पितृसत्तामा महिलाहरूको धर्म !

          |   प्रकाशित मितिः आइतवार, साउन ११, २०७७     ::: 53 पटक पढिएको   |  

साउन महिना सुरू हुँदा नहुँदै धेरै आमा, दिदी ,बहिनी अर्थात् महिलाहरूका पहेंलो, हरियो रंगका लुगा, चुरा,पोते मेहन्दी लगाएका रंगीन तस्वीरले सामाजिक संजाल भरिए, तस्वीर उमेर पुगेकाहरूका मात्रै आएनन् भर्खर १ वर्ष पुग्दै गरेकादेखि स- साना धेरै छोरीहरूका पनि उस्तै तस्वीर आए।

माथिको ‘ट्रेण्ड’ मा समाहित नहुने र हुन नचाहनेहरूलाई तिमीलाई साउन लागेन भन्ने प्रश्नहरू तेर्सिरहन्छन्।

धेरै नलगाए नि दुवै हातमा एउटा- एउटा चुरा त लगाउनुपर्छ हात रित्तो राख्नुहुँदैन, पूरै रातो नलगाए नि कुनै न कुनै लुगा त रातो हुनुपर्छ, सिन्दुर र पोते पनि लगाउनु पर्छ, महिलाको एउटा ब्रत त हुनुपर्छ भन्ने जस्ता कुराहरू  आवरणमा ख्याल नगर्ने  विवाहित महिलाले जीवनको कुनै न कुनै क्षणमा सुन्नुपरेको हुन्छ नै, महिलाको यस्तो खाले बाहिरी आवरणलाई समाजले विवाहित हुनुको प्रमाण ठान्दै आएको छ।

पढे लेखेकै, शिक्षित मानिएका पछिल्लो पुस्ताका अब्बल हुँ भन्ने केही छोरीहरू पनि साउनको ब्रत होस् वा तीजको ब्रत बसेर श्रीमानको खुट्टाको पानी खाएको र ढोगेका फोटा सामाजिक संजालमा निसंकोच पोष्ट गर्ने गर्छन्।

कुनै पनि पार्टी, विवाह, ब्रतबन्ध, भोजभतेर वा जमघट आदिमा गहना नलगाउनेहरूलाई धेरै नलगाए पनि अलि अलि त लगाउनुपर्छ केही नभएको जस्तो भयो भन्नेहरू बग्रेल्ती भेटिन्छन् मानौं कि उसँग केही छ कि छैन भन्ने आधार उसले लगाउने लुगा र गहना हो।

छोरी जन्माउनकै लागि भनेर त्यस्तो कुनै, तीर्थ, ब्रत, धाम र मन्त्र आजसम्म स्थापित भएको थाहा छैन तर छोरा जन्माउनका लागि भनेर  यति धेरै ब्रत, तीर्थ, धाम र मन्त्रहरू स्थापित भएका छन्।

आज पनि धेरैका लागि छोरा कहर र छोरी रहरको विषय बनेको छ। महिलाहरूले गर्ने अधिकांश तीर्थ, ब्रत र धर्म पुरूष, पति र पुत्रसँगै जोडिएको छ।

छोरा छोरीबीच तुलना गरेर छोरीभन्दा छोरा महत्वपूर्ण हो भन्ने भावना बोकेर त्यस्तै कर्म गर्नेहरू हामीले आफैंमाथि विभेद र अन्याय गरिरहेका छौं।

यस्ता चलन ‘ब्रेक’गर्नु पर्ने बेला छोरा र छोरीको सामाजिकीकरण प्रक्रियामा नै विभेद गरेर छोरीहरूको पुस्तालाई कस्तो शिक्षा हस्तान्तरण  गर्दैछौं र छोरीहरूलाई के सिकाउँदै छौं?

