किशोरी, वैंश र जवानी

          |   प्रकाशित मितिः आइतवार, अशोज २५, २०७७     ::: 135 पटक पढिएको   |  

सजना सुनार– जताततै दसैंको रौनक थियो। मेरो मनमा पनि हर्ष, उल्लास र सपनाहरू थिए। दौंतरीहरूसँग बाबियोको पिङ खेल्ने, नयाँ कपडा लगाउने, दसैंको पाँच दिनसम्म भए पनि सबै आफन्तको घरदैलो पुगेर टीका-जमरा थाप्ने सपना संगालेको थिएँ।

यी सबै सपना मेरो योनीबाट पहिलोपटक बगेको केही रंगी र केही विरंगी पानीले पखालेर लग्यो। त्यति बेला मनको छट्पटाहटले मलाई पहिलोपटक आफू छोरी भएर नजन्मिएको भए हुन्थ्यो नि भन्ने महशुस भयो।

हुन त १३ वर्षकी किशोरी महिनावारी हुनु भनेको अन्य ठाउँ र परिवेशका लागि सामान्य हुन्छ होला। तर, महिनावारीलाई छाउपडी प्रथासँग जोड्ने र पहिलोचोटि हुँदा घरको धुरी, बुबा, दाजुभाइ कसैको अनुहार हेर्न हुँदैन, अँध्यारो कुनामा लुकेर बस्नुपर्छ भन्ने समाजमा छोरी हुनु अभिशाप नै हुँदो रहेछ।

हिजोसम्म बुबाकी प्यारी म, अब ११ दिन बुबाको मुखसमेत हेर्न पाउँदिनँ। एकातिर यस्तो मानसिक चिन्ता थियो भने अर्कातिर शारीरिक पीडाको कुरै नगरौं। हाम्रोजस्तो समाजमा जब बालिका किशोरी बन्छे, उसलाई त्यो अवस्थासँग कसरी सहज हुने भन्ने सिकाउनुभन्दा एक्लोपन महशुस गराइन्छ। उसलाई छोरी हुनुमा गर्व होइन, लज्जित तुल्याइन्छ।

जब एउटी किशोरीको गालामा शरीरको हर्मोन परिवर्तनले डन्डिफोर आउँछ, तब उसलाई वैंशको संज्ञा दिइन्छ। जब एउटी किशोरी महिनावारी हुन्छे, फेरि पनि उसलाई जवानी र वैंशको संज्ञा दिइन्छ।

किशोरावस्थामा प्रवेश गर्दै गर्दा जब एउटी किशोरीमा शारीरिक परिवर्तन आउँछ, तब उसलाई आवश्यकभन्दा अनावश्यक कुरा धेरै सिकाइन्छ। आफ्नो छाती लुकाएर हिँड्न बाध्य पारिन्छ। यसले किशोरावस्थामै कतिपय किशोरीमा कुप्रोपन आइसकेको हुन्छ।

सबैको शरीर र शारीरिक परिवर्तन एकनासको हुँदैन। कुनै कारणवश किशोरीको स्तन ठूलो भइदियो भने उसको सबभन्दा ठूलो अभिशाप त्यही बन्छ। समाज, समाजका गन्यमान्य व्यक्ति, आफन्त, साथीभाइ सबैको नजर उसको स्तनमै ठोकिन्छ। फलस्वरुप किशोरी आफैं असहज महशुस गर्न थाल्छिन्, अनि हरेक कुरामा पछाडि पर्दै जान्छिन्।

एक महिला शिक्षकबाट कुनै एक किशोर यौन दुर्व्यवहारको सिकार बनेको समाचार सायदै सुनिन्छ। तर, प्रत्येक एक विद्यालयमा एउटी बालिका वा किशोरी यौन दुर्व्यवहारमा परेकी हुन्छे। चाहे त्यो समकक्षी साथीबाट होस् वा आफूभन्दा ठूलो कक्षाको साथी वा आफूलाई पढाउने शिक्षकबाट।

एउटी किशोरीले खाने, बस्ने, हिँड्ने स्वतन्त्रता मात्र नभएर, आफूले चाहेको कपडा लगाउने स्वतन्त्रता पनि गुमाएकी हुन्छिन्। यो समाजले किशोरीको हिँडाइ, डुलाइ, साथीको रोजाइजस्ता हरेक विषयलाई उसको जवानी र वैंशसँग जोडिदिएको हुन्छ। 

एउटै घरको किशोर जसरी स्वतन्त्र भएर हिँड्न सक्छ, आफ्नो तरिकाले साथी बनाउन सक्छ, रमाउन सक्छ, त्यही तरिकाले त्यही घरकी किशोरीलाई साथी बनाउन पनि अभिभावकले रोजेको हुनुपर्छ।

विद्यालय र घरमा मात्र सीमित किशोरीलाई किशोरको तुलनामा घरको धेरै काम गर्नुपर्छ। एउटै घरको किशोर र किशोरीमा किशोरीले बिहान खाना पकाएर, खाएर, विद्यालय गएर, विद्यालयबाट फर्किसकेपछि पनि फेरि त्यही चुलोचौकोमा सीमित हुनुपर्छ। किशोरले भने विद्यालय जाने, खाना खाने, खेल्ने र मन लागेका बेला गृहकार्य गर्ने मौका पाउँछ। अनि वर्षको अन्त्यमा किशोर र किशोरीको वार्षिक नतिजा तुलना गर्दै भनिन्छ- यसको त दिमाग नै छैन।

