सम्बन्धविच्छेद र नेपाली सोच

          |   प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७     ::: 61 पटक पढिएको   |  

हरेक मानवलाई आफ्नो जीवनलाई उत्कृष्ट बनाउने बराबर अधिकार छ । एउटा खुसी जीवन बाँच्न पाउने सबैको जन्मजात हक हो । तर के विवाहित महिलाका लागि त्यो नैसर्गिक अधिकार छैन ?

लीना दुवाडी-अहिले जीवन ‘भर्चुअल’ भएको छ । कोरोना भाइरसको कहरले ‘क्याफेमा भेटौं न !’ भन्नुपर्नेमा ‘जुम मिटिङ गरौं न !’ भन्नुपर्ने भएको छ । डिजिटल ‘स्टोरीटेलर’ का रूपमा मेरो दैनिकी त यसै पनि ‘भर्चुअल’ । केही दिनअघि यस्तै ‘भर्चुअल’ माध्यमबाट गृहनगरकी एक जना साथीसँग कुराकानी भयो । उनीसँगको यस्तो वार्तालाप १२ वर्षपछि हुँदै थियो । सम्बन्धहरूका विविध आयाम हुन्छन्, सीमा हुन्छन् । पहिले जति नै घनिष्ठ भए पनि कसैसँग एक जुगपछि कुराकानी गरियो भने त्यो औपचारिकतामा सीमित बन्न पुग्छ । तर उनीसँगको वार्तालापले अनौपचारिक मोड लियो । सायद, उनलाई धेरै कुरा व्यक्त गर्नु थियो । मनमा गाँठो पारेर राखेका कैयौं कुरा बगाउनु थियो नदी बनाएर कसैसँग । अनि सम्भवतः म नै उपयुक्त पात्र ठहरिएँ उनका लागि । आफ्नो प्रेमीसँग विवाह गर्ने चाहना राख्दा उनी मात्र २४ वर्षकी थिइन् । उनका अभिभावक उनको प्रेमीलाई ज्वाइँ बनाउन इच्छुक थिएनन् । उनले बाआमालाई सम्झाइन्, सम्झाउन नसकेपछि घुर्क्याइन् । अन्ततः मातापिताको मन पग्लियो । उनको तिनै पुरुषसँग विवाह भयो । एक हिसाबले त्यो उनको हिम्मतवाला काम थियो, धेरैका नजरमा ।

उनी आफैंले रोजेको बाटोमा धेरै काँडा थिए, अवरोध र काँडेतार थिए । तिनलाई छिचोल्ने अठोट लिएकी थिइन् । तर सहयात्रीसँगै कुरो नमिलेपछि ती काँडेतारलाई पन्छाउनु कसरी ? उनीहरूबीचको सम्बन्ध टिक्न सकेन । विवाहको एक वर्षभित्रै उनले वैवाहिक सम्बन्धलाई अन्त्य गर्न कानुनी बाटो अख्तियार गरिन् । मेरा हिसाबले त्यो उनको निकै ‘बोल्ड’ निर्णय थियो । निकै हिम्मतिलो र धेरैका लागि प्रेरणादायी पनि । छोटो भर्चुअल संवादमा मसँग उनले सबै कुरा सायदै भन्न पाइन् होला । तर मलाई लाग्छ, जुन बेला उनले कानुनी रूपमा सम्बन्ध अन्त्य गर्नका लागि वकिलको सेवा लिन खोज्दै थिइन्, पक्कै पनि भविष्यमा आइपर्न सक्ने अप्ठ्याराबारे सोचिन् होला । समाज र मान्छेहरूले काट्न सक्ने कुराबारे गम खाइन् होला ।

सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गर्दैगर्दा सायद उनको मनमा पनि ‘अब तँलाई कसले स्विकार्छ ?’ भनेर प्रश्न गर्न सक्ने आमा–बा, काका–काकी, मामा–माइजू, फुपू–फुपाजु लगायतको अनुहार झलझली आयो होला । यद्यपि उनले हात कमाइनन् र एउटा छोटो सम्बन्धलाई समाप्त पारेर लामो जीवनयात्रा सुरु गरिन् । त्यसपछि पनि उनका साथीहरूले पक्कै सोधे होलान्, ‘तिम्रो श्रीमान्ले तिमीलाई धोका दिएको हो’ वा ‘किन तिमीले उसलाई सन्तुष्ट पार्न सकिनौ’ भनेर । त्यसबारे उनले विस्तृतमा बताइनन्, मलाई सोध्न उपयुक्त पनि लागेन ।

