स्मृतिमा तिहारका तरेली

          |   प्रकाशित मितिः शुक्रबार, कार्तिक २८, २०७७     ::: 20 पटक पढिएको   |  
dav

टंक भट्टराई – चाडपर्वहरू जीवनका रङ्ग हुन् । उमङ्ग हुन् । सृष्टिको उषाकालदेखि नै जीवन जिउने क्रममा मानव पुर्खाले गरेका महान् आविष्कार हुन् । जीवनका दुःख, निराशा र अँध्यारा पक्षहरूसँग लड्दैभिड्दै जाँदा सुख, खुसी र आनन्दका खोजका परिणाम हुन् चाडपर्वहरू । जुन समय, परिस्थिति र मान्छेका सोचसगैं परिष्कृत र विकसित हुँदै जान्छन् । मान्छेले प्रकृतिसँगै हाँस्न सिक्यो । रुन र रमाउन सिक्यो । बाँच्न र नाच्न सिक्यो । यसै क्रममा प्रकृतिका रङ्ग र ढङ्गसँग तादाम्य हुने गरी पुस्तौंपुस्ता मानी आएका चलनहरूले नै संस्कृतिका रूप लिएका हुन्।   

बेला तिहारको हो । पृष्ठभूमिमा माथिका कुरा आएका हुन् । चाडपर्वहरूको नाम लिने बित्तिकै सबैलाई बालापनको सम्झना आउँछ । त्यसमाथि पनि गाउँले जीवनको   बर्खामासभरिको कुहिरो, झरी, हिलाम्य बाटाघाटा । कामले लखतरान भएको ज्यान । खेतीपातीको मैजारोपछि कामको चटारोले थाकेको ज्यानमा धेरथोर उत्साह, उमङ्ग र कान्ति । लामो र एक तमाशको घनघटाको श्रृङ्खलापछि बादल हटेको आकाश, रातमा चाँदनी पोखिएको धर्ती, घामको कान्तिले टल्किएका हरिया डाँडापाखा, सङ्लिंदै गरेका खोलानाला, रातोमाटो र कमेरोले पोतेका घरहरूले सजिएको गाउँले बस्ती, बाटाभरि घर सम्झेर फर्किएका परदेशीको लर्को । अहा ! त्यो शारदीय रौनक ! त्यो
शारदीय उत्सव ! दसैंको उमङ्ग !

दसैंपछि लगत्तै तिहारको रन्को । प्रकृति उस्तै राम्रो । फूल र बत्तीले झनै उज्यालिएको । आँगनका डिल र बारीहुँदी सयपत्री, मखमली, गोदावरी, ज्ञानथुँगा जस्ता
फूलहरू ढकमक्क भएर फुलेका । बारीमा सर्पजस्तै लमतन्न बोडीका लहरा र भर्खरै झुल्न लागेको कोदाको बोट । खेतमा पहेंलपुर हुन लागेका धानका बाला । 

तिहारै आयो लौ झिलिमिली
बत्तीको झिलिमिली/फूलको झिलिमिली
भैलेनी आइन् आँगन/गुन्यू चोली मागन 
ए भन भन भाइ हो/देउसीरे भन……. 

    
जस्ता भैलेनी र देउसी गीतहरूले गाउँ नै गुञ्जायमान । भित्र सेलरोटीको फन्को । बाहिर देउसीको रन्को । घरबेटी आमै घरि भित्र, घरि बाहिर । एउटा हुल जान्छ, अर्को हुल आउँछ । पोल्टाको थैली राख्दा र झिक्दाको हैरान ।  तिहार प्रकृति पूजाको संस्कृति । प्रकृति र मान्छेबीचको सम्बन्ध झल्काउने पर्व । काग, कुकुर, गाई, गोरु, दिदी–भाइ, दाजु–बहिनी, गोवद्र्धन पहाड, लक्ष्मी, यमराज, फूल, बत्ती, ओखर, बिमिरो, भोगटे यी सबै प्रकृतिजन्य वस्तुको महत्व झल्काउने यम पञ्चक । मान्छे र प्रकृति अनि मान्छे र अरू प्राणीबीचको अनन्त प्रेमको शृंखला तिहार । 

स्मृतिमा तिहार

गाउँमा सबैका घर वरिपरि फूलैफूल । दसैंपछि बारीका डिलहुँदी ढकमक्क भएर सयपत्री र अरू फूलहरू फुल्न थालेपछि मनमोहक देखिन थाल्थ्यो गाउँ । विशेषगरी तिहारमा सेलरोटी खान पाइने, देउसी खेल्न पाइने, पराइघरबाट चेलीबेटीहरू मिठामिठा खानेकुरा बोकेर आउने जस्ता कुराले छुट्टै किसिमको रमाइलोले प्रवेश गथ्र्यो मनमा । काग तिहारका दिन  ‘काग…काग…’ भन्दै आमाले आँगनमा एउटा सानो दुनामा कागलाई भात राखिदिनु हुन्थ्यो । काग कतिखेर आउँछ र दुनाको भात खान्छ भनेर हामी लुकेर कागलाई हेथ्र्यौं । एकछिन पछि काग आएर यताउति हेर्दै दुनाको भात खान्थ्यो र भुर्र उडेर जान्थ्यो । त्यसदिन हामी कागलाई ढुङ्गाले हान्दैनथ्यौं। कुकुरतिहारको दिन बिहानैदेखि कुकुरका गलामा माला झुण्डिएका हुन्थे । अरू बेला बारीका पाटाहुँदी गु खोज्दै हिंड्ने काले, खैरे, पाङ्ग्रे कुकुरहरूले यसो मीठो मसिनो भेट्थे । वर्षको एकै दिन भए पनि सबैबाट मनितो पाउँथे । अरू बेला घरको बाहेक अरूको कुकुर देख्ने बित्तिकै ढुङ्गो टिपेर लखेट्ने बानी भएका हामी केटाकेटी त्यस दिन भने कुकुरलाई केही गर्दैनथ्यौ । बरू कुन कुकुरको गलामा राम्रो माला छ भनेर घरघर दाँजी हिंड्थ्यौं । 

गाई तिहारको दिनदेखि भने साँच्चै तिहारको रौनक सुरु हुन्थ्यो । मेरो घर खोटाङको खाल्ले । त्यहाँदेखि दुई घण्टामाथि मझुवाको काफ्ले गाउँ । काफ्लेकी फुपू थुन्सेभरि पूmल र अनेकथरि खानेकुरा बोकेर औंसीको दिन नै माइत झर्थिन् । औंसीको दिन दसैंको खसीको बोसामा पकाएका मल्खुका रोटी खानुपर्छ भन्थे । त्यसैले त्यसदिन प्रायः बोसामा पकाएका मकैका रोटी पाक्थे घरघरमा । जेका भए पनि हामी केटाकेटी रोटी खान पाएपछि हुरुक्कै हुन्थ्यौं । साँझपख केराका दाम्चामा घर वरिपरि बत्ती बालेर दिपावली गरिन्थ्यो । अलिपछि भने मैनबत्ती बाल्न थालियो । त्यही औंसीको राति दिदीहरू भैलो खेल्न जान्थे । औंसीको सन्नाटा चिर्र्दै एकपछि अर्को गर्दै आउने भैलीको गीतले गाउँ पूरै गुञ्जायमान हुन्थ्यो ।

हामी कल्यान डाँडा, सेरा गाउँ, सेरा बेंसी टोलसम्म देउसी खेल्न जान्थ्यौं । गाउँका केटादेखी अधबैंसे र अझ बूढासम्मैका थुपै झुण्ड बनेर गाउँ पस्थे । भट्याउनेको हातमा एउटा लौरो हुन्थ्यो । आँगनमा लौरो ट्याक– ट्याक पार्दै भट्याउनेले रामका कथा हाल्थ्यो । अरूले देउसिरे भन्थे । कसैले बली राजाको कथा हाल्थे । कसैले राजा हरिश्चन्द्रको । हाम्रा गाउँमा एक नम्बर भट्याउनेमा सिरानघरका बा । त्यसपछि बाटाघरका नर । अनि अर्जुन दाइ । पल्लाघरका दाइ पनि राम्रो लयमा भट्याउँथे । पछिपछि तिनैको सिको गर्दै म पनि भट्याउन थालें। मेरो देउसी टिममा तिर्पाली राजन, मतानको काजी, तिनतले छबि, ठूला घरका हरि, पल्लाघरका राम्जी हुन्थे ।पाँच पैसा, दश पैसा, एक सुका, एक मोहोर र अलि धनीमानीले पाँच रुपिंयासम्म दान दिन्थे । देउसी सकेपछि खुब चासो दिएर हामी पैसा भाग लाउन थाल्थ्यौं । 

भट्याउनेलाई अलि बढी पैसा भाग लाग्थ्यो । कसैकसैले अलिअलि पैसा लुकाउँथे । कैलेकाहीं त पैसामा नमिलेर लाप्पा खेलाखेल पनि हुन्थ्यो । राति आउने देउसेहरूले कतैकतै त निकै उपद्रै गर्थे । एक ताका हामी सेरा गाउँ देउसी खेल्न गयौं । कात्तिकको महिना । सेरा गाउँभरि सुन्तलाका बोट । पहेंलाम्य भएर पाक्न लागेका सुन्तलाहरु । साँझ परिसकेको थियो । भट्याउने मै थिएँ । भट्याउन र देउसिरेभन्दा हाम्रो ध्यान भने तिनै बारीका सुन्तलामा थियो । मकर बस्नेतको घरबाट देउसी सकेर बाटो लाग्ने क्रममा हामीले सुन्तला चोर्ने सल्लाहा गर‍यौं ।

म अलि ढिलो र रूख चढ्न नसक्ने भएकाले मान्छे हेर्ने जिम्मा मेरो भागमा परो । पल्लाघरका राम्जी, मतानको काजी र तिर्पालीका राजनहरू सुर्के झोला बोकेर सुन्तलाको बोटमा चढेर दाना टिप्न थाले । उता बारीमा सर्याङ–सुरुङ सुनेर कुकुर भुक्न थाल्यो । घरका मान्छेले थाहा पाएर हातमा भाटो बोकेर लखेट्न थाले । केटाहरू छरिता, बोटबाट हाम फालेर बारीको कोदो माड्दै भागिहाले । म भने रामै्र धुलाइमा परें । एक छिन अघि राम्रो भट्याउने भनेर प्रशंसा पाएको मैले दुईचार लबटा खाएपछि लाजले रातोपिरो हुँदै सुरुवाल तान्दै बाटो तताएँ । उता साथीहरू भने सेरा खोला पुगेर मरिमरी हाँस्दै थिए ।

अधबैंसे र बुढापाकाहरू भलाद्मी पाराले भट्याउँथे । घरबेटीलाई खुसी पारेर पैसा पनि निकै झार्थे । तर, हामी केटाहरूलाई लामा खालका कथा भट्याउन पनि नआउने र
झर्को पनि लाग्ने हुनाले कथाको सट्टा अरू नै कथेर भट्याउँथ्यौ । ती प्रायः उट्पट्याङ खालका हुन्थे ।

लट्टेको लौरो/पिटिक्कै भाँच्चियो ।
बारीमा अदुवा/यो घरका बा पदुवा ।
गलामा पोते/यो घरकी आमै थोते ।

आदि/इत्यादि……………..।  घरबेटीले पैसा दिएनन् वा दिन ढिला गरे भने ‘यो घरकी बूढी मरिजाओस् । बूढालाई छेरौटीले लगिहालोस्’ भन्दै सरापेर हिंड्थ्यौं । उपद्रो पनि त्यत्तिकै गथ्र्यौं । अँध्यारा हुँदी अरू देउसे लडून् भनेर बाटामा दुईपटिको कोदाको बोट बाँधिदिन्थ्यौं । त्यसमा अल्झेर कोही लडे भने खुब मज्जा आउँथ्यो । उपद्रो गरेर माथिको जस्तो कुटाइ त निकै खाइयो । 

एकचोटि बाटाघर जेठा बाको गोठको छानामा फलेको फर्सी नै फुटाइदियौं । सिरानघर भीरमाथिको निबुवा चोर्‍यौं । काँक्रा र अम्बक भेट्यौं भने त कति चोथ्र्यौं कति । कोहीले भाग्दाभाग्दै भेटे भने त्यतै कुट्थे । कोही भने आमा–बाउलाई भन्न घरमै आउँथे । पछि–पछि ठूलो भएपछि भने बिगार गर्न छोडियो । बिस्तारै–बिस्तारै देउसी खेलेर पैसा बाँड्ने अथवा वनभोज गर्ने चलनमा पनि परिष्कार आउँदै गयो । त्यसको सट्टा कुनै सामानहरू जोड्ने अर्थात् सामाजिक कामहरू गर्ने प्रयोजनका लागिदेउसी खेल्न थालियो ।

