तीजको व्रत र मौलिकता

          |   प्रकाशित मितिः शुक्रबार, भदौ ५, २०७७     ::: 73 पटक पढिएको   |  

यस लोकमा आवश्यक पर्ने सुख शान्ति एवं ऐश्वर्य उपभोग आदि प्राप्त गर्नु र परलोकसाध्य कृत्यमा तल्लीन गर्नु–गराउनु नै व्रतादिको मुख्य उद्देश्य हो

प्रा.डा. देवमणि भट्टराई

हरेक वर्ष भाद्र शुक्ल द्वितीयाका दिन विशेष पौष्टिक भोजन गरेर भोलिपल्ट तृतीयाका दिन हरितालिका तीज व्रत बस्ने गरिन्छ। आफ्नो शरीरको शक्तिअनुसार निराहार, जलाहार, फलाहार, एकभक्त (एकपटक मात्र खाने) र अत्यन्ताशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत बसेर दीप, कलश र गणेशको पूजा गरी उमामहेश्वरको पूजा गर्नुपर्छ। व्रत भनेको स्वास्थ्य विज्ञानसँग सम्बन्धित विषय हो। आफ्नो स्वास्थ्यका लागि योग गर्नु, ध्यान गर्नु, व्रत बस्नु, देवताको दर्शन गर्न मन्दिर जानु, मान्यजनप्रति प्रातः कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले दर्शन ढोगका माध्यमबाट आभार प्रकट गर्नु मानवीय कर्तव्यअन्तर्गत पर्छन्। व्रतचाहिँ खराब र योगचाहिँ राम्रो वा ध्यानचाहिँ राम्रो भन्ने हुँदैन। शरीरको सामथ्र्यअनुसार योग, ध्यान, व्रत, उपासना आदि कृत्यले मानिसलाई शारीरिक रूपमा सबल बनाउँदै मानसिक रूपमा पनि दृढनिश्चयी भावको विकास गराउँदैै स्वकार्य सम्पादनमा दक्षता हासिल गराउँछन्। त्यसैले व्रत, उपासना, योग आदि साधन हुन्, साध्य होइनन्। साध्य त केवल परमात्मा प्राप्ति, मोक्ष प्राप्त गर्नु मात्र हो। अतः योग, ध्यान, व्रत, उपासना वा मान्यजनप्रति आदर भाव प्रकट गर्नुको तात्पर्य हो कि यस लोकमा आवश्यक पर्ने सुख शान्ति एवं ऐश्वर्य उपभोग आदि प्राप्त गर्नु र परलोकसाध्य कृत्यमा तल्लीन गर्नु–गराउनु नै व्रतादिको मुख्य उद्देश्य हो।

व्रत बस्दा म यो यो नियममा रही आजको व्रत बस्छु भनी संकल्पपूर्वक व्रत बस्नुपर्छ। व्रत कसैका लागि बसिदिने होइन। व्रतमा संकल्प मुख्य मानिन्छ र त्यसमा नियमादि सबै कुराको उल्लेख गरी यस प्रकारको व्रत बस्दै छु भनी प्रातः स्नान गर्दा नै आफूले लिने व्रतको स्वरूपको निर्धारण स्वयं व्रतालुले गर्छन्। अरूले गरिदिने र अरूलाई गरिदिने होइन। व्रत बस्दा जस्तो नियम पालन गर्छु भनिन्छ, त्यस्तो नियमपालन गर्ने उसै व्रतालुको मात्र विषय हो। व्रत सकेपछि भोलिपल्ट व्रतको समापन अर्थात् व्रतपारणा गर्नुपर्छ। यति गर्दा मात्र एउटा व्रत पूर्ण भएको मानिन्छ। तीजको व्रत र निर्जला एकादशीको व्रत सामथ्र्यअनुसार प्रायः निराहार नै लिने उल्लेख धर्मशास्त्रमा पाइन्छ। तर निराहार मात्र व्रत हो भनी किटान गरेको पाइँदैन। स्वस्थ शरीरका लागि व्रत बस्ने हो। अस्वस्थ एवं रोगी व्यक्तिले यथाशक्य नियममा रहेर दूध, फलफूलादि खाएर पनि व्रतादि गर्नू भन्ने शास्त्रमै उल्लेख छ। अत्यधिक भोजनादिको सेवन अस्वस्थताको कारण बन्ने हुनाले नियमित खानपान, रहनसहन र हिँडडुललाई आयुर्वेद र धर्मशास्त्रले बारम्बार जोड दिएकोे पाइन्छ। यसैलाई आधार मानेर हरेक धर्म तथा समुदायका मानवले आआफ्नो रीतिअनुसार चाडपर्व मनाउँछन् र व्रत पनि बस्छन्।

