गोठ भत्काइए, मानसिकता भत्किएन

          |   प्रकाशित मितिः बुधबार, साउन २८, २०७७     ::: 37 पटक पढिएको   |  
मानमति पन्त

मानमति पन्त – नियालिरहेकी छु भत्काइएका गोठहरुलाई। अनि सम्झिरहेकी छु, सुदूरपश्चिम र मध्यपश्चिका पहाडी भेगमा रहेको कुप्रथालाई, एक हिसाबले भन्ने हो भने मेरो जननीलाई। छाउपडी प्रथा मान्ने समुदायकी छोरी बुहारीलाई। छोइ छिटोमा पवित्र हुने समुदायमा हुर्केकी हजुरआमा, आमा र आज आएर म लगायत अरु यही समुदायमा हाम्रा पूर्खाले मान्दै आएको संस्कार छुई भए पर सर्नुमा साथ दिइरहेको छु।

गोठ भत्काउदा छाउपडी प्रथा नै हट्छ भन्ने मानसिकता बोकेका ती सरकारी, गैरसरकारी निकाय र महिला अधिकारकर्मीलाई सोध्न मन छ। आजभोलि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी भेगमा छुई भएपछि महिलामा गरिने व्यवहारमा फरक आयो कि आएन भनेर? छाउगोठ नहोला तर व्यवहारमा फरक ल्याएका छौँ भनेर भन्न सक्ने अवस्था भने अझै आएको देख्दिनँ।

किनकी जबदेखि मैले मेरो घर समाजमा छाउ भएकी महिलामा गरिने व्यवहार देखेकी छु अहिले पनि कुनै फरक पाउन सकिनँ। हिन्दु धर्मका धेरै समुदायहरुमा छाउपडी प्रथा मान्ने गरिन्छ तर तिनका सीमाहरुमा भने व्यापक विभिन्नता पाइन्छ। रजश्वला तथा सुत्केरी भएका बेला छाइछुई गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने आदि धार्मिक अन्धविश्वास रहदै आएको छ। धार्मिक भाषामा महिनावारीलाई मासिक धर्म हो भनेका छन् रे।

सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, कन्चनपुर, कैलाली र कर्णाली अञ्चल लगायत दुई दर्जनभन्दा बढी ग्रामिण जिल्लाहरुमा यो प्रथा कायमै छ। महिलाहरुले रजश्वला र सुत्केरी भएका बेला घरमा कुनैपनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास कायम नै छ। त्यसैले यस्तो बेलामा सुत्केरी वा रजश्वला भएकी नारीलाई घरभन्दा केही पर बनाइएको झुपडीमा बस्न लगाइन्थ्यो ।

ती झुपडी त हटाउनु भयो खुसी लाग्यो तर किन व्यवहारमा परिर्वतन ल्याउन सक्नु भएन। हुन त सकुन् पनि कसरी? विचरा ती अधिकारकर्मी यही समाजसँग हातेमालो गर्ने न परे। मलाई गुनासो गर्न मन छ ति छाउगोठ मात्र भत्काउनेहरुलाई भेटेर, अनि तालिमको नाममा शिक्षित नारीलाई सहभागी गराएको देखेर रिस पोख्न मन छ।

छाउपडी कुप्रथा होइन भन्ने मानसिकता किन भत्काउन सकिएन। भत्क्योस् पनि कसरी? बोल्न समेत नजान्ने बालकलाई छुई हो छुन हुन्न, छोइ हाले छाइछिटो हाल्नु पर्छ भन्ने शिक्षा दिने मेरो समाज छ। अनि मेरा गाँउ घरका हजुरबुवा-हजुरआमा र मभन्दा अघिल्लो पिढीका सामाजिक प्राणीहरु छौँ।

