यसकारण मृत्युदण्ड

          |   प्रकाशित मितिः सोमवार, अशोज २६, २०७७     ::: 9 पटक पढिएको   |  

नरमाया (प्रज्ञा) ढकाल- बलात्कारका घटना दिनप्रतिदिन बढिरहेका छन्। यसले सिंगो देशलाई नै चिन्तित बनाएको छ। हाम्रो देश मात्र होइन, विश्वका विभिन्न अविकसित वा विकसित देश सबैतिर यो एउटा ठूलो सामाजिक समस्याका रूपमा देखा परेको छ। यसका कारण समाजशास्त्रीहरूले पहिल्याउँदै होलान्। तर, एक नारी आँखाले हेर्दाचाहिँ यसको मूलकारण पुरुषप्रधान समाजमा रहेको मानसिकता नै हो। नारीलाई जहिल्यै दोस्रो दर्जाका रूपमा हेरिनु, उनीहरू भोग्य वस्तुसरह हुन् भनेर परिभाषित गरिनु नै प्रमुख कारण हुन्। पुरुष मानसिकतामा परिवर्तन नआएसम्म यो समस्या समाधान हुन वर्षौं लाग्छ।

म पुरुष त ठीक छु, सत्यवादी छु, ऊ त्यो परको अर्को कमजोर सोच भएको पुरुषका कारण बलात्कार भएको हो भनेर उम्किन पाइँदैन। सदियौंदेखि पितृसत्तात्मक व्यवस्थामा चलेको समाज हो हाम्रो। त्यसैले सोच पनि त्यहीअनुरूपको छ। नारीहरूले समानताका लागि, अधिकारका लागि अहिले पनि संघर्ष गरिरहेको अवस्था छ। त्यसैले बलात्कार बढ्नुमा, चेली बलात्कृत हुनुमा सम्पूर्ण समाजले नै जिम्मेवारी लिनुपर्छ।

एउटी युवतीले लगाउने कपडाका कारण पुरुषहरूमा कामबासनाको भाव बढ्छ। त्यसैले छोटा कपडा नलगाउने, शृंगार नगर्ने सुझाव जिम्मेवार व्यक्तिहरूबाट आउँछन्। यसले हाम्रो समाज कुन अवस्थामा छ भन्ने प्रस्ट्याउँछ। तर, यसले पुरुषप्रधान समाजको वास्तविक तस्बिर पनि स्पष्ट देखाउँछ।

नारीले छोटा कपडा लगाएको भएर बलात्कार बढेको हो भन्ने जस्ता सस्ता तर्क दिएर उम्किन पाइँदैन। नांगोपनको कुरा गर्ने हो भने त नांगो हुनु नै प्रकृति हो। वातावरणमा सन्तुलन हुने भएको भए यत्रतत्र सर्वत्र नांगै घुमिन्थ्यो। वस्त्र लगाउन त प्रकृतिले सिकाएको हो। पहिले–पहिले रूखका पात उनेर लगाइन्थ्यो। सिउन÷बनाउन सिकेपछि मात्र वस्त्र लगाएको हो। अनि, नारी शरीरका खुला भाग र खुला अंग देख्नेबित्तिकै झम्टिहाल्ने प्रवृत्ति कहीँ कतै पनि प्राकृतिक होइन। त्यस्तो त जंगली अवस्थामा हुँदा पनि मानवले गरेन। पुरुषप्रधान समाजलाई सभ्य नै भनाइदिन हामी नारीले सर्वाङ्ग ढाकिने वस्त्र लगाइदिनुपर्ने, घरभित्रै बसिदिनुपर्ने तर्क पनि सभ्यताको मर्मविपरीत छ।

हाम्रो समाजमा नारी अंग भएकै कारण अन्याय र अत्याचारमा रहिरहनु परेको  सदियौँ भइसक्यो। समानता र अधिकारका लागि आन्दोलन चलिरहेकै छन्। तर, अहिले हाम्रो देशमा शृंखलाबद्धरूपमा बालिका र चेली बलात्कारका घटना बढिरहेका छन्। हिजोका दिनमा गाउँघरमा वा शहरका कोलाहलमा बलात्कारका घटना लुकाउने गरिएको थियो। अहिले सञ्चारका क्षेत्रमा भएको विकासका कारण र चेलीहरूमा पनि चेतनास्तर बढेको छ। त्यही कारण धक फुकाएर अन्यायविरुद्ध बोल्ने साहस बढिरहेको छ। फलस्वरूप यस्ता घटना सार्वजनिक हुने क्रम बढेको हो।

