योनीको रगत पवित्र कि ‘सुनपानी’

        सजना सुनार   |   प्रकाशित मितिः मङ्लबार, मंसिर २३, २०७७     ::: 1930 पटक पढिएको   |  

चारैतिरबाट चिसो सिरेटोले हाने जस्तो लाग्थ्यो । आफ्नो बिरानो चिन्नै नसक्ने गरी झमक्क साँझ परिसकेको त्यो साँझ । झाडीले घेरेको गोरेटो बाटोमा म र मेरो साथीको साहारा हातमा समातिरहेको स्मार्ट फोनको उज्यालो थियो । त्यहि उज्यालोको साहारामा बासका लागि नजिकै घर खोज्दै हिडेका हामी दुवै जनाको पाइला एकै साथ रोकियो । हामीले त्यहाँ नजिकैबाट गुनगुन आवाज आईरहेको चाल पायौ । आवाजमा रोदन, पीडा र आक्रोस सुनिन्थ्यो । मोवाइलको सहाराले यताउता हेर्दा ठुल्ठुला झाडीबाहेक अरु केहि देखिएन् । हामी दुवै जना आश्चर्य चकित प¥यौ । आवाज कताबाट आयो ? म सँगैको साथीले अर्कै प्रंसग लिएर मलाई डराउन खोज्दै हुनुहुन्थ्यो । मलाई थाहा छ, यो भन्दै गर्दा तपाईले त्यो प्रसंग थाहा पाईसक्नुभयो । तर, मैले मन दह्रो बनाई अगाडी बढिरहेँ ।
केहि पाइला अगाडी बढिसकेपछि हामीले चाल पायौै, झाडीको छेउमै एउटा साझो कटेरो रहेछ । अब केहि बेर अघि सुनिएको त्यो आवाज मान्छे कै हो भनी ढुक्क भयो । बारीको परपट्टी वरीपरी झाडी बिचमा सानो ढोका बिनाको खरको कटेरो । निहुरी परेर बस्न पनि साँघुरो लाग्ने त्यो कटेरोमा भुन्भुनाईरहेको त्यो आवाजले मलाई त्यहाँसम्म जाने बाध्य बनायो । त्यहाँ जाँदा १५÷१६ बर्षकी किशोरी भुईमा ओछ्याउने पुरानो थांनो र पातलो कम्बलको साहारामा भुन्भुनाउँदै बसिरहेकी थिइन् । मेरो पहिलो प्रयास उनको रिस शान्त बनाउनेमा थियो । शान्त बनाईसकेपछि मैले पश्न गरेको थिए । तिमी किन रिसाएको ?
उनको जवाफ यस्तो थियो ‘हेर्नु न दिदि, आज दिनभरी मरी मरी काम गरेर साँझ आरामले आफ्नै कोठामा सुतौला भनेको ! त्यहि त हो नी छुई भएर यस्तो ठाउँमा बस्नु प¥या छ, बहिनीसँग कपडा मागेको थिए, उसले पनि मैले भनेको कपडा पनि दिईन्, यति चिसो रात यो पातलो कम्बलले कसरी काट्नु ? यति यति खेर मलाई आफु महिला हुनुमा आत्मगलानी हुन्छ । के यसलाई सधैका लागि बन्द गर्ने उपाए हुँदैन् ? उनको जवाफले मलाई स्तब्ध बनाएको थियो । आज आफुले आफैलाई महिनावारीको कारणले सरापिरहेकी ति किशोरीलाई म कसरी सम्झाउँथे की महिनावारी हुनु एउटा सुन्दर फुल सरह हो । जसका कारण यो ब्रमाण्ड, यो श्रृष्टि बचेको छ । मानव जातीको श्रृजना भएको छ । खैर, त्यो अवस्थामा सायदै मैले उनलाई सम्झाउन खोजेपनि गाह्रो पथ्र्यो होला । त्यसैले पनि अर्को दिन भेट्ने बाचा सहित म आफ्नो गन्तब्य तीर लागेको थिए ।
यो समस्या ती किशोरीको मात्र होइन् । प्रत्येक नारीहरुले महसुस गरेको पीडा हो । अछाममा झ्याल ढोका नभएको सानो कटेरोमा बस्न बाध्य महिलाको पीडा होस् या त भनौ दैलेखमा गाई बस्तु बाँध्ने गोठमा पाँच दिन बिताउने महिलाको पीडा ! यति मात्रै कहाँ होर, शहरमा महिनावारी हुँदा एउटा कोठाबाट अर्को कोठामा जान नपाउनुको पीडा, कोठाभाडामा लिएर बसेका दम्पती त्यसैमा पनि महिनावारीको बेला दैलो छेउमा साँघुरो ओछ्यान लगाएर सुत्ने महिलाका पीडा । काठमाण्डौमा सबै परिवार डाइनिंग टेबलमा खाना खाईरहँदा चार कोष पर ढोका छेउमा सानो पिर्कामा साँघुरिएर खाना खाईरहने महिलाको पीडा ! यी सबैको परिवेश, अवस्था, फरक फरक भएतापनि भोगाईको कारण र बेदना भने कत्ति फरक छैन् ।
