानमा पहिरोमा परी ४६ जना बेपत्ता छन्। उनीहरुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायत खोजी कार्यमा छन्।

पहिरोमै परी ८५ जना घाइते भएको प्राधिकरणले जनाएको छ। केही दिन यता अविरल वर्षा नरोकिदा आएको बाढीमा परी ६ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन्।

मनसुन शुरु भएपछि चट्याङबाट ४७ जनाको मृत्यु भएको छ भने १६१ जना घाइते भएका छन्। गएको २४ घण्टामा मात्रै पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार, कास्कीको माछापुछ्रे गाउँपालिका–८ खोरामुखमा घर पछाडिबाट खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। राति सुतेकै समयमा उनीहरुको मृत्यु भएको थियो। सल्यानको कपुरकोट गाउँपालिका–५ मा ढिस्कोमा पुरिएर एक जना घाइते भएका छन्।

जल तथा मौसम विज्ञान विभागले अझै ८ साउनसम्म अविरल वर्षाको संभावना रहेकाले सचेत रहन आग्रह गरेको छ। केही स्थानमा वर्षा भइरहेको र वर्षाको संभावना कायमै रहेकाले सचेत रहन विभागले विज्ञप्ति मार्फत् आग्रह गरेको छ।





Leave a comment

Your email address will not be published.


*