‘चीनले नेपाल र भारतसँग त्रिपक्षीय सहयोगको वकालत गरेको छ’

          |   प्रकाशित मितिः मङ्लबार, कार्तिक २५, २०७७     ::: 36 पटक पढिएको   |  
  • चिनियाँ राजदूतसँग अन्तरवार्ता :

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैंको शुभकामना सन्देश दिँदा ‘रेसम फिरिरी’ गीत गाएको भिडियो सार्वजनिक गरिन्, जसले उनी नेपालीमाझ चर्चामा आइन् । तीजका गीतमा नाच्ने लगायतका यस्तै सांस्कृतिक उपस्थितिले राजदूत यान्छी नेपालीमाझ चर्चामा आउने गरेकी छिन् । तर, कुनैबेला नेकपाका नेताहरुलाई भेटेकोमा राजदूतको भूमिकामाथि आलोचना पनि हुने गरेको छ । खासगरी भारतीय मिडियाले नेपालमा चिनियाँ हस्तक्षेप बढेको र नेपाल चीनको पोल्टामा गएको आरोप अलि बढी लगाउने गरेका छन् ।

समसामयिक सन्दर्भहरुमा उठेका यस्तै राजनीतिक एवं कूटनीतिक जिज्ञासालाई लिएर राजदूत यान्छीसँग गरिएको अन्तरवार्ता । यस अन्तर्वार्तामा कोभिड १९ बिरुद्ध चीनले लडेको लडाइँको अनुभवसमेत उनले विस्तृतरुपमा सेयर गरेकी छिन् । चीनले नेपालका सबै राजनीतिक दलहरुसँग मित्रता राखेको र भेटघाटहरु गर्नु कूटनीतिक मर्यादाविपरीत नभएको बताउँदै राजदूत यान्छीले अनलाइनखबरसँग भनिन्, ‘हस्तक्षेप नगर्नुको अर्थ सञ्चार सम्पर्क नै स्थापित नगर्ने भन्ने होइन । नेपालमा चीनको एक प्रतिनिधिको हिसावले मैले सबै राजनीतिक दल र समाजका सबै क्षेत्रसँग मित्रवत सम्बन्ध राख्छु र हामी दुईपक्षीय सहकार्य र साझ चासोको विषयमा विचार आदान-प्रदानका लागि बेला-बेलामा भेटघाट पनि गर्छौं ।

यो सामान्य आदान-प्रदान हो र विदेश मामिलामा गरिने सहकार्यलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता छैन ।’ पछिल्लो समयमा भारत र चीनवीच सीमा विवादलाई लिएर केही समस्याहरु देखिइरहेका बेला त्यसको असर नेपालमा पर्छ कि पर्दैन भन्ने प्रश्नको जवाफमा राजदूत यान्छीले नेपालको विकासका लागि चीन, भारत र नेपालले त्रिपक्षीय साझेदारीलाई सक्रियरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

नेपाल र चीनवीचको सम्बन्ध बिगार्न केही तत्वहरु लागिरहेको बताउँदै उनले यसमा दुबै देश चनाखो हुनुपर्ने बताइन् । उनले भनिन्, ‘केही तत्वहरुले चीन-नेपाल सम्बन्धलाई अण्डरमाइन गर्न खोजिरहेका छन्, हाम्रो वीचमा विवादको बिउ रोप्न खोजिरहेका छन् । त्यसैले, यी विषयमा हामी दुई मुलुक एकदमै चनाखो हुनुपर्छ ।’
प्रस्तुत छ, राजदूत यान्छीसँगको अन्तरवार्ता-

कुराकानी कोभिड-१९ बाट शुरु गरौं, यसको शुरुवात चीनबाट भयो र चीनले यसको सफलतापूर्वक नियन्त्रण गर्यो । तर, नेपाल सरकारले भने यसबाट नागरिकलाई जोगाउन संघर्ष गरिरहनुपरेको छ, यसमा तपाईको सुझाव के छ ?