मन्दिर जानु, ब्रत बस्नु, रंग रंगका लुगा लगाउनु, खुट्टाको पानी खानु लगायतका हाम्रा अभ्यास चलेका चलन र संस्कार हुन्,  धर्म त  हुँदै होइन। पतिको सुस्वास्थ्य र दिर्घायूको कामना गर्दै पत्नी भोकै बसिरहँदा स्वयम् पतिलाई भने तामसी भोजन गर्ने छुट पनि यही चलन र संस्कारले दिएको छ।

धर्म त कर्मसँगै जोडिएको हुन्छ जुन फराकिलो र कल्याणकारी हुन्छ, सर्वजन हिताय अर्थात् सबैको, मानिसको मात्रै होइन सम्पूर्ण जगतको हित चाहने धर्मलाई हामीले चलन र संस्कारमा मात्रै सीमित गरिदियौं।

श्रीमानसँगै चितामा जल्नु अर्थात् सति जानु पनि ऊ बेला महिलाको धर्म मानिन्थ्यो भने उसकै लागि भनेर ब्रत बस्नु, उसकै नाममा रातो लुगा लगाउनु, चुरा पोते सिन्दुर लगाउनु र खुट्टाको पानी खानु आज पनि महिलाको धर्म ठान्ने गरिन्छ।

समाजको अधिकांश संख्या एकातिर छ र अर्कातिर एउटा सानो समूह छ र त्यो समूह विस्तारै ठूलो पनि हुँदैछ जसलाई यी कुनै पनि कुराले छुँदैन। बहुसंख्यकको नजरमा अल्पसंख्यक सामान्य लाग्दैनन् असामान्य लाग्छन् र उनीहरूलाई हेर्ने दृष्टिकोण पनि फरक छ।

मन्दिरजस्तो पवित्रस्थल गएर मनलाई थप पवित्र गर्ने हो, मन्दिर, ब्रत, जप,ध्यान, पूजा पाठ आत्मा शुद्धि गर्ने मार्ग हो। आत्मा शुद्धी भयो भनेमात्रै धर्म गर्न सकिन्छ, हामी मन्दिर जान्छौं, पूजा गर्छौं, ब्रत बस्छौं, भाकल गर्छौं , तर मन शुद्ध र पवित्र राख्दैनौं अनि मनको एउटा कुनामा रिस, राग, इर्ष्या,द्वेष,डाह,अहंकार र हत्या, हिंसा जस्ता कुरालाई जीवितै राख्छौं।

अनि धर्म गरेका छौं भन्ने भ्रममा बाँच्छौं। जबकी धर्म र संस्कारले त मान्छेको मनलाई पवित्र र निर्मल बनाउने काम गर्नुपर्ने हो र संस्कारको वास्तविक अर्थ पनि त्यही हो।

वर्तमानमा लुगा गहना र कस्मेटिकको आवरणले सुन्दर मानिने मानक स्थापित भयो।समाजमा देखासिकी र प्रदर्शन गर्ने चलन यति धेरै बढ्यो कि जसले यो बाटो पछ्याउँदैन ऊ अल्पमतमा पर्ने स्थिति सिर्जना भयो, उपभोग्य वस्तुहरूको आयातमा धेरै गुणाले बृद्धि भयो र  फजुल खर्च अत्यधिक बढ्यो, बजार महिलाका पछाडि दौडेको छ र महिलामा नै केन्द्रित छ, महिला केन्द्रित बजारको व्यापार अत्यधिक बढ्दै पनि गएको छ।

 चलन र संस्कार सबै प्रदर्शन केन्द्रित भएका छन्। 

हाम्रो चिन्तन र चिन्ता समानता, स्वतन्त्रता , स्वाभिमान, आत्मसम्मान र सक्षमतातिर भन्दा पनि यतातिरै धेरै  भयो ।

के राम्रो, के नराम्रो भनेर विश्लेषण गर्नेतर्फ नै लागेनौं  र धर्मका नाममा सबै हुबहु धारण गर्ने काम गर्यौं।

ब्रत बस्ने नबस्ने, के लगाउने, के नलगाउने, कस्तो लुगा लगाउने सबै व्यक्तिगत स्वतन्त्रता हुन तर जसरी सोफिया थापाले तीजमा ब्रत नबस्ने र फजुल खर्च नगर्ने गीत गाउँदा उनीमाथि कारबाही गर्ने चेतावनी र मोटरसाइकलमा सवार एक महिलाले लगाएको लुगाका कारण बेहोर्नु परेको मानसिक तनाव र उत्पन्न हिंसाले महिलाका लागि यी विषय आज पनि व्यक्तिगत स्वतन्त्रताभित्र पर्दैनन् र परेका छैनन्।

अनि समाजले निर्धारण गरिदिएको लक्ष्मण रेखाभित्र बसेर ब्रत बस्न मन नलागे नबसे भयो, रंग रंगका लुगा र गहना लगाउन मन नलागे नलगाए भयो, ब्रत बस्ने र लुगा लगाउने व्यक्तिगत स्वतन्त्रता हो भन्छौं , हामीमध्ये नै  धेरैलाई मन पर्दैन यस्ता तर्क। किनकी हामी यही परिवेशमा अभ्यस्त भइसकेका छौं र यस्तै चलनहरूमा रमाउने बानी परेको छ।

महिलालाई व्यक्तिगत स्वतन्त्रता हुँदो हो त सोफिया थापा र ती महिला कर्मचारीको स्वतन्त्रताको पनि सम्मान हुनुपर्ने होइन र?

