गुराँसेले सम्झाइदिएको अबको शैक्षिक कार्ययोजना

          |   प्रकाशित मितिः शुक्रबार, अशोज ९, २०७७     ::: 194 पटक पढिएको   |  
जीतबहादुर शाह

गुराँसैगुराँसले ढाक्ने भएकाले पनि त्यो ठाउको नाउ नै गुराँसे हो । यो मैले कसैलाई सोधेर जानेको भन्दा पनि देखेरै जानेको तथ्य हो । गुराँसे पुग्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पच्चीस किलोमीटर मोटर बाटो पार गर्नुपर्दछ । त्यहाँ पुगेपछि बीरेन्द्रनगर भन्दा फरकपनको अनुभूति हुन्छ । मौषम चिसो छ, बीरेन्द्रनगरको तुलनामा । जस्तोसुकै गर्मी याममा पनि गुराँसेमा पुग्यो भने चीसाचीसो सिरेटोले कान हुँदै शरीरमा अन्य भागमा स्पर्श गरेको सहजै महसुस गर्न सकिन्छ । मौषम र हावापानी चिसो भएरै होला, त्यहाँको खाना र उत्पादन पनि स्वादिलो हुन्छ । थोरै खानेहरु पनि त्यहाँ पुगेर खाने अवसर जु¥यो भने थपिथपी खान्छन । त्यहाँको आलु, काउली, बन्दागोभी लगायतका तरकारीहरुको स्वाद र महत्व नै बैग्लै हुन्छ । त्यसैले मूल्य पनि बेग्लै हुन्छ । बीरेन्द्रनगरमा आएर खरिद गर्न थाल्यो भने गुराँसेको उत्पादनको मूल्य नै फरक हुन्छ । मतलव अलि महङ्गो । अब त क्रमशः सुविधासम्पन्न होटलहरु पनि खुल्ने क्रम जारी छ गुराँसेमा । गुराँसेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि गुुराँस गाउँपालिकाले निर्माण गरेको भ्यूटावर र सोको आसपासमा रहेका मानवनिर्मित उद्यान एवम् संघीय सरकारले निर्माण गरेको मौषम पूर्वानुमान यन्त्र (मेटेरोलोजीकल स्टेसन) ले समेत थप सहयोग गरेको देखिन्छ ।
यही सुन्दर गुराँसेको चीसोचीसो परिवेशका मीठोमीठो खाना थपिथपी खाँदै तीन दिनसम्म गुराँस गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग भलाकुसारी गर्ने अवसर जुरयो । मेरा निम्ति यो अवसर प्रधानाध्यापकहरुको निम्ति नेतृत्व क्षमता विकास र व्यवस्थापन तालिमको आयोजना गरेर सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक), दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाले जुराइदिएको थियो । उक्त तालिमको समापनको दिन गाउँपालिकाका अध्यक्ष खेमराज ओलीबाट गाउँपालिकाले गरेका शिक्षाका कुराहरु पस्किने काम भयो । हामीले विद्यालयमा के ग¥यौं र अब के गर्न बाँकी छ भनेर तालिमका सहभागीहरुबाट लिखित रुपमै प्रतिक्रिया एवम् राय संकलन गर्ने काम समेत अध्यक्षज्यूबाट भयोे । क्वारेन्टाइन राखेका विद्यालयहरुको मर्मत र निर्मलीकरणका लागि गाउँपालिकाले प्रतिविद्यालय एकलाख अनुदान बिनियोजन गरिएको हुँदा तदनुसार विद्यालयको मर्मत र निर्मलीकरण गरेर पठनपाठन सुरु गर्न सकिने कुरा समेत निर्देश गरियो । त्यतिमात्र नभई अबका दिनहरुमा विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने मास्क, सेनीटाइजर र सावुन लिएर जान प्रधानाध्यापकहरुलाई अनुरोध गरियो । शिक्षाको काम गर्ने पालिकाको पदाधिकारी पनि आएर सो कुराको अनुरोध गर्ने काम भयो । मलाई पालिकाको यो कुरा मन प¥यो ।