नेपालमा दिनहुँ सात जना बलात्कृत हुन्छन्। यसमा सबभन्दा धेरै किशोरी नै पर्छन्। धेरै पीडकहरू नजिकका आफन्त र चिनेजानेका व्यक्ति हुन्छन्। प्रहरीका अनुसार नेपालमा भएका बलात्कारसँग सम्बन्धित घटनामध्ये ८२ प्रतिशत आफन्त र चिनजानकै व्यक्ति वा निकट परिवारका सदस्यबाट हुने गरेका छन्।

यसरी किशोरीहरू परिवार र आफन्तकै बीच असुक्षित भइरहेका बेला उनीहरूलाई हौसला, साहस र आत्मविश्वास दिनुभन्दा मानसिक रूपमा कमजोर बनाइन्छ।

बलात्कार तथा यौन दुर्व्यवहारको घटनापछि छिमेकी, आफन्त र इज्जतको हेक्का राख्ने परिवार र समाजले किशोरीको मानसिक उतारचढाव र तनावलाई बेवास्ता गरिदिन्छ। सत्य जे भए पनि पहिलो दोष उसकै चालचलन, लवाइ र चरित्रमाथि लाग्छ। यसले केही किशोरी त आत्महत्या गर्न बाध्य हुन्छिन्। तै पनि सुख पाउँदिनन्। कसैको गर्भ थियो होला, त्यही भएर आत्महत्या गरी भनेर फेरि पनि उसको चरित्रमा औंला उठाइन्छ।

यी सबै अवस्था परिवतन गर्न सबभन्दा पहिला हाम्रो घर र समाजको सोच बदल्नुपर्छ।

किशोरीको गालामा डन्डिफोर आउन सुरू भयो वा उसको पहिलो महिनावारी भयो भने त्यो शारीरिक परिवर्तनका कारण हो भन्ने महशुस हुनुपर्छ। यसलाई सामान्य ढंगले ग्रहण गरिनुपर्छ। बरू यस्तो बेला किशोरीको शारीरिक र मानसिक परिवर्तनका लागि अभिभावकहरूले पहिलेदेखि नै पूर्वतयारी गर्दै उनीहरूलाई सहज वातावरण बनाइदिनुपर्छ।

कसैसँग नबोल भनेर सिकाउने अभिभावकले अन्याय पर्दा बोल्न हौस्याउनुपर्छ। एउटी किशोरीलाई सानैदेखि शारीरिक रूपमा कमजोर छौ भनी महशुस गराउने र पटक-पटक त्यही कुरा सुनाइरहने परिवार र समाजले ऊ शारीरिक र मानसिक रूपमा सबल र सक्षम छ भन्ने महशुस गराउन सक्नुपर्छ।

भविष्यमा विवाह गरेर गइहाल्छे, परिवार र घर सम्हाल्नैपर्छ, त्यसैले सानैदेखि चुलोचौकोमा सीमित बनाउने परिवारले आवश्यक ज्ञान र सीप छोराछोरी दुवैलाई चाहिन्छ भन्ने हेक्का राख्नुपर्छ। छोरीलाई पनि चुलोमा मात्रै सीमित नबनाई जीवनोपयोगी सीप र क्षमताका लागि सिक्ने वातावरण मिलाइदिनुपर्छ।

एउटा किशोरी सुन्दर, सुशील, लामो केश, सुरिलो आवाज मात्र नभई साहस, निडर, आत्मविश्वासी र आवश्यक पर्दा धारिलो छुरा हुन पनि जरुरी छ। 

सुन्दरताका लागि प्रयोग गरिने वस्तुलाई आवश्यक पर्दा सुरक्षाको हतियार पनि बनाउन जान्नुपर्छ। एउटा किशोरीमा आफ्नो शरीरको सुरक्षा आफैं गर्ने सामर्थ्य राख्न जरुरी छ। त्यसका लागि किशोरीले शारीरिक र मानसिक रूपमा आफूलाई सक्षम बनाउनुपर्छ। पछिल्लो घटनाक्रम नियाल्दा प्रत्येक किशोरी र बालिकाले आत्मरक्षा तालिम वा सीप सिक्नैपर्छ। आत्मरक्षा तालिम भनेको शरीरको सुरक्षाका लागि मात्र नभई आत्मविश्वासको सारथी पनि हो।

आज अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा सम्पूर्ण अभिभावकहरूलाई म यही भन्न चाहन्छु- हामी छोरीहरू जन्मँदै शारीरिक र मानसिक रूपमा कमजोर भएर जन्मिएका हुँदैनौं। समाज र घरपरिवारको सोच र क्रियाकलापले नै हामीलाई कमजोर बनाइदिएको हो। त्यसैले छोरीहरूलाई कमजोर होइन, साहसको प्रतिमूर्ति बनाऔं।





1 Comment on किशोरी, वैंश र जवानी

  1. मन छुने लेख छ वधाइ छ सजना जी

Leave a comment

Your email address will not be published.


*