गणेशमानको त्यो रोचक भ्रमण

          |   प्रकाशित मितिः सोमवार, कार्तिक २४, २०७७     ::: 26 पटक पढिएको   |  

पदलोलुपताभन्दा माथि उठेका र राष्ट्रसंघको गर्विलो पुरस्कारबाट सम्मानित गणेशमानलाई वीरेन्द्रले प्रजातन्त्रका सच्चा साधक मान्थे

शिवलाल श्रेष्ठ- संयुक्त राष्ट्रसंघको सभागृहमा गणेशमान सिंहलाई अन्तर्राष्ट्रिय मानव अधिकार पुरस्कारबाट पुरष्कृत गरिएको भव्य समारोहमा उपस्थित भारतका तत्कालीन परराष्ट्रमन्त्री अटल बिहारी बाजपेयीले उहाँसमक्ष भनेका थिए, ‘यस पुरस्कारले नेपाललाई मात्र नभई भारतलाई र अझ एसिया महादेशसमेतलाई गर्विलो बनाएको छ। तपाईंलाई धेरैधेरै बधाई छ।’ यस्ता महान् हस्तीबाट राजनीतिक कुरा सुन्न पाउनु स्वाभाविक थियो।

नेपाली कांग्रेसको सरकार थियो, सरकार प्रमुख पार्टी लाइनबाट हटेर स्वेच्छाचारी ढंगले चल्न थालेपछि सर्वमान्य नेता गणेशमानको जनजागरण अभियानअन्तर्गत देश भ्रमणको कार्यक्रम तय भएको थियो। हामीले पनि उहाँको भ्रमण टोलीमा सामेल हुने निधो गर्‍यौं। उहाँको भ्रमण टोलीको ब्याकअप समूह बनेर सामेल हुने हाम्रो इच्छा केपी भट्टराईसमक्ष राख्यौं। भट्टराईले फ्रन्टमा नसर्नू, लो प्रोफाइल मेन्टेन्ड राख्न भनेपछि सरासर चाक्सीबारी गयौं। सर्वमान्यले को–को आउँदै छन् र तिमीहरू कसरी आउँछौ भनेर सोध्नुभयो। उहाँका माहिला भतिजा महेन्द्रमान सिंहले हामीतिर इंगित गर्दै गुलाबशमशेर थापा, शिवलाल श्रेष्ठ, रघुराज वन्त, गंगालाल पिखा अनि म आउँछौं भने। सुरक्षित यात्रा गर्नू भन्दै उहाँले हामीलाई बिदा गर्नुभयो।

भोलिपल्ट बिहान हामी विराटनगरतर्पm लाग्यौं। निर्धारित कार्यक्रमअनुसार त्यसको भोलिपल्ट सिंहलाई स्वागत गर्न विराटनगर एयरपोर्ट पुग्यौं। हामी पुग्नुअघि नै कांग्रेस कार्यकर्ता र स्थानीय जनसमुदाय उहाँको स्वागतका लागि भेला भइसकेका थिए। उहाँले विशिष्ट कक्षमा कार्यकर्ता तथा स्थानीयसँग केही समय भलाकुसारी गर्नुभयो। त्यसपछि उहाँको टोली कोइराला निवासतर्पm लाग्यो। हाम्रो टोली होटेल लाग्यो।

भ्रमणका बेला धेरै सम्बोधन र घटनामध्ये दुइटा प्रसंग अमिट बनेको छ। विराटनगर एलिट क्लबमा सम्बोधन गर्ने क्रममा सर्वमान्यले भन्नुभएको थियो– जबजब कांग्रेस सत्तामा आउँछ तबतब आपूmभित्रकै केही तत्वका कारण पार्टीको साख खस्किन्छ र बदनाम बन्छ। त्यसै सन्दर्भमा उहाँले आफ्नो भनाइ यसरी राख्नुभएको थियो।

पहिलो ….जानिन

दोस्रो ….मानिन

बाघ आयो घिच्च्याउन

….लाग्यो चिच्च्याउन !