हामीले मर्यादित महिनावारीको कुरा गरिरहँदा चाहे काठमाडौंको होस्, चाहे सुर्खेतको होस्, या त जुम्ला हुम्लाकै होस् । महिनावारी हुँदा महिलाहरुलाई फरक व्यवहार गरिन्छ भने त्यसलाई हामी कसरी मर्यादित महिनावारी भन्न सक्छौ । छाउगोठ भत्काउने अभियानको एक लहरले केहि छाउ गोठ त भत्किए तर मानसिकतामा बसेको छाउगोठ भत्किएनन् । अँ, एउटा कुरा भन्ने भुलेछु । ती छाउगोठहरु भत्काईरँदा बजारमा हुने आधुनिक छाउपडी प्रथा र आधुनिक छाउगोठ भत्काउने अभियान सुरु भईदिएको भए !
छाउगोठ भत्काउने अभियानकै प्रसंगमा धेरै मान्छेहरुले अनेक अनेक प्रतिक्रिया दिएको तपाई हामीले सुनेकै हो । कतिले यो अभियानलाई सशक्त बनाएर लैजानुपर्छ भनेर समर्थन जनाए भने कतिले पहिला मनको छाउगोठ भत्काउ अनी बारीको छाउगोठ भत्काउ भन्ने जस्ता प्रतिक्रिया दिए । हुन त छाउगोठ भत्काईसकेपछि चार बर्षीय बच्चा च्यापेर खुल्ला आकास मुनी सुतेकी महिलाको दयनिय दृष्यहरु देखिसकेपछि सायद सबैको मनमा यहि प्रसंग थियो होला । कि छाउगोठ भत्काउने अभियानले कतै महिलालाई नै झन पीडित बनाईरहेको छैन् ? यो प्रसंग पनि जायज हो, यथार्थ पनि त्यहि नै थियो ।
छाउगोठ भत्काईसकेपछि धेरै महिलाहरु बारी, खुल्ला आकास मुनी सुतिरहेको केहि पत्रपत्रिकामा आएकै हो । आज मेरो मनमा छाउगोठमा सुतिरहेकी ती किशोरी, छाउगोठ भत्काउने अभियानसँग सँगै सती प्रथाको प्रसंग पनि घरि घरि दैडिरहेको छ । बास्तवमै छाउ प्रथा को अन्त्य गर्नका लागि एक पटक इतिहास फर्किएर हेरौँ । आँखिर सती प्रथा पनि यहि समाजको प्रथा थियो । जो महिलाहरुका लागि घातक थियो । छाउप्रथा पनि यहि समाजको पर्था हो । जुन महिलाहरुका लागि घातक नै छ । जसरी सती प्रथाको अन्त्य भयो, त्यसरी नै छाउप्रथाको अन्त्य हुन किन समय लागिरहेको छ । बर्षौ देखि छाउ प्रथा विरुद्ध आवाजहरु बुलन्द भईरहेका छन् । एनजीओकर्मीहरु गाउँ गाउँ पसेका छन् । स्थानीय तह देखि संघीय सरकारका मन्त्री समेतले छाउ प्रथा मान्नु हुँदैन भन्दै आएका छन् । विद्यालयमा पनि यो कुप्रथा नै हो भनेर भन्ने गरिएको छ । बाल क्लब देखि आमा समुहसम्म घनिभुत छलफल भएकै छन् । फेरी पनि यो समस्या जहाँको त्यहिँ बुढो सिमलको रुखले जरा गाडेको झैँ देखिन्छ ।
एँ अँ त मैले त एउटा कुरा भन्नै भुलेछु । जुन किशोरीको प्रसंगले म यी सबै कुुरा लेखिरहेको छु । ती किशोरी पनि आफैमा बाल क्लबकी अध्यक्ष रहिछन् । केहि दिन अगाडी मात्रै आफ्नै बाल क्लबका साथीहरुसँग मर्यादित महिनावारीबारे आफैले छलफल चलाएकी थिइन् । अब म यसलाई के संज्ञा दिउ ? चेतना नभएर हो त ? चेतनाको कुरा गरिरहँदा कानुनी चेतना नभएर हो की अथवा कानुन नभएर हो की भन्ने प्रश्न पनि उठ्न सक्छ ।
