‘जहाँ छौं, त्यहि दशैँ मनाऔँ’

          |   प्रकाशित मितिः शुक्रबार, अशोज ३०, २०७७     ::: 17 पटक पढिएको   |  

दैलेख असाेज ३० गते । सरुवा रोगसम्बन्धी जानकारहरु यसपालिको दसैं हाल बसेको यथास्थानमै मनाउन आग्रह गरिरहेका छन् । तर, कामको शिलसिलामा घर छोडेर अन्य ठाउँ र सहरी क्षेत्रमा बसेका आम मानिसहरु दसैं मान्न घर जाने कि नजाने भन्ने दोधारमै छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन अहिलेको दसैं आफू बसेको स्थानमा मनाउन आग्रह गर्छन् । काठमाडौंमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम उच्च छ । संक्रमणको दर पनि बढ्दो छ । काठमाडौंबाट बाहिर जाँदा गाउँगाउँमा कोरोना संक्रमण सर्ने भएकाले आफ्नो परिवार र समाज जोगाउने हो भने यथास्थानमा बस्न डा. पुनको आग्रह छ । भरसक यथास्थानमा रहँदा पनि टीका लगाउँदा भिडभाड नगरी बन्द कोठामा भन्दा खुला ठाउँमा बसेर सामाजिक दूरी कायम गरी साबुन पानीले हात धोई, सेनिटाइजरको प्रयोग गरेर स्वास्थ्य मापदण्ड पालना गरी दसैं मनाउन उनले सुझाव छ । ‘मेलापर्व मान्ने नाममा विगतमा जस्तै जमघट हुने रमाइलो गर्ने कोरोना केही होइन भन्ने सोच त्यागेर सुरक्षित तरिकाले घरमै बस्न आवश्यक छ, डा. पुनले भने ‘कोरोनालाई सामान्य रुपमा नलिनुहोस् ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. जीडी ठाकुर आफनो समुदाय र परिवारलाई जोगाउन सकिँदैन भने मेला पर्व के का लागि मान्ने भन्ने प्रश्न गर्छन् । अहिले बाच्ने र अरुलाई बचाउने समय भएकाले दसैं मान्ने नाममा एक स्थानबाट अर्को ठाउँमा जानै नहुनेमा डाक्टर ठाकुरको जोड छ । हामी सबै एकजुट भएर कोरोनाबाट यो वर्षमा पराजित गरियो भने अर्को वर्ष मेला पर्व धुमधाम सँग मनाउन सकिने उनको भनाई छ । दसैं मनाउने नाममा शहरको मान्छे गाउँ र गाउँको मान्छे सहर पस्यो भने अवस्था भयाभह हुने डाक्टर ठाकुरको भनाइ छ । कोरोनाको पीडा कोरोना लागेको व्यक्ति र परिवारलाई भयावह अवस्था रहेको र अस्पतालमा बेड नपाएर बाहिर छट्पटाउने अवस्था रहेको उनी बताउँछन् । देश पीडामा रहेको अवस्थामा रमाइलोको नाममा कोरोनामाथि खेलवाड नगर्न सबै आमजनतालाई डाक्टर ठाकुरको आग्रह छ । अहिले बाच्नको लागि काम गर्ने बेला भएको बताउँदै डा. ठाकुर भन्छन् ‘मेला पर्वमा जमघट हुने सबै कार्यक्रम बन्द गर्नु आवश्यक छ ।’
बन्दाबन्दी हटेसँगै मानिसहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको कारण कोरोना संक्रमण बढेको उनको बुझाइ छ । कोरोनाको जोखिमबाट बच्न मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने जस्ता कामहरु गर्न आवश्यक रहेको उनको भनाई छ । अहिले केटा–केटीदेखि बुढाबुढी उमेरसम्मका सबै मानिस कोरोनालाई पराजित गर्न जिम्मेवारपूर्वक काम गर्नु पर्ने बेला आएको उनी बताउँछन् । कोरोनाबाट बच्न संक्रमण रहेको क्षेत्रमा कम्तिमा दुई हप्ता सिल गरेर अवस्था हेरेर खोल्न आवश्यक रहेको डा. ठाकुर बताउँछन् ।
जनस्वास्थ्य विद् डा.शरद वन्त नेपालमा कोरोना तीव्र गतिमा अगाडि बढेकाले शहरबाट अत्यावश्यक काम विना गाउँ घरमा जान नहुने बताउँछन् । नेपालको बढी जनघनत्व रहेको काठमाडौं लगायत शहरी क्षेत्रमा कोरोना संत्रमण रहेकाले दसैंलगायत मेला पर्व मान्न एक ठाउँबाट अर्को ठाउँमा जानै नहुनेमा जनस्वास्थ्य विद् डा. वन्तको आग्रह छ । कोरोनाको जोखिम बढेको अवस्थामा दसैं, तिहार, छठ मनाउन गाउँ नजान उनको अनुरोध छ । ‘दसैं मेला पर्व अर्को साल पनि मनाउन सकिन्छ, उनले भने ‘भौतिक रुपमा भेटेर भोज भतेर गरेर मात्रै दसंै मनाउने भन्ने सोच बदल्न जरुरी रहेको र यथास्थानमा बसेर पनि दसंै मनाउन सकिन्छ भन्ने मानसिकता बनाउन जरुरी छ ।’
दसंैको बेला भेटघाट र जमघट गरियो र कोरोनालाई सामान्य रुपमा लियो भने अवस्था जटिल हुने उनी बताउँछन् । लाखांै नेपाली दाजुभाई विदेश रहेर पनि दसंै मनाएका छन् भने हामी किन यथास्थानमा बसेर दसैं नमनाउने भन्नेमा डाक्टर वन्तको प्रश्न छ । ‘शहरमा बस्नेहरु सबैले परीक्षण गरेका छैनन् कसलाई कोरोना छ वा छैन भन्ने भन्ने थाहा छैन, उनले भने ‘कोरोना लक्ष्ण देखिएन भन्दैमा कोरोना छैन भन्ने हुँदैन कतिलाई लक्षण विनाको मान्छेमा पनि परीक्षण गर्दा कोरोना संक्रमण देखिएका छन्, कोरोना छ भन्दैमा सबैलाई ज्वरो रुवाखोकी लाग्छ भन्ने छैन,’ उनले भने । नागरिकहरु व्यवहारिक रुपमा जिम्मेवारी बन्ने बेला आएको जनस्वास्थ्य विद् डा. वन्तको भनाई छ । गोरखापत्र





Leave a comment

Your email address will not be published.


*