कसरी भएँ म अशुध्द

          |   प्रकाशित मितिः बिहिबार, भदौ ४, २०७७     ::: 466 पटक पढिएको   |  
सविता बस्नेत (दानी)

सविता बस्नेत (दानी)
झण्डै दुई दशक अघि, साउन भदौ ताका, हाम्रो जन्मस्थल नारेश्वर भोगटेनीको घरमा नास्पाती, आरु असाध्यै फल्थ्यो । सार्है रसिला, अनि मिठा पनि । यो समयमा पहाडि भेगका विध्यालयहरुमा बर्खे बिदा हुन्थ्यो झन्डै २ महिना लामो, धेरै रमाईला हुन्थे ती दिनहरू । हाम्रो बसाइँ गोरखा बजारमा भए पनि जिजुमा (हजुरआमा) भने पुरानै थाकथलो भोगटेनी मै बस्नु हुन्थ्यो । बिदा हुने बित्तिकै हामी जिजुमालाई चाहिने सामान बोकेर कुदि हाल्थ्यौं । मन धितमरुन्जेल फलफूल खान पाईने, पढ्न पनि नपर्ने, बारीको कान्ला–कान्ला हामफाल्न पाइने, खुव रमाइलो हुन्थ्यो । त्यसैले त हामी सबै भाइ बैनि भोगटेनी जान भने पछी हुरुक्कै हुन्थ्यौ । हिउदमा सुन्तला खाने बहाना र बर्खामा नास्पाती, आरु खाने बहानामा हामी भोगटेनी गइरहन्थ्यौं ।
त्यो साल पनि हामी त्यसैगरि गएका थियौं । को को गएका थियौ, त्यो त त्यति याद छैन अहिले । हामी घरजाने भन्थ्यौ नारेश्वर जानलाई । सतिपिपल कटेपछिको बाटो अलि सेपिलो हुन्थ्यो । बर्खामा जुक्का खुबै लाग्ने, हामी केटाकेटी डराई डराई जान्थ्यौ । त्यो साल पनि हामी केही दिन भोगटेनी बसेर फर्केका थियौँ । बजार फर्के पछि मैले मेरो भित्री बस्त्रमा रातो टाटा देखे । सोचे ओहो मलाई त जुक्का ले पो टोकेछ । केही दिन यहि क्रम रह्यो, सोचे जुक्काले टोकेकै कारण यस्तो भयो । सायद २–३ दिन पछि ठिक भयो । सानै थिए ११ बर्ष पनि पूरा भएको थिइन । के भयो, किन भयो, त्यो मेरो चासोको बिषय नै थिएन, खायो खेल्यो, उफ्रियो, यसरी नै दिनहरु बिते । यो कुरा न मैले कसैलाइ भने, न भन्नू पर्छ, भन्ने कुरा दिमागमा नै आयो । यसरी नै दिनहरु बित्दै गए ।
सायद मंसिर लाग्ने बेला तिर थियो, स्कुलमै थिए, फेरि पुरानै घटना दोहरीयो, त्यो पनि मैले थाहै नपाइ । मलाई राम्रोसँग याद छ, त्यो दिन शुक्रबार थियो, स्कुलमा सेतो ड्रेस लगाउनु पथ्र्यो खेल्दै थियौँ, मेरो स्कर्टमा रातो देखेछन् साथीहरुले, मलाई पनि देखाइ दिए, म तर्सिए । सायद त्यो तर्साइ रातो टाटोको भन्दा पनि साथीहरुको कुराले थियो । ‘ओई, तँ त नछुने भईछस’ । म छाँगाबाट खसे जस्तो भए । अनि सम्झे, कसरी खै त मेरो निधारमा रातो टीका ? जिजुमा, फुपुहरु सबैले भनेको सुनेकी थिँए, पहिलो पल्ट नछुने हुँदा (रजश्वला) निधारमा रातो टीका लाग्छ । तर त्यस्तो केही भएन । अलमलै परे कस्ले भनेको मान्ने ? जिजुमा को कुरा कि साथिहरुको ? मलाई त यतिसम्म पनि थाहा थिएन, कि नछुने हुदा रगत बग्छ । म डरले काम्न थाले, अब के गर्ने ? केही बर्ष अघि दिदी पहिलोपटक नछुने हुँदा लुक्न पर्छ भनेर लुकेको, ड्याडी, दाइ, भाईहरुलाई हेर्नु हुदैन भनेर, दिदिलाई सायद भोगटेनीको घर पठाइएको थियो । धेरै दिन नै दिदिलाई लुकाइएको थियो । अहो ! अब म पनि त्यसरी नै लुक्न पर्छ होला । म पनि अब घरमा बस्न पाउँदिन, अन्त कतै बस्नु पर्छ, कति दिन बस्नु पर्छ होला ! ममि, ड्याडी, दिदी, दाई, भाइ कोहि पनि नभएको ठाउँमा जानुपर्छ ।
नछुने के हो, के के हुन्छ, यो पनि त राम्ररी थाहा थिइन, मलाई । पोहोरसाल मामाघर जादा त्यहा ठुल्दिदि नछुने हुनु भाको थियो, कस्तो बेस्सरी पेट दुख्यो भनेर रुदै हुनुहुन्थ्यो । कतै मलाई पनि त्यस्तै हुने होइन तरु लुक्नु पनि १४–१५ दिन नै लुक्न पर्छ कि के हो ।
स्कुलमा फाईनल परीक्षा पनि आउन लागेको थियो । त्यो बेला नयाँ शैक्षिकसत्र माघबाट शुरु हुन्थ्यो । हाम्रो साथी सर्कलमा २–३ जना उस्तै उस्तै उमेरका थियौ । अब के गर्ने भनेर हामी बिच सल्लाह हुन थाल्यो, अनि त्यो बिस्तारै फक्रन थालेका कोपिलाको समुहले निष्कर्ष निकाल्यो ‘अहिले घरमा नभन्ने, फाईनल परीक्षा छ पढाइ बिग्रन्छ ।’ हो, नभन्ने अन्तिम परिक्षालाई नै बढि महत्वपूर्ण मानियो । हामीले जति लुकाउन खोजे तापनि घरमा थाहा भईहाल्यो । मनमा नछुने प्रतिको यति धेरै डर थियो कि बारम्बार घरमा ममि –दिदिले सोध्दा पनि हो भन्ने आँट नै आएको थिएन । मनमा नछुने हुने भनेको अपराधी बन्नु हो, अब सजाय भोग्नु पर्छ भन्ने भावना आइरहेको थियो । बारम्बारको सोधपुछ पछि बल्ल बल्ल अपराधीले अपराध स्वीकारे जस्तो स्विकारेको थिए मैले मेरो मातृत्वको पहिलो खुड्किलो ।
त्यसपछि त धेरै महिनाहरु, बर्षहरु बित्दै गईसके, मेरा मासिकधर्म चक्रहरु आफ्नो ऋतु चक्र अनुसार चल्दै गयो, अझै केहि बर्ष चलि पनि रहने छ । करिब करिब २५–३० बर्षे लामो ऋतु चक्रहरु भोगिरहँदा पनि मेरा मनमा त्यो अबोध बालपन देखि नै उब्जिएको केही प्रश्नहरुको उत्तर अझै पाउन सकेकी छैन । हाम्रो शरिरबाट रगत बग्दा हामी अपबित्र हुन्छौ रे !!! त्यो रगत त हाम्रै शरिरबाट बगेको को हुन्छ नि ! शरीर भित्रै रहदा चाहिँ पवित्र, अनि शरिरबाट बाहिरिदा किन अपवित्ररु यसको मापन के हो ?