सबैभन्दा पहिला मैले तपाईको प्रश्नलाई करेक्सन गर्नुपर्छ । कोरोना भाइरसको संक्रमणका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी गराउने पहिलो मुलुक चीन हो । यसको अर्थ यो होइन कि भाइरसको उत्पत्ति चीनमा भएको हो । भाइरसको उद्गमस्थल पत्ता लगाउने विषय निकै जटिल वैज्ञानिक विषय हो र विश्वभरका वैज्ञानिकहरुले यसको अन्तरराष्ट्रिय अनुसन्धान गर्नुपर्छ र आपसमा सहकार्य गर्नुपर्छ ।

उदाहरणका लागि, दि डेल्ली टेलिग्राफमा अक्सफोर्ड विश्वविद्यालयका एक विज्ञले चीनमा देखिनु भन्दा पहिला नै एसियाको कुनै भागमा यो भाइरस रहेको हुन सक्ने उल्लेख गर्दै लेख प्रकाशित गरेका छन् । सो भाइरसको उत्पत्ति खोज्ने सम्बन्धमा चीनले जहिले पनि पारदर्शी र खुला दृष्टिकोण राखेको छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त राष्ट्रसंघको महासभाको जेनरल डिबेटमा बोल्दै के कुरामा पुनः जोड दिनुभएको छ भने भाइरसको उत्पत्ति र ट्रान्समिसनसम्बन्धी विश्वव्यापी वैज्ञानिक अनुसन्धानमा चीन सक्रियतापूर्व सहभागी हुन्छ । साथै, उहाँले भाइरसको स्रोत पत्ता लगाउने ग्लोबल सहकार्य र महामारी विरुद्धको लडाइँमा योगदान गर्न तयार रहेको पनि बताउनुभएको छ ।

जहाँसम्म कोभिड-१९ विरुद्धको लडाइँसम्बन्धी चीनको अनुभवको विषय छ, यो मैले नेपाली साथीहरुसँग धेरै पटक शेयर गरिसकेको छु । यो भाइरस निकै संक्रामक छ र यसको अवधि निकै लामो रहन्छ । संक्रमणको चेनलाई भत्काउनका लागि हामीले एउटा क्षेत्र केन्द्रित, विभिन्न तहको एप्रोचका माध्यमले देशभर रोकथामका उपाय अपनायौं र देशभर यसलाई नियन्त्रण गर्‍यौं ।

यसका लागि आवश्यक पर्ने कामहरुको एउटै सेट नै छ- सकेसम्म छिटो पत्ता लगाउने, रिर्पाेर्टिङ गर्ने, क्वारेन्टिन र उपचार गर्ने । र, यो पनि सुनिश्चित गर्नुपर्छ कि सबैजनालाई ठीक ढंगले अस्पताल लगियोस, उपचार होस, परीक्षण होस र क्वारेन्टिन गरियोस् । कानूनअनुसार अन्य विभिन्न कदम पनि चालियोस्, जस्तो ट्रेसिङ, दर्ता, प्रत्येक व्यक्तिलाई भेट्ने, उनीहरुलाई सामुदायिक व्यवस्थापनका राख्ने र आवश्यक परेमा उनीहरुलाई तोकिएको मेडिकल सुविधामा सार्ने र प्रक्रिया पुर्‍याएर उपचार गर्ने । मानिस क्वारेन्टिनमा बसेको, नबसेको हेर्ने र केही निश्चित क्षेत्र भ्रमण गरेपछि मानिसहरुलाई १४ दिन सेल्फ आइसोलेसनमा राख्ने ।

साथै, सबैखालका सार्वजनिक सुविधाहरु, जस्तो- विमानस्थल, सुपरमार्केट, सार्वजनिक सवारीलाई डिसइन्फेक्ट गर्नुपर्छ । उनीहरुले केही निश्चित हाइजिन पालन गर्नुपर्छ । राम्रो भेन्टिलेटरको व्यवस्था गर्नुपर्छ । एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नेको तापक्रम अनुगमन गर्नुपर्छ र निश्चित स्थानमा मानसिहरुको संख्यालाई सीमित गर्नुपर्छ ।

