नेपाल महिला संघको स्थापना दिवस : दैलेखमा शुभकामना आदान प्रदान तथा दीप प्रज्वलन

          |   प्रकाशित मितिः शनिबार, साउन २४, २०७७     ::: 171 पटक पढिएको   |  

दैलेख साउन २४ गते ।
नेपाली राजनीतिको पहिलो महिला अधिकारवादी संस्था तथा राजनीतिक सङ्गठन नेपाल महिला संघको ७३ औं स्थापना दिवसको अबसरमा दैलेखमा शुभकामना आदान प्रदान तथा दीप प्रज्वलन गरिएको छ । स्थापना दिवसको अबसरमा नेपाल महिला संघ दैलेखको आयोजनामा नेपाली काँग्रेसको पार्टी कार्यालयमा शुभकामना आदान प्रदान तथा दिपप्रज्वलन गरिएको हो । नेपाल महिला संघको संस्थापक अध्यक्ष महिला नेतृ स्व. मंगलादेवी सिंहको स्मरण गर्दै स्थापना दिवसमा शुभकामना आदान प्रदान तथा दिपप्रज्वलन गरेर मनाईएको नेपाल महिला संघ दैलेखका अध्यक्ष सिताकुमारी रानाले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापा, कोषाध्यक्ष पूर्णबहादुर खत्री लगाएतका नेताहरु, नेपाली काँग्रेस केन्द्रिय महिला विभागका सदस्य निर्मला खड्का, नेपाल महिला संघ दैलेखका नेतृहरु दुर्गा श्रेष्ठ, प्रभा सिजापती लगाएत सहभागि थिए । सोहि अबसरमा नेपाली काँग्रेस केन्द्रिय महिला विभागका सदस्यमा मनोनयन हुनुभएको निर्मला खड्कालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल महिला संघ दैलेखका अध्यक्ष सिताकुमारी रानाले महिला संघले नेपालका विभिन्न राजनीतिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरी गौरवशाली ऐतिहासिक जिम्मेवारी वहन गर्दैै आएको बताउनुभयो । उहाँले नेपाली महिलाहरु कुनै पनि क्षेत्रमा कमजोर नभएको उल्लेख गर्नुभयो ।
प्रजातान्त्रिक, लोकतान्त्रिक तथा गणतान्त्रिक राज्य व्यवस्था एवं मूल्य पद्धतिको स्थापनाको लागि महिला नेतृ स्व. मंगलादेवी सिंहको सकृयतामा वि.सं. २००४ सालमा नेपाल महिला संघको स्थापना भएको थियो । २००४ साल श्रावण २४ गते तदनुसार १९४७ अगष्ट ८ का दिन मंगलादेवी सिंहको सक्रियतामा भेडासिंस्थित चिनियालाल श्रेष्ठको घरमा भूमिगत रुपमा महिला भेला भई मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो ।
नेपाल महिला संघले यसैलाई आफ्नो स्थापनाको मिति मान्दै आएको छ । महिला अधिकार तथा महिलावादमा केन्द्रित राजनीतिक संगठन स्थापना भएको यो दिनलाई नै राजनीतिमा नेपाली महिलाहरुको प्रवेशका लागि कोषेढुङ्गा तथा आधारस्तम्भका रुपमा लिन सकिन्छ ।





Leave a comment

Your email address will not be published.


*