पहिला बीपीले नजान्दा नेपाली कांगे्रसको बहुमत सरकारलाई १८ महिनाभन्दा बढी टिकाउन सकेनन्। दोस्रोमा जति भने पनि गिरिजाप्रसाद कोइरालाले मानेनन्। ०४६ सालको अहिंसात्मक जनआन्दोलनले तह लागेको राजा गर्जन थाले। अहिले प्रजातन्त्र जोगाउन म यसरी चिच्याउन थालें। कविताको भावार्थ यस्तो थियो। दोस्रो प्रसंग धनकुटाको सभाहल जाने क्रममा उकाली चढ्न सर्वमान्यलाई ठूलो परिश्रम गर्नुपरेको थियो। अगाडिबाट जीवराज कुँवरले उहाँलाई तान्ने र पछाडिबाट गोपाल जोशी र कृष्ण पाँडेले धकेल्नुपरेको थियो। यो दृश्य देखेर स्थानीय दुईजना भन्दै थिए, ‘हेरहेर यस्तो उमेरमा पनि गिरिजाले दुःख दिएको, जसका लागि उसले सात जन्म प्रायश्चित गरे पनि मुक्ति पाउँदैनन्।’

सर्वमान्य जनजागरणका लागि निस्कनुपरेका मुख्य कारण गिरिजाप्रसाद भएकाले उनीसँग सम्बन्धित र मैले बारम्बार सुनेको एउटा प्रसंग यस्तो छ– जनमत संग्रह सकेको केही महिना मात्रै भएको थियो। त्रैलोक्यमान सिंह (गणेशमान सिंहका भतिजा) र गुलाबशमशेर थापा (जनरल सुवर्णशमशेरका भान्जी ज्वाइँ) कामविशेषले नयाँदिल्ली जान लागेका थिए। त्यसताका दुवैजना बीपीका ‘ब्लु आइड ब्वाय’ थिए। दिल्ली जान लागेको भन्दै दुवैजना बीपीलाई भेट्न गए। ‘म पनि एकदुई दिनमा दिल्ली आउँदै छु। तिमीहरूले म र इन्दिरा गान्धीबीच भेट्ने व्यवस्था मिलाउनू’ बीपीले भनेका थिए। ‘कोसिस गरौंला सर’, त्रैलोक्यमान सिंहले भने। बीपीकहाँबाट निस्केर बाहिर पुग्नासाथ गुलाबशमशेर थापाले आफ्नो मित्रसँग अलि खिजिएको पारामा सोधे, ‘होइन, तपाईंले भारतमा कुनचाहिँ राजनेतालाई चिनेको छ र भेट्ने व्यवस्था मिलाउने जिम्मा लिएको ?’ त्रैलोक्यमान सिंहले भने, ‘कोसिस गरेर हेरौं, के हुन्छ ?’ दिल्ली रेलवे स्टेसनमा पुगेपछि गुलाबशमशेर थापा दिल्लीस्थित आफ्नी जेठी सासूको निवासतर्पm लागे भने त्रैलोक्यमान सिंह पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाली मूलकी भारतीय आफ्ना मित्र शिला रोक्का देसाईको निवासतर्फ लागे। यसरी छुट्टिनुपूर्व कुनै पनि विकसित घटनाक्रम आपसमा जानकारी गराउने समझदारी उनीहरूबीच भएको थियो।

निरञ्जन देसाई शिलाका पति थिए। त्रैलोक्यमान देसाईसँग भेट्न गएका थिए। सोही बेलुका गुलाबलाई त्रैलोक्यले देसाईको घरमा डाके। त्यहाँ आएका व्यक्तिमध्ये आरके धवनका भतिजा एवं युथ कंग्रेसका नेता पनि उपस्थित थिए। धवनले उनीहरूलाई भोलिपल्ट भारतीय नेसनल कंग्रेसको कार्यालयमा लग्ने जिम्मा लिए। भोलिपल्ट धवनले उनीहरूलाई सरासर जनरल सेक्रेटरी फर वेस्टर्नकोर्ट वाईबी चौहानकहाँ लिएर गए। वाईबी चौहानले केकति कामले आएको भनेपछि ‘माडम गान्धीका लागि नेपाली कांगे्रसका अध्यक्षको सन्देश लिएर नेपालबाट मित्रहरू आउनुभएको छ’ भन्ने कुरा धवनले राखे। के सन्देश ल्याउनुभएको छ नेपालबाट भन्ने जिज्ञासामा त्रैलोक्यले केही वर्ष पहिले बीपी कोइराला र इन्दिरा गान्धीबीच केही सहमति भएको र त्यस विषयमा फेरि छलफल गर्न समय चाहेको बताए। बीपीको नाम सुनेको भन्दै चौहानले सबै कुरा राख्न भने। उनले अरू जनरल सेक्रेटरीलाई पनि बोलाए। सबैजना कोठाभित्र आएपछि चौहानले पुनः आफ्नो कुरा राख्न भने।