यति मात्र होइन, चीनमा प्रवेश गर्ने र चीनवाट बाहिरिने बिन्दुहरुमा स्वास्थ्य र क्वारेन्टिनसम्बन्धी कदमहरु चालियो । जस्तै- मानिसहरुले व्यक्तिगत सुरक्षाका कदमहरु पनि चालियो, जस्तो- बाहिर जाने समयमा मास्क लगाउने, पर्याप्त सामाजिक दुरी कायम राख्ने, भिडभाडमा नजाने, बारम्बार हात हुने र नियमित भेन्टिलेसनको व्यवस्था गर्ने ।

चीनले माथि उल्लेख गरिएका रोकथाम र नियन्त्रणका कदमहरु आफ्नो राष्ट्रिय अवस्था अनुकुल अपनायो र सफलतापूर्व यो महामारीलाई नियन्त्रणमा लियो । यस महामारीले मानिसको स्वास्थ्यमा मात्र असर गरेको छैन । यो राजनीति, अर्थतन्त्र र सामान्य मानिसको जीवनयापनसँग पनि जोडिएको छ ।

प्रत्येक मुलुकको आ-आफ्नै राष्ट्रिय र सामाजिक अवस्था, राजनीतिक प्रणाली र मेडिकल तह हुन्छ । विश्व स्वास्थ्य संगठनले मुलुकहरुलाई उनीहरुको आफ्नो महामारीको अवस्था र राष्ट्रिय अवस्थामा आधारित रोकथामका उपायहरु बनाउन सिफारिस गरेको छ । महामारीको रोकथाम गर्ने विषय साधारण गृहकार्य नक्कल गरेको जस्तो होइन र चीनले एकदमै छिटो अपनाएका रोकथामका मोडलहरु अन्य देशका लागि उपयुक्त नहुन सक्छन् ।

सामान्यतः म के विश्वास गर्छु भने हरेक मुलुकले आफ्नो नागरिकको जीवन र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्छ, रोकथाम र नियन्त्रणका नीति निर्धारण गर्नुपर्छ र त्यस्तो गर्दा फ्रन्टलाइनमा रहने मेडिकल वर्कर्स र प्रहरीलाई प्राथमिकता दिनुपर्छ । र, नागरिकलाई स्वअनुशासन बस्नका लागि जागरण फैलाउनुपर्छ, जसले मास स्केलमा रोकथाप र उपचार गर्न सकियोस् ।

मलाई यो कुरा शेयर गर्न पाउँदा खुसी लागेको छ कि सो महामारी शुरु हुनेवित्तिकै चीनले एउटा साझा समुदायको अवधारणलाई उच्च प्राथमिकता दिएको छ र मानिसका लागि साझा भविष्यमा जोड दिएको छ र विश्वलाई नै सहयोग प्रदान गरेर प्रभावकारीरुपमा महामारी नियन्त्रण गरेको छ । चीन यतिबेला कोरोना भाइरसको भ्याक्सिनसम्बन्धी अनुसन्धान र विकासमा सक्रियतापूर्वक लागिरहेको छ र सन्तोषजनक नतिजा पनि प्राप्त गरिहेको छ ।

चिनियाँ राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य महासभाको उद्घाटन समारोहमा नै घोषणा गर्नुभएको छ कि चीनमा कोभिडको भ्याक्सिन विकास र वितरण हुनासाथ यसलाई विश्वव्यापीरुपमा उपलब्ध बनाइनेछ । विकासोन्मुख मुलुकहरुमा भ्याक्सिनको उपलब्धता र पहुँच सुनिश्चित गर्नु चीनको ठूलो योगदान हुनेछ । चीनले आफ्ना प्रतिवद्धताहरु पूरा गर्नेछ, भ्याक्सिनलाई एउटा विश्वव्यापी वस्तुका रुपमा ल्याउनेछ र मानव जातिलाई कोरोना भाइरसलाई हराउन सहयोग गर्नेछ ।

कोभिड-१९ को कारण देखाएर चीनले रसुवागढी र तातोपानी भन्सारमा सामग्रीहरुको ओसार-पसारमा बेलाबखत रोक लगाएको छ, यसले सामान्य नेपाली जनता र व्यापारीलाई निकै असर गरेको छ, यसमा तपाईको धारणा के छ ?

