कोरोना महामारी र महिलाका सवाल

          |   प्रकाशित मितिः सोमवार, भदौ १५, २०७७     ::: 454 पटक पढिएको   |  
सिताकुमारी राना

विश्वव्यापी रुपमा फैलिईएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले विश्वका अधिकाँश देशका आम नागरिकहरुका गतिविधिहरु अत्यावश्यक काममा मात्रै सिमित भएका छन् । हाल नेपालमा पनि कोरोना भाइरसको प्रभाव बढ्दो क्रममा छ । चिनको वुहान नजिकै पशुपंक्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको संक्रमण भेटिएको थियो । त्यसको केहि महिनामै उक्त भाइरस विश्वभर फैलियो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि लकडाउन (बन्दाबन्दी) भएको झण्डै पाँच महिना पुगिसकेको छ । समाजमा सामाजिक गतिवीधिहरु सिमित छन् । आम नागरिकहरु घरभित्र बस्न बाध्य छन् । देशमा भएका कलकारखाना ठप्प छन् । स्कुल कलेट, संघ संंस्था र विकास निर्माणका कार्यहरु प्राय सबै बन्द छन् । यसले व्यक्तिलाई मात्र नभई अर्थतन्त्रमा नराम्ररी असर गरेको छ । एक अर्कामा सहयोगको भावनाले भोली दिउँला भनेर आफुलाई चाहिएको सामग्रीहरु बजारबाट सजिलै उपलब्ध हुन्थे । हाल सहजै रुपमा सामानहरु नपाइने अवस्था सृजना भएको छ । ओल्लो पल्लो घरमा पैचोको रुपमा चलि आएको परम्परा पनि आफुलाई समस्या पर्ने हो की भन्ने डरले त्यो सहयोग पनि एक अर्कामा नहुने स्थिती सृजना भएको छ ।
कोरोना महामारीको सबै भन्दा बढि मारमा महिला, बालबालिका र बृद्धबृद्धा परिरहेका छन् । उनिहरु बढि जोखिममा छन् । केहि बर्षयतामात्रै महिलाहरुमा चुलो चौको, घर व्यवहार लगाएत सबै कामको व्यवस्थापन सकेर घर बाहिरको काममा पनि निस्कने बानीको विकास भएको छ । संगसंगै आत्मनिर्भर बनेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जनमा सहयोग पु¥याउँदै आएका थिए । हाल सबै खाले कामहरु बन्द भएसँगै महिलाहरु पुरानै काममा फर्किनुपर्ने अवस्था सृजना छ । चुलो चौकोमै सिमित हुनुपरेको छ । अधिकाँश महिलाहरु घरायसी काममा सिमित बन्न पुगेका छन् ।
संसारको स्वास्थ्य सेवाको ठूलो हिस्सा महिलाले ओगटेको तथ्यांक पाइन्छ । महिला नै घर व्यवहारका लागि सबै कुरा हो भन्ने कुरा प्रष्ट देखिन्छ । घर परिवारको ठूलो जिम्मेवारी बोकेकी महिलाको कामको मुल्यांकन यो समाजले गर्न सकेको छैन् । पुरानै पृतसतात्मक सोचबाट ग्रस्त समाजमा अझै महिलाहरुलाई हेर्ने दृष्टिकोण फराकिलो भईसकेको छैन् । यो अवस्थामा कोरोना भाइरसका कारण थप पीडा दिएको छ ।
सिंगो घर व्यवहार सम्हाल्नका लागि महिला आफैमा बैंकको कामको जिम्मेवारी, परिवारमा कसैलाई चोट नपुग्ने गरी हिसाव किताब चुस्त दुरुस्त राख्नुपर्ने, घर परिवारमा शिक्षा, बच्चा बच्चीहरुले पढे नपढेको हेरविचार गर्नु, विद्यालय गए गएनन्, पढाईको अवस्था कस्तो छ भन्ने बारे हेर्नु पर्ने महिलाहरुको जिम्मेवारी रहन्छ । परिवारका सदस्यहरु बिरामी परे अस्पताल लिने की बैद्यकोमा लिने या घयासरी खानपानले ठिक हुन्छ भन्ने महिला आफै एकिन गर्छिन् । उनि घरको आफै मनोसामाजिक विमर्शकर्ता समेत हुन् । यस्तै खाले थुप्रै कामहरुमा महिलाहरु संलग्न रहन्छन् । यतिधेरै कामहरुको बाबजुद पनि पारिश्रमिक नपाउनु, पाएपनि काम अनुसारको नपाउनु, कामको मुल्यांकन नहुनु सामान्य जस्तै बनिसक्यो ।