यसै सन्दर्भमा एक जना गाउँकै दिदिले मलाई भन्नुभएको थियो, कानुन त छ भन्छन्, खै के छ त्यसमा ? हामी महिनाको पाँच दिनसम्म सुत्ने भनेको त्यहि परको कटेरोमा हो । तर, कहिल्यै कसैले हेर्दैनन् । सायद कहिले काँही प्रहरीले पनि अनुगमन गरिदिने गरेको भए हामी घर भित्र बस्न पाउँथ्यौ की । उहाँको आँखामा चुनौतीसँगसँगै आशावादी लहरहरु छरपस्टै देखिन्थे । उनको कुरा बिचैमा उछिन्दै बालेकी उनकी आमा भन्थिन्, प्रहरी आएर पनि के गर्छ र घरकै मान्छेलाई लिएर कारबाही गर्ने त होला ? अनी फर्किएर आईसकेपछि अर्को पीडा जुन, हामी आफैले भोग्नै पर्छ । त्यो भन्दा महिनाको पाँच दिन कष्ट बेहोर्न के भयो र ? घरमा केहि काम बिग्रीयो भने पनि दोष हामीलाई, साइत बिग्रीयो दोष हामीलाई, गाईबस्तु म¥यो दोष हामीलाई । कोहि बिरामी भयो दोष हामीलाई । कहिलेकाँही त लाग्छ छोरी भएर जन्मिनु महिनावारीको रगत नै दोषी हो । उहाँको यो निराशाजनक शब्दहरु आज मलाई तीनै महान व्यक्तित्वहरुमा सुनाउन मन छ, जो भन्ने गर्छन, महिला आफै घर भित्र बस्न मान्दैनन्, आफै महिनावारी बार्न खोज्छन् अनी हामी के गरौ ।
संयोगले मर्यादित महिनावारी दिवस र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान पनि सँगसँगै पर्न गएछ । आँखिर छोरी भएकै कारण महिनावारी हुन र महिनावारी भएकै कारण अमानविय जीवन जीउनु जस्ता कुरालाई के यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले समेट्न सक्ला त ? आज कुरा छाउगोठका मात्र नभई आधुनिक छाउप्रथाका पनि गर्नुपर्छ । महिनावारीकै नामले गाउँ देखि शहरसम्मका महिला तथा किशोरीहरु असुरक्षा, असहजता, आत्मगलानीका साथ बाँचिरहेका छन् । महिनावारीकै कारण थुप्रै अबसरहरु गुमाएका छन्। त्यसको लेखाजोखा के कानुनले गर्न सक्ला त ?
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा कुनै पनि नागरिकलाई जातपात, लिंग, क्षेत्र, भाषा, धर्म आदिका आधारमा विभेद गर्नु दण्डनीय अपराध हुने जनाइएको छ । सोही परिच्छेदमै महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न र त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु, गराउनु दण्डनीय हुने जनाइएको छ । यस्तो कसूर गर्ने व्यतिmलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर, कार्यान्वयन गर्ने कसले ? सुचना दिने कसले ? र अनुगमन गर्ने कसले ? एँ अँ तँ छाउगोठ भत्काउने अभियान त सकिए छ क्यारे । छाउगोठ त अझै उस्तै देखिन्छन् ।
आँखिर महिलाकै योनीबाट बगेको रातो रगतका कारण बनेको यो श्रृष्टि, त्यहि योनीको रातो रगतलाई अपवित्र मान्ने कस्तो प्रथा ? जुन रगतले यो श्रृष्टि बनेको छ त्यो भन्दा पवित्र के हुन सक्ला र ? तर, हामी त्यसैलाई अपवित्र मान्छौ । महिनावारी भईसकेको पाँच दिनपछि छर्किने सुन पानी पवित्र मान्छौ । बुझ्न नसकेको कुरा योनीको रगत पवित्र कि सुनपानी ? यदि साँच्चिकै सुनपानी पवित्र हुन्छ र अपवित्र मानिने जुनसुकै कुरालाई पवित्र बनाउन सक्छ भने बर्षौ देखि कुप्रथालाई धान्दै आएको हाम्रो अपवित्र सोच र मानसिकतालाई पनि पवित्र बनाईदियोस् । महिनावारीको कुरा गरिरहँदा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले बनाएको एउटा भीडियोले मलाई झस्काउँछ । ‘महिनावारी होइन्, महिना नवारी !





2 Comments on योनीको रगत पवित्र कि ‘सुनपानी’

  1. Hira Singh Thapa // December 8, 2020 at 8:23 am // Reply

    मर्यादित महिनावारी दिवशकाे अवसरमा सान्दर्भिक लेख

  2. Hikmat Pariyar // December 8, 2020 at 8:26 am // Reply

    ‘महिनावारी होइन्, महिना नवारी !

Leave a comment

Your email address will not be published.


*