म तपाईलाई के स्पष्ट पार्न चाहन्छु भने दुबै बन्दरगाहमा चीनले कहिले पनि कार्गो यातायात बन्द गरेको छैन । चीनले जहिले पनि नेपालसँगको कनेक्टिभिटीलाई उच्च प्राथमिकता दिएको छ र सामाग्रीको ओसार-पसारको चासोलाई निकै प्राथमिकता दिने गरेको छ ।

नेपालमा आवश्यक पर्ने दैनिक आवश्यकता र अन्य मेडिकल सप्लाईका लागि चीनले जहिले पनि नेपालसँग मिलेर काम गर्दै आइरहेको छ । यी दुबै पोर्टबाट हुने यातायात कहिलेकाँही प्राकृतिक प्रकोप, महामारी लगायतका कारणले अवरुद्ध हुन्छ र दुवै देशका सक्षम अधिकारीहरुले यस विषयमा प्रभावकारी सञ्चार गरिरहेका छन् । सेप्टेम्बरको अन्तिमतिर जिलोङ टाउनदेखि जिलोङ बन्दरगाहसम्मको राजमार्ग पहिरोका कारण अवरुद्ध भएको थियो । एकदमै तिव्ररुपमा मर्मतको काम भयो र तिब्वतमा स्थानीय अधिकारीले अक्टोवर १ देखि सो क्षेत्र खुला गरे र सो बन्दरगाह एकतर्फी रुपमा खुल्ला भयो ।

जहाँसम्म झांगमु बन्दरगाहको कुरा छ, यस्तो दुईपटक भयो । किनभने, थुप्रै नेपाली ट्रक ड्राइभर र कर्मचारीमा कोरोना पोजेटिभ देखियो र कार्गोको ओसार-पसार बन्द भयो । अहिले दुवै पक्षले एकदमै नजिकको सहकार्य गरिरहेका छन् र अपडोल गर्ने साइट र त्यहाँ जाने मानिसको डिसइन्फेक्सनको काम भइरहेको छ । मलाई खुसी लागेको छ कि झांगमु पोर्टको ट्रायल यातायात केही दिनअगाडि पुनः सुचारू भएको छ ।

हामी सबैलाई थाहा छ कि चीनमा यो महामारी देखिनेवित्तिकै चीनले एकदमै प्रभावकारी रोकथाम र नियन्त्रणका उपायहरु अपनाउँदै आएको छ, जसको उद्देश्य पूर्णरुपमा विजय प्राप्त गर्नु हो । अब हिउँदको शुरुवातसँगै विश्वमा महामारीको दोस्रो लहर हुरु भएको छ । त्यसैले चीनले पनि विमानस्थल, स्थल बन्दरगाह, समुन्द्री बन्दरगाहमार्फत संक्रमणको आयातीत केस नआओस् भन्नका लागि रोकथाम र नियन्त्रणका उपायहरु अपनाएको छ ।

उच्च अल्टिच्युड, न्यून तापक्रम र सापेक्षितरुमा कमजोर मेडिकल र हेल्थ प्रणालीका कारण भाइरसको सीमापार फैलावट रोक्ने काम सिनजाङको एक महत्वपूर्ण चासो हो र चीन-नेपाल वन्दरगाह विनाअवरोध सञ्चालनको ग्यारेन्टी गर्न आवश्यक छ । मलाई आशा छ, यो महामारी पूर्णरुपमा नियन्त्रण भएपछि सीमाको ढुवानीलाई पुरानै अवस्थामा पुनर्स्थापित गर्न सकिन्छ ।

पछिल्लो समय चीनले हुम्ला जिल्लामा नेपाली भुभाग मिचेको विषय सार्वजनिक भएको छ, यसलाई चिनियाँ सरकार र नेपाल सरकार दुवैले खारेज गरेका छन्, यस विषयमा यहाँको धारण के हो ?