हाल लकडाउनले सबै ठाउँका बजारहरु बन्द हुँदा साना तिना कामहरु गर्दै आएका महिलाहरुलाई हाल कच्चा पदार्थको अभाव, सुरक्षा सर्तकतामा कमी लगाएतका कारणले गर्दा आफुले दैनिक गरिरहेका कामबाट हुने आयआर्जनबाट बञ्चित हुन पुगेका छन् । कोरोनाको कारणले परिवार बिरामी हुने चिन्ता, साँझ विहान के खाने भन्ने चिन्ता, काम बन्द भएर आम्दिानीको स्रोत बन्द हुँदा महिलाहरुलाई थप चिन्तित बनाएको हो । यसले महिलाहरुमा मनोवैज्ञानिक असर परेको तथ्यांकहरु सुन्न पाइन्छ । यस्तो अवस्थामा अझैपनि पृतृसतात्मक सोचले जरा गाडीरहेको नेपाली महिलाहरुमा अझैपनि पूरुषलाई घरायसी काममा लगाउनु हुँदैन भन्ने मानसिकता छ । हामी महिलाहरुमा घरको काम सबै हामीले नै गर्नुपर्छ, पुरुषले गर्नुहुँदैन भन्ने मासिकता अझै रहेको पाइन्छ । घरको काम महिलाको नै हो भन्ने पूरुषहरुको जमात हाम्र्रै नेपाली समाजमा छ । बर्षौदेखि विभिन्न खाले असमानता भोगिरहेका नेपाली महिलाहरुलाई कोरोना भाइरसल गर्दा अरु झन पीडा थपिईदिएको छ ।
यस्तो बेलामा मलाई कहिले काँही पुस्तकहरु पढ्ने क्रममा भेटिएका विषयहरु सम्झनामा आउने गर्छ । मदरटेरेसालाई एक जना पूरुषले सोधेछन् ‘मलाई राम्रो काम दिनुहोस्, म समाज बदल्छु ।’ त्यतिबेला उनको जवाफ थियो ‘पहिला समाज होइन, आफु र आफ्नो परिवारलाई शान्ति देउ, अनीमात्र समाजको कुरा गर ।’ हो, नेपाली समाजमा यस्तो उपदेश दिने मान्छेको खाँचो छ ।
गर्भवती र सुत्केरी महिलाहरु अस्पतालमा नपुगी ज्यान गुमाउन बाध्य छन् । यसरी ज्यान गुमाउनेको संख्या बृद्धि भईरहेको छ । कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण गर्भवती तथा सुत्केरी महिला समयमै अस्पतालमा पुग्न सकिरहेका छैनन् । नियमित गर्भ जाँच नगर्दा र समयमै अस्पताल नपुग्दा ज्यान गुमाउनेको संख्या बढ्दो छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार यस बीचमा ज्यान गुमाउने ६० प्रतिशत सुत्केरीको अस्पताल पुगेको २४ घण्टाभित्र मृत्यु भएको छ । लकडाउन भएको पाँच महिनाभित्र (साउन मसान्त) देशभर ८० जना सुत्केरीले ज्यान गुमाएका छन् । जेठ असार र श्रावणमा मात्रै ४९ जनाको ज्यान गएको छ । त्यस अघि २९ जनाको अस्पतालमा नै मृत्यु भएको थियो भने दुई जना अस्पताल लैजाँदै गर्दा ज्यान गएको थियो । कोरोना संक्रमणको शंकामा अस्पतालले उपचार नगरेरै रेफर गर्दा अस्पताल चाहार्दा चाहार्दै अनाहकमै ज्यान गुमाईरहेका छन् ।
पछिल्लो समयमा अधिकाँश सुत्केरीको रक्तश्रावको कारणले मृत्यु भएको छ । अहिलेको अवस्थामा अस्पतालमा रक्तश्राव रोक्ने औषधी अक्सीटोसिन तापक्रम मिलाएर नराखेको कारणले काम नगरेको पनि पाईएको छ । हालको अवस्थामा ५० प्रतिशत अस्पतालमा अक्सीटोसिन छैन् । जसले गर्दा सामान्य रक्तश्राव रोक्न नसकेर सुत्केरी महिलाको ज्यान गईरहेको छ । संक्रमणका बेलामा यातायात सुविधा सहज नभएका कारणले मातृमृत्युदर बढ्दो देखिन्छ ।
दिनानुदिन घरेलु हिंसाको घटनाहरु बृद्धि भएका छन् । महामारीमा समान रुपमा राहत वितरण हुन सकेको छैन् । राहत वितरणमा तेरो र मेरो गर्दा महिलाहरुमाथी झन ठूलो पीडा थपिदिएको छ । जिल्ला जिल्लामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अपनाईएको लकडाउन, राहत वितरण, पीसीआर परिक्षणको बन्दोबस्त सकारात्मक कार्य हुँदा हुँदैपनि सरकारका केहि कार्यहरुमा महिलामैत्री छैनन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित समितिहरुमा महिला सहभागिता नगन्य मात्रामा छ । महिलाहरु किनाराको साँक्षी हुनुपरेको छ ।