ठिक छ रक्तश्राव हुँदा अपवित्र भयो रे, यो पनि मानौ तर यो त रक्तश्राब हुन्जेल हुनुपर्ने होइन र ? परिवार र संस्कृति अनुसार रजश्वला पछि चोखिने दिन पनि फरक फरक पाइन्छ, ४, ५, ६, अथवा ७ दिन । दिन अनुसार चोखिएर गर्न पाईने काम पनि फरक फरक हुन्छ । हरेक दिन बग्ने रगत त एउटै होईन र ? यदि शरिरबाट रगत बग्दा अशुद्ध भैइन्छ भने त बगुन्जेल अशुद्ध हुनु पर्ने होइन र ? चार÷पाँच दिन पछि रगत बगि नै रहे पनि कसरी चोखिन्छ त ? कतिपयलाई त चार÷पाँच दिन पछि पनि रक्तश्राव भै रहन्छ ? त्यहि रगत दुईतिन दिन सम्म बग्दा अशुद्ध, चार÷पाँच दिन पछि चाहिँ कसरी शुद्ध हुन्छ ?
महिनावारीको बेलामा छुन पनि हुदैन रे, त्यसैले नछुने भनिएको रे । विशेष गरि पुरुष, भान्सा, पुजा, खानेकुरा, पानी, यति सम्म कि बोट÷बिरुवा पनि । महिनावारी हुँदा भान्सा छोए बिटुलो हुन्छ रे, अनि ती बारीका बोट विरुवा मर्छन् रे । मैले पनि कति चोटि बोटबिरुवा छोएकी छु, अहिले सम्म कुनै बोट बिरुवा मरेको मलाई याद छैन त । अचम्म लाग्छ, सोच्दा पनि । आखिर कसरी के कारणले रजस्वला भएकी स्त्रीले छँुदा पुरुष बिरामी पर्छ ? अझै कसैलाई त देवता नै आउँछ रे । रजश्वलामा भएकि महिलाले आफ्नी शिशुलाई, चाहे छोरा होस् वा छोरी, दुध पनि ख्वाएकि हुन्छिन । अरु महिलालाई पनि छोएकि हुन्छिन् । उनीहरुको लागि चाँहि यो रगत शुध्द नै हुने हो त ?
आजभोलि पनि म सार्वजनिक यातायातको साधनमा यात्रा गर्दा नछुने भएको महिलासँग एउटै सिटमा कुनै भर्खरका पुरुष वा बाउ उमेरका पाका पुरुषहरु टासिएर बसेको देख्दा, मनमनै सोच्ने गर्छु, अब यी पुरुष घर गएर बिरामी पर्लान कि नपर्लान, घरमा आफ्ना छोरी, बुहारी, श्रीमतीले छुँदा त यिनी पक्कै बिरामी पर्थे होलान् । बिरामी पर्ने पनि थाहा भएर मात्रै रहेछ । यदि साच्चिकै महिलाको रजस्वला हुँदा उनले छुदा कोहि बिरामी पर्ने भए त यी सबै पुरुष बिरामी पर्थे होलान् नि । एकचोटि सबैलाई नियाल्न मन लाग्छ । हरेकदिन चल्ने यस्ता बसमा कति जना नछुने भाका महिलाहरु होलान् । खानेकुरा बोकिएको झोला पनि त होलान् यस्ता बसहरुमा, कतिजनाले त अझै पुजाका सामान पनि बोकेका होलान्, कतै देउताको मुर्ति पनि बोकिएको पनि छ कि ! त्यसो भए हरेकदिन हजारौँ मानिसहरू बिरामी हुनुपर्ने, खै त यहाँ केही भाको देखिदैन ।
होटलमा खाना खाने पुरुष नै हुन्छन् र होटलमा भात पकाउने महिला रजश्वला हुँदा विदा दिने चलन छैन क्यारे । नछुने भएकी होटल साहुनीले पकाएको भात खाएर कति बिरामी भए होलान् है ! घर परिवारमा मात्रै असर गर्ने हो भने यसको कारण के हो मैले मेरी छोरीलाई कसरी बुझाउने ?
