आइसोलेशनको पीडा र सिकाएको पाठ

          |   प्रकाशित मितिः बिहिबार, कार्तिक २७, २०७७     ::: 46 पटक पढिएको   |  

सन्तोषी शाह
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपाल सहित संसार भर फैलिएको छ । मलाई लाग्थ्यो, म कोरोना संक्रमणबाट हुनबाट जोगिएको छु । सुरु सुरुमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरु देख्दा उनिहरुमा पनि कोरोना संक्रमण छ कि भनेर टाढै भाग्थे । मेरो कार्यथलो गुराँसे । सुर्खेत दैलेख सडक खण्ड रहेको गुराँसे हुँदै दैलेख जुम्ला, हुम्ला कालिकोट, मुगु लगाएतका जिल्ला जाने मुख्य बाटो हो । जहाँबाट दैनिक हजारौ मानिसहरु आवतजावत गर्थे ।
म गुराँसेमै बस्छु । म बस्ने नजिकै सामुदायिक विद्यालय छ । सोहि विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । क्वारेन्टाइनमा जिल्ला र देश बाहिरबाट आएको मानिसहरुलाई राखिएको थियो । उनीहरुलाई बेला बेला लाइन लगाएर स्वास्थ्य जाँच गरिन्थ्यो । चैत बैशाखको टन्टलापुर गर्मीमा बृद्धबृद्धा मात्रै होइन कतिपय मानिसहरु काखे बच्चा च्यापेर सडकमा हिडिरहेका हुन्थे ।
सडकमा हिडिरहेकाहरुले स्थानीयबासीसँग पानी माग्दा पनि छैन भनेर पठाएको मेरै आँखाले देखेको छ, सुनेको छ । त्यतिबेला कतिपयलाई आफ्नो तर्फबाट पानी दिएर सहयोग गरेँ । त्यो पिडा देख्दा मानिसहरु कोरोना भन्दा कोरोना संक्रमित मानिस माथि गरेको अवहेलनाले गर्दा डर त्रास बढेको महशुस हुन्थ्यो । एक दिन त हामी बसेको कार्यालय नजिकै बाहिरबाट आएका मानिसहरुले खानेकुराको लागि झगडै गरे । यो कार्यालय नजिकैको कुरा भयो । म डेरा गरी बसेको घर नजिकै क्वारेन्टाइन भएकाले विभिन्न दृष्यहरु नियाल्थे । यस्तो बेलामा पनि म लगाएत अन्य कर्मचारीहरुले कार्यालयको काम निरन्तरत ग¥यौँ । फिल्ड भ्रमण र परियोजना अन्तरगतका विभिन्न क्रियाकलाप निरन्तर अनुगमन तथा सर्भेहरु ग¥यौँ । निरन्तर कामका खटिँदा पनि सोच्थे, म स्वस्थ छु । कोरोनाबाट बच्ने उपायहरु पनि अपनाएकै छु ।
शरिर स्वस्थ्य हुँदाहुँदै पनि कोरोनाको अवस्था के छ भनेर परिक्षण गराएँ । कोरोना परीक्षणका लागि स्वाब दिएपछि पनि फिल्ड भ्रमण समेत रोकिएन् । स्वाब दिएको ६ दिन पनि रिपोर्ट आयो । लक्षण कुनै पनि थिएन् तर, रिपोर्ट पोजेटिभ आयो । रिपोर्ट पोजेटिभ आयो भन्ने सुन्दा सुरुमा विश्वास नै लागेन् । कारण, म मा कोरोना संक्रमणको कुनैपनि लक्षणहरु थिएन् । लक्षण नभए पनि कोरोना संक्रमित भएपछि नियम त पालना गर्नु नै पथ्र्यो ।
म बस्ने कोठा नजिकै रहेको विद्यालयको आइसोलेसनमा बस्न गयौ । म सँगै अरु ३ जना मेरो अफिसको सर म्यामहरु पनि हुुनुहुन्थ्यो । सबैजना आइसोलेसनमा बस्यौ । जहाँ धेरै मानिसहरु क्वारेन्टाइन र कोरोना पोजेटिभ भएर त्यहाँ बसिसकेका थिए । विद्यालयको कक्षाकोठा भएकाले पनि निकै चिसो थियो । राती थप थप शीतको थोपा शरिरमा चुहिन्थ्यो । तर त्यहाँ बस्नु मेरो रहर थिएन्, बाध्यता थियो । कयौ दिन त शीतको थोपाले शरिर र ओछ्यान भिजेको हुन्थ्यो ।
