इमान्दारितासँग केपी ओलीको कुनै साइनो छैन : नेपाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीसँग इमानदारिताको कुनै साइनो नभएको आरोप लगाएका छन् । बुधबार नेकपा प्रचण्ड–नेपाल समूह काठमाडौं कमिटीले गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । पार्टीमा भएका निर्णय कहिल्यै कार्यान्वयन नगरेको र प्रतिबद्धता जनाएर त्यो काम नगरेको भन्दै ओलीलाई ढटुवाको संज्ञा दिएका नेपालले ओलीसँग इमानदारिताको साइनो नभएको बताएका हुन् । केपी ओली ढटुवा मान्छे हो’, नेपालले भने, ‘इमान्दारितासँग केपी ओलीको कुनै साइनो छैन । उहाँ जाली झेली मान्छे हो ।’ उनले ओली घाँडो भएकोसमेत बताएका छन् । ‘संसारमा मानिसलाई ल्याइन्छ । त्यो कहिलेकाही घाँडो हुन्छ । त्यस्तै मान्छे हाम्रो देशमा आएर देशलाई संकटमा पुर्याउने काम गरिराखेका छन्’, नेपालले भने ।
ओलीसँग नेकपाका जम्मा ११८ सदस्य रहेको र त्यसमध्ये १० जना मूल पार्टीमा फर्किएको दाबी नेपालले गरेका छन् । उनले ओली अब सडकछाप पार्टी बन्ने बताए । ‘केपी ओलीसँग नेकपाका जम्मा ११८ जना सदस्य छन् । त्यसमध्ये १० जना फर्किसकेका छन् । १०८ मात्र छन्’, नेपालले भने, ‘अब त्यो सडक छाप होइन, सडकको धुलो छाप पार्टी हुनेछ ।’ ओलीले सबैले आफूलाई ‘बा’ भनुन भन्न खोजेको तर, आफूहरुले केपी कमरेड मात्र भन्दा यो अवस्था आएकोसमेत उनले बताए। ‘उहाँ मलाई सबैले केपी बा भनुन भन्नुहुन्छ’, उनले भने, ‘हामी केपी कमरेड भन्ने पक्षमा छौँ ।’
हामी दास होइनौं
नेता नेपालले आफूहरु केपी ओलीको दास नभएको बताए । ‘हामी केपीका दास होइनौँ । हामी केपीको अनुहार हेरेर यहाँ आएका होइनौँ’, नेपालले भने, ‘जनताको अनुहार हेरेर आएका हौँ । कम्युनिस्ट सिद्धान्तमा लागेका हौँ ।’ उनले अब पनि केपीको सेवामा लाग्नु भन्दा बिडम्बना अरु केही नहुने बताए । ‘अब पनि केपीको सेवामा लाग्नु भन्दा बिडम्बना केही हुँदैन’, उनले थपे ।
प्रतिनिधिसभा विघटनपछि ओली निरिह भएर बसेको उनको भनाइ छ । अहिलेको संघर्षलाई उनले संविधान जोगाउने र संविधानको हत्या गर्नेबीचको लडाइँको संज्ञा दिएका छन् । ‘केपी ओली एक्लो निरिह बनेर बसेका छन् तर दम्भ अझै सकिएको छैन’, उनले भने, ‘यो संविधान जोगाउने र संविधानको हत्या गर्ने बीचको लडाइँ हो । यो लडाइँले संविधानवादको विजयी गराओस्, लोकतन्त्रको रक्षा गराओस् ।’ ओलीलाई बनाउनेसँग मतलब नभएर बिगार्ने र भत्काउने कुराको मात्र मतलब भएको बताए ।
Leave a comment