प्रेम र सौन्दर्यका अमर गायक

          |   प्रकाशित मितिः शनिबार, कार्तिक २९, २०७७     ::: 28 पटक पढिएको   |  

डा.रामदयाल राकेश– महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली काव्य क्षितिजमा एउटा बहुमुखी प्रतिभा हुनुहुन्थ्यो। उहाँका साहित्यिक रचना असंख्य छन्। केही रचना अझै ओझेलमा छन्। आशा छ, शीघ्रताशीघ्र ती भविष्यमा प्रकाशन हुने नै छन्। जब उहाँका साहित्यिक विभिन्न आयामको अध्ययन अनुसन्धान  हुनेछ। ‘देवकोटा अध्ययन’ अहिले यस दिशामा अग्रसर छ र अभिनन्दनीय कार्य गरिरहेको  छ। यसबाट धेरै आशा गर्न सकिन्छ किनभने यो उहाँका सुपुत्र पद्मप्रसाद देकोटाद्वारा स्थापित भएको छ। नियमित नभए पनि समय–समयमा महाकविका रचनाहरूबारे गोष्ठी पनि गरिरहन्छ र विस्तृत विश्लेषण पनि। महाकविका केही अप्रकाशित रचना उहाँको शतवार्षिकी समारोह अवधिमा प्रकाशन भएको सर्वविदित छ। यो उल्लेखनीय र उदाहरणीय तथा अनुकरणीय अवदान हुन सक्नेछन् नेपाली साहित्यको श्रीवृद्धिका लागि।

महाकवि देवकोटा स्वच्छन्दतावादी धारका सर्वमान्य र सर्वप्रिय तथा सम्मानित साहित्यको रूपमा सुपरिचित हुने हुनाले नेपाली वाङ्मयमा स्वर्णाक्षरमा अंकित छ। स्वच्छन्दतावादी कविका रूपमा देवकोटाको काव्यिक रचना संसारमा यस संसारको कोहोलो, चित्कार र जालझेलबाट उन्मुक्त हुने ठूलो एवं ठोस प्रयास भएको देखिन्छ। एउटा स्वनिर्मित स्वर्णिम संसारमा आधुनिक सभ्यताको सन्त्रास र अभिशप्त स्थितिबाट जोगिने प्रयास प्रस्ट रूपमा देखिन्छ। यस उन्मुक्तिबाट जीवनमा चिरशाश्वत, चिरंतन र चिरनवीन सुखको सृजना सम्भव हुन सकोस्। सुखशान्तिको दैलो उघार्न एवं उद्घाटन गर्न महाकवि देवकोटा सधैं उद्यत एवं उत्कृष्ट अभिलाषी देखा पर्नु स्वाभाविक हुन्छ। संसारका साहित्यका रोमान्टिक कविहरूजस्तै देवकोटा पनि आफ्नो काव्यिक निर्माणमा संलग्न देखा पर्नुहुन्छ।

यस कथनको समर्थनमा प्रस्तुत गर्न सकिन्छ यी काव्योक्तिहरू :
‘आउ जऔं सभ्यताको
कैदखाना बाहिर
सिर्जनाको जोडी पहिला
वस्ति पहिलो यो घर
प्रेमको जादू अनौठो,
सौन्दर्य नै सब मन्दिर।’

महाकवि देवकोटा सभ्यताको कैदखानाबाट उन्मुक्त भएर स्वतन्त्र प्रेमी व्यक्तिका रूपमा सृष्टिको आदिम जुगल जोडी ‘आदम’ र ‘इभ’को निवासतिर जाने एवं विचरण गर्ने तर्खरमा तल्लीन देखा पर्नुहुन्छ। संसारका सबै स्वच्छन्दतावादी कविजस्तै उहाँ पनि प्रेम र प्राकृतिक सौन्दर्यका अमर गायक हुनुहुन्छ। प्रेम र सौन्दर्यको मनमन्दिरमा देवकोटाको कवि नैसर्गिक सौन्दर्यको अवलोकन गर्दै स्वच्छन्द जीवनको अवलोकन गर्दै स्वच्छन्द जीवनको सुखद अनुभूति अनुभव गर्नु सर्वथा स्वाभाविक हो। स्वच्छन्दतावादी महाकवि देवकोटा प्रेमिल एवं सौन्दर्य पर्यक सुखानुभूतिबाट उद्वेलित एवं आन्दोलित भएर उपर्युक्त काव्य पंक्तिहरूको रचना गर्नु वाञ्छनीय देखिन्छ। यी पंक्तिहरू पढेपछि मलाई हिन्दीका महाकविका अमर कृति कामायनीका यी कमनीय काव्य पंक्तिहरूको सहसा सम्झना हुन्छ यथा :
‘ले चल मुझे भुलावा देकर
मेरे नाविक धीरे धीरे
जिस निर्जन में सागर लहरी
अम्बर के कानो में गहरी
प्रेम कथा कहती हो
तज कोलाहल की अवनि रे।’

