कहिल्यै नसकिने आइ/एनजिओका मिटिङ

          |   प्रकाशित मितिः बुधबार, मंसिर ३, २०७७     ::: 16 पटक पढिएको   |  
दीपक भट्टराई र उमानाथ संजेल

सरकारी तथ्यांकका अनुसार नेपालमा ५१ हजार पाँच सय १३ वटा गैरसकारी संस्था (एनजिओ) समाज कल्याण परिषदमा दर्ता भएर सञ्चालनमा छन्। त्यस्तै एक सय २६ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) सञ्चालनमा रहेका आइएनजिओ संघले जनाएको छ। 

यीबाहेक दर्ता नभई चलाइएका एनजिओ/आइएनजिओ पनि होलान्। यी आइ/एनजिओ भनिने विकासे संस्था दाताको दानबाट चल्ने हुन्।

ठूलो मन भएका दानीहरूले विश्वभर खर्बौं खर्ब रुपैयाँ गरिब, निमुखाको जीवन सहज होस् भनी आइ/एनजिओ मार्फत दान दिन्छन्। त्यस्तै विकसित, सम्पन्न मानिने देशले पनि बर्सेनि खर्बौं खर्ब रूपैयाँ विकासोन्मुख र आर्थिक रुपमा विपन्न देशका नागरिकका लागि भनी आइ/एनजिओ मार्फत खर्च गर्नैपर्ने अन्तरर्राष्ट्रिय समझदारी पनि छ। 

यति धेरै आइ/एनजिओले खर्बौं खर्ब रुपैयाँ के-के काममा खर्च गर्छन् भनेर यो लेखमा छैन। यहाँ त यस्ता विकासे संस्थामा काम गर्ने कर्मचारीका लागि केही ‘टिप्स’ दिन खोजिएको छ।

अझ ‘टिप्स’ पनि मिटिङमा बस्दाको लागि मात्र। कोरोना फैलिएदेखि यस्ता विकासे संस्थामा काम गर्नेहरू दिनभर ल्यापटपमा ‘मिटिङ’ भन्दै बस्छन्। कोरोना फैलिनु अगाडि यिनीहरू होटल, सेमिनार वा एकअर्का विकासे संस्थाको कार्यालयमा यसरी नै मिटिङ बस्थे। मिटिङमा विकासे कार्यकर्ता कसरी प्रस्तुत हुनु पर्छ भन्नेमा यो लेख केन्द्रित छ। 

यस लेखका लेखकमध्ये एक जना देश-विदेशमा आइ/एनजिओमा बीस वर्षभन्दा बढी काम गरिसकेका अनुभवी हुन्। त्यसबाहेक यिनीहरूले विकासे संस्थाको मिटिङमा कसरी प्रस्तुत हुने भनेर केही खोजबिन ‘गुगल’मा पनि गरेका छन्। 

त्यसैले तपाईंले पढेका कुनै लेख-रचनासँग यो ठ्याक्कै मिल्न गएमा संयोग मात्र होइन कि त्यहीँबाट साभार भएको हुन सक्छ। 

सुरूमा त यी विकासे संस्थाको मिटिङमा भाग लिन सर्वसाधारणले सजिलै नबुझ्ने केही अप्ठ्यारा शब्द जान्नुपर्छ। आफूले त्यो शब्दको भावार्थ नजाने पनि हुन्छ तर मिटिङमा प्रयोग चाहिँ गरिरहनुपर्छ। नेपालीभाषी मात्र मिटिङमा छन् भने त्यस्ता शब्द अंग्रेजीमा प्रयोग गरे थप विद्वान देखिन्छ। 

यहाँ ती शब्द कुनै नेपालीमा कुनै अंग्रेजीमा र कुनै दुवै भाषामा लेखिएको छ। लेखकहरूले जानेसम्म ती शब्दका व्याख्या गरेका छन्। लेखकहरूले पनि राम्रोसँग भेउ नपाएका शब्दलाई त्यसै छाडेका छन्।

