बदलिँदो राउटे !

        भक्तबहादुर शाही   |   प्रकाशित मितिः मङ्लबार, पुस ७, २०७७     ::: 262 पटक पढिएको   |  
बस्ती भन्दा टाढा गएर पढदै राउटे समुदायका बालबालिका ।

दैलेख : दक्षिण एशियाको एकमात्र अन्तिम भ्रमणशिल समुदाय हो राउटे । यो समुदायमा एक आपसमा गोप्य छैन । धन सम्पत्ति कमाउने लोभ छैन । जातिय विभेद, वर्ग विभाजन छैन । यही विशिष्ट संस्कार नै राउटेको पहिचान हो । राउटेमा कल्याल रास्कोटी, सोमबंशी गरि तीन जाति छन् । रास्कोटी, कल्याल, सोमवंशी बिच विहेवारी हुने गर्दछ । यो समुदाय गैरराउटेसँग विहेवारी गर्दैनन् । यो जाति आफ्नो परम्पराको निरन्तरता चाहान्छ ।
तर पछिल्लो समयमा परम्पराको निरन्तरता कायम हुँदैन कि भन्ने चिन्ता पनि उत्तिकै बढेको देखिन्छ । राउटे समाजमा आएको खुकुलोपन र गैरराउटेसँग छिट्टै घुलमिल हुने, मदिरा पिउने बानीले परम्परा जोगिदैन कि भन्ने चिन्ता लागेको राउटे महामुखिया महिनबहादुर शाहीले बताए । ‘हाम्रो बगालमा पहिला गाउँका मान्छे कोही आउँदैनथे, काठका कोशी, मधुश, आरी, झुमा अन्नसँग साट्न गाउँ जान्थ्यौँ, अन्न ल्याएर बेलुका घर फर्किन्थ्यौं, आजभोली बस्तीमा सजिलैसँग गाउँका मान्छे आवतजावत गर्ने, राउटे पनि मदिरा पिउन थालेपछि खुकुलो हँुदै गएकोले परम्परा रहँदैन भन्ने चिन्ता लागेको छ,’ महामुखिया शाहीले भने ।
राउटेमा खुकुलो आउनु रहर नभएर बाध्यता बनेको स्थानीय बासी बताउँछन् । पहिला जताततै राष्ट्रिय वन हुन्थ्यो । निस्फिक्री राउटेले कु–काठ काट्न पाउथे । राष्ट्रिय वन समुदायमा हस्तान्तरण भएपछि समुदायले जथाभावी कु–काठ काट्न दिएनन । जीविकोपार्जनको लागि एकपछि अर्को समुदायसँगै बस्दै गए । समाजमा घुलमिल हँुदै गएपछि राउटेमा खुकुलो पन आयो । रहर नभएर आवश्यकताको पहिचानसँगै राउटे बदलिएको ठाटीकाँध गाउँपालिकाका सुरेन्द्र कुमार विकले बताए । ‘एक दशक अघि राउटे गैरराउटेसँग घुलमिल हँुदैन थिए, काठका भाडाकुडा विक्री गर्न बाहेक अन्य कुरामा राउटे गैरराउटेसँग भेटघाट हुँदैनथ्यो, कसैले कुकाठ काट्न नदिए मुखिया नै अगाडी सर्थे, अब त्यो छैन । नेपाल सरकारको दिने गरेको लोपोन्मुख भत्ता, सरकारी एवं गैरसरकारी संस्थाको सहयोगको नाममा बस्तीमा गैरराउटेको आवतजावत घुलमिल हुँदा राउटेको संस्कार बदलियो । दोस्रो जनआन्दोलन २०६२÷०६३ पछि नै गैरराउटेलाई बस्तीमा जान बन्देज लगाउने कुरा खुकुलो हुँदै गएको आठविस नगरपालिका खगेन्द्रबहादर शाहीको भनाई छ ।