मलाई कोरोना पोजेटिभ भएको थाहा पाउने सर म्याम भेट्न आउनुभयो । कसैले फोनबाट सान्तोना दिनुभयो । यसको लागि सबैलाई धन्यवाद व्यक्त गर्न चाहान्छु । कोरोना पोजेटिभ भएको दोस्रो दिन विद्यालयमा पानीको व्यवस्थापन गर्ने, क्वारेन्टाइनमा चाहिने केहि साम्रगीहरु ल्याएर म कार्यरत कार्यालयका सर म्यामहरु आउनुभयो । यो मेरो र साथीहरुका लागि अविस्मरणिय सहयोग रहनेछ । होटेलबाट तातो पानी होस् या बेसारपानी तताएर पु¥याईदिने, खाना, खाजा ल्याएर सहयोग गर्नुहुने सम्पूर्ण आफन्त साथीभाई तथा प्रियजनहरुलाई धन्यवाद व्यक्त गर्न चाहान्छु । साथै यस अवस्थामा टाढाबाट भेट्न आउने मेरा आफन्तहरु प्रति आभार व्यक्त गर्दछु ।
गुराँस गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य सम्पूर्ण सर म्यामहरु भेटेरै र फोन मार्फत सान्तोेना र उत्प्रेरणा दिनुभएको थियो । यसको लागि धन्यवाद । सेभ द चिल्ड्रेनको सर म्याम सबैले फोनबाटै र भेटेर सान्तोना दिनुभएको थियो । त्यसैगरि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष सहितको टोली आएर विभिन्न साम्रगीहरु ल्याई सहयोग र उत्प्रेरणा दिएकोमा धन्यवाद व्यक्त गर्दछु । फिल्डबाट फोन गर्ने आदरणिय सर म्यामलाई धन्यवाद व्यक्त गर्दछु ।
कुनै पनि कुरा आफुलाई पर्दा थाहा हुँदो रहेछ । महामारीको समयमा निरन्तर काममा खटिँदा कोरोना संक्रमणबाट सुरक्षित छु भन्नेमा ढुक्क भएकी म परीक्षणपछि संक्रमित भएको सुन्दा सुरुमा निकै पीडा भएको थियो । विद्यालयको बसाई । रातमा शीतको थोपा खस्दाको पीडा बेग्लै छ । यसबेला साथीसँगी आफन्तहरु टाढा हुँदा रैछन् । खाना त टाढाबाट थाप्नुपथ्र्यो । सडकमा हिड्ने मानिसहरु टाढाबाट हेर्थे । त्यो विद्यालयको घेरा भन्दा कतै जान पाइन्नथ्यो । विद्यालयको छतमा गएर घाम ताप्थ्यौ । मन छट्पटाइरहन्थ्यो । त्यसैबेला दशै नजिक नजिक आएको थियो । घरबाट कहिल्यै आउने हो भनेर फोन आइरहन्थ्यो । घरबाट सन्चै छौ भनेर सोध्दा म सन्चै छु भन्थे ।
संक्रमित भएपछि आइसोलेसनमा बसेको केहि दिनपछि पुनः कोरोना परिक्षण भयो । परिक्षणको पछिल्लो दिन रिर्पोट आयो । हामी सबैको । ३ जना म सँगै आइसोलेसनमा बसेका सर म्यामहरुको रिर्पोट नेगेटिभ आयो । तर मेरो रिर्पोट पेन्डिङ थियो । जो नेगेटिभ आउने साथीहरु हुनुहन्थ्यो उहाँको खुसीको सिमा नै थिएन । खुसी हुनु स्वभाविक नै हो । साँझ सबै जना आफ्नो कोठातिर लाग्नुभयो । त्यो एकान्त विद्यालय जहाँ म एक्लै थिए । आइसोलेसनको कोठा, भित्रबाट छिस्कीनी पनि थिएन । एक्लै बस्नुपर्ने बाध्यता थियो । दशै नजिक आईरहेको थियो । घरमा नगएको पनि १२ महिना भइसकेको थियो । दशैमा घर जाने सपना देखेर राम्रा राम्रा साम्रगी किनेको थिए ।
