कलिला मनमा हिंसाको छाप

        पत्रपत्रिका   |   प्रकाशित मितिः बुधबार, माघ ७, २०७७     ::: 71 पटक पढिएको   |  
बलात्कारपछि निर्मम हत्या गरिएका बालिकाहरू क्रमशः गुलाबसाह खातुन, कञ्चन पञ्जियार, रेश्मा रसाइली, सोनाली र पूजा साह।

जनकपुरधाम : चार वर्षीया सबिना खातुन पछिल्लो समय स्कुल जान थालेको दुई साता भयो। एलकेजीमा पढ्ने उनी पहिलाजस्तो रमाउँदिनन्। न घरमै खुसी देखिन्छिन्। उनी पहिला दिदी गुलाब साह खातुनको हात समातेर पढ्न जान्थिन्। दिदीसँगै टिफिन खाने र स्कुलमा खेल्ने गर्थिन्। तर, अहिले उनी एक्ली भएकी छन्। दिदी एक्कासि कहाँ हराइन् ? सबिनालाई बुझ्न गाह्रो छ। दिदीलाई कसैले मारेको हो भनेर उनले घरबाटै थाहासम्म पाएकी छन्।

बर्दिबास–१४ शुभम् बस्तीकी ६ वर्षीया गुलाब महोत्तरीको बर्दिबासस्थित एक स्कुलमा यूकेजीमा पढ्थिन्। उनी मंसिर ८ गते घरबाट चकलेट किन्न गएपछि फर्केर आइनन्। बेपत्ता भएको ३६ घण्टापछि मंसिर ९ गते मध्यरातमा उनको शव बोरामा राखेर फालेको अवस्थामा भेटिएको थियो। बलात्कारपछि गुलाबको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको थियो। बालिका हत्या आरोपमा गौशाला–५ का २५ वर्षीय अरुणकुमार साह पुर्पक्षका लागि थुनामा छन्।

गुलाबमाथि भएको हिंसाको प्रभाव सबिनाको कलिलो मनमा परेको छ। ‘हम्मर दिदीके टकला माइर देलकै।’ सबिनालाई दिदीबारे कसैले सोध्यो भने उनी आफ्नो तोतेबोलीमा यस्तो जवाफ फर्काउँछिन्। 

‘गुलाबको हत्यापछि घरमा निकै तनाव र दुःखको अवस्था थियो। त्यो सबैको असर सबिनामाथि परेको छ’, बुवा सहिद आलमले भने । उनले भने, ‘बेलाबेला रुन्छे। दिदी कहाँ गई भनेर प्रश्न गर्छे। हामीले के जवाफ दिनु उल्टै भक्कानिन्छौं।’

यस्ता जघन्य हिंसा र यातनाबाट कुनै एक जना मात्रै पीडित नभई थुप्रै कलिलो मनमा यसको छाप पर्ने गर्दछ। जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका विनोद पञ्जियार र सुनिता पञ्जियारकी १० वर्षीया छोरी कञ्चन गाउँकै स्कुलमा कक्षा २ मा पढ्थिन्। साथीहरूसँग खेल्दै घरछेउकै चउरमा भैंसी चराउन गएका बेला बेपत्ता भइन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा असार १२ गते उनको शव फेला पर्‍यो। 

कञ्चनको हत्या र बलात्कार आरोपमा ३२ वर्षीय दीपु सिंहलाई पक्राउ गरी पुर्पक्षका लागि जेलमा राखिएको छ। घटनापछि गाउँ नै शोकमग्न भयो। उस्तै शोक र दुःखमा कञ्चनका साथीहरू परेका छन्। १० वर्षीया शोभा साह कञ्चनका सबैभन्दा मिल्ने साथी थिइन्। ‘उनीहरू दिनभरि सँगै हुन्थे। भैंंसी चराउन होस् कि विद्यालय जान वा पढ्न, सँगै जान्थे’, कञ्चनकी आमा सुनिताले भनिन्, ‘मेरी छोरीलाई पापीले मारेपछि अहिले टोलमै बच्चीहरू खेल्न छाडेका छन्। दिनभर कुदिराख्ने बच्चीहरू अहिले डराएका हुन्छन्। एकापसमा कञ्चनकै कुरा गर्छन्। शोभा त घटना भएदेखि नै विद्यालय गएकी छैनन्।’

प्रदेश २ मा पछिल्लो समय बढ्दै गएको हिंसा र जघन्य अपराधले बालबालिकाको सुरक्षा संवेदनशीलतालाई बढाएको छ। अर्कोतर्फ उनीहरूको शिक्षण सिकाइलाई पनि प्रभावित गरेको छ। बलात्कार र हत्याका घटनापछि कतिपय बालबालिका त विद्यालय जानै डराउने गरेका छन्।

दूधे बालिकादेखि दृष्टिविहीनसम्म बलात्कृत 
मानवअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूबाट प्राप्त तथ्यांकअनुसार यस वर्ष प्रदेश २ मा बलात्कार, यौनदुव्र्यवहार, बालविवाह र बेचबिखनबाट २ सय २५ जना बालबालिका पीडित भएका छन्। जसमध्ये १ सय ३४ जना बलात्कृत भएका छन्।

बलात्कृत हुनेमा साढे तीन र पाँच वर्षीयादेखि १४ वर्षीया सुस्त मनस्थितिकी बालिका र दृष्टिविहीनसम्म छन्। जघन्य अपराधका यस्ता घटनाले अभिभावक र परिवारