बैतडीमा जीप दुर्घटना, ५ जनाको मृत्यु,५ घाइते

          |   प्रकाशित मितिः मङ्लबार, मंसिर ९, २०७७     ::: 91 पटक पढिएको   |  

बैतडी : बैतडीमा मंगलबार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका ५ का ७७ ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७२ वर्षीया पार्वती चन्द, पाटन नगरपालिका ५ का ७० वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका जीप चालक गोपाल कार्कीको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर भएकाले धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ । 

तीव्र गतिमा रहेका जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ । 
दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ । 





Leave a comment

Your email address will not be published.


*