टाढा घर भएको मान्छे । सोच्थे, मेरो घरमा सबैले आउला भनेर बाटो हेरेका होलान । रिपोर्ट पेन्डिङ थियो । अब के हुने हने भन्ने मनमा हलचल मच्चिरहेको थियो । अफिसमा केही साथीहरुलाई आज म आइसोलेसनमा एक्लै छु, भित्रबाट ढोकाको भित्रबाट छिस्कीनी लगाई सहयोग गरिदिनु प¥यो भनि अनुरोध गरेको थिए । तर, कसैले सुनुवाई गर्नुभएन ठिकै छ यसको लागि पनि धन्यवाद । भनिन्छ खुसीमा सबै रमाउछन् जब मानिसमा दुःख पर्छ मानिसहरु बाहाना बनाएर साथ दिन गाह्रो मान्छन् । जब साँझ पढ्दै गयो मनमा डरपनि बढ्दै गयो । रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ साच्चै रैछ अनि मैले कोठामा आफु सुरक्षित हुनको लागि म बस्ने घरको भाइसँग अनुरोध गरे । उनले दिदी डर नमान्नु मेरो घरको छिस्कीनी निकालेर भएपनि लगाइदिन्छु भनेर मलाई आधार दिनुभयो । हुन पनि घरको छिस्कीनी निकालेर म बस्ने विद्यालयको आइसोलेसन कक्षाकोठामा लगाइदिनुभयो । यो म प्रति माया र सहयोग सदाको लागि अविस्मरणिय रहनेछ ।
त्यो ठुलो विद्यालयमा एक्लै बस्दाको पिडा बेग्लै हुँदो रहेछ । रातभरी मनमा विभिन्न कुरा खेलाउदै सुतेँ । विहानै उठेर रिर्पोटको अवस्था के छ भनेर गाउँपालिकाको सरलाई सोधे । सरले परीक्षण गर्ने किट सकिएर सुर्खेतबाट आउँदैछ नआतिनुहोस् भन्ने जवाफ दिनुभयो । रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा म ढुक्क थिएँ । नभन्दै साँझ रिपोर्ट आयो । रिपोर्ट नेगेटिचभ आएछ ।
यो खबरले म बस्ने घरका बुवा मम्मी भाई, बहिनी र सानो नानी अनुहारमा धेरै खुसी छाएको थियो । मम्मी र बुवाले हर्षका साथ मलाई अँगालो मारेर खुसीका आँशु झार्नु भएको थियो । कुनैकुनै साथीहरुले बधाई पनि ज्ञापन गर्नुभएको थियो । जब आइसोलेसनमा एक्लै थिए मेरा घरबेटी बुवा आमा म कोरोना संक्रमित हुँदा निकै दुःखी हुनुहुन्थ्यो । उहाँ बुबा आमा मलाई जन्म दिने बुवा आमा जस्तै प्यारो हुनुहुन्छ ।
कोरोना भाइरसको जोखिम त छदै छ । त्यसमाथी कोेरोना संक्रमित भएपछि गरिने व्यवहार झनै डर लाग्दो रहेछ । जुन मैले भोगेको छु । हजुरलाई धेरै सहयोग गर्छु भन्ने साथीहरुपनि यसैबेला टाढिए । आफुले कसैलाई दुःख पर्दा सहयोग गरेका, बिरामी पर्दा तातोपानी दिएका सम्पूर्ण सहकर्मीलाई चिन्ने अवसर दियो । भनिन्छ आर्दशका मालिकहरु व्यवहारमा शुन्य हुन्छन्, बसन्तका पालुवाहरु पलाएर लाश हुन्छन् ।
अर्को सिकाई जब कसैलाई कोरोना परिक्षण गरिन्छ परिक्षणको दिन देखि नै आइसोलेशनमा राख्नुपर्छ । होइन भने मानिस धेरै ठाउँ सम्पर्कमा भइसक्छ । कोरोनाको जोखिम झन बढ्ने सम्भावना रहन्छ । आइसोलेशन व्यवस्थित हुन आवश्यक छ । महिलामैत्री, अपांगतामैत्री, वृद्धमैत्री, बालबालिका मैत्री आइसोलेशनको व्यवस्थापन हुनुपर्छ । कोरोना संक्रमितलाई उत्तिकै उत्प्रेरणा र मायाको आवश्यकता हुन्छ । यसतर्फपनि सरकारको ध्यान जानुपर्छ । र, आफुलाई कुन दिन कोरोना पोजेटिभ हुन्छ भन्ने थाहा हुँदैन यसर्थ प्राथमिक उपचार बाकस, आफ्नो लुगा, एक सेट बिस्तरा, पोषिलो खानेकुराहरु, टर्चलाइट लगाएतका आफुलाई चाहिने अन्य साम्रगीको व्यवस्थापन गरेर राख्दा यदि कोरोना संक्रमित भईहाले सहज हुनेछ ।





Leave a comment

Your email address will not be published.


*