देवकोटा सौन्दर्य र प्रेमका अथक गायक हुनहुन्छ। देवकोटाका लागि प्रेम, प्यार भनेको फूल काँडा हो। स्वर्गको वीउ हो, पृथ्वी अन्दर एक तपस्या साह्रो छ। महाकविको दार्शनिक प्रेम रुचि स्वर्गको बीउबाट सिञ्चित, पुष्पित र पल्लवित हुँदै परिपक्व र परिपूर्ण हुने गरेको छ। प्रस्तुत गरिन्छ निम्नलिखित काव्यपंक्तिहरू :
 ‘प्यार भनेको फूल काँडा हो। तीखो सुन्दर छ। तर माटोमा रोपिनु पर्दछ। सुस्केरामा स्वासहरूले हम्की हर हर। स्वर्गको बिउ हो पृथ्वी अन्दर। रोप्न आनन्द बचाउन साह्रो। एक तपस्या साह्रो। पाइसकेको छु जान तर छौ तिमी अज्ञान।’ 

महाकवि लक्ष्मीप्रसाद देवकाटा सौन्दर्यवादी कवि हुनुहुन्थ्यो। उहाँको रचना संसारमा सौन्दर्यको छवि एवं छटा यत्रतत्र सर्वत्र भेटिन्छ। प्राकृतिक सौन्दर्यका साथै नारी सौन्दर्यको सञ्चेतना महाकविको मानसपटलमा धनीभूत भएको हामी पाउँछौं। नैसर्गिक सौन्दर्यको साथमा नारी सौन्दर्यको चित्रण अतुलनीय एवं अद्वितीय रूपमा उहाँको काव्य रचना संसारमा छताछुल्ल भएको हेर्न सकिन्छ।

प्रकृतिप्रेमी देवकोटाको रचना संसारमा राष्ट्रप्रेम एवं मातृभूमिप्रतिको प्रेम उताल तरंगजस्तो तरंगित छ। देवकोटालाई आफ्नो राष्ट्रप्रेमको प्राचीन गौरवशाली, महिमाशाली र वैभवशाली परम्पराप्रति अगाध प्रेम र असीम श्रद्धा प्रस्ट रूपमा दृष्टिगोचर हुन्छ, जसको अभिव्यक्ति निम्नलिखित पंक्तिहरूमा हेर्न सकिन्छ :
‘नेपाल मीठो गानको खोला वनको चुलबुल
नेपाल स्वरको ओराली चढाउ जलको कलकल
गानामा बग्छ कथाको नेपाल परीको सपना,
सुनौला दाना झिझिल्के साना बनाऊँ कि विपना।’

स्वच्छन्दतावादी काव्यधाराका कविहरूको आशक्ति र आकर्षणको केन्द्रबिन्दु नारी भएको काव्य–सत्य यसरी उद्घाटित भएको छ, जसमा कविको सुधारवादी दृष्टिकोण द्रष्टव्य छ।
‘निचोर सृष्टिको तिमी सजीव कामिनी बन्यो।
तिमी, ममा छ विश्वको त फ्याउ, फ्याक रे मुटु।
तिमी म साथ चल्छ यो। तिमी म साथ फुल्छ यो
हिमाल सम्झ पार्वती। रसाल कुंज राधिके।’

मानव जीवनमा, सुख–दु:ख घाम–छायाको जस्तो अनुस्यूत भएको अनुभव महाकविलाई पनि भएको तथ्य सर्वविदित छ। उहाँको जीवन दर्शनबाट यो कुरो प्रस्ट हुन्छ। मानव जीवन सुख–दु:खको सुमधुर संगम एवं सम्मिश्रण भएको कुरो धु्रवसत्य हो। आनन्दानुभूतिको भावभूमिमा प्रवेश गरेपछि देवकोटालाई पनि यो युगसत्यसित साक्षात्कार भएको छ। जीवनको कटु सत्यमा केन्द्रित महाकविको जीवन्त जीवनाभूतिको अभिव्यक्ति कति सटिक, सान्दर्भिक र समसामयिक छ हेरौं :
‘सुख र दु:ख मलाई पनि परे
जब वसन्त भयो हरियो छ रे
हिउँदमा जल टप्किइ रुझ्दछ,
सकल पात झरी म दरिद्र छु।’