व्रतविधि र लाभहानि

तीजका व्रतालुले पहिलो दिन रात्रिको ११ बजेभन्दा पहिल्यै भोजन गरिसकेपछि भोलिपल्ट बिहान उठेर तिल र अमलामा चूर्णले विशेष स्नान गर्नुपर्छ र यथासम्भव पाटको कपडा लगाएर साँझपख पूजाकोठा, मन्दिर वा उपयुक्त ठाउँमा गएर हामी सपरिवार आज हरितालिका व्रतका दिन उमामहेश्वरको पूजा गर्न व्रत बसेका हुनाले हाम्रो घरपरिवारमा नकारात्मक सोच, पापादि आचरणबाट मुक्त भएर सातसात जन्मसम्म सौभाग्य ऐश्वर्य अखण्डितरूपमा प्राप्त भइरहने गरी र अझ विशेष वृद्धि हुने गरी उमामहेश्वरलाई मनमा राखेर उहाँहरूलाई नै प्राप्तिका लागि पनि हरितालिका तीजको व्रत बस्छौं भनी संकल्पपूर्वक व्रत बसी दियो, कलश र गणेशको पूजा गरेर बालुकामय उमामहेश्वरको षोडशोपचारले विधिअनुसार पूजा गर्नुपर्छ भनी व्रतराज नामको पुस्तकमा भनिएको छ। यहाँ संकल्पवाक्यमा अरूका लागि व्रत बस्ने विधान पनि छैन र अर्काले व्रत बसिदिएर अरूको भलो हुने विषय पनि होइन।

अतः आफ्ना लागि आफूले भोजन गरेजस्तै व्रत बस्ने विषय पनि आफ्नो कल्याणका लागि र आफ्नै कामना पूर्तिका लागि बस्ने हो। पतिले पत्नीका लागि र पत्नीले पतिका लागि व्रत बस्ने भनेको एकांकी होइन। दुवै पतिपत्नी भएर तीज आदि सबैको व्रत बस्ने हो। पतिविनाको व्रतपूजा पनि निरर्थक र पत्नीविनाको व्रतपूजा पनि निरर्थक हुने हुनाले हरितालिकालगायत सबै व्रतपूजामा छोराछोरीसहित दुवैको सहभागिता अनिवार्य छ। शक्त पतिपत्नीका लागि पत्नी वा पति व्रत बस्ने भन्ने कुरा भ्रम मात्र हो। दुवै भएर व्रतको अन्त्यमा यसरी प्रार्थना गनुपर्छ भनिएको छ–

पुत्रान् देहि धनं देहि सौभाग्यं देहि सुव्रते
अन्याश्च सर्वकामांश्च देहि देवि नमोऽस्तु ते।।

व्यावहारिक कठिनाइका कारण पतिको सहित स्त्रीहरूले व्रत लिएको हुनुपर्छ। व्रतविधिका दृष्टिले पत्नीले पतिका दीर्घ जीवनको कामना मात्र गरेर कुनै पनि व्रत लिनू भन्ने निर्देश धर्मशास्त्रमा पाइँदैन बरु व्रतपूजादिमा दुवैको सहभागिता वा उपस्थिति भने अनिवार्य गरिएको पाइन्छ।

