कोरोना महामारी : दोहोरो विभेदको मारमा दलित बालबालिका

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर ५, २०७७     ::: 63 पटक पढिएको   |  

अमर सुनार
दैलेख
: महादेव मावि मेतलपाटाकी कक्षा ७ मा अध्यनरत १२ वर्षीया टिका बिक गएको चैत ३ गते परीक्षा सकेर बाजेबज्यै भेट्न बुबासंग बर्दियाको ढकेरी पुगिन् । चैत १२–१४ तिर पहाड फर्किने योजना थियो । तर, चैत ११ गतेदेखिको लकडाउनले उनीहरु घर फर्किन पाएनन् । भारतबाट फर्किएका नागरिकहरु ल्याउने गरेका गाडीमा घुसेर आउने विकल्प थाहा पाएर टिका आफ्ना बुबा, आफ्नो ठूलो भाई, अंकल–अन्टी र भाई सहित ६ जनासंगै २०७७ जेठ ७ गते दैलेख पुगे ।
उनिहरु कोहलपुरबाट गाडी चढ्दा भारतबाटै आएका तर पैदल हिंडेर त्यहाँ पुगेका भन्ने बताएर भारतबाट फर्र्किएकाहरुसंगै दैलेख सदरमुकाम पुगे । तर, अरु बेला जस्तो सोझै घर जान भने पाएनन् । उनीहरु समेत सबै जना नारायण क्याम्पस क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनमा बसेकै बेला १७ दिनपछि पीसीआर परीक्षणमा उनका बुबालाई कोरोना पुष्टी भयो । कोरोना नेगेटिभ आएका सबै घर जान पाए । टिकाका बुबालाई मात्र नारायण क्याम्पसमा बस्नुपर्ने भयो । लकडाउनको समय गाडी नचल्ने भएपछि बिहानै दैलेख सदरमुकामबाट दिनभर पैदल हिंडेर जेठ २३ गते साँझ लखतरान भएर आमाको समीपमा पुगिन् । उनको बुबालाई कोरोना पुष्टी भएको कुरा उनीहरु नपुग्दै गाउँभरी फैलिसकेको थियो ।
घर पुग्नै लाग्दा घरदेखि तल सार्वजनिक धारामा पानी पिउन खोज्दा पानी भर्न आएकी एक बयस्क महिलाहरुले धारा छुन आउने भनेर टिकालाई हप्काइन् । त्यही धारामा पटक पटक जातीय विभेद खेपेकी टिकाका लागि पहिले जातको विभेद सामान्य सांकेतिक हुन्थ्यो । तर, यसपटक चाहिं प्रत्यक्ष र आक्रोसपूर्ण पाइन । उमेरले १२ वर्षकै भए पनि त्यो गाउँमा पाइलैपिच्छे हुने विभेद भोगेकी टिकाले ती बाहुन थरकी महिलाको आक्रोस जान्न सोधिन्, किन रिसाउनुभयो फुपू ? ती महिलाले जवाफ दिइन् ‘हामीलाई थाहा छैन र, बालाई बजार छोडेर तिमीहरु कोरोना ल्याएर आएका छौ ।’
कोरोनाको बाहनाले जातको विभेद सजिलै ओकल्न उनका लागि यो मौका बन्यो भन्ने कुरा बुझ्न गाह्रो थिएन तर विवाद साम्य पार्न आफै चुप हुनु उपयुक्त ठानिन् टिकाले । पाँच मीनेट उकालो हिंडेर घर पुगिन् तर बाटोमा आउँदा भएका सबै कुरा आमालाई भनिनन् । घरमा आमाको साथमा भएको भाई, टिकाका साथमा आएका ठूलो भाई, अंकलका तीन जना कोचमोच गरी एकै घरमा खान बस्न थाले । टिकाका बुबालाई कोरोना पोजेटिभ भएको सन्देश पुगेदेखि नै सामाजिक विभेद भोग्न लागेकी छँदै थिइन । पैदल हिंडेर लखतरान आइपुगेका टिका सहित पाँच जना थपिएपछि विभेद र असामाजिक वातावरणले पलपल अपमानित गरायो । गाउँ पुगेपछि गाईबस्तुको लागि घाँसपात काट्न, भान्छाको लागि दाउरा ल्याउन वनमा जानै पर्ने तर पहिले संगत गरिरहेका साथीहरु पनि बोल्न र संगत गर्न बेवास्ता गरेको देखेर टिकालाई खिन्नता भयो ।