सम्बन्धविच्छेदअघि पनि उनले सम्बन्ध जोगाउन भरमग्दुर प्रयास गरिन् होला । आफूमाथिका दुर्व्यवहारलाई लुकाइन् होला । अझ उनले त आफैंले रोजेको मान्छेसँग विवाह गरेकी थिइन् । आफन्त वा साथीहरूसँग मन नमिलेको बताउँदा पनि ‘आफैंले त रोजेकी होस् नि !’ भन्ने खालको जवाफ पाइन् होला । एक जुगपछि ती साथीसँग कुराकानी गरेपछि मैले सम्बन्धविच्छेदबारे सोचें । त्यसका विविध पक्ष र हाम्रो सामाजिक मानसिकताबारे केही बेर गमें । खासमा सम्बन्धविच्छेद चाहनु कुनै ठूलो कुरो होइन, न त यो गल्ती वा अपराध नै हो ।

कुनै गाँठो बाँध्नु वा फुकाउनु भनेको त एउटा लामो जीवनमा गरिने कैयौं निर्णयमध्येको एउटा निर्णय न हो । तर नेपालजस्तो देशमा, हाम्रोजस्तो समाजमा कसैले नमिलेकै गाँठो फुकाउन खोज्यो भने पनि त्यो ठूलो मुद्दा बनिदिन्छ । नेपालमा विशेष गरी महिलाका लागि त सम्बन्धविच्छेद भनेको निकै ठूलो कुरा हो । अझ मध्यम र निम्नमध्यम वर्गका तथा छोराछोरी भएका महिलाका लागि त यो असम्भवप्रायः जस्तै ठानिन्छ ।

हामी यस्तो समाजमा बाँचिरहेका छौं, जहाँ महिलालाई चौबीसै घण्टा निगरानी गरिएको हुन्छ, त्यसैका आधारमा चारित्रिक प्रमाणपत्र दिन खोजिन्छ । अरू कुराभन्दा महिलाबारे धेरै चासो राखिन्छ । विवाह नगरुन्जेल उसले के लगाउँछे, कहाँ जान्छे, कसलाई भेट्छे, के गर्छे भन्नेमा घरपरिवार, आफन्तदेखि छिमेकीसम्मलाई चासो हुन्छ । विवाह भएपछि पनि उसले सासू–ससुरालाई कस्तो व्यवहार गर्छे, कति गहना लगाउँछे, खाना पकाउन जान्दछे कि जान्दिन, बच्चा कहिले जन्माउँछे जस्ता चासोले उसलाई भन्दा अरूलाई बढी सताउँछ । तर कसैले सोध्दैन ‘ऊ खुसी छ कि छैन’ भनेर ।

महिलाप्रति पितृसत्तात्मक सोच र शोषण तथा ‘सोसियल स्टिग्मा’ भएको हाम्रोजस्तो समाजमा विवाहित महिलाहरू जीवनभरि खुम्चिएर बस्न बाध्य छन् । उनीहरू समस्यामा हुन्छन् तर त्यसलाई व्यक्त गर्न सक्दैनन् । सम्बन्धविच्छेदपश्चात् सामना गर्नुपर्ने चुनौती सम्झेर उदास जीवन बिताउन तयार हुन्छन् । त्यसैले त महिलाहरू खराबभन्दा खराब वैवाहिक जीवनबाट बाहिरिन पनि हजारपटक सोच्न बाध्य छन् । मेरो गृहनगरकै अर्की एक जना महिलाले हालै युवावस्थामै आत्महत्या गरिन् । एउटा निजी स्कुलमा पढाउने उनका दुई जना साना बच्चा छन् । तर वर्षौंदेखि श्रीमान्को शारीरिक र मानसिक यातना खप्दै आएकी उनले सम्बन्धविच्छेदको बाटो रोज्न सकिनन्, जीवनै समाप्त पारिन् । हरेक मानवलाई आफ्नो जीवनलाई उत्कृष्ट बनाउने बराबर अधिकार छ । एउटा खुसी जीवन बाँच्न पाउने सबैको जन्मजात हक हो । तर के विवाहित महिलाका लागि के त्यो नैसर्गिक अधिकार छैन ? किन कुनै पनि महिलाले सधैंभरि दुःखी भइरहने र हरेक दिन मरेसरह बाँच्नुपर्ने वैवाहिक जीवनलाई कायम राख्नैपर्ने ? मात्र, अरूले के भन्छन् भन्ने सोचेर ?

