मुटु रोगीलाई कोरोनाको जोखिम

          |   प्रकाशित मितिः मङ्लबार, अशोज २०, २०७७     ::: 45 पटक पढिएको   |  

डा.उज्ज्वल न्यौपाने कोरोना भाइरस समूहको सार्स–कोभि– २ नामक भाइरसले उत्पन्न गराउने कोरोना भाइरस रोग २०१९ अथवा कोभिड– १९ हालमा विश्वभर फैलिएर करोडौंलाई असर गरिसकेको छ। गतवर्षको डिसेम्बर दोस्रो साता उत्पन्न भएको यस रोगको असरलाई ध्यानमा राखेर विश्व स्वास्थ्य संगठनले २०२० मे महिनामा यो रोगलाई महामारी घोषणा गरेको थियो। यो रोग देखा परेको झन्डै एक वर्ष हुनै लाग्दासम्म ३ करोड ५० लाखभन्दा बढीलाई प्रत्यक्ष असर गरिसकेको छ भने १० लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्। त्यस्तै नेपालमा समेत ८३ हजार बढी संक्रमित हँुदा पाँच सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। कुनै पनि उमेर समूहका व्यक्तिलाई लाग्न सक्ने यो रोग कतिपय जोखिम कारक भएका व्यक्तिमा जटिल रूप लिन सक्छ। यी जोखिम कारकमा वृद्धावस्था, मोटोपन, मधुमेह, उच्च रक्तचाप, विभिन्न खाले मुटुरोग, दम आदि पर्छन्।

के हो मुटुरोग : मुटुरोग आफैंमा विश्वभर मृत्युको प्रमुख कारकमध्ये एक हो। मुटुरोग भन्नाले हृदय तथा रक्तवाहिनी नलीमा उत्पन्न हुन सक्ने विभिन्न समस्या भन्ने गरिन्छ। यो रोगमा मुख्यतया प्रमुख रक्तवाहिनी नलीहरूमा चिल्लो पदार्थ जम्मा हुने र उक्त नलीमा रगतका चोक्टा बन्न सक्ने खतरा रहन्छ। त्यस्तै अन्य प्रमुख अंग जस्तै– दिमाग, मिर्गौला तथा आँखामा जाने नलीहरूमा समेत असर पुर्‍याउन सक्छ। प्रमुख मुटुरोगहरूमा कोरोनरी धमनी अर्थात् हृदयघात, मष्तिष्कघात, परिधीय धमनी रोग तथा महाधमनी रोग पर्छन्। मुटुरोग उत्पन्न गराउन प्रमुख भूमिका खेल्ने कारक उच्च रक्तचाप, धूमपान, उच्च चिल्लोपना, मधुमेह, मोटोपना आदि हुन्। यी प्रमुख कारकमा ध्यान पुर्‍याउन सकियो भने मुटुरोगको जोखिम नियन्त्रण गर्न सकिन्छ। मुटुरोगमा शरीरको मुख्य अंगमा रगत सञ्चालन गर्ने धमनी साँघुरो भएर अथवा थुनिएर रगत सञ्चालन बन्द हुन्छ।

मुटुरोगीमा कोरोनाका असर र जटिलता धेरै रहेकाले विशेष सतर्कता अपनाउन जरुरी छ।

कोरोनाको असर : मुटुरोग कोरोना संक्रमणको प्रमुख जोखिम कारकमध्ये एक हो। तथ्यांकअनुसार कोरोना भाइरस समूहले गराउने सार्स र मर्स रोग लागेका व्यक्तिमा क्रमश: १० प्रतिशत र ३० प्रतिशतमा मुटुरोग देखिएको छ। त्यस्तै विभिन्न देशमा गरिएको अनुसन्धानअनुसार कोभिड– १९ रोगमा पनि ५–३० प्रतिशतमा मुटुरोग देखिएको छ। मुटुरोग लागेकालाई कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ तथा जटिल समस्या आउन सक्ने जोखिम पनि त्यति नै धेरै हुन्छ। त्यसैगरी कोरोना संक्रमणका क्रममा मुटुको मांसपेसीमा असर पुगेर मुटुरोग उत्पन्न हुनसक्ने जोखिम पनि रहन्छ। साथै कोरोनाका रोगीमा उच्च रक्तचाप पनि मुख्य समस्या रहेको पाइएको छ, जुन १५–३५ प्रतिशत संक्रमितमा हुने गरेको देखिन्छ।