स्वास्थ्य विज्ञान अनुसार नछुने हुँदा शरिरबाट बग्ने रगत, सन्तान जन्माउने क्रममा पाठेघरमा अनुकुल वातावरण नबने पछि, बाहिर निस्कने हो । यो क्रम कुनै नारी बच्चा पाँउन योग्य उमेर रहुन्जेल चलिरहन्छ । यसरी निस्कने रगत र शरिरभित्र हुने रगतमा केहि फरक छैन । यसरी निस्कने रगतलाई छुँदा, हेर्दा कोहि पनि बिरामी हुने पनि होईन । बरू यतिबेला मानसिक र शारिरीक तवरले महिला कमजोर भएकी हुन्छिन् नजिकबाट माया र सहयोग पुर्याउनु पर्ने बेलामा छुनु हुदैन भनेर छिः छिः गर्नु महापाप हो ।
रजस्वला नारीत्वको पहिचान, श्रृष्टि धान्ने चक्र हो । यो बिना मानवसंसार चल्दैन, बंश चल्दैन, अनि कसरी यो अपबित्र भयो त । किन हाम्रो सस्कार सस्कृतिले यो प्राकृतिक प्रकृयालाई पापको रुपमा चिनायो । यति बेला जानी नजानी केही छोइएको रहेछ भने क्षमा पुजा गर्न लगायो । किन कलिला नानिहरुको बाल मस्तिष्कमा नछुनेको हाउगुजी पैदा गरायो ? नेपालकै पश्चिमभेगका कतिपय ठाँउमा त छाउपडीको नाममा नारीमा अत्याचार भैरहेको छ, यो रोक्ने कसले ?
आहिले समय धेरै परिवर्तन भै सकेको छ, आजकलको पुस्ताले रजस्वलाको बारेमा धेरै जानकारी हासिल गरि सकेका छन् र पनि किन हाम्रो समाजले हाम्रा छोरीहरुलाई पहिलो पल्ट रजस्वला हुँदा यो प्राकृतिक नियम हो तिमी अब बालिकाबाट बिस्तारै पुर्ण नारी हुने चरणमा प्रवेश गर्यौ बधाई छ भनेर अंगालोमा बेर्न सक्दैनौं ? पहिलो दाँत झर्दा छोरा, छोरीलाई ल तिमी ठुली भयौ भनेर उसलाई उपहार दिन्छौ तर किन छोरीलाई पहिलोपटक नछुने हुँदा लुकाउनको लागि खोपी खोज्दै हिड्छौ ? हामीले यो प्राकृतिक नियमलाई अभिसाप होइन बरदान हो भनेर कहिले कदर गर्न सक्छौ ? रजस्वला हुदा हुने पीडामा छट्पटाइ रहेकी आमा, दिदी, बैनी, छोरी, बुहारीलाई हिड्दा पनि छोइला जस्तो नगरी मायाले सुम्सुमाउन सक्छौ ?





6 Comments on कसरी भएँ म अशुध्द

  1. धीर भण्डारी // August 20, 2020 at 1:49 pm // Reply

    असाध्यै राम्राे विषय । यसलाई अलिकति सांस्कृतिक रूपमा अलिकति मानवीय रूपमा हेर्नुपर्छ । लेखन असाध्यै राम्राे छ । अाजै अर्काे लेख पनि पढेकाे थिएँ, लेखन राम्राे छ । जारी रहाेस् ।

  2. Naresh Thapa // August 21, 2020 at 12:39 pm // Reply

    असाध्य राम्राे लेख, मर्यादित महिनावारी वनाउन सवैलाइ सचेत गराउन

Leave a comment

Your email address will not be published.


*