अरुको देखेर अर्थात् चेतनाको विकासले होला देउसीको माध्यमबाट हामीले गाउँमा निकै कामहरु गर्‍यौं। ०४८/४९ सालतिर होला सेरा, लर‍याङ र कात्तिके गाउँमा भाइटीकाको अघिपछि गरी ६ दिनसम्म देउसी खेलेर रकम जुटाई फलाँटे स्कूल निर्माणको बाँकी काम सम्पन्न गर्‍यौं । त्यो बेला स्वयंसेवक शिक्षकको रुपमा काम गर्ने बाम्राङका मित्र मनि राईले स्कूलका स–साना केटाकेटीलाई नाचगान सिकाएर देउसी खेली रकम सङ्कलन गर्नमा ठूलो योगदान पुर्‍याएका थिए । देउसीमा नाचगान गर्ने कलिला नानीहरु मिना, रेणुका, गीता, डल्ली, रिना, मञ्जु, सोम, मुना, बिमला, शर्मिला, सन्तोष, अञ्जु, वनपालाको ध्रुब, कुइभिर मुनिकी पञ्चकुमारी, दाप्साकी जानुका (धेरैको त नाम बिर्सें) ती आज कता छन् कुन्नि पक्कै छोराछोरीका बाउआमा भइसके । कोही विदेशतिर होलान् । डल्ली त बिचरा स्कूल पढ्दापढ्दै बितिछन् ।

चुरे दर्जीको बाँसुरीको धून र जय राईको मादलको ताल बिर्सी नसक्नुको थियो । अत्यन्त उत्साहित भएर रातदिन नभनी देउसी टिममा हिंडेर गाउँलेलाई उत्साहित तुल्याउने त्यो बेलाका कर्णशेर राई, गजशेर राई, दुर्गा कुमार, देवमणि, वृष बहादुरहरु आज यो लोकमा नभए पनि सम्झनामा भने बाँचिरहेका छन् । रुद्र राईलाई रोगले गालिसकेको छ भने बलराम कटुवाल, रवि कटुवाल, रामकुमार, मकर, नेत्र राईहरु गाउँतिरै छन् । शिव राई त्यही स्कूलमा पढाउँदै छन् । डिल्ली राई वडा अध्यक्ष भए । कमल बस्नेत मधेशतिर झरे । त्यसैगरी विभिन्न वर्षका तिहारहरुमा देउसीकै माध्यमबाट हामीले गाउँमा बिरामी बोक्ने स्टेचर किन्यौं । बिषादि छर्किने पम्प तथा सामूहिक कार्यमा चाहिने भाँडाकुँडाहरु, बाजागाजाका सामानहरु किन्यौं । भट्टराई गाउँमा देवीघरको निर्माण गर्‍यौं । छोरीलाई पढ्न पठाउने, गाउँ सफा राख्ने तथा घरघरमा चर्पी बनाउने जस्ता चेतना प्रवाह गर्ने काम पनि देउसीकै माध्यमबाट गर्‍यौं ।

तिहारमा जुवा–तास खेल्ने, जाँड–रक्सी खाने, झगडा गर्ने जस्ता विकृतिहरु आज मात्र होइन हिजो पनि थिए । तर पनि तिहारको मौलिकता, विशिष्टता र हार्दिकता भने ऊ बेलै बेसी नै थियो । परम्परागत संकीर्णताबाट फराकिलो भएर देउसी भैंलोको माध्यमबाट सामाजिक हितको लागि विभिन्न कामहरु गर्ने चलन पनि विकास हुँदै  गयो । यो निश्चय नै सकारात्मक कुरा हो । तर, मान्छेले आ–आफ्नो गच्छे अनुसार दान दिनुपर्छ भन्ने सन्देश बोकेको यो तिहारमा पछिल्लो समय बली राजाको दान माहात्म्यको कथा हाल्दै विभिन्न समूह तथा संघसंस्थाको नामबाट यतिउति रकम तोकेर दान माग्ने प्रचलनका कारण परम्पराको जगेर्ना तथा एक–आपसमा हार्दिकता बढ्नुको साटो चन्दा आतङ्कले उल्टै सताउने गरेको छ । 