कोरोना संक्रमित मृतकको मुटुको मांसपेसीमा संक्रमणका तत्व भेटिएको पाइन्छ, जसले मायोकार्डिएम अर्थात् मुटुको मांसपेसीमा असर गर्छ। त्यस्तै कोरोना संक्रमितमा मुटुमा असर पर्दा बढ्ने तत्त्वसमेत रगतमा बढेको पाइन्छ। यस्तो अवस्थामा मुटुको चालमा अनियमितता समेत हुन सक्ने देखिएको छ। यस्ता समस्या देखिने कारण कोरोनाले मुटुबाट उत्पादन हुने एन्जाइममा असर पार्ने तथा रोग प्रतिरक्षा प्रणालीमार्फत विभिन्न हानिकारक तत्त्व उत्पादन गरेको हुनसक्छ। साथै कोरोनाले फोक्सोमा हानि गरेपश्चात् मुटुको कार्यक्षमतामा ह्रास आई विभिन्न समस्या उत्पन्न हुन सक्छ। रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्तिमा संक्रमणको जोखिम बढी हुन्छ। 

लक्षण : मुटुरोगका मुख्य लक्षणमा छाती दुख्ने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, मुटुको चाल तीव्र हुने आदि हुन्। कोभिड– १९ ले मुख्यतया फोक्सोमा असर गर्ने हुनाले श्वासप्रश्वासमा समस्या खोकी आदि अधिकतम देखिन्छ भने केहीमा छाती दुख्ने समस्या नै मुख्य रूपमा देखिन सक्छ। मुटुको चालमा अनियमितता एक मुख्य खतरा हुनसक्ने भएकाले यस महामारीको अवस्थामा स्वास्थ्यकर्मीले मुटुको चाल कम वा बढी हुँदा हुने लक्षण ध्यानमा राख्नुपर्ने हुन्छ। साथै स्वास्थ्य निकायले चालको अनियमिततालाई समयमै यकिन गरी उपचार गर्न योजना बनाउन जरुरी हुन्छ। त्यस्तै निमोनिया लागेका कोरोना संक्रमितमा पनि मुटुरोगको खतरा धेरै रहन्छ। त्यसैले निमोनिया तथा पुराना मुटुरोगीको उपचारमा पनि हुनसक्ने जटिलता कम गर्न जोखिम निर्धारण गरी उचित उपचार पद्धति अपनाउन जरुरी छ।

कोरोना संक्रमितमा मुटुरोग भएको नभएको यकिन गर्न विभिन्न जाँच सहयोगी हुन सक्छ। ईसीजीबाट प्रायजसो मुटुरोग पत्ता लाग्न सक्छन् भने रगतमा मुटुको क्षति हुँदा बढ्ने तत्को मात्रा मापन गरेर पनि मुटुमा क्षति भएको पत्ता लाग्छ। मुटुको मांसपेसी टुक्रेर उत्पन्न हुने यी मुटुरोगका तत्त्व हृदयघातको खतरा यकिन गर्नसमेत प्रयोग हुन्छ। त्यस्तै मुटुमा केही क्षति भएनभएको हेर्न इको–कार्डियोग्राफी सहयोगी हुन्छ। यसले मुटुको संरचना र कार्यक्षमतामा समस्या भएनभएको देखाउँछ।