महिलाहरू पितृसत्तात्मक समाजले कोरिदिएको रेखाभित्रका काम कुराहरू गर्न स्वतन्त्र छन्, नगर्नका लागि स्वतन्त्र छैनन् र त्यो रेखाभन्दा बाहिर जाने बित्तिकै चौतर्फी आक्रमण सुरू भैहाल्छ।

ब्रत नबस्ने र मन्दिर नजाने छोरी बुहारीहरूलाई समाजले पापी ठहर्याउँछ र श्रीमान र छोराको आयु तथा समृद्धिको लागि कर्म नगरेको ठान्छ। 

साउन होस् वा तीज वा अन्य कुनै दिनमा ब्रत बस्नु र नबस्नुलाई श्रीमानप्रतिको सम्मान र अपमानका रूपमा लिइन्छ। यो दुनियाँमा कुन चाहिँ श्रीमतीलाई र आमालाई नलाग्दो हो कि आफ्नो श्रीमान र सन्तानको आयु लामो होस् र राम्रो होस् भनेर।

समाजमा स्थापित मान्यताहरूलाई आत्मसात नगर्ने र त्यसैमा आफूलाई समाहित नगर्नेहरू र यो बाटोमा नहिँड्नेहरूलाई कतै मैले पापै त गरिनँ भन्ने सोच्ने सम्मको स्थिति बन्छ।

चलिआएका यी चलनहरूलाई आत्मसात नगर्ने र आलोचनात्मक दृष्टिकोणसहित फरक मत राख्नेहरूलाई धर्मप्रति चेष्टा नभएको, घर परिवार र समाज भाँड्न खोजेको आरोप पनि लाग्ने गर्छ।

कुन चलन राम्रो, कुन चलन नराम्रो केही नसोची, केही नछुट्याइ, आफ्नो विवेक प्रयोग नगरी समाजका चलन र संस्कारहरूलाई हुबहु पालना गर्ने छोरी बुहारीहरूलाई आदर्श छोरी बुहारीका रूपमा लिने गर्छ समाजले आज पनि। जबकी चलेका सबै चलन र संस्कार सही हुँदैनन् र तिनलाई समय सापेक्ष परिमार्जित गर्नु आवश्यकता हो र गर्नुपर्छ पनि।

शरीरलाई आवश्यक पर्दाको  अवस्थामा भोकै बसेर हित आफ्नै शरीरलाई हुन्छ होला, आफ्नै मन शुद्ध हुन्छ होला तर श्रीमान, श्रीमती र परिवारको हित र दीगो सम्बन्ध त आर्थिक, पारिवारिक, सामाजिक जिम्मेवारीमा साझेदारी, एक अर्काप्रतिको समर्पण, बुझाइको तह र आपसी समझदारीमा निर्भर रहन्छ। 

धर्म साझा र सबैका लागि एउटै हुनुपर्ने होइन र? धर्मले त विभेद नगर्नु पर्ने होइन र? के महिला, के पुरूष, दुवैको लक्ष्य घर परिवार र आफ्ना आफन्तको कल्याण अनि त्यो भन्दा पर समाज र राष्ट्र समग्रमा जीवन र जगतको कल्याण चाहने र अहित त कसैको पनि नचिताउने होइन र धर्म भनेको।

धर्मको यति ठूलो दायरालाई साँधुरो घेरामा सीमितमात्रै गरेनौं धर्मको मर्म पनि बिर्सियौ र अन्तै कतै बहकियौं पनि र त्यसैलाई धर्म र संस्कार मानेर जसले यस्ता चलन धारण गर्दैनन् तिनीहरूलाई पितृसत्ताले अधर्मी र संस्कारी नभएको रूपमा चित्रित गर्‍यो। सेताेपाटी





Leave a comment

Your email address will not be published.


*