भत्र्रा सह कथां श्रुत्वा भक्तियुक्तेन चेतसा।
कृत्वा व्रतेश्वरं देवि सर्वपापैः प्रमुच्यते।।
सप्तजन्म भवेद् राज्यं सौभाग्यं चैव वध्र्दते।।

व्रतबाट इहलौकिक सुखप्राप्ति र पारलौकिक मोक्षरूपफल अवश्य प्राप्त हुन्छ भनी बताइएका अनेकौं प्रसंगहरू पाइन्छ भने व्रत नगर्दा त्यसबाट हुने हानि पनि हुन्छन् भनिनुका साथै व्रतबाट हुने फाइदाबाट अवश्य वञ्चित भइन्छ भनिएको छ। हिजोआज सहरको बसोवासले गर्दा गाउँका खेतबारी बाँझिएर त्यसबाट हुने उत्पादनमा ह्रास आउँदा जसरी खेतबारीको उपभोग भएन, बाँझो राखियो, अन्नबाली उत्पादन बढी नहुँदा बिक्री गर्न नपाउँदा पैसामा कमी आयो, त्यसैगरी व्रत नबस्दा त्यसबाट हुने यो लोकको सुख, स्वास्थ्यलाभ एवं परलोकको परमार्थ लाभबाट पूर्ण वञ्चित भइयो नै।
अतः स्वास्थ्यलाई ख्याल गरेर आफ्नो शरीरको स्वस्थताका लागि महिनामा सके चारवटा नसके दुइटासम्म भए पनि व्रत बस्नुचाहिँ आवश्यक छ। स्वास्थ्यकै दृष्टिले तीजको जस्तो वर्षमा पर्ने एकदुइटा निराहार व्रतहरू पनि सामथ्र्यअनुसार बस्न जरुरी हुन्छ।

विकृति पक्ष

अहिले हाम्रो समाजमा विषयको गाम्भीर्य विचार नगरी बोल्ने लेख्ने चलन बढ्दै गएको छ। व्यवहारका दृष्टिले पनि नारीपुरुष एकअर्काका परिपूरक हुन्् नै। एकको अभावमा अर्काले पूर्णता प्राप्त गर्न नसक्ने हुँदा धार्मिक एवं व्यावहारिक पक्षमा दुवैलाई अनिवार्य गरिएको छ। तीजको व्रत होस् वा मन्दिर जाने कुरा वा श्राद्धादि कर्महरू नै किन नहोऊन्, पत्नीविना वा पतिको अभावमा यी कृत्य पूर्ण हुँदैनन्। यो धार्मिक विश्वास एवं शास्त्रीयताको विषय हो। तर धर्मशास्त्र वा कुनै पनि विषयको उठानमा हामीले गम्भीरतापूर्वक विचार गरेर मात्र बोल्नु लेख्नुपर्नेमा उदांगो पाराले लाज पनि नढाक्ने गरी बोलिदिन्छौं। लगभग २५ सय वर्षपहिले लेखिएको कौटिल्यको अर्थशास्त्र चटक्कै बिर्सिएर लगभग २०० वर्षभित्र लेखिएका अर्थशास्त्रका विद्यार्थीलाई अर्थशास्त्रका प्रणेता भनी प्रमाणित गरेर पढाउँछौं। पढाइको मर्म मूल जरोबाट सुरु हुन्छ र त्यसमा देखिएका विषय हाम्रो राष्ट्रसँग देश, काल, परिस्थितिअनुसार मेल खाने–नखाने विषयमा विचार गरेर पाठ्यक्रममा राखिन्छ। नहुने भएमा त्यसमा पुनर्विचार गर्न सकिन्छ तर शाश्वत नियमको उल्लंघन कुनै देशको पाठ्यक्रममा गरिँदैन।

