विवाहको गसिप

          |   प्रकाशित मितिः सोमवार, मंसिर २२, २०७७     ::: 107 पटक पढिएको   |  

नेपाली क्यालेन्डरमा मंसिर धान थन्क्याउने महिनामात्रै हैन। विवाहको महिना पनि हो। मंसिर यस्तो महिना हो, जहाँ पहिलो भएका विवाहका एनिभर्सरीदेखि अब हुने विवाहका तयारी हुन्छन्। मंसिर नै नेपालको यस्तो महिना होला, जहाँ विवाहसँगै विवाहको सामाजिक गसिप सबभन्दा धेरै हुन्छन्। 

त्यही गसिप सुन्दै आएको एक सामाजिक सदस्य म पनि हुँ। तर, गत वर्षको मंसिर र यो वर्षको मंसिर अलिक पृथक रह्यो। अरूबेलाको जस्तो मंसिरे भागदौड र व्यस्तता यो मंसिरमा कमै भयो। कोरोना महामारीको विश्वव्यापी आतंकदेखि ढिलोगरी आएको दसैं र तिहारे क्यालेन्डर यसो हुने कारक बने। 

अन्तरमुखी मलाई पारिवारिक गफमा खासै चासो हुन्न। चासो नभएरमात्रै भाग्न कहाँ पाइँदो रहेछ र?हालसालै एक सामाजिक जमघटमा म सहभागी भएँ। छलफलको कन्टेन्टले मलाई धेरै तान्यो। कुरा उही त्यही मंसिरे गसिपको विवाहजन्य विषय नै थियो। 

कुरा एक जना काकाले निकाल्नुभयो। 

उहाँको कुराको सार यस्तो थियो– उहाँको भाषामा ठूलो सरकारी अफिसमा काम गर्ने केटो छ। सम्पत्ति नि धेरै भएको।  एकपटक सम्बन्धबिच्छेद भइसकेको। र, उसलाई नयाँ दाम्पत्यको लागि दोस्त चाहिएको। भनिहालें म अन्तरमुखी हुँ। त्यही भएर म गसिपमा सहभागी त भइनँ। तर कुरा भने ध्यानपूर्वक सुनें वा भनौं सुन्न बाध्य भएँ। 

यसै क्रममा काकी भित्रबाट आउनुभयो। उहाँले नयाँ प्रसंग ल्याउनुभयो। उहाँका अनुसार असारमा बिहे भएकी एक दाइकी छोरीको डिभोर्स भएछ। उनको डिभोर्स हुने कारण सूचना अभाव भएर रैछ। 

जब केटी घरमा पुगिन्। केटाको बारेमा सबै जानकारी पाइन्। र, गरिन् डिभोर्स। यसरी विवाहलाई आवश्यक एक अर्काका सूचनाको जानकारी हुँदैन नेपाली समाजमा। त्यही कुरालाई वैधता दिन एक सामाजिक उक्ति नै निर्माण भएको छ। 

जसले भन्छः 
मारिकुटी निया
ढाँटीढुटी बिया 

काकीको कुरा अझ लम्बाइ ग्रहण गर्दैथियो। मलाई भने मस्तिष्कमा अर्को ग्रहण लाग्न थाल्यो। कुराहरू खेल्ने थाले। सोचें, हामी आफूलाई आधुनिक दाबा गर्छौं। फेरि पनि आफ्ना आदतहरूलाई पनि आधुनिक बनाउन हामीलाइ केले रोकेको छ? हाम्रो समाज किन अहिलेसम्म रुढीवादी रुझानमा व्यस्त छ। मग्न छ। किन यसैमा रम्छ? 

एउटा सम्बन्धबिच्छेद भएको केटाले चाहिँ किन सम्बन्ध बिच्छेद नभएको केटी नै प्रथम प्राथमिकता राख्नु? विवाहजस्तो पवित्र बन्धनमा बाधिनेहरूले किन झूटको सहारा लिनु? बाहिरी आवरणमा हामीले ग्लोबल ठानें पनि हामी मूलतः ढुंगेयुगमै छौं।

एउटा सम्बन्ध बिच्छेद भएकाले अर्को साथी पनि त्यही अवस्थाको अपनाउन किन सक्दैन? वा भनौं उसको परिवारले अपनाउन किन दिँदैन? नदिने सामाजिक ग्रन्थीको जरो के हो? आम नेपाली समाजमा हेर्दा यस्तो देखिन्छ, जति सजिलै विधुरको बिहे हुन्छ त्यति नै सजिलो बिहे विधुवाको हुन्न। 