पहिलो ‘स्ट्राटेजिक’ भनेको रणनीतिक।

स्कुल बच्चाहरूलाई लिटो बाँड्नेबारे विकासे मिटिङ होस् कि वातवारण जोगाउन नयाँ कम्पनी खोल्न नदिने मिटिङ होस् वा कोरोना भाइरसबारे जनचेतना जगाउने विकासे मिटिङ होस्। तपाईंले ‘यो स्ट्राटेजिकल्ली जानु पर्छ’ भन्न छाड्न हुँदैन।

यो स्ट्राटेजिक भनेको सामान्य अर्थमा आफ्नो वरिपरि सबै परिस्थिति विचार गरेर राम्रोसँग योजना बनाएर चल्नुपर्छ भनेको हो। तर यसो भन्दा मान्छेले सजिलै बुझ्ने डर हुन्छ। त्यसैले स्ट्राटेजिकल्ली अगाडि बढ्नुपर्छ भने राम्रो।

दोस्रो ‘माइलस्टोन’ भनेको उपलब्धि।

यो योजनाका माइलस्टोनहरू के-के हुन् त भनेर मिटिङमा प्रश्न गरिहाल्नु पर्छ। धेरै जसो प्रोजेक्टले केही नापिन्न भनेर त तपाईंलाई थाहा छ। तै पनि ‘यो प्रोजेक्टको माइलस्टोनमा थप क्लियर हुन आवश्यक छ’ भनेर मिटिङमा भन्दिनुहोस्। 

पाँच वर्ष (जति वर्षे प्रोजेक्ट हो त्यति नै भन्ने) का मुख्य माइलस्टोन के-के हुन् त? कुन-कुन वर्षमा के-के उपलब्धि हुन्छ? त्यस्तै ‘गोल, अब्जेक्टिभ र भिजन क्लियर छ कि छैन प्रष्ट हुनुपर्छ’ भन्नुहोस्। यी सबै भनेको त्यो प्रोजेक्टको उपलब्धि के हो त भन्न खोजेको नै हो। तर त्यही कुरालाई अलि धेरै शब्दबाट भनिदिएमा थप बुझकारी व्यक्ति रहेछ भनेर अरुले देख्छन् नि।

त्यस्तै ‘एक्सन प्लान’ के-के हुन् त भनेर सोध्नुस्।

अझै जान्ने टोपलिन छ भने एक्सन प्लानमा अरु के-के थप्न सकिन्छ भनेर आफ्नो कुरा राख्दा राम्रो। जस्तै लिटो खुवाउने प्रोजेक्ट हो भने म यसको एक्सन प्लानमा थप्न चाहन्छु भन्दै ‘विद्यालयमा शौचालय पनि बनाउन पर्छ’ भन्नुहोस्। 

अर्को कुरा ‘नेक्सस प्रोग्रामिङ’ बारे पनि चर्चा गर्नु राम्रो।

यो भनेको प्रोजेक्ट कुनै हिसाबले पनि नसकियोस्। एउटा न अर्को रूपमा प्रोजेक्ट रहिहनुपर्छ भनेको। नेक्सस प्रोग्रामिङमा जोडिएर आउँछ ‘ह्युमेनिटेरियन, लङ टर्म डेपलपमेन्ट’ र ‘पीस बिल्डिङ’।

जस्तै नेपालको शान्ति प्रकिया त सकियो। त्यसो भन्दैमा शान्तिका लागि दान ल्याएका आइ/एनजिओ देश छाडेर जानु त भएन नि। तिनले शान्तिसँग सम्बन्धित समावेशी दिगो विकास जस्ता काम त बाँकी नै छ भनेर ती आइ/एनजिओले काम गरिहरनुपर्छ भन्ने हो।

जति सकिन्छ ‘सस्टेनिबिलिटी’ शब्द प्रयोग गर्नुहोस्। यसको अर्थ प्रोजक्टको दिगोपनको कुरा हो। जस्तै कुनै प्रोजेक्टले शौचालय बनायो भने त्यसलाई दाताले पैसा दिन छाडे भने पनि कसरी सञ्चालन गरिराख्ने भन्ने कुरा यसमा पर्छ।

मिटिङमा कसैले कुनै योजना वा विचार ल्याउने बित्तिकै यो प्रोजक्टको सस्टेनिबिलिटी मोडल के हो त भन्ने प्रश्न सोध्न तयार भएर बस्नुहोस्। त्यसका साथै स्थानीयकरण ‘लोकलाइजेसन’ गर्नुपर्छ भन्न पनि नबिर्सनुहोला। 

‘अन्तको योजनाको ठ्याक्कै नक्कल गर्दा प्रोजेक्ट असफल हुन जान्छ’ भन्नुहोस्। त्यसैले यहाँका मान्छेको ‘क्यापासिटी बिल्ड अप’ गर्ने कुरामा प्रोजक्टले ध्यान दिनु पर्छ भन्नुहोस्। 

अंग्रेजीमा ‘इम्पावरमेन्ट’ नेपालीमा सशक्तिकरण, गजबका शब्द हुन्। तर आजभोलि विकासे संसारमा धेरै प्रयोग भएर क्लिशे भएका छन्। प्रयोग गर्न परे एउटा मिटिङमा एक दुई पटक मात्र प्रयोग गर्नुहोला।

‘त्यहाँका नागरिकले प्रोजेक्टको ओनरसिप लिनु पर्छ’ भन्नुहोस्। यो भनेको प्रोजेक्ट गर्दा स्थानीयले अवरोध नगरून्, हाम्रै हितमा आएको प्रोजेक्ट हो भनेर बुझून् भनेको हो।

अझ युएनको ‘सस्टेनिबेलिटी डेभलपमेन्ट गोल्स’सँग यो प्रोजेक्टको तादम्यता कहाँ छ भनेर सोध्नु झन् राम्रो। त्यो भनेको राष्ट्रसंघले सबै देश र त्यहाँका बासिन्दाको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता कुरामा सबैको समान अधिकार र पहुँच हुनुपर्छ भनेको हो।

‘डाइभर्सिटी’ भनेको विविधता र ‘इन्क्लुजन’ भनेको समावेशी। यी दुई शब्द पनि मिटिङमा प्रयोग गर्नुहोस्। यो प्रोजेक्टले को-कोलाई फाइदा पुग्छ त? के विविध थरिका समुदायलाई फाइदा पुग्छ? भन्नुहोस्। 

दलित, महिला, जनजाति, मधेशी, अपांगता भएका व्यक्ति, बालबालिका, फरक लैंगिक क्षमताका व्यक्तिलाई कहाँ कहाँ कसरी यो प्रोजेक्टमा स्थान दिइएको छ? भनेर सोध्न कहिल्यै बिर्सन हुन्न। 

खोटाङमै कार्यक्रम छ भने पनि ‘मधेशीलाई यसले फाइदा पुग्छ त?’ भनेर सोध्नुस्। अनि कसैले ‘खोटाङमा मधेशी त छैनन्’ भनेर जवाफ फर्काए ‘मैले रोल मोडलिङको कुरा गर्दैछु, भोलि गएर यो प्रोजेक्ट सिराहामा गर्नुपर्ला, त्यसबारे पनि अहिल्यैदेखि सोच्दैछु’ भन्नुहोस्।

तपाईंलाई सबैले भविष्यदृष्टा भनेर सम्मान व्यक्त गर्छन्।

प्रोजेक्ट साधु-नाङ्गा बाबाको उत्थानका बारेमा भए पनि  यसमा ‘जेन्डर कम्पोनेन्ट’ के हो भनेर सोध्न कहिल्यै बिर्सन हुन्न। ‘महिलाले यसबाट के फाइदा पाउँछन्?’ भनेर सोध्नुपर्छ। 

‘मार्जिनलाइज्ड र ‘एक्स्कुलेटेड ग्रुपका लागि यो प्रोजेक्ट कसरी समावेशी छ भनेर प्रष्ट हुनु चाहन्छु,’ मिटिङमा भन्न छुटाउनु हुँदैन।

अर्को शब्द हो ‘स्टेकहोल्डर’, सरोकारवाला। यसका अरू स्टेकहोल्डरहरू को-को हुन् त भनेर मिटिङमा सोधिहाल्नुहोस्। अझै लोकल गभर्मेन्टलाई प्रमुख स्टेकहोल्डर बनाउनु पर्छ भन्न नबिर्सनुहोला। हामीले सरकारलाई अकाउन्टेबल (उत्तरदायी) बनाउन नसके यो प्रोजेक्ट सस्टनेबल हुँदैन पनि भन्दिनोस्। 

अकाउन्टेबिलिटी कोप्रति हो? ‘डोनर प्रति कि सरकार प्रति कि, प्रोजेक्टबाट लाभ लिने बेनिफिसियरी प्रति?’ भनेर सोध्न सके राम्रो हुन्छ।

‘म त डाउनवार्ड अकाउन्टेबिलिटीमा विश्वास गर्छु। बेनिफिसियरी प्रति उत्तरदायी हुनुपर्छ। ठूला रिपोर्ट बनाएर डोनरलाई देखाएर मात्र काम हुँदैन। खास लक्षित समूह टार्गेट ग्रुपले के फाइदा पाए, तिनको जीवनमा के परिवर्तन आयो त्यो महत्वपूर्ण कुरा हो’ भन्दिनोस्। सबैजनाले तपाईंको प्रशंसा गर्छन्। 

सरोकारवालामा त्यस्तै प्रोजेक्ट गर्ने अन्य एनजिओ-आइएनजिओ पनि पर्छन्। स्टेकहोल्डर र की प्लेयर बीच खोई त कोअर्डिसेनको कुरा भनेर मिटिङमा उठाइदिनुहोस्। 

हिजोआज क्लाइमेट चेन्ज (जलवायु परिवर्तन) र इन्भाइरोंमेन्ट प्रोटेक्सन (वातावरण संरक्षण) बारे पनि कुरा गरे राम्रो। ‘बेनिफिसियरी’ त्यो प्रोजेक्टबाट फाइदा पाउने समूह हो। तर त्यो प्रोजेक्टले जलवायुमा कस्तो असर पार्छ भनेर सोध्नु पर्छ। जस्तै सिन्धुलीमा सात वटा बाख्रा बाँड्ने प्रोजेक्ट भए पनि ‘त्यसले वातावरण संरक्षणमा के योगदान दिन्छ वा जलवायु परिवर्तनमा केही नकारात्मक असर पार्छ कि, त्यसबारे प्रष्ट हुन चाहन्छु’ भनेर सोध्नुहोस्।

वातावरण प्रति सजग भएर आफूले प्लास्टिक बोतल प्रयोग गर्न छाडेको कुरा मिटिङमा भन्दिनोस्।

‘म त हामी सबैले बोटल्ड वाटर युज नगरौं भन्छु’ भन्दा राम्रो। नजाने पनि कार्बन फुट प्रिन्ट घटाउन आफ्नो तर्फबाट पनि योगदान दिनुपर्छ भन्दिए मिटिङमा सबैले तपाईंको सरहाना गर्छन्। 

अब चाहिँ ‘मिल’ भन्ने शब्द सम्झनोस्, एमइएएल।

यो भनेको मनिटरिङ, इभ्यालुएसन, लर्निङ एन्ड अकाउन्टेबिलिटी। अर्थात अनुगमन, मूल्याकंन, सिकाई र उत्तरदायी।

कसैले प्रोजेक्टको कुरा गरोस् कि रिसर्चको, तुरुन्तै सोधिहाल्नुस् ‘यसको मनिटरिङ र इभ्यालुएसन प्रोसेस के हो?’ विगतमा यस्तै प्रोजेक्टबाट के सिकियो भन्ने प्रश्न पनि बेलाबेलामा उठाउनुपर्छ। कसले कसरी प्रोजेक्टबारे अनुमगन र मूल्यांकन गरिरहन्छ त्यो बारे प्रष्ट हौं भन्न मिटिङमा कहिल्यै छुटाउन हुन्न। 

‘मिल’ सम्म पुग्न अप्ठ्यारो भयो भने ‘एम एन्ड ई’ मात्र ले पनि चल्छ। मनिटरिङ एन्ड इभ्यालुएसन।

हिजोआज आउटकम हार्भेस्टिङ भन्ने नयाँ शब्दावली थपिएको छ। आइ/एनजिओको खेतीले के प्रभाव पार्‍यो भनेर पहिला पहिला केस स्टडी, सक्सेसफुल केस भन्ने गरिन्थ्यो अचेत त्यसको सट्टा आउटकम हार्भेस्टिङ भन्ने शब्द चल्तीमा आउँदैछ। खेती गरेपछि फल खोज्न पर्‍यो नि!

आइ/एनजिओको मिटिङमा धेरैले रिसर्च प्रेजेन्टसन गर्छन्। त्यसमा भने तपाईंले स्याम्पल साइज र मेथोडोलोजी भन्ने शब्द छाड्न हुन्न है। स्याम्पल साइज भनेको कति जना मान्छेसँग प्रश्न सोधिएको हो, कुराकानी गरेको हो भनेको। त्यस्तै मेथोडोलोजी भनेको के आधारमा प्रश्न सोध्ने मान्छेलाई छानेको। भेटेरै सोध्यो को कि, समूहमा सोधेको कि भन्ने कुरा मेथोडोलोजीमा पर्छ।

यसमा कम्युनिकेसन एप्रोच पुगेन भन्दिनोस्। मिडियाको प्रभावकारी उपयोग गर्नुपर्छ। त्यसबारेमा मिटिङमा धेरै कुरा उठेको छैन। म यो कुरामा पनि छलफल होस् भन्ने चाहन्छु भन्दा पनि भयो।

मिटिङका अन्य सहभागीलाई अलमल्याउनु छ भने टेक्नोलोजी फर डेभलपमेन्टको कुरामा पनि केही समय खर्चिन पर्ला भन्नुहोला। संचार प्रविधिको यत्रो विकास भएको छ, प्रोजेक्ट इम्प्लिमेन्ट गर्दा हामीले प्रविधिको उपयोग गर्नैपर्छ भन्न नछुटाउनु।

अलि धेरै वर्ष काम गरिसकेको हुँ भनेर देखाउन मन छ भने फन्डिङको कुरा गर्नुहोस्। त्यो भनेको पैसा कहाँबाट आउँछ भनेको। सेक्युर्ड फन्डिङ कति छ, डोनर्स को-को हुन् र अझ अनरेस्टिक्टेड फन्ड कति हो भनेर सोध्नुभयो भने तपाईं थप विद्वानमा दरिनहुन्छ। यी सबै भनेको पैसा कति छ, कर्मचारी तलब भत्तामा कति खर्च गर्न पाइन्छ भनेर सोधेका हो।

सेफगार्डिङको कुरा त झन्डै छुटेको। प्रोजेक्टका कारण कोही पनि मानिसबाट अनावश्यक फाइदा लिनु हुँदैन। सबैको सुरक्षा हुनुपर्छ भन्नलाई सेफगार्डिङ शब्दको प्रयोग गरिन्छ। 

जस्तै प्रोजेक्टबाट दुइटा कुखुरा पार्दिन्छु भनेर बुढीआमाको घरमा जाँड खानु पनि भएन। उनकी छोरीसँग छिचोलिन पनि पाइँदैन। यो प्रोजेक्टमा सेफगार्डिङलाई कसरी महत्व दिइएको छ, म थप जान्न चाहन्छु भनेर मिटिङमा भन्नुहोला। 

अझ त्यसमाथि डाटा प्रोटेक्सन र साइबर सेक्युरिटीको कुरा गर्नुभयो भने तपाईं अब्बल दर्जाको विकासे कार्यकर्ता। हामीले संकलन गरेका सूचना, फोटा, भिडिओ सुरक्षित हुने ग्यारेन्टी कसले गर्छ भनेर सोध्नुहोला। मान्छेका नाम, उमेर, ठेगाना, फोन नम्बर, लैंगिक पहिचान, हस्ताक्षरको दुरुपयोग हुँदैन भनेर मलाई विश्वास दिलाउनुहोस् भन्ने बित्तिकै तपाईंको नम्बर बढ्छ। 

माथि नै भनी सकियो विकासे कार्यकर्ताबाहेक अरुलाई यो लेख काम छैन। अर्को कुरा पनि भनौं विकासे कार्यकर्ताले सकभर यस्ता लेख पढ्दैनन्। किनभने उनीहरूलाई फिल्डमा जाने हतारो हुन्छ।

जहिल्यै पनि मिटिङ बसिरहेका बेला अरुभन्दा अगाडि नै उठ्नुहोस् र म त फिल्ड जाँदैछु भन्नुहोस्। डोनरसँगको मिटिङमा त त्यो भन्न छुटाउनै हुन्न। डोनर भनेको दाता। ओहो काम गर्ने ठाउँमै जाने मान्छे पो रहेछ भनेर तपाईंको थप सम्मान हुन्छ। 

अझ ‘लास्ट मन्थ वा विक म सिराहा पुगेर आएकी, त्यहाँकी बुढी महिलाले हामीले दिएका एउटा साबुन, एउटा स्यानिटाइजर र दुइटा मास्ककै कारण आफू कोरोनाबाट बचेको बताइन्। मेरो त आँखै रसायो’ भन्दिनोस्। तपाईंलाई सबैले वाउवाउ, एक्सिलेन्ट भन्नेछन्। 

आफू फिल्डमा जान हतारिए पनि, जुनै विषयको मिटिङ भए पनि यस्को एउटा फलोइङ ग्रुप बनाऔं भन्नुहोस्। त्यो भनेको पछि फेरि मिटिङ गरौं र समय काटौं भनेको हो। 

अर्को कुरा मौका मिलेमा त्यस्तो मिटिङका बेला सरकारको आलोचना पनि गर्नुहोस्। सरकारी कर्मचारी संयन्त्र प्रभावकारी नभएका कारण धेरै कुरा बिग्रेको छ भन्नुहोस्। अझ सरकारका विभिन्न निकायबीच समन्वय नभएका कारण जनताले दुःख पाइरहेका हुन् भन्न नबिर्सनुस्।

खासमा समन्वय को-को बीच नभएको हो तथा के कारणले गरिबी, अशिक्षा नघटेको हो भन्ने कुरा त तपाईंलाई नै थाहा छ। 

तपाईंले यो लेख पूरै पढेर यहाँसम्म आउनुभएको हो भने तपाईं प्रति हामी लेखक नतमस्तक छौं। थप चार वटा छोटा अनुच्छेद पढ्नुहोस्।
 
आइ/एनजिओमा काम गर्नेका भाष्य पट्यारलाग्दा र वाहियात हुनुका कारण छन्।

पहिलो त विकासलाई दाताले यही रुपमा बुझ्छन्। दोस्रो यस्ता जार्गनबाट फाइदा लिएर विकासका कार्यक्रमलाई जसरी चलेको छ त्यसरी चल्ने दिने हाम्रो सरकारी संयन्त्र छ। तेस्रो राम्रो तलब, सुविधा आए यस्ता कुरा बोल्न, लेख्न हामी धेरै जना तयार छौं। 

तर गरिब भनिएका र विशेषगरी सेवाप्रवाहमा असफल देशमा केही विकासे संस्थाकै कारण स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा जस्ता आधारभूत सेवा अस्तित्वमा रहेका हुन्। नेपालमा पनि सफल मानिएका धेरैप्रकारका स्वास्थ्य सेवा विदेशी सहयोगका कारण सफल भएका हुन्। त्यसैले आइ/एनजिओ भन्नेबित्तिकै सबै खराब हुन्छन् भन्न सकिन्न तर त्यहाँ प्रयोग हुने भाष्य र तिनका व्यवहार भने परिवर्तन गर्न आवश्यक छ। 

र अन्तमा, विकासे सहयोग नेपालजस्ता देशका लागि अधिकारको कुरा पनि हो- यदि सही अर्थमा प्रयोग गर्नसके। यसो हुन नसक्नुमा हामी स्टेकहोल्डर सबैको आ-आफ्नै कमजोरी छ। जसलाई स्ट्राटेजिकल्ली डिल गरेर अगाडि बढ्नुपर्छ।

हामीले द गार्डियनु मा प्रकाशित यो लेख पढेपछि मात्र यति लेख्न सकेका हौं।

(लेखक उमानाथ संजेल आयरलान्डको गैरसरकारी संस्था ट्रोकेयर आयरलान्ड, म्यानमारमा र दीपक भट्टराई बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बीबीसी मिडिया एक्सनमा कार्यरत पत्रकार हुन्।) सेतोपाटीबाट साभार गरिएको ।





Leave a comment

Your email address will not be published.


*