अफिसमै लक्ष्मीपुजा : नजानेरै बनाइएको त्यो रङ्गोली !

          |   प्रकाशित मितिः बुधबार, मंसिर ३, २०७७     ::: 196 पटक पढिएको   |  

राज कुमार बुढा
धोबिघाट, ललितपु
– लक्ष्मी पुजाको अघिल्लो दिन । अफिसको फेसबुक ग्रुपमा म्यासेज आयो, कृष्ण सरबाट भोली पुजा गर्न अफिस आउनसक्ने जतिले हात उठाउनुस् । मेरो कोठा त अफिस नजिकै छ किन जान नसक्नु ? म छिटो छिटो हात उठाएको जस्तो इमोजी खोजेर टुच्च पठाइदिहालेँ । मैले पठाउने बेलासम्म त भरत दाइ र गिता दिदिको हात उठाईसक्नुभएको थियो । एड्भान्समा हात उठाइहाल्नेमा त हामी तीन जना मात्रै भयौं पार्बती दिदी र कृष्ण सर गर्दा पाँच जना मात्र । हात उठाउन छुटेकी आशा दिदी भने पुजा गर्न टुप्लुक्क आइपुग्नु भएको थियो । साँझको बेला आ–आफ्नो घरमा लक्ष्मी भित्र्याउनुपर्ने कारणले दिउँसो ११ बजे गर्ने अफिसमा पुजा गर्ने भन्ने निधो भयो । त्यो पनि फेसबुक ग्रुपमै ।
आबश्यक सामाग्री सबै ठिक्क थिए । जम्मा पनि भयौँ । कुरो रङ्गोली बनाउँदाको हो । ठ्याक्कै भन्दा रङ्गोली बनाउन जानेका कोहि रहेनछौं । ढङ्ग नपुगेका भएपनि भरत दाइ र म कस्सिहाल्यौं । बनाउन त बनाउने कस्तो बनाउने र कसरी बनाउने टुङ्गो लगाउनै एकछिन त लाग्यो नै । अन्ततः रङ्गका प्याकेट खोलेर हातहरु खेलाउन थाल्यौं । आशा दिदी भन्न थाल्नुभयो म त रङोली बनाउन जान्दैन है बरु रङ भरौंला । भरत दाइ र म हात कमाई कमाई कसरी आकार दिने भन्नेमै तल्लिन थियौं । रङ्ग मसिनो भएकाले सरर झरेन, चामलको पिठो मिसाउँदा गजब हुन्थ्यो भन्ने कुरो आयो हामी भित्रैबाट ।
पार्बती दिदी फुत्त बाहिर निस्किनु हुन्थ्यो कहाँ जानुभयो भनेको त चामलको पिठोको लागि अफिस अगाडिका केही किराना पसल चहारिसक्नुभएछ । परिस्थिति यस्तो बनेको थियो गज्जबको रङ्गोली बनाउने मन सबैको थियो तर हाम्रो ढंग अलि कम भएकै हो । फरक फरक रङ्ग थप्ने क्रममै थियौं भरत दाई र म । गिता दिदी अगाडि उभिनु भयो फोनको क्यामरा खोलेर आहा कति राम्रो भयो नि । गिता दिदिले त्यति भन्दिदा मनै फुरुङ्ग भयो मनमनै लाग्यो नजानेरै बनाएको पनि त राम्रै भएछ । तर मलाई थाहा थियो कि रङ्ग र मेरो ढङ्गको तालमेल नमिल्दा अलि भद्दा त भएकै छ ।
बिच–बिचमा कृष्ण सर थपिहाल्नुहुन्थ्यो, कोहि कसैको भन्दा कम हुनुहुँदैन है हाम्रो रङ्गोली, ल गजब भैराछ । सरतिर पुलुक्कै हेर्दै लामो सार फेर्थे र अझैं रङ्गोलिका किनाराहरु गाढा बनाउन रङ्ग थपिहाल्थे । बनाउँदा बनाउँदै सरले एकछिन गाउँको तिहार स्मरण समेत गराउनु भयो । त्यो पल त मन भारी भयो एकछिनसम्म । हात अफिसको रङ्गोली बनाउने रङ्गमा लतपतीएपनि मन गाउँघर तिर डुल्न थाल्यो । केहिबेरमै सम्हालीएँ, त्यतिबेला सम्हालिनु बाहेकको बिकल्प नै भएन ।
जेनतेन रङ्गोली बन्यो, पुजा पनि गर्यौ । पुजा पछीको केहीबेर क्यामरा र हामी आमनेसामने भयौं । अथवा फोटो खिच्यौं । अफिसमा केहिको मात्रै उपस्थिती रहेपनी सबैमा गहिरो सम्झना रहिरह्यो । सबैजना एकैठाउँमा भइँदो हो त चाडपर्बमा खुसी साटासाट र स्नेहमिलन हुने त थियो तर बाधकको रुपमा कोरोना महामारी रहिदियो । न सबै जम्मा हुन मिल्ने न त पुजा छोड्न नै ।
तस्बिरका केहिलाई ह्विलचिअरमा देख्दा केही प्रश्न उब्जिनु स्वभाविकै हो । मैले लेखमा पटकपटक अफिस शब्द प्रयोग गरेको छु । अफिस भन्नाले स्वाबलम्बन जिबनपद्दती केन्द्र (ईन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टर ललितपुर भन्ने जनाउँछ । यो अपाङ्गता भएका ब्यक्तिहरुद्वारा संचालित, अपाङ्गता भएका ब्यक्तिहरुको हक, हित र अधिकारका लागि काम गर्ने संस्था हो । तस्बिरमा कृष्ण सर, भरत दाइ र गिता दिदिको शारीरिक अपाङ्गता हो । उहाँहरुले ह्विलचिअर प्रयोग गरिराख्नु भएको छ ।
घर जान नपाउँदाको न्यास्रोपन अफिसकै लक्ष्मीपुजाले थोरै त मेटेको थियो । तर गाउँको देउसीभैलोमा मेरो पनि खोजी भयो होला । म भने कोरोना महामारीसङ्ग च्यालेन्ज लिन नसकी धोबिघाट ललितपुरस्थित एउटा घरको तेस्रो तलामा गुमनाम भएँ । लक्ष्मीसङ्ग मेरो पुकार । धनसम्पती आउँदा बर्षहरुमा मागौंला माता केबल अहिलेलाई यो महामारीबाट छुटकारा मात्र मिलोस् ।





Leave a comment

Your email address will not be published.


*