तपाईले कुन मुलुकको मिडियाबाट यसखालको रिपोर्ट आएको छ, त्यो पत्ता लगाउनुभयो भने त्यसको सार र नियत सजिलै पत्ता लगाउन सक्नुहुन्छ । ती मिडियाले असत्य र गलत तथ्यहरु प्रस्तुत गरेको यो पहिलोपटक भने होइन । यो पछाडिको नियत के हो भन्ने पनि स्पष्ट नै छ नि ।

तपाईले उल्लेख गर्नु भएजस्तै चिनियाँ र नेपाल सरकारका सम्बन्धित विभागले चीनले सीमा मिचेको भन्ने कथित आरोपका सम्बन्धमा स्पष्ट पारिसकेका छन् र ती आधिकारिक धारणा हुन् । चीनले जहिले पनि नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको छ । एकदमै मित्रवत परामर्शका माध्यमले चीन र नेपालले सन् १९६० मा नै सिमा विवादको समाधान गरेका हुन् । त्यसयता चीन-नेपाल सीमा कुनै पनि विवादबाट मुक्त छन् । सीमामा बस्ने दुवै देशका नागरिका आपसमा सौहार्द्रता आदान प्रदान गरेका छन् र सीमामा लामो समयदेखि शान्ति, स्थायित्व कायम गरेका छन् ।

दुवै देशका सक्षम अधिकारीहरुले सीमाको विषयमा स्थापित संयन्त्रमार्फत एकदमै नजिकको सञ्चार र समन्वय गरिरहेका छन् । यो वर्षदेखि केही मिडिया र संस्थाहरुले विनाकुनै प्रमाण चीनले नेपाली भुभाग मिच्यो भन्ने खबरलाई प्लेअप गरिरहेका छन् । यसले हामीलाई के पनि सम्झाएको छ भने केही तत्वहरुले चीन-नेपाल सम्बन्धलाई अण्डरमाइन गर्न खोजिरहेका छन्, हाम्रो विचमा विवादको बिउ रोप्न खोजिरहेका छन् । त्यसैले यी विषयमा हामी दुई मुलुक एकदमै चनाखो हुनुपर्छ ।

केही मानिसले भनिरहेका छन् कि चीनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको छ, उनीहरुले तपाईको सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेटलाई उदाहरण दिएका छन्, यसमा तपाईको भनाइ के छ ?

हेर्नुस, नेपाल एउटा सार्वभौम मुलुक हो । सन् १९५५ मा दुई देशको विचमा कूटनीतिक सम्वन्ध स्थापना भएयता हामी दुईको वीचमा सहअस्तित्वको पञ्चशील सिद्धान्तका आधारमा एकदमै मित्रवत् सम्बन्ध रही आएको छ । एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई दुवै मुलुकले निरन्तररुपमा सम्मान र स्वीकार गर्दै आएका छन् ।

हस्तक्षेप नगर्नुको अर्थ सञ्चार सम्पर्क नै स्थापित नगर्ने भन्ने होइन । नेपालमा चीनको एक प्रतिनिधिको हिसावले मैले सबै राजनीतिक दल र समाजका सबै क्षेत्रसँग मित्रवत सम्बन्ध राख्छु र हामी दुईपक्षीय सहकार्य र साझ चासोको विषयमा विचार आदान-प्रदानका लागि बेला-बेलामा भेटघाट पनि गर्छौं । यो सामान्य आदान-प्रदान हो र विदेश मामिलामा गरिने सहकार्यलाई धेरै व्याख्या गर्नुपर्ने आवश्यकता छैन ।

यही सन्दर्भमा कुरा गर्दा केही भारतीय मिडियाले नेपालको सत्तारुढ दललाई चीनले नियन्त्रण गरेको बताउँछन्, तपाईको भेटघाटले उनीहरुको दाबीलाई बल पुर्‍याउँदैन त ? यसैमा जोड्दा भारत र चीन वीचको बढ्दो तनावले नेपाललाई कस्तो असर गर्ला ?