कटु वचनले भरिएको जिब्रो फड्कार्न हरपल तत्पर हुन्छ समाज। विधुवालाई प्रोत्साहन दिन धेरै कानुनी पाटाहरू सहज बने। सामाजिक मनोविज्ञान र घरेलु पाटा भने जहीँको तहीँ छन्। कानुन बनेरमात्रै परिवर्तन हुँदैन रहेछ भन्ने आम उदाहरण यसलाई मान्न सकिन्छ। उमेरको कुरा गरौं।

४० वर्षको विदेशमा रहेको वा उपल्लो ओहोदामा रहेको केटाले १८ वर्षमात्रै कटेको केटी पाउँछ।पाउँछभन्दा पनि परिवार दिन तयार हुन्छन्। अहिलेको कानुनले २० वर्ष पछि मात्रै विवाहको उमेर तोके पनि यस्ता २० नपुग्दै ४० कटेकालाई छोरी दिने परिवार नेपाली समाजका कुनाकुनामा पाइन्छन्। 

केटाको भन्दा ठिकविपरीत छ केटीको सवाल।जस्तो २९ कटेकी केटीलाई समाजले आफ्नो टाइटल दिन थाल्छ। घोचपेच गर्न थाल्छ। आफन्त र समाज नै यो कोरसका सहभागीहरू बन्छन्।आत्मनिर्भर बनाएरमात्रै छोरीको विवाह गर्न चाहने आमाबाबुलाई समेत यस्ता हर्कतले असहज बनाउँछन्। 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफूभन्दा २५ वर्ष जेठी आफ्नै टिचरसँग विवाह गरे। विदेशमा यस्तो सामान्य हो। नेपालमा पनि केही सेलिब्रेटीहरूमाझ उमेरभन्दा आत्मीयतालाई हेरेर विवाह गरेका केही उदाहरणहरू छन्। जस्तो आफूभन्दा धेरै उमेरकी नायिका प्रियंका कार्कीसँग नायक आयुषमान जोशीले विवाह गरे। त्योभन्दा अगाडि सम्राट दाहालले आफूभन्दा धेरै जेठी मनिषा कोइरालासँग विवाह गरेका थिए। 

भलै त्यो सम्बन्ध टिकेन। तर पनि, समाजलाई एक म्यासेज भने थियो त्यो विवाह। सामाजिक सञ्जालमा धेरै उमेरकी केटीसँग विवाह गरेको सार्वजनिक तारिफ गर्नेहरूले निजी गसिपमा भने जोकमा उडाएको नजिर हाम्रो सामाजिक जमघटमा प्रसस्त सुन्न पाइन्छ। 

विवाहलाई विल्कुन व्यक्तिगत छनोट मानिन्न हाम्रो सामाजमा। विवाहलाई एक संस्था र पारिवारिक तथा सामाजिक दायित्वजस्तो गरी अभ्यास हुन्छ। अनि आउँछन् यस्ता समस्याहरू। पुनः विवाहको झूटकै खेतीको कुरा निकालौं। सबै केटीहरू मलाई काकीले सुनाएकी केटीजस्तो झूटको सुइँको पाउनासाथ डिभोर्स दिने स्तरका बोल्ड  हुँदैनन्। 

उनीहरूले जीवनमा कति मानसिक तनाव भोगेका होलान्? कति यातना भएको होला? कति डिप्रेसनमा होलान्? कल्पनामात्रै गर्दा पनि मलाई रिंगटा लाग्छ। जत्ति नै शिक्षित भए पनि हामीमा शिक्षाको अन्तर्यबाट व्यवहारिक रूपमा दीक्षित हुन अझैसम्म गाह्रो देखिएको छ। यो सत्य हो कि परिवर्तन पहिलेको तुलनामा भन्दा केही राम्रो भएको छ। अब यस्तो स्वभाविक ‘इभोलुसन’ले मात्रै काम गर्दैन। 

अब हामीलाई चाहिएको ‘रिभोलुसन’ हो। इभोलुसनकै पक्षमा बस्दा यस्ता सामाजिक कुरीतिहरूको सिकार हुनेहरूको संख्या बढेको बढ्यै गर्छ। उनीहरूको व्यक्तिगत जीवनको अवमूल्यन गरेर हामीले इभोलुसन क्रमशः हुँदैछ किन रिभोलुसन चाहियो भन्ने हैन। सामाजिक तथा व्यक्तिगत मनोविज्ञानको व्यापक रूपान्तरण हुने रिभोलुसनकै पक्षमा हामीले वकालत गर्न अत्यावश्यक छ। ताकि यस्ता सामाजिक बखेडाहरू एकै लहरमा बगेर जाऊन्। कानुनी पक्षजस्तै व्यवहारिक पक्ष पनि सँगसँगै जाऊन्। 
 





Leave a comment

Your email address will not be published.


*