त्रैलोक्यमानले नेपालमा राजनीतिक दल प्रतिबन्धित अवस्थामा रहेको र नेपाली कांग्रेसका नेता भारतमा शरण लिएर बसेको अवगत गराउँदै बीपी पनि भारतमै रहेको बताए। उनले नेपाल राष्ट्र बैंकको पैसा बोकेको नेपाली हवाईजहाज नेपाली कांगेसले अपहरण गरेको र त्यो पैसा गान्धीका विरोधी जयप्रकाश नारायणको आन्दोलनमा खर्च गरेको भन्ने भ्रम हटाउन बीपीले इन्दिरा गान्धीसँग भेट्न चाहेको बताए। त्यसपछि चौहानले इन्दिरा गान्धी साँझ मोरिसस जान लागेकाले इस्टर्नकोर्टका जनरल सेक्रेटरी श्यामसुन्दर महपात्रसँग भेट्न सुझाए।

त्यहाँबाट फर्केर दुवैजना बीपीलाई लिन एयरपोर्ट पुगे। बीपीले दुवैजनासँग इन्दिरा गान्धीसँगको भेटको समयबारेमा सोधे। त्रैलोक्यले इन्डियन नेसनल कंग्रेसको कार्यालयमा भएका वृत्तान्त सुनाए। बीपीले नेपाली कांग्रेसका अध्यक्षले भारतीय कंग्रेसको जेनरल सेक्रेटरीसँग भेट्नु प्रोटोकलविपरीत हुने बताए। त्यसपछि उनीहरूलाई वेस्टर्नकोर्ट गएर गिरिजाप्रसादलाई ल्याउन भने। गुलाब र त्रैलोक्य त्यहाँ पुग्दा सुशील कोइराला र वीरेन्द दाहाल बाहिरै बसेका थिए। उनीहरूसँगै गएर गिरिजाप्रसादलाई भेटे र बीपीले बोलाएको भन्दै सँगै जान भने।

पहिला बीपीले नजान्दा दुईतिहाइ बहुमतको सरकारलाई १८ महिनाभन्दा बढी टिकाउन सकेनन् भने दोस्रोपटक गिरिजाप्रसादले भनेको नमान्दा बहुमतको सरकार विघटन गरेर मध्यावधिमा जानुपर्ने परिस्थिति निर्माण भयो।

बीपीले गिरिजाप्रसादलाई श्यामसुन्दर महपात्रसँग भेट्न भने। उनी गुलाब र त्रैलोक्यसँगै गए। महपात्रले तपाईं हामीबाट के चाहनुहुन्छ भनेर सोधे। गिरिजाप्रसादले पछाडि फर्केर गुलाब र त्रैलोक्यसँग के भन्ने भनेर सोधेछन्। पार्टीका महामन्त्रीको हैसियतले तपाईंलाई जे लाग्छ त्यही भन्नु भनेपछि बीपी र इन्दिरा गान्धीबीच भएको सहमतिका विषयमा सोधे। त्यो कुरा सुन्नासाथ महपात्रले टेबुलमा मुक्का बजार्दै पहिलाको कुरा छाडेर नयाँ सहमति गर्न भने। त्यसपछि त्रैलोक्यमानले नेपाली कांग्रेसका सभापति दिल्लीमै रहेकाले पार्टी अध्यक्षको सहमति लिनुपर्ने बताए। त्यसपछि महपात्रले जहिले भए पनि सहमति गर्न तयार रहेको बताए। बाहिर निस्केपछि गिरिजाप्रसादले त्यहाँ भएका कुरा बीपीलाई अवगत गराउन भन्दै बनारस हिँडेछन्।