राजनीतिक दलहरुवीचको आदान-प्रदान दुईपक्षीय सम्बन्धको एकदमै महत्वपूर्ण अंग हो । नेपालका सबै राजनीतिक दल र क्षेत्रको चीनप्रति एकदमै मित्रवत् धारणा छ, उनीहरु चीनसँग एकदमै राम्रो सम्बन्ध स्थापित गर्न चाहान्छन् र उनीहरु पूर्णरुपमा एक चीन नीतिप्रति दृढ छन् । हामी नेपालका राजनीतिक पार्टीहरूसँग मैत्री सम्बन्धको कदर गर्दछौं। यो नेपाली राजनीतिक दलहरूले राष्ट्रिय हितको आधारमा गरेको नीतिगत छनौट हो।नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनता आफैंले निर्वाचित गरेका हुन् । सत्तारुढ राजनीतिक दलसँग बढी आदान- प्रदान हुनु एकदमै सामान्य कुरा हो ।

हामीले अन्य राजनीतिक पार्टीहरूसँग पनि मुलुकको शासन व्यवस्था र जन-आदान प्रदान कायम राखिरहेका छौं। उदाहरणका लागि चीन र नेपालका राजनीतिक दलहरुवीचको पहिलो वेल्ट एण्ड रोडसम्बन्धी संयुक्त संयन्त्रको पहिलो बैठक हालै सम्पन्न भएको छ । यसले स्पष्टरुपमा के देखाउँछ भने दुबै देशका राजनीतिक दल र स्थानीयहरुका वीचमा चीन-नेपाल बीआरआई सहकार्य बढाउनुपर्छ र चीन-नेपाल सम्बन्धलाई थप विकास गर्नुपर्छ भन्ने सहमति विस्तारै बढ्दैछ ।

नेपालसँग एकदमै मित्रवत सम्बन्ध स्थापना गर्नका लागि नेपाल एदमै प्रतिवद्ध रहेको र कुनै बाहिरी तत्वले यसलाई सजिलै बिथोल्न सक्दैनन् । चीन र भारत दुबै विकासशील मुलुक हुन् र एक विलियनभन्दा बढी जनसंख्याका लागि इर्मजिङ मार्केट हुन् । दुई मुलुकका वीचमा रहेका साझा हितले केही टकरावहरू र मत भिन्नतालाई पछाडि पार्छ ।

चीन जहिले पनि भारतसँग मित्रता बढाउन र दुईपक्षीय र बहुपक्षीय सहकार्य गर्न तयार छ । चीन र भारत दुवै नेपालका छिमेकी मुलुकहरु हुन् । चीनले भारत र नेपालसँग सक्रियतापूर्वक त्रिपक्षीय साझेदारीको विषय उठाएको छ, जसको उद्देश्य नेपालको विकासमा सक्रिय सहयोग गर्नु हो । निश्चय नै यो पहललाई नीति र यथार्थमा परिणत गर्नका लागि तीनवटै मुलुकले काम गर्न आवश्यक छ ।

अब बेल्ट एण्ड रोड इनिसियटिभको विषयमा कुरा गरौं, नेपालमा अहिलेसम्म यसको कुनै पनि परियोजना छनोट भएको छैन । किन ढिलो भइरहेको छ ?

बीआरआई परियोजना भनेको योजनावद्ध दीर्घकालीन, वृहत र सुदुर भविष्यसम्म सहकार्य गर्ने पहल हो न कि केही थोरै मुख्य परियोजनाहरु । बीआरआईले एकदमै वृहत परामर्श, संयुक्त योगदान, साझा फाइदाको सिद्धान्तलाई बढावा दिन्छ अनि पारस्परिक फाइदा र वीन-वीन नतिजामा जोड दिन्छ । यसले सबै राजनीतिक दलको चासोलाई ध्यान दिन्छ र सबै पक्षले यसको जिम्मेवारी वहन गर्न आवश्यक छ ।

बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएदेखि कनेक्टीभिटी, पूर्वाधार निर्माण र विपतपछिको पुनर्निर्माण, व्यापार, लगानी र दुई देशको जनता जनतावीचको आदान-प्रदानमा महत्वपूर्ण प्रगतिहरु भएका छन् । उदाहरणका लागि व्यापार र लगानीको क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ । सन् २०१९ मा चीनको नेपालमा नन-फाइनान्सियल लगानीमा ९६.१ प्रतिशतले वृद्धि भएको छ । व्यापार तथा लगानीका क्षेत्रमा, सन् २०१९ मा नेपालमा भएका चिनियाँ इन्जिनियरिङ सम्झौताहरूको सम्झौता मूल्य तथा व्यवसाय आकार वार्षिकरूपमा क्रमशः १२.९ र ३९.६ प्रतिशतले बढेका छन् ।