तीजकै व्रतबारेमा पनि हाम्रो समाजले नबुझी पालेका अनेकौं विकृति छन्। जस्तै– महिलाले मात्र व्रत बस्नुपर्ने, पतिकै दीर्घ जीवनका लागि व्रत बसिदिने, पत्नीले कष्ट गरीगरी व्रत बस्नुपर्ने तर फल पतिले मात्रै पाउने, रोगी, अशक्तले पनि निराहार उपवास (भोकै) व्रत बस्नुपर्ने जस्ता गन्नै नसकिने विकृति पालेर बसेका छौं र बेलाबेलामा समाजलाई कसरी आकर्षित गरेर आफू चर्चामा आउने भन्ने यति मात्र तुच्छ ध्यान मनमा राखेर कहिले ‘पोइल जान पाम, बिच्चबिच्चमा, मान्देऊ न शिवजी, यसपालिको तीजमा नो व्रत प्लिज’ जस्ता गीतादिका माध्यमबाट क्षणिक चर्चामा आउने कोसिस मात्र हाम्रो समाजका तथाकथित शिक्षित वर्गकोे रहेको पाइयो। यी व्रत संस्कृतिको रहस्य के हो ? यसमा वास्तविक तत्त्व के छ ? युगौंदेखि यी कसरी चलेर आए र अद्यावधि कसरी रहिरहेका छन् ? यतातिर शिक्षित वर्गको ध्यान किन गएन ? यसो गर्नु गलत मानसिकताको दरिद्र उपज हो। स्वराष्ट्रिय पहिचान नबुझेरै कलम चलाउनु निकै दुःखद पक्ष हो। कलाकार, लेखक, गायकगायिकाको आशय गलत नहोला तर शब्दले पूरै गलत भाव व्यक्त गरिरहेको छर्लंगै देखिन्छ।

यस्तै तीज आएपछि नचल्ने कलम पनि तीजको व्रतप्रति लक्ष्यित गरी वज्र प्रहार गर्छन्। हास्य कलाकारका हस्यौली–ठ्ट्यौली पनि धर्ममाथि नै प्रहार गर्ने खालका किन हुन्छन् ? यी सबैभित्र कुन रहस्य लुकेको छ ? सर्वसाधारणले यो विषय सही रूपमा बुझेको छैन। समाजको प्रश्न छ के यो आजसम्म गलत नै थियो त ? त्यही समाज उत्तर दिन्छ– गलत छँदै थिएन र छैन पनि। आजको अध्ययनको कमीले बुझाइ गलत भयो, चिन्तनपरक अध्ययनको कमी भयो। आफ्नो धर्म–संस्कृतिप्रति हुने आदरभाव नै राष्ट्रको परिचय हो। यही भाव व्यक्त गर्न खोजेको हो भने त्यसभित्रका रहस्यका विषय उडाएर होइन, नजरअन्दाज गरेर होइन। त्यसको वास्तविक रहस्य बुझेर बुझाएर पनि गाउन, लेख्न र हँसाउन सकिन्छ। जसले गर्दा तपाईंहरूको त्यो कलाको भूमिकाले विश्वसामु हाम्रो देशको मूल मर्म बोकेको धर्म–संस्कृतिले विश्वमै यस राष्ट्रलाई सुपरिचित एवम् सबल बन्न–बनाउन सक्छ। यसकारण यी हाम्रा चाडपर्व राष्ट्रिय परिचयका उपलब्धिका विषय पनि हुन्।

विकृत मानसिकताको उपजले मात्र समाजमा विकृति सिर्जना गर्ने र बलात् फैलाउने हो। आफ्ना राष्ट्रका हरेक संस्कृतिले त्यस राष्ट्रको धर्म–संस्कृतिको सुवास विश्वभर परिचयका साथ फैलाइरहेका हुन्छन्। धर्म, संस्कृति, सांस्कृतिक कार्यक्रम, व्रत पर्व, मेला जात्राादि हरेक राष्ट्रका परिचयका गहना मान्निछन्। यिनीहरूको सम्मानमै राष्ट्रवासीको स्वाभिमानको भाव लुकेर बसेको हुन्छ।