होटेलमा फर्केर गुलाब त्रैलोक्यमानले बीपीलाई सबै वृत्तान्त सुनाए। त्यसपछि बीपीले तिमीहरूले ठीक गर्‍यौ। सुशील र वीरेन्द्रसँग गएको भए गिरिजाप्रसादले प्रोटोकलमा सही गथ्र्यो। त्यसो गरेको भए अनर्थ हुन्थ्यो भने।

०४६ सालको जनआन्दोलन भारतले बाबुराम र प्रचण्डलाई ज्वाइँ भैंm पालेर गराएको आन्दोलन थिएन। ०४६ सालको आन्दोलन घोषणापूर्व माघ ४, ५ र ६ गते चाक्सीबारीमा कांग्रेसको बृहत् सम्मेलन भएको थियो, जहाँ विभिन्न देशका राजनीतिक दलका नेताको सहभागिता थियो। त्यस सम्मेलनमा गणेशमान सिंहले चन्द्रशेखरलगायत अन्य थुप्रै दलका नेताका मुखैमा भारतको गलत नीति र रबैयाका कारण नेपालीले ३० बर्से पञ्चायती शासन व्यवस्था खेप्नुपरेको बताएका थिए। उनले राजसंस्थाका सन्दर्भमा राजसंस्था ठूलो वृक्ष भएकाले त्यसलाई उखेल्न नहुने र वृक्ष उखेल्दा खाडल पुर्न कठिन हुने बताएका थिए। जनआन्दोलन ०४६ सफल भएपछि राजसभा स्थायी समितिका अध्यक्ष डा. केशरजंग रायमाझीसँग बालुवाटारको सरकारी निवासमा भेट हुँदा ०४७ सालको संविधान मस्यौदाका बेला आएका समस्याबारे कुरा भएको थियो। गोदावरीस्थित वन विभागको एउटा बंगलामा मस्यौदा टोली बसेको र मस्यौदाको एउटा धारामा ‘संसद्को दुईतिहाइ भयो भने गणतन्त्रका लागि जनमत संग्रह गर्न सकिने’ भन्ने रहेछ। त्यस धारामा विवाद चर्किएको रहेछ। भोलिपल्ट डा. रायमाझी गणेशमानकहाँ गएछन् र समस्या पोखेछन्। सर्वमान्यले ‘राजा त चाहिन्छ, धेरै अधिकार दिनु हुन्न, राजाले नगरे पनि दरबारिया शक्तिले दुरूपयोग गर्न सक्छ’ भनेका रहेछन्। त्यो विवादलाई गणेशमानजीले किसुनजीसँग कुरा गरेर मिलाउनुभएको रहेछ। त्यसपछि बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र, मानवअधिकार, विधिको शासनलाई अपरिवर्तनीय भनेर प्रस्तावनामा उल्लेख गर्ने सहमति भएको थियो भनेर डा. रायमाझीले भनेका थिए।

अपरिहार्य, विकल्परहित पञ्चायती व्यवस्था ढाल्ने महानायक, राजाबाट बक्सेको प्रधानमन्त्री अस्वीकार गर्ने, पदलोलुपताभन्दा माथि उठेका, राष्ट्रसंघको गर्विलो पुरस्कारबाट सम्मानित, ०४७ को संविधानको प्रस्तावनामा अपरिवर्तनीय चार खम्बा राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका गणेशमान सिंहलाई तत्कालीन राजा वीरेन्द्रले बहुदलीय प्रजातन्त्रका सच्चा साधक भनी हुकुम बक्सेको थियो। सर्वमान्यको देहावसानमा राजाबाट तत्कालीन शाही नेपाली सेनाको प्रधानसेनापतिलाई राज्यको तर्पmबाट त्यस्ता साधकलाई १९ तोपको सलामी दिएर सम्मान गर्नू भनी हुकुम बक्सेको थियो।





Leave a comment

Your email address will not be published.


*