त्यसैगरी समग्र दुईपक्षीय व्यापारको भोल्युम ३७.९ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ लाख ७० हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा आए । चीन नेपालमा पर्यटक पठाउने दोस्रो ठूलो मुलुक हो । अहिले ६ हजार ४ सयभन्दा बढी नेपाली विद्यार्थीले चीनमा अध्ययन गरिरहेका छन् । चीनको सहयोग, कन्ट्रयाक्ट र लगानीका परियोजनाहरु, जस्तो- चाइना ऐड, तातोपानी फ्रन्टियर इन्पेक्सन स्टेसन परियोजना, चीन एड काठमाडौं रिंग रोड सुधार परियोजनाको पहिलो चरण, दरवार हाइस्कुल परियोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, होङसी शिभम परियोजना सम्पन्न भएका छन् । महत्वपूर्ण परियोजनाहरु, जस्तो- पोखरा इन्टरनेसनल परियोजना, गौतमवुद्ध इन्टरनेशनल परियोजनामा ठोस प्रगति भइरहेको छ ।

चीनले १३० भन्दा बढी मुलुकसँग बीआरआई परियोजना अगाडि बढाएको छ । विभिन्न मुलुकमा धेरै महत्वपूर्ण पूर्वाधार परियोजनाहरु शुरु गरिएका छन् । र, ती देशका स्थानीय जनताले त्यसको स्वागत पनि गरेका छन् । मलाई के लाग्छ भने परियोजनाको गति र प्रभावकारितालाई राजनीति स्थायित्व, नीति, निरन्तरता, सरकारी समन्वय, व्यापारको वातारण, लगानी क्षमता र मुलुकमा रहेका अन्य तत्वहरुले प्रभावित पारिरहेका हुन्छन् । नेपाल र चीनका सम्बन्धित विभागहरुले विभिन्न परियोजनाको काममा एकदमै नजिकबाट संचार र समन्वय गरिरहेका छन् र धेरै परियोजनाहरु क्रमशः अगाडि बढ्दैछन् । मलाई लाग्छ, निर्धारित समयमा बढी काम सम्पन्न हुन्छ ।

बीआरआईको कुरा गर्दा सीमापार रेलवे लगायतका अन्य महत्वाकांक्षी परियोजनालाई अगाडि बढाइएको छ, के यो सपना साकार होला ?

चीन-नेपाल सीमापार रेलवे दुवै देशका नेताहरुको साझा चासोको विषय हो र दुवै देशका नागरिकको साझा आकांक्षा हो । दुवै मुलुकले सम्भाव्यता अध्ययनको शुरुवात भएको घोषणा गरेका छन् र दुई मुलुकका नेताहरुका वीचमा भएको सहमतिअनुसार अन्य आवश्यक कामहरु पनि अगाडि बढेका छन् । तर, यससँगै हामीले के पनि नोट गर्नुपर्छ भने यो परियोजना विश्वकै एकदमै जटिल भौगर्भिक क्षेत्रमा अवस्थित छ र हाई अल्टिच्युड रहेको छ, अल्टिच्युडमा ठूलो भिन्नता छ । एकदमै कम तापक्रम छ र यहाँ बारम्बार प्राकृतिक विपदका घट्ना हुने गर्छन् । सम्भाव्यता अध्ययन, र रेलवेको निर्माण गर्दा यी सबै विषयलाई पूर्णरुपमा ध्यान दिनुपर्छ र प्राविधिक समस्यामा ब्रेक थ्रु गर्नका लागि बैज्ञानिक विधिबाट अध्ययन गर्नुपर्छ । म पूर्णरुपमा के विश्वस्त छु भने दुई देशले संयुक्त काम गरेमा यो प्राकृतिक जटिलतालाई एक दिन समाधान गर्न सकिन्छ ।