अतः राष्ट्रका अलंकाररूपी व्रतपर्वहरूको सम्मान गरौं मानौं, मनाऔं। सकिँदैन भने आफ्नो तुच्छता पर्वहरूमार्फत प्रदर्शन नगरौं। यही नै सच्चा राष्ट्रभक्ति हुनेछ। खानपान आदिमा संयमित रहौं। राष्ट्रिय धर्म, संस्कार, संस्कृति र सांस्कृतिक कार्यक्रमको सम्मानमै सगरमाथाजस्तै हामी नेपालीको शिर ठाडो हुनेछ। हाम्रो राष्ट्रको राष्ट्रिय जग बलियो हुनेछ। राष्ट्रिय जग बलियो बनाउनु नै हामी प्रत्येक नेपालीको कर्तव्य हो।     

उपसंहार

नेपाल राष्ट्र विश्वमै सनातन धर्म–संस्कृतिको उद्गमस्थल र अभ्यास गर्ने थलोका रूपमा सुपरिचित छ। यहाँका प्रत्येक राष्ट्रवासीमा दया, माया, आदर, सत्कार गर्ने भाव यहींका व्रत पर्व र संस्कृतिका देन हुन्। नेपाली इमानदार छन्, परि श्रमी छन्, सुखी छन्, यो प्रत्येक नेपालीको आत्मगौरव हो। सरकारी उदासीनताका कारण पाठ्यक्रममा यी विषय राखेर पूर्णरूपमा पढाइँदैनन्, जसका कारण बेलाबेलामा नकारात्मक भावका गीत, लेख, टिप्पणी आउने गर्छन्। हरेक राष्ट्रका चाडपर्वले त्यस देशको ऐतिहासिक मौलिकता, रीतिस्थिति, चालचलन उजागर गरिरहेका हुन्छन्। हाम्रो राष्ट्रमा रहेका व्रतपर्वहरूलाई गहनाका रूपमा ग्रहण गर्ने र राष्ट्रिय स्वरूप अखण्ड राख्न दिएको योगदानलाई कदर गर्दै राष्ट्रियताको परिचय अक्षुण्ण राख्नु हो। यसमा विकृति छ भनी गहिरो ज्ञानविना बोल्नु आफ्नो अध्ययनको न्यूनता प्रदर्शन गर्नु मात्र हो। हरितालिका तीज यस्तो पर्व हो, जहाँ सासू–बुहारीका, नन्द–आमाजूका, आमा–छोरीका वह, वेदना एक ठाउँ भेला भएर समूहगतमा गाइने गरिन्छ। त्यसबाट यो पर्वलाई एउटा उन्मुक्त पर्वका रूपमा पनि लिन सकिन्छ। यस तीज पर्वको धार्मिक विधि पूर्ण गरेपछि एक ठाउँ जम्मा भएर दिदीबहिनीका बीचमा आआफ्ना कथाव्यथा वाद्यवादन र दोहोरी गीत आदिका माध्यमबाट व्यक्त हुन्छन्। जसले गर्दा उनीहरूमा स्वतन्त्रताको अनुभव सतहदेखि भएको महसुस गरी सन्तोष प्राप्त गर्छन्। यसैगरी व्रतको माध्यमबाट अभीष्ट सिद्धिका लागि एक दिन शक्तिअनुसारको उपवास बस्दै भगवती उमा र भगवान् महेश्वरमा समर्पण गरी यो लोक र परलोकमा पनि प्रत्येक व्रतालुले आफूलाई धन्य धन्य बनाउनु नै हरितालिका व्रतको प्रमुख उद्देश्य रहेको पाइन्छ।हाइलाइट
व्रतको माध्यमबाट अभीष्ट सिद्धिका लागि एक दिन शक्तिअनुसारको उपवास बस्दै भगवती उमा र भगवान् महेश्वरमा समर्पण गरी यो लोक र परलोकमा पनि प्रत्येक व्रतालुले आफूलाई धन्य धन्य बनाउनु नै हरितालिका व्रतको प्रमुख उद्देश्य हो। अन्नपूर्ण पोस्ट्बाट ।





Leave a comment

Your email address will not be published.


*