हिन्दी साहित्यका महान् कवि सुमित्रानन्दन पन्तको अभिव्यक्त सुख–दु:खको गाथासँग कति साम्य छ महाकवि देवकोटाको अभिव्यक्ति, हेरौं :
‘यह साँझ उषा का आंगन। आलिंगन विरह मिलनका यो जीवन हो परिपूरण।’

एक्कासि महापण्डित राहुल सांकृत्यायनको कथन याद आयो कि देवकोटा एक्लै पन्त, प्रसाद, निराला हुनु भनेको सार्थकता हो। मैले यसै कथनलाई चरितार्थ एवं फलीभूत गर्न हेतु तीनवटा आलेख लेखें। जस्तो— महाकवि जयशंकर प्रसाद र महाकवि लक्ष्मीप्रसाद देवकोटा, सुभित्रानन्दन पंत र लक्ष्मीप्रसाद देवकोटा र सूर्यकान्त त्रिपाठी निराला र लक्ष्मीप्रसाद देवकोटा। जुन साझा प्रकाशनद्वारा प्रकाशित मेरो पुस्तक नेपाली कविता : विभिन्न आयाममा संकलित छन्। मेरो चाहना थियो कि यस तुलनात्मक अध्ययनलाई अग्रसारित गरिनेछ नेपाली समालोचना साहित्यमा। तर, त्यसको कुनै छनक अहिलेसम्म नेपाली साहित्यमा देखा परेको छैन।

देवकोटाको जीवन–दर्शन समन्वयवादी र सत्यमा आधारित छ। यो चिरंतन सत्य हो कि मानव जीवन सवभंगुर एवं क्षणिक छ। मृत्युबोधको ज्ञान क्षणक्षण मानिसलाई हुनु स्वाभाविक हो। मृत्यु यन्त्रमा एवं सन्त्रासको अनुभूति कसलाई हुँदैन र ? मृत्यु जीवनमा अवश्यम्भावी घटना हो जनु एक न एक दिन घटित हुन्छ। मृत्युबोधको दर्दनाक अनुभूतिबाट महाकवि स्वयं आक्रान्त एवं पीडित तथा प्रताडित हुनुहुन्थ्यो। मृत्यु जीवनको अन्तिम सत्य हो। यसबाट कोही प्राणी पन्छिन सक्दैनन्। हेरौं महाकवि देवकोटाको मृत्युबोधको अभिव्यञ्जन :

‘मृत्यु प्रतिक्षण नाचिरहेछ
लहर लहरमा
उसँग खेल्नु विलास
भर भर वीर हो, निर्भय निर्भय
चीसा हावामा तातो गिलास
सागर हो जीवन महासागर विश्व
अविदित यसको रहस्य
मृत्यु छ एक नितान्त अवश्य।’

देवकाटा सौन्दर्यवादी कवि हुनुहुन्थ्यो। उहाँको रचना संसारमा सौन्दर्यको छवि एवं छटा यत्रतत्र सर्वत्र भेटिन्छ। प्राकृतिक सौन्दर्यका साथै नारी सौन्दर्यको सञ्चेतना महाकविको मानसपटलमा धनीभूत भएको हामी पाउँछौं। नैसर्गिक सौन्दर्यको साथमा नारी सौन्दर्यको चित्रण अतुलनीय एवं अद्वितीय रूपमा उहाँको काव्य रचना संसारमा छताछुल्ल भएको हेर्न सकिन्छ। उहाँको सौन्दर्य चेतनाको जीवन्त चित्र शाकुन्तलको दिव्य एवं भव्य सौन्दर्य अंकनमा सजीव भएको प्रस्तुत छ यी काव्य पंक्तिहरूमा :
‘जूनैजूनबाट मानो कुँदेकी
फूलैफूलबाट मानो बनेकी
राता गला दीर्घ आँखा उज्याला
विश्वश्री झैं प्रतिमा चारुवाला।’

देवकोटामा गीतात्मक एवं संगीतात्मक प्रतिभा पनि अतुलनीय थियो। उहाँ एउटा सिद्धहस्त गीत रचनाकार हुनुहुन्थ्यो। गीतकार कालीप्रसाद रिजालको शब्दमा उहाँको गीतिचेतना यसरी प्रस्ट गरिएको छ : 
‘देवकोटाका कविताहरू पनि गीतजस्तै लाग्छन्। सहजै गाउन सकिने लयबद्ध भएको पाइन्छ। नेपाली लोकगीत र लोकलयप्रति देवकोटाको विशेष  रुचि र लगाव भएको  देखिन्छ।’ कालीप्रसाद रिजाल : मधुपर्क : पूर्णाङ्क ५९६/२०७५ माघ। अन्नपूर्ण पोस्ट्बाट ।





Leave a comment

Your email address will not be published.


*