आधुनिक किसिमका नाचगान, बाजागाजा र तामझाम सहित देउसी–भैलोबाट उठेको रकम त्यही मनोरञ्जनात्मक कार्यक्रमकै लागि बढी खर्च हुने गरेको पाइन्छ । त्यति मात्र होइन, पिकनिकलगायत विभिन्न ठाउँमा घुम्न जाने, जाँड–रक्सी खाने जस्ता अनुत्पादक तथा फजुल कुराले आजभोलि सहर तथा गाउँघरमा खेलिने देउसी भैलो कार्यक्रम मनोरञ्जन र दानको नाममा बोझ मात्र बनिरहेका छन् । त्यसमाथि पनि परम्परागत किसिमको मादलको तालमा भट्याउँदै देउसी भैलो तथा नाचगान गर्ने चलन लोप हुँदै गएको हो कि भन्ने कुराको आभास पनि हुन थालेको छ । कानै टट्याउने, मुटु नै हल्लाउने अहिलेका पाश्चात्य गाना बजाना तथा नृत्यले बढी ठाउँ ओगट्दै जानु हाम्रो मौलिकता माथिको अतिक्रमण हो ।

भाइटीकाको दिन घरमा धेरै जनाको जमघट हुन्थ्यो । बुबा, अगौटेबारीका बढाउ, पल्लाघरका साइँला बा, माथ्लाघरका बा, कटुवाका बाले टीको लाउने एउटै चेली थिइन् कालेकी दिदी । त्यसैले बिहानदेखि नै उनको फूर्ति निकै बढेको हुन्थ्यो । भाइटीकाको बिहानै आमाको हातको टीका लाउन खाम्तेलबाट जेठा र कान्छा मामा आउँथे । बिहा भएपछि बच्ची दिदी चुइचुम्मा नालीबाट र बहिनी निर्मला खाम्तेल पुराना गाउँबाट कोसेलीपात र फूल बोकेर आउँथे । पल्लाघरकी बेदी र इन्द्री दिदीको हातबाट पनि हामी टीका लाउँथ्यौं । उनीहरु नाली र बार्लाङबाट आउँथे । घरको टीको सकिएपछि म सेराकी मित दिदी चिम्साकोमा र कट्टीकी मित दिदी टीकासँग टीका लाउन जान्थें । दुवै मित दिदीहरु राई भएकोले बेलुका घर आउँदा साँझको तिरमिरसँगै तीनपानेको तिरमिर पनि थपिन्थ्यो । खूब मज्जा आउँथ्यो । 

गाउँ छोडेपछि कति चेलीबेटीहरु पनि छोडिए । कालेकी दिदी कालेतिरै छिन् । बेदी र इन्द्री दिदीहरु उहिल्यै मधेशतिर झरिसके । सेराकी चिम्सा दिदी पहाडतिरै छिन् भन्ने सुनेको छु । उनीसँग भेट नभएको त दुई दशक नै भइसको होला । समयले मान्छेलाई कहिलेकाहीं कहाँकताबाट जुटाउँदो रहेछ । अहिले पछिल्लो समयमा काठमाडौं बूढानीलण्ठ बस्न थालेपछि कट्टीकी टीका दिदीसँग भने केही वर्ष यता टीका लाउन थालेको छु।  यी सप्तरङ्गी तिहारका यादहरु गाउँमा छँदैका हुन् । समय क्रममा मान्छे को कहाँ पुग्छ थाहा हुँदैन । जीवन वृक्षमा पुराना पातहरु झर्छन् नयाँ पातहरु पलाउँछन् । तर, जति नयाँ पातहरु पलाए पनि पुराना पातहरुको महत्व हराउँछ भन्ने होइन । बरु, पुराना पात्र, घटना र तीसँग जोडिएका सम्झनाहरु झन्झन् जीवित बनेर आउँछन् । यसरी नै आउने हरेक पर्व र विशेष क्षणहरुमा ती दिनहरु आफूतिरै फर्काएर मनलाई भावुक बनाउँछन् । तरलित बनाउँछन् । हो, हरेक वर्ष आउने यो तिहारले पनि त्यसै गराउँछ । तन सहरमा भए पनि मनलाई उतै गाउँतिर पुर्‍याउँछ ।   अन्नपूर्ण पोस्ट्बाट ।





Leave a comment

Your email address will not be published.


*