धारा–पँधेरा, मेलापात वा टोलछिमेकको भेट भलाकुसारी पनि टिकाको परिवार समाजबाट बहिस्कार जस्तै भयो । यही क्रममा भगवतीमाई गाउँपालिकाले भारतबाट आएका नागरिकहरुलाई बेस्तडामा राखेको क्वारेन्टाइनमा बसेका मध्ये ७ जनालाई जेठ २८ गते कोरोना पेजेटिभ भएको खवर आयो । ती मध्ये २ जना त्यही गाउँका १ जना चाहिं खड्का र अर्को बाहुन थरका थिए ।
खड्का भारतबाट आएका र बाहुन थरका व्यक्ति सुर्खेतबाट घर आउन लाग्दा भारतबाट आएकाहरुसंगै एउटै गाडीमा आउने क्रममा कोरोना संक्रमण भएको पनि टिकाले थाहा पाइन् । संयोगले उनी गाउँ पुग्न नपाउदै धारामा विभेद गर्ने बाहुन थरकी महिलाको देवर रहेछन् । त्यहि थाहा पाएर घरका कसैलाई सूचना नदिएर टिका ती बाहुन थरको घरमा गइन् र सोधिन् ‘फुपू, तपाईंकै देवरलाई पनि कोरोना लागेछ छ है ?यो खवर ती महिलालाई पनि आइसकेको रहेछ ती महिलाले भनिन् ‘अँ हो, कोरोना भन्ने रुघाखोकी जस्तै त हो नि । हप्ता दश दिन गाउँपालिकाले खानेबस्ने व्यवस्था गरेको छ, निको भएर आइहाल्नुहुन्छ ।’ टिकाले फेरि सोधिन् त्यो दिन त मेरो बुबालाई कोरोना लागेको विषयलाई छिछी र दूरदूर गर्नुभएको थियो त ? आज आफ्नै देवरलाई लाग्दा सामान्य भयो ? यसको पनि ती महिलाले कुटिलता पूर्वक जवाफ फर्काइन् ‘कोरोना लागेको मान्छे पनि मान्छे हो माया ममता र सद्भाव देखाउनुपर्छ ।’
अनि यो कहिले कसरी थाहा पाउनुभयो फुपू ? टिकाले ती महिलालाई सोधिन् । ‘रेडियोबाट सुनेको हो । ठाउँ–ठाउँमा संक्रमित व्यक्ति र उनका परिवारलाई अपहेलना भइरहेको र त्यस्तो नगर्न रेडियोले भनेको सुनेको हुँ ।’ ती महिलाको यो उत्तरपछि आफैलाई पर्दा चेत खुल्दा रैछन् भन्ने बुझेर टिका घर फर्किइन् ।असार ६ गते टिकाका बुबा घर आइपुग्दा अंकल–अन्टी बिरामी बोक्ने एक्बुलेन्स व्यवस्था गरेर बर्दिया फर्किसकेका थिए । झरी पर्न सुरु गरेको थियो, बुबा पुग्दापुग्दै गाउँमा रोपाईँ सुरु भए । तर, खेतमा पर्म चलेन, दिनदिनै परिवारका सदस्यहरु जुटेर खेत रोपे ।
टिकालाई रोपाईँ सकेपछि साउनको दोश्रो साताबाट स्कूल सुरु हुन्छ भन्ने लागेको थियो । तर, साउन त के भदौमा पनि स्कूले खुलेनन् । स्कुल नखुलेपछि टिका र उनका दुई भाई गोठालो र घरकै काममा व्यस्त भए । स्कूलबाट असारमा दिएको किताव उनीहरुले पढ्न पाएनन् । घरमा रेडियो नभएकोले रेडियो शिक्षा पनि पाएनन्, कहिले काही साथीहरुले रेडियोबाट पढ्न सिकाएको पाठको पाना पल्टाएको देखे तर, आफैले त्यो सुविधा लिन पाएनन् ।
गाउँपालिका मुकाममा अघिल्लो बर्ष पुग्यो तर ८–१० मीटर दूरीको मेतलपाटामा बिजुली पुगेको छैन । बिजुली नहुँदा टिभी उनीहरुको रहरै मात्र हो, बुबाको हातमा की–प्याड मोवाइल छ त्यसले अरु साथी जस्तो अभिभावककै मोवाइलमा अनलाइन कक्षा पढ्न विकल्प पनि सपना मात्र भयो । असोजको १२ गतेदेखि विद्यालय खुल्यो, अलिअलि विद्याथी स्कूल आउने बानी पर्दै थिए । कक्षा पढाई हुन सुरु गरेकै थिएन, प्रशासनले कोरोना संक्रमण बढ्न सक्छ भन्ने उर्दि जारी गरेर असोज २२ गतेदेखि पुःन विद्यालय बन्द गरेको छ । विद्यालय बन्द भएपछि विकल्पमा प्रविधि प्रयोग गर्न नसक्नेहरु अहिले निराश छन् ।
कोरोना महामारी कक्षामा नियमित पढाई हुँदा कक्षामा दोश्रो हुने टिका प्रविधिको पहँुचबाट टाढा भएको कारण स्कूल नखुलेरै यिनै प्रविधिको भरोसामा परीक्षा भइदियो भने सबै भन्दा कमजोर हुने पो हो कि भन्ने पीर छ टीकालाई । आर्थिक श्रोतमा हस्तक्षेप भएपछि धेरै दलितहरु भारतमा मजदूरी गर्न गएका छ्न् । घरमै हुनेहरु पनि गाउँमा मजदूरी गरेर जेनतेन टार्छन् । उनीहरुको कमाई राम्रो नभएको कारण उनका बालबालिकाहरु सरकारी स्कूलमा पढ्छन् । अधिकांश दलितकै बालबालिकाहरु हुने भएकोले सरकारीमा पढाई राम्रो छैन । पढाईमा राम्रो गर्न नसकेपछि पढ्दै गरेका बालकहरु मुग्लान् जाने र बालिकाहरु पढाई छोडेर बालविवाह गर्न बाध्य छन् । सरकारी निरीहता वा बेवास्ताले दलित समुदायमा गरिबीको चक्र घुमिरहेको छ । अर्को तर्फ जात व्यवस्थामा आधारित सामाजिक संस्कारले कोरोनाको विभेद पनि दलित माथि थप अर्को विभेद थपिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को अर्को विभेद थपिएको कुरा कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय डम्वर नेपाली एक उदाहरण हुन् । हालसम्म १४ सय ४० संक्रमित मध्ये झण्डै आधा संख्या ७ सय ९३ जना दलित छन् । टिकाको जातीय उत्पीडनको थिचामिचो प्रति संक्रमितका २ जनाको दर लगाए पनि बालबालिका १६ सय बालबालिका कोभिड र जातीय विभेदको दोहोरो मार भोगिरहेका छ्न । कोभिडको असर पनि परोक्ष रुपमा दलित बालबालिकामा परिरहेको छ ।
दलितहरु नै प्रभावित भएको कारण यसलाई स्थानीय सरकारहरुले कोभिड प्रभावितका लागि रोजगार वा स्वरोजगारका कार्यक्रम ल्याउन सकेका छैनन् । प्रदेश सरकार र केन्द्र सरकारले समेत दलित समुदायका लागि नीतिगत कार्यक्रम ल्याउन सकेका छैनन् ।





Leave a comment

Your email address will not be published.


*