रेलवे परियोजनालाई सुदृढ गर्नुका साथै दुवै मुलुकले चीन-नेपाल राजमार्गको निर्माणलाई पनि त्यति नै महत्व दिन आवश्यक छ । किनभने, चीन-नेपालका वीचमा पोर्ट कनेक्टिभिटीमा पनि सुधार गर्न आवश्यक छ । मैले जिलोङ र झाँगमु पोर्टको बाटोबाट नै यात्रा गरेको छु । सडकको अवस्था अझै पनि कमजोर थियो, जसले केही हदसम्म सामानको ओसार-पसारको क्षमता र ट्रान्जिट र यातायात सम्झौताको प्रोटोकलको कार्यान्वयनमा केही अवरोध सिर्जना गरेको छ। दुबै देशका सम्बम्धित विभागहरूले सडक अपग्रेडिंग र पोर्टको पूर्वाधार निर्माणमा सँगै काम गरिरहेका छन्।

अन्तमा, केही भन्न चाहनुहुन्छ ?

विश्वले अहिले एक महत्वपूर्ण परिवर्तनको समय सामना गरिरहेको छ, जुन यो शताब्दीमा नै एकदमै दुर्लभ घटनाक्रम हो । अन्तर्राष्टिय अर्थतन्त्र, संस्कृति, सुरक्षा र राजनीतिको प्याट्रनमा एकदमै गहन एडजस्मेन्ट भइरहेको र विश्व एकदमै टर्बुलेन्ट परिवर्तनको समयमा प्रवेश गरेको छ । उदाउँदो बजार भएका मुलुक र विकासोन्मुख मुलुकहरुका लागि विश्व एउटा पूर्णरुपमा अवसर र चुनौतीहरु हो ।

यद्यपि शान्ति र विकास हाम्रो समयमा महत्वपूर्ण अवधारणा हो । मानव जीवनको भविष्य र गन्तव्यलाई ध्यानमा राख्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले मानव समुदायको साझा भविष्यको अवधारणालाई अगाडि सार्नुभएको छ । चीनले शान्तिमा आधारित स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्दै आएको छ । एउटा जिम्मेवार मुलुक हुनुको नाताले चीनले शान्ति, विकास, निष्पक्षता, न्याय, स्वतन्त्रताको विश्वव्यापी मान्यतालाई सुदृढ गर्दै आएको छ र दृढरुपमा शान्तिपूर्ण, खुला, सहकार्य र साझ विकासको बाटोलाई पहिल्याउँदै आएको छ ।

चीन र नेपाल असल छिमेकी मुलुक, साथी र साझेदार हुन् । गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणका समयमा दुई देशको सम्बन्धलाई विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदारी सम्बन्धमा पुर्याउने सहमति भएको छ । त्यसैले हाम्रो सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । यो वर्ष चीन र नेपालको वीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको छ । दुई देशका नेताहरुको संयुक्त मार्गनिर्देशनमा चीन नेपालसँग अझ गहन ढंगले काम गर्न इच्छुक छ । यसको उद्देश्य पारस्परिक फाइदाजनक सहकार्य र बीआरआई निर्माणलाई अगाडि बढाउनु हो, जसको उद्देश्य नेपाल र अन्य छिमेकी मुलुकहरुका लागि हितकर विकास गर्नु हो ।

दूरीले एउटा घोडाको ताकत परीक्षण गरेजस्तै समयले व्यक्तिको हृदयलाई प्रकट गर्दछ। हामी नेपाललगायत विश्वका सबै देशहरूसँग मिलेर काम गर्न इच्छुक छौं, मानव जातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्ने छौँ र मानवजातिका लागि शान्ति र विकासको सुन्दर भविष्य निर्माण गर्नेछौँ। नेपाली मिडियाले चिनियाँ दुतावास र स्वयं मेरो कामप्रति गरेको ध्यानाकर्षण र सहयोगप्रति म धेरै आभारी छु ।

यो सामग्री अनलाइनखबरबाट साभार गरिएको हो ।





Leave a comment

Your email address will not be published.


*