जुन योनीबाट निस्केर तिनै नारीको दूध चुसेर पृथ्वीमा अस्तित्वमा रहेको हो, तिनै नारीको सम्मान गर्न नसक्ने समाजको निर्माण गरेका छौँ हामीले। यो कहीँ कतैबाट प्राकृतिक छैन। शरीर सुखका लागि, आफ्नो वासनाशमनका लागि नारी शरीर खोज्दै हिँड्ने र एकान्तमा वा एक्लै भेटेमा झम्टिहाल्ने पुरुष प्रवृत्ति सभ्य समाजका लागि घातक छ। जंगलमा हिँड्दा जंगली जनावरको डर र त्रासमा छिटोछिटो बस्तीतिर पाइला लम्काउन पाइयोस्। न कि कुनै कुनाबाट पुरुष आइपुग्छ र आफूलाई झम्टिन्छ कि भन्ने त्रासले श्वास रोकेर हिँड्नु परोस्।

आजसम्म त सामाजिक सन्तुलनका लागि भनेर नारी आवाजहरू दबाइए र दबिए। तर अब यो चक्र तोड्नुपर्छ, तोडिनैपर्छ। जबसम्म २४ घन्टा कुनै पनि नारी घरबाट बाहिर निस्फिक्री घुम्न सक्ने वातावरण सिर्जना हुन सक्दैन, तबसम्म हामीले विकास, संस्कृति, सभ्यताजस्ता शव्दलाई कोठरीमा थन्क्याएर राखे हुन्छ।

हरेक कालको अवस्थाअनुसारको व्यवस्था गर्ने हो। अहिलेको अवस्थामा हाम्रो समाजमा दिनप्रतिदिन बढ्दो बलात्कारको घटनाले गर्दा हामीले विश्व व्यवस्थाका विभिन्न सन्धिसम्झौताहरूमा हस्ताक्षर गरेका छौं भनेर बस्ने अवस्था छैन। आफूले झम्टिएर बलात्कार गरिरहेकी नारी एक मानव हुन्, नारी हुन्, आफैंलाई जन्मदिने सृष्टिकर्ताको स्वरूप हुन् भन्ने सोच्न नसक्ने कसरी मानव हुन सक्छ ? 

मानवको स्वभाव र गुण नै नभए पनि मानिसको स्वरूपमा दुई खुट्टाले उभिँदैमा मानिस हुन्छ भन्ने तर्कसँग सहमत हुन सकिँदैन। समाजमा रहँदा बस्दा उसले गर्ने व्यवहार पनि मानवीय हुनैपर्छ। अन्यथा समाजका यस्ता दुष्टहरूका लागि सुहाउँदो सजाय भनेकै मृत्युदण्ड हो।

होला, कतिपय विकसित देशको प्रभुत्वमा बनेका सोच र कानुनको कसीमा बसेर हेर्दा हामीले अन्तर्राष्ट्रिय मान्यतालाई अंगीकार नगरेको पनि देखिएला। दुई–चार मुलुक घुमेर सभा–सम्मेलनमा उपस्थित भएर मानवअधिकार र स्वतन्त्रताको कुरा गर्नेहरूले मृत्युदण्डको कुरा गर्दा असहज पनि मान्लान्। तर सम्झिनुपर्ने त आफ्नै मुलुकको दुर्दशा हो। आफ्नै चेलीहरूको पीडा र चित्कार सम्झिनुपर्ने हो। सार्वजनिक बसमा यात्रा गरिरहेकी चेलीले भाडा तिरेर ओर्लिने बेलामा बलिष्ठ पुरुषहरूको अँठ्याइमा परेर बलात्कृत हुँदा मुखमा कोचिएको बुजोमा अड्किएको आवाज सुन्नुपर्ने हो।

हामीले सम्बोधन हुन नसकेका विषयमा संविधान संशोधन हुनुपर्छ भनी आवाज उठाउँदै आएका छौं। अब संविधान संशोधन गर्दा बलात्कारीलाई मृत्युदण्डको विधान पनि थप्नैपर्ने देखिन्छ। बरु निश्चित समयसम्मका लागि बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गरौं। बिस्तारै बलात्कार शून्यमा झरिसकेपछि यसको आवश्यकता स्वत: समाप्त हुन्छ। त्यसबेला अन्तर्राष्ट्रिय सन्धि–सम्झौताअनुकूल हुनेगरी कानुनमा फेरि संशोधन गरौंला। अहिलेलाई त मृत्युदण्ड चाहिन्छ, चाहिन्छ।
—ढकाल संघीय सांसद हुन्। अन्नपूर्ण पोस्ट्बाट ।





Leave a comment

Your email address will not be published.


*