संघियतासँगै यो समुदायका दिनचार्य बदलिएका छन् । पहिले जसरी राउटे भाँडाकुडा बनाउँदैनन् । एकातिर काठको अभाव, अर्कोतिर बिक्री नहुने हुँदा र बजारको प्रतिस्पर्धा राउटेका भाँडाकुडाले स्थान लिन नसक्दा उनको दिनचार्य बदलिएको हो । सरकारी भत्ता र गैरसरकारी सहयोगले नै राउटेको आनीवानीमा परिवर्तन ल्याईदियो ।
बालबालिकाको शिक्षा मोह
स्थायी बसोबास, लेखपढ, खेतीपाती यो समुदायका महाशत्रु हुन् । पछिल्लो समय भने राउटे समुदायका बालबालिका महाशत्रु ठानिएको लेखपढ तिर ध्यान जान थालेको छ । बुढापाका आमा बाबु नदेख्ने गरि बस्ती टाढा गएर लुकीछिपी पढन थालेको एईआईएन लक्जेम्वर्गको आर्थिक सहयोगमा सामाविक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्रीले जानकारी दिए ।
राउटे समुदायका बुढापाका त पढ्न मान्दैनन् । तर बालबालिकामा शिक्षा मोह जागेको छ । पढन रहर लागेर उनीहरु आमा बाबुबाट लुकीछिपी पढछन् । केही बालबालिका आफ्नो नाम समेत लेख्ने चिन्ने भईसकेका छन् । राउटे बस्तीमा आउने विदेशी पर्यटकसँग कुरा गर्न सजिलो होस भन्नका लागि आफुहरु पढ्न थालेको बृषबहादुर शाहीले बताए । उनले भने ‘तपाईहरुसँग हामी कुरा गर्न सक्छ, तपाईले लेखेर ल्याएको पढन सक्दैन, कुईरेको भाषा पनि बुझिदैन, विदेशीको भाषा बुझ्ने तपाईहरुले लेखेर ल्याएको कुरा पढ्न जान्यौं भन्या सजिलो होला भनेर पढन थालेका हौ, पढेर जागिरे खाने रहर छैन, जागिर खाने त तपाईले हो हामीले होइन,’ उनले भने ।
पढाईसँगै परियोजनाले राउटे बस्तीमा स्वास्थ्य उपचार, सरसफार्ईका गतिविधि सञ्चालन गरिरहेको सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए । राउटे परियोजनाले घुम्ती शिक्षा र घुम्ती स्वास्थ्य सञ्चालन गरेको छ । जहाँ राउटे जान्छन् । त्यही शिक्षक र स्वास्थ्यकर्मी जाने गरेको उनको भनाई छ । परियोजना सञ्चालनपछि यो समुदायमा सरसफाई, कपडा धुने, नुहाउने गरेका छन् । सधैजसो जहाँ त्यही फोहोर हुने बस्ती सफा सुग्घर देखिएका छन् । बर्षको एकदिन मात्र नुहाउने यो समुदाय आजभोली दिनहुँ जसो नुहाउने गर्छन । जहाँ बस्यो त्यही छाप्रो सँगै फोहोर हाल्ने खाल्डो समेत बनाउने गरेका छन् । ‘पहिलो जस्तो बस्ती छिर्दा नाक छोप्नुपर्ने अवस्था छैन्,’ स्वास्थ्कर्मी बिनोद विसीले भने । जंगली जडीबुटीको विश्वास गर्दै आएका यो समुदायका नागरिक आजभोली हातखुट्टा चोटपटक लाग्ने वित्तिकै औषधी चाहियो भनेर उपचार गर्ने गरेको उनले बताए । यो समुदायका महिला भने सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्था जाँदैनन् । छाप्रोभित्र
बच्चा जन्माउँछन् । सुर्खेतको चिङ्गगाड गाउँपालिकाको जंगलमा बसोबास गर्दै आएका राउटे समुदायको जनसंख्या १ सय ४४ रहेको छ ।





Leave a comment

Your email address will not be published.


*