हाम्रो समाजमा व्याप्त ‘अरूले के भन्छन्’ भन्ने रोगले धेरै कुरा नष्ट गरिदिएको छ । धेरैको जीवन बरबाद पारेको छ । जसरी हाम्रो समाजले वैवाहिक सम्बन्धलाई कायम राख्न दबाब दिने र कतिपयका हकमा सहजीकरण गर्ने गर्छ, त्यसै गरी कायम रहन नसक्ने सम्बन्धलाई विच्छेद गर्न पनि सहजीकरण गर्न जरुरी छ ।

सम्बन्धविच्छेद पक्कै पनि सहज प्रक्रिया होइन, न त कोही सम्बन्ध राम्रो हुँदाहुँदै सम्बन्धलाई अन्त्य गर्न नै चाहन्छ । त्यसैले यो आफ्नो आत्माभिमान खुम्च्याएर र दुर्व्यवहार सहेर बस्नुभन्दा कैयौं गुणा राम्रो कुरा हो । कसैले सम्बन्धविच्छेदपश्चात् आफ्नो परिवार वा आफन्तहरू परिवर्तन होऊन् भन्ने चाहना राख्नुभन्दा आफ्नो जीवन आफैंले कसरी स्वतन्त्र र खुसी भएर जिउने भन्ने सोच्नु पनि उत्तिकै आवश्यक छ । बाल तथा किशोर मनोचिकित्सक मार्क आर. ब्यान्चिक आफ्को पुस्तक ‘द इन्टलिजेन्ट डिभोर्स’ मा लेख्छन्, ‘कोही पनि सचेत रूपमा एउटा अप्रसन्न वैवाहिक जीवनमा बस्न चाहँदैन । आत्मसम्मान र बुद्धिमत्तापूर्ण तरिकाले अवस्थालाई हेरेर निर्णय गर्नु तपाईंको मानसिक र संवेगात्मक स्वास्थ्यका लागि जहिले पनि उपयुक्त छनोट हुन जान्छ ।’

अब हामीले सम्बन्धविच्छेद शब्दलाई एलियन जसरी हेर्नु जरुरी छैन । सामाजिक रूपमा हामीले सम्बन्धविच्छेदलाई पनि अन्य कुराजस्तै सामान्य रूपमा स्विकार्नु आजको आवश्यकता हो । किनकि विशेष गरी सहरी क्षेत्रमा बसोबास गर्ने नयाँ पुस्ता परिवर्तन भइरहेको छ । अब महिलाहरूले पनि हिजोकै जस्तो वैवाहिक जीवन अपनाउने छैनन् ।

त्यो परिवर्तन बिस्तारै देखिन पनि थालेको छ । केही वर्षदेखि नेपालमा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भइरहेको छ । काठमाडौं जिल्ला अदालतको एउटा तथ्यांकअनुसार सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नेमा ८० प्रतिशत महिला छन् । त्यसले सहरी क्षेत्रका आत्मनिर्भर महिलामा आफ्नो व्यक्तिगत खुसी पनि प्राथमिकतामा पर्न थालेको देखिएको छ । सामाजिक मनोवैज्ञानिक बेला डे–पाउलो आफ्नो एउटा लेखमा लेख्छिन्, ‘सम्बन्धविच्छेद भनेको एउटा प्रेमकथाजस्तो हुनुपर्छ । जब मानिसहरूले आफूलाई पर्याप्त प्रेम गर्न थाल्छन्, त्यसपछि उनीहरू खराब अवस्थाबाट टाढा भाग्छन् ।’ यसर्थ हाम्रो समाजमा जब महिलाहरूले अरूको होइन, आफ्नो खुसीको महत्त्व बुझ्नेछन् तब मात्र यो परिवर्तन सम्भव छ । अनि, त्यो बाटो कहिलेदेखि सहज हुनेछ भने जब समाजले महिलाहरूले गरेको निर्णयका आधारमा उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्छ । यद्यपि त्यसका लागि महिलाहरूले आफैंसँग लड्न अझै धेरै बाँकी छ । कान्तिपुर





Leave a comment

Your email address will not be published.


*