महिलाहरुको हकहितको लागि उभिएको एउटा संबैधानिक निकाय राष्ट्रिय महिला आयोग पदाधिकारी विहिन छ । महामारीको समयमा महिलाहरु बढि प्रभावित भईरहँदा आयोग पदाधिकारी विहिन रहँदा महिलाहरुको चुनौती र समस्या समाधानमा समस्या उत्पन्न भईरहेका छन् । अब महामारीबाट कुन वर्गको महिला बढि प्रभावित छन् भन्ने तथ्यांक संकलन गरिनुपर्छ । तथापी समस्या परेको बेलामा राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाजका अगुवाहरुको हातेमालो अपरिहार्य छ । न्यूनतम् आधारभुत आवश्यकताहरु पुरा गर्न स्थानीय सरकार, गैरसरकारी संस्थाहरुले सहयोग गर्न सक्छन् । त्यसका लागि तीनै तहका सरकार, गैरसरकारी निकाय, नीजि क्षेत्र र नागरिक समाजबीच सहकार्य हुनुपर्छ ।
अहिले स्थानीय स्तरमा विकास निमार्णका कामहरु बन्द छन् । यसले पनि महिलाहरुमा थप आर्थीक बोझ बढाएको छ । महामारीमा घर भित्र रहेका महिलाहरुले घरमै बसेर उत्पादनमा बृद्धि हुने कार्यक्रमहरु स्थानीय सरकारले सञ्चालन ल्याउनुपर्छ । स्थानीय सरकारले महिलाहरुको आवश्यकता पहिचान गरेर उत्पादनमुलक कार्यमा लगाई आम्दानीको स्रोत बढाउन सकिन्छ । जस्तै दैनिक आवश्यकताका सामग्रीहरु समुदाय स्तरमा उत्पादन गर्न सकिन्छ । मास्क, सेनीटाइजर, सेनेटरी प्याड, तरकारीहरु स्थानीय स्तरमै उत्पादन गर्न सकिन्छ । जो अहिले पनि थुप्रै ठाउँहरुमा स्थानीय स्तरमै उत्पादन भईरहेको देखिरहेका छौ । समग्रमा महामारीको समयमा महिलाहरुलाई नेतृत्वदायी भूमिकामा अघि सारिनुपर्छ । तब मात्र सुन्दर नेपालको परिकल्पना गर्न सकिन्छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दीमा) महिला हिंसाका घटनाहरुमा बृद्धि भएको छ । बालबिवाह, बलात्कारका घटना धेरै भएको देखिन्छ । तर, बन्दावन्दीका कारण यी घटनाहरु कानुनी प्रक्रियामा पुगेको देखिदैन । कहि कतैबाट प्रहरी कार्यालयसम्म जानकारी भएपनि प्राथमिकताका साथ लिएको देखिदैन् । यदि प्रहरीमा पुगेपछि पनि बिचौलियाबाट उक्त घटनालाई तोडमोड गरि पीडितले न्याय नपाउने अवस्था सृजना भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको अवधि (चैत ११ देखि जेठ ३२०) भित्रमात्रै घरेलु हिंसा (प्रहरीमा दर्ता भएका मात्रै) ६ सय ३८ वटा घटना छन् । घरेलु हिंसापछि बलात्कारका घटना धेरै भएका छन् । लकडाउनको तीन महिनाको अवधिमा मात्रै बलात्कारका तीन सय ७३ वटा घटना प्रहरीमा दर्ता भएका छन् । यो संख्या सामान्य अवस्थाको भन्दा धेरै हो ।
अन्त्यमा समुदायस्तरमा कोरोना भाइरस हाउगुजीको रुपमा देखिन थालेको छ । यस्तो अवस्थामा समुदायले बुझ्ने गरी सूचना सम्प्रेषण हुनुपर्छ । सुरक्षालाई मजबुत बनाएर टोलटोलमा गाउँका अगुवा पूरुष तथा महिलाहरु, युवाहरु र सुरक्षाकर्मी परिचालन गरिनुपर्छ । मदिराजन्य पेय पदार्थका कारणले समाजमा अपराध बढिरहेको छ । अब महिला बालबालिका, अतिविपन्न, बृद्धबृद्धा, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी महिलाहरुको स्वास्थ्य सुरक्षामा विशेष चासो दिनुपर्छ । गर्भवती महिलालाई पौष्टिक आहार, बालबालिकालाई पोषिलो खानपीनको व्यवस्थापन हुनुपर्छ । यति बेला परिवार नियोजनका साधन र बच्चाका लागि खोपको सवालमा विशेष ध्यान पु¥याउनुपर्छ । हामी बाँचे देश बाँच्छ । धैर्य गरौ, कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउन सम्पूर्ण सुरक्षा सतर्कता अपनाऔँ । कोरोना विरुद्धको लडाई हामी अवश्य जित्ने छौ ।
लेखक नेपाल महिला संघ दैलेखका अध्यक्ष हुनुहुन्छ ।





1 Comment on कोरोना महामारी र महिलाका सवाल

  1. Hira Singh Thapa // September 1, 2020 at 10:54 am // Reply

    धेरै महत्वपुर्णा सुचना सहितकाे लेखकाे लागि हार्दिक वधाइ

Leave a Reply to Hira Singh Thapa Cancel reply

Your email address will not be published.


*