छाउ भएको बेला घर भित्र पस्न दिए पनि घरभित्रको काम गर्न नदिने, दुधदहीजस्ता पोषणयुक्त खानेकुरा खान नदिनेजस्ता अमानवीय व्यवहार गर्ने गरिन्छ। जुन बेला महिला कमजोरीको शिकार बनेकी हुन्छिन् अर्थात छुई भएकी हुन्छिन्, त्यो बेला आराम गर्न दिनुको साटो घरबाहिरको गरुङ्गो काम गर्न लगाउने तथा पोषणयुक्त खानेकुराबाट वञ्चित गराइन्छ। अचम्मको कुरा अझ के पनि छ भने छुई हुदाँ बाबा र दाइभाइले नदेख्ने गरी बस्नु पर्ने बाध्यात्मक संस्कार छ।

युवतीहरु एक निश्चित उमेर पुगिसकेपछि महिनावारी हुनु भनेको प्राकृतिक प्रक्रियाको स्वाभाविक नियम भएपनि महिनावारी हुनुलाई धर्म र धार्मिक ग्रन्थसँग जोडी पाप तथा अभिशापका रुपमा परिभाषित गर्दा यसले समाजमा प्रश्रय पाउँदै आएको छ। महिला रजश्वला हुदाँ उ आफ्नो स्वास्थ्यभन्दा पनि धार्मिक संस्कारलाई अंगालेर बस्नुपर्दा महिला भएर जन्मनुमा श्राप हो भनेर स्वीकार गरेर बसेको देख्दा अचम्म लाग्छ।

आज म ती महिलालाई नियाली राखेकी छु जो महिनावारी भएको बेला आफ्नो बगेको रगत लुकाउन सारीको सप्कोको सहारा लिइरहेकी हुन्छिन्। बिचरी ति महिला महिनावारी भएको बेला पुरुष भएको समाजमा बस्न नै नसक्ने गरी रगताम्य भएको देख्छु। त्यति खेर छाउपडी अन्त्यमा सरकारी, गैर-सरकारी तथा अनगिन्ती संस्थाले गरेको करोडौं रकमको खर्च सम्झन्छु। त्यो रकमको ५० प्रतिशत मात्र पनि जनचेतनामा खर्चिएको भए सायद यो अवस्थामा अहिले व्यापक सुधार आइसक्ने थियो।

महिलालाई प्याड प्रयोग गर्दा कुनै पाप लाग्दैन भनेर मात्र सिकाएको भए पनि हुने। छाउपडी प्रथाका लागि सबैभन्दा पहिले पीडित महिलाहरुको जीवनस्तर र चेतनास्तर उठाउने काम पहिलो प्राथमिकतामा राखिनु पर्ने थियो। तर ती महिलाहरुले त्यो सिक्ने अवसर नपाएको सुन्दा डलर खेती गर्ने अभियानकर्ताहरुलाई झल्झलि सम्झन पुग्छु।

छाउपडी जस्ता कुप्रथाहरुमा सुधार ल्याउन शिक्षा तथा जनचेतना सबभन्दा उत्तम उपाय हो। यस क्रममा समुदायलाई नै दोषी मान्नु र जबरजस्ती उनीहरुमा बाहिरी संस्कृतिको प्रभाव पार्न खोजेर यो गर, त्यो नगर भन्नु उचित समाधान होइन। यसको बदलामा उक्त क्षेत्रका मानिसहरुमा शैक्षिकस्तर बढाएर, प्रकृतिको वास्तविकता बुझाएर यस्ता प्रथा र कुरितिहरुलाई विस्तारै कम गर्न सकिन्छ।

नियममा बाधेर हुन्छ वा कडा कानुन बनाएर वा त चेतनाको स्तर बढाएर सबैले मनैदेखि स्वीकार गर्ने अवस्था बनाउनु पर्छ कि महिनावारी पापको बिषय होइन। यसो हुन सक्यो भने मात्र प्रत्येक महिना महिलाले खेप्नु परेको समस्याको अन्त्य हुन सक्छ।





Leave a comment

Your email address will not be published.


*