उपचार पद्धति : मुटुरोगीको उपचार गर्नुअघि कोरोनाको जाँच गर्नु जरुरी हुन्छ। यसमार्फत स्वास्थ्यकर्मीले उपचारका क्रममा उचित बचावटका उपाय अपनाउन सक्छन् र बिरामीको उपचारको पद्धति यकिन गर्न सक्छन्। हृदयघातका बिरामीमा जोखिमको निक्र्योल गर्नुपर्छ र उच्च जोखिममा रहेका बिरामीलाई कोभिड– १९ उपचारमा संलग्न अस्पतालमा इन्भेसिभ उपचारका लागि व्यवस्था मिलाउनुपर्छ। उच्च जोखिममा रहेका बिरामीलाई तुरुन्त उपचार चाहिने हुनाले उनीहरूलाई कोभिड संक्रमित अन्दाज गरी उचित बचावटका तरिका अपनाएर रक्तनलीमा रगत प्रवाह बढाउने उपचारको थालनी गर्नुपर्छ। त्यस्तै मुटुको असफलता भएमा उचित वातावरण र आवश्यकताअनुसार आईसीयूमा राखेर मुटुको चाल, तीव्रता आदिमा परिवर्तन गराउने औषधि प्रयोग गरी सामान्यतया गरिने उपचार गर्न सकिन्छ। त्यस्तै मुटुको चाल स्थिर राख्ने यन्त्रहरू मुटुमा जडान गर्दा संक्रमण हुने जोखिम धेरै हुन्छ तसर्थ उपयुक्त सावधानी अपनाउन जरुरी छ। त्यस्तै मुटुरोग उपचारमा प्रयोग हुने अन्य उपाय प्रयोग गर्नुअघि जोखिम निर्धारण गरी अत्यावश्यक परिस्थितिलाई प्राथमिकता दिने गर्न सकिन्छ। त्यस्तै उच्च रक्तचापका बिरामीलाई समेत आवश्यकताअनुसार औषधोपचार गर्न सकिन्छ। अस्पताल सेवा आवश्यक नभएका बिरामीलाई घरमै औषधिमार्फत रक्तचाप नियन्त्रण गर्न सकिन्छ। त्यस्तै लामो समयदेखि रक्तचाप उच्च रहेका बिरामीमा मुटुरोग र चालसम्बन्धी समस्या आउने हुनाले रगतमा इलेक्ट्रोलाइट्सको मात्रा नियन्त्रणमा राख्नुपर्छ। त्यस्ते संक्रमित तथा उच्च रक्तचाप भएका व्यक्तिमा तीव्र मिर्गौला क्षति भएको पाइएमा रक्तचाप नियन्त्रण गर्ने औषधिहरू रोक्नुपर्ने हुन्छ। तसर्थ उच्च रक्तचाप भएका बिरामीले केही समस्या आएमा स्वास्थ्यकर्मीसँग छलफल गरी उचित उपचार योजना बनाउनुपर्छ।

नयाँ मुटुरोग उत्पन्न हुनसक्ने हुनाले कोरोनाको लक्षणलक्षित उपचार तथा एन्टिभाइरल औषधि जस्तै रेम्डेसिभर, लोपिनाभिर–रिटोनाभिर प्रयोग गर्न सकिन्छ। त्यस्तै कोरोनाको जोखिमका कारण बढ्न सक्ने मृत्युदर नियन्त्रण गर्न सरकार तथा विभिन्न निकायले स्वास्थ्य सेवा, आईसीयू सेवा, भेन्टिलेटर सेवा आदिको गुणस्तर तथा उपलब्धता बनाइराख्न उचित उपाय अपनाउन जरुरी हुन्छ।

अपनाउनुपर्ने सावधानी : मुटुरोगीमा कोरोनाका असर र जटिलता धेरै रहेकाले विशेष सतर्कता अपनाउन जरुरी छ। कोरोनाबाट बच्न बेलाबेलामा हात धुने, मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, लकडाउनको पालन गर्नेजस्ता प्रमुख उपायका साथै आफ्नो रोगको उचित नियन्त्रणका उपाय अपनाउनुपर्छ। स्वास्थ्यकर्मीसँग सहकार्य गरी आफ्नो रोगको उपचारमा केकस्तो सुधार ल्याउने तथा केकस्तो परिस्थितिमा आकस्मिक उपचारको उपयोग गर्ने आदि जान्न जरुरी छ। त्यस्तै स्वास्थ्यकर्मीले पनि बिरामीको रोगअनुसार जोखिम निर्धारण गरी केकस्तो उपचार प्रणाली उपयोग गर्ने सल्लाह दिनुपर्ने हुन्छ। साथै उच्च रक्तचाप तथा मुटुरोगका बिरामीले जटिल समस्या आउन नदिन जीवनशैलीमा सुधार गर्ने, व्यायाम गर्ने, खानपानमा ध्यान पुर्‍याउने, धूमपान नगर्ने चिल्लो कम खाने आदि गर्नुपर्छ। मुटुरोगीमा कोरोनाले निम्त्याउन सक्ने समस्या भयावह त छन् तर आफ्नो उचित तयारी, उपचारमा नियमितता र समयमै स्वास्थ्यकर्मीको उचित सल्लाहअनुसार दैनिक जीवन पद्धति विकास गर्न सकियो भने समस्यालाई मुख्यतया नियन्त्रण गरी स्वस्थ जीवनयापन गर्न सकिन्छ।अन्नपूर्ण पोस्ट्बाट ।





Leave a comment

Your email address will not be published.


*