कोभिडको असरका कारणले भएको लकडाउनको अन्त्यपछि विद्यालय सञ्चालन गर्ने सवालमा कतिपय प्रदेश सरकार र पालिकाहरु अहिले पनि बेखवर छन् । अहिले पनि उनीहरुको नजरमा शिक्षा र विद्यालय सञ्चालन गर्ने कार्य प्राथमिकतामा परेको छैन । कतिपय पालिकाहरुले विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरे । तथापि छोड्दा भने वेवारिसे बनाइ हिडे । विद्यालयका प्रधानाध्यापकले मर्मत र निर्मलीकरणका लागि बजेटको कुरा गर्दा सुनुवाइ नभएको अवस्था छ । कतिपय पालिकाहरुले रेडियो, टेलिभिजन र अनलाइनबाट बाहेक प्रत्यक्ष भेटेर अध्यापन गर्ने कुरालाई इन्कार गरिरहेको कुरा पनि सुनिन्छ जब कि त्यस्ता पालिकाहरुमा प्रत्यक्ष भेटेर अध्यापन गर्ने बाहेक सिकाइका अन्य विकल्पहरुमा बालबालिकाहरुको पहुँच भएको देखिदैन । यो सवालमा गुराँस गाउपालिकाले अग्रणी भूमिका निर्वाह गरेको देखियो । गुराँसमा कार्यरत गैरसरकारी संस्था सामाजिक सेवा केन्द्रले कतिपय अनलाइन सामग्रीहरुलाई छापेर अभ्यासपुस्तिका सहित विद्यालयहरुलाई वितरण गर्ने कार्यमा पालिकालाई सहयोग गरेको देखियो । अहिलेको सिकाइ सहजीकरण निर्देशिका २०७७ ले यस्ता प्रावधानहरुको जिम्मा प्रदेश सरकार र स्थानीय सरकारलाई दिएको भए तापनि तीमध्ये धेरै सरकारहरुलाई यो जिम्मेवारीले छोएको जस्तो लाग्दैन ।
धेरै समय लगाएर खुट्टा कपाउदै संघीय सरकारले एउटा निर्णय गरेको छ – शैक्षिक सत्र गुम्न नदिने । संघीय सरकारलाई कर्णाली प्रदेशका ५ वटा जिल्लाको शैक्षिक सत्र मंसीरमा सकिदैछ भन्ने थाहा छैन सायद । अर्थात थाहा भएर पनि शिक्षकहरुले पहिले पनि उपलब्धिको हिसावल खासै माथि नउक्ले पनि निरन्तर मूल्याङकन र उदार कक्षोन्नतिको नाममा विद्यार्थीहरुलाई कक्षा उकाले जस्तै गरी सरकारले पनि विद्यार्थी एकदिन विद्यालय नगए पनि वा विद्यार्थी र शिक्षकको देखभेट नभए पनि वा बैकल्पिक सिकाइका कुनै विीधबाट लाभान्वित नभए पनि विद्यार्थीहरुलाई अति माया गर्दै कक्षा चढ्ने सुनौला अवसर प्रदान गर्छ होला । सरकारले गर्ने माया नै यस्तै हुदो रहेछ, कोरोनाले मर्छन भनेर बालबालिकालाई घरभित्र थुनेर राख्ने । कोरोना सर्छ भनेर शिक्षकहरुलाई समेत विद्यार्थी भेट्नु हुदैन भन्दै भेटेमा कडा कार्वाही गरिनेछ भनी धम्काउने । तराइमा कोरोना फैलियो भने हिमालका विद्यालयहरु बन्द गर्ने । विद्यार्थीहरुको सिकाइलाई पनि निरन्तरता दिउँ र शिक्षकहरुको रोजीरोटी पनि गुम्न नदिउ भन्ने संस्थागत विद्यालयका कक्षाहरुलाई पुलिस लगाएर बन्द गर्ने आदि आदि । सरकारले विद्यार्थीहरुलाई गरेको यो माया देखेर मलाई माछाको मित बाँदरले आफ्नो मित माछा बाढीमा बगेर मर्छ कि भन्ने सोची काखी च्यापेर रुखमा लिएको लोककथाको सम्झना भइरहेको छ ।
विगत जस्तो भए पनि अव भने विद्यालयहरु पहिले जस्तो पूरै बन्द पनि हुनेछैनन् र केही अवधिसम्म पहिलेजस्तो पूरै खुल्ने पनि छैनन् । यस्तो अवस्थामा सिकाइका लागि पूरै समय विद्यार्थीहरु विद्यालय आउन सक्ने सम्भावना कमै देखिन्छ । अहिले शिक्षा मन्त्रालयले विद्यालयमा पठनपाठन गर्ने क्षेत्र र विषयवस्तुलाई अलिकति खुम्च्याएर शैक्षिक सत्रलाई सम्पन्न गर्ने ध्येय राखेको छ । क्रियाकलापहरुलाई शिक्षकले सहजिकरण गर्ने र शिक्षकको निर्देशनमा सहजिकरण गर्ने भनी व्यवस्थापन गरेको छ । यसका लागि विद्यार्थीले विद्यालयलाई भन्दा घर परिवारलाई सिकाइको थलो बनाउनु पर्ने भएको छ । अर्थात अवका हाम्रो घरपरिवारको वातावरण सिकाइमैत्री हुनु जरुरी छ । बालबालिकालाई रमाइलो वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हो भने शिक्षाविद गोल्डोनीले भनेझै विद्यालय घर जस्तो र घर विद्यालय जस्तो हुनु जरुरी छ । भन्नुको मतलव, विद्यार्थी विद्यालयमा गयो भने शिक्षक र शिक्षिकालाई घरपरिवारका बाबाआमा र अन्य आफन्तहरुजस्तै देखून र घरमा गयो भने पनि घरपरिवारमा रहेको बाबाआमा र परिवारका सदस्यहरुलाई विद्यालयका गुरु र गुरुआमाजस्तो देखून् ।
यसका लागि विद्यालयका शिक्षक र घरपरिवारका सदस्यहरु बीच भेटघाट नभए पनि भलाकुसारी हुन जरुरी छ । यसकारण कि विद्यार्थी हरेक दिन विद्यालय आउने वातावरण छैन । यसका लागि घर बस्ने दिनमा सहजकर्ताको भूमिका बाबा, आमा र परिवारका अन्य सिनियर सदस्यहरुले निर्वाह गर्नु जरुरी छ । शिक्षकले गृहकार्य दिंदा सकेसम्म घोकाइलाई मापन गर्ने भन्दा विद्यार्थीको बोध, अभिव्यक्ति, जीवनोपयोगी सीप, व्यवहार र प्रबृत्तिजन्य कुराहरुलाई फोकस हुनेगरी दिन सक्नुपर्दछ । यो अवस्थामा गृहकार्य के दिएको छ भन्ने बारेमा शिक्षकले अभिभावकसँग समेत भलाकुसारी गर्नु जरुरी छ र अभिभावकले सहजकर्ता र मूल्याङ्कन कर्ताको रुपमा भूमिका निर्वाह गर्नु आवश्यक छ । घरपरिवारका सदस्यहरुसँग दिउसभरि सँगै काम गरेर त्यसबाट सिकेका र अनुभूत गरेका कुराहरुको प्रतिबेदन बनाएर पेश गर्ने जस्ता परियोजना कार्यहरु गृहकार्यको रुपमा दिनु पर्दछ । विद्यार्थी समाजमा घुलमिल हुने, घरपरिवारलाई घरायसी काममा सघाउने, सामाजिक काममा सेवाभावका साथ सहभागी हुने, स्थानीयस्तरमा रहेका प्राकृतिक, धार्मिक एवम् पर्यटकीय स्थलको भ्रमण गर्ने आदि जस्ता कार्यमा सहभागी भई प्रतिबेदन दिनेगरी गृहकार्य दिन सकियो भने सिकाइ जिवनोपयोगी हुने देखिन्छ ।
सहजीकरणको यो मोडमा शिक्षक अलि बेसी सक्रिय हुनु आवश्यक छ । यस पूर्व आफूले अध्यापन गर्ने विद्यार्थीको पनि नाम थाहा नपाउने शिक्षकले यतिबेला विद्यार्थी लगायत उसका अभिभावकको समेत नाम र मोवाइल नम्बर पत्ता लगाउनु आवश्यक छ । विद्यार्थीको गृहकार्य र परियोजना कार्यको मूल्याङकन गरेर त्यसको पृष्ठपोषणको बारेमा विद्यार्थी लगायत विद्यार्थीका अभिभावकहरुसँग कुरा गर्नु आवश्यक छ । कतिपय पालिका र विद्यालयहरुले हप्तामा एक दिन विद्यार्थीलाई विद्यालयमा बोलाउने र अरु छ दिन घरमा काम गर्न दिने भनिएको सुनिन्छ । यो किसिमले खुम्च्याइएको पाठ्यक्रमले तोकेका उद्देश्यहरु समेत पूरा नहुने सम्भावना बढेको छ । कि त भने यसका लागि घरमा अभिभावकहरु शिक्षक वा सोसरह हुनु पर्दछ । अन्यथा सम्भव छैन । सिकाइका अन्य विकल्प नभएका परिवारमा रहेका बालबालिकाका अभिभावकहरु त्यतिसम्म माथि उठेका छन् भनेर कल्पना गर्नु मात्र पनि विडम्बना हुने देखिन्छ । त्यसकारण पनि एउटा विद्यार्थी एक हप्तामा कम्तिमा तीन दिन विद्यालय आउने गरी कार्ययोजना बनाउनु पर्ने देखिन्छ ।
सारमा भन्नुपर्दा यो शैक्षिक सत्र खेर जान दिने होइन र विद्यार्थीहरुसमक्ष पनि अपेक्षित उपलब्धि पुरयाउने हो भने अरु भन्दा शिक्षकले बढि सक्रिय हुनु आवश्यक छ । त्यसकारण पनि शिक्षक र विद्यालयले स्पष्ट कार्ययोजना बनाएर विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गराइ सम्बन्धित पालिकामा पेश गर्नुपर्दछ । सम्बन्धित पालिकाले स्वीकृत एवम् अनुमति दिएपछि सोही अनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्दछ । विद्यालयले बनाउने यो कार्ययोजना हरेक विद्यालयको फरक फरक हुन सक्छ किनभने विद्यालयको आ–आफ्नो विशिष्ट परिवेश छ । सुनिएको छ, पालिकाले एउटा कक्षामा दश जना विद्यार्थी राख्नु भनेको छ रे । त्यो सवैमा लागु हुदैन । कक्षाकोठाको साइज कति छ ? विद्यार्थीको संख्या कति छ ? आदि कुराले एउटा कक्षाकोठामा कति विद्यार्थी राख्ने भन्ने कुराको यकीन गर्दछ । विद्यालयमा आएका विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका बारेमा हरेक दिन शिक्षकले सहजीकरण गर्नु पनि त्यत्तिकै जरुरी छ ।
सहजिकरण निर्देशिकाले भनेझै सिकाइका अन्य विकल्पमा पहुँच भएका विद्यार्थीहरुका निम्ति समेत कतिवेला कुन रेडियो र टेलिभिजनमा के विषयको सहजीकरण हुन्छ भन्ने बारेमा जानकारी गराउनु जरुरी छ । अनलाइनको पहुँच भएका विद्यार्थीहरुका निम्ति पनि अनलाइन कक्षा सञ्चालनको वातावरण बनाउनु पर्ने देखिन्छ । सवैभन्दा ठूलो कुरा प्रत्यक्ष सहजीकरण बाहेक सिकाइको अन्य विकल्पमा भएको विद्यार्थीको निम्ति समेत हप्तामा कम्तिमा एकदिन उनीहरुसँग भेटघाट गरेर उनिहरुले गरेका कामको मूल्याङकन गर्नु जरुरी देखिन्छ । थोरै संख्यामा रहेका सानो कक्षाका विद्यार्थीहरुको निम्ति टोलमै सिकाइ समूह बनाइ शिक्षकले व्यक्तिगत जिम्मेवारी लिएर सहजिकरण गर्नु पनि त्यत्तिकै जरुरी छ । मैले देखेको गुराँस गाउँपालिकाझै पालिका र प्रदेश सरकारहरु बालबालिकामैत्री हुनसके त निर्देशिकाले भनेझै स्वयम्सेवक शिक्षकको व्यवस्थापन लगायत अन्य थुप्रै काम गर्न सकिन्थ्यो होला । अरु कुरा जे जति भएपनि सारमा मैले फेरि दोहोरयाउदै भने कि यो वेला शिक्षकहरु अलि बढि खट्नुपर्ने देखिन्छ । यस्तो खटाइ कि छ महिना विद्यालयमा नआएर घरमै बस्दा भएको शैक्षिक क्षति पनि बाँकी ५÷६ महिनामा शोधभर्ना गर्न सकियोस् । सवैलाई चेतना भया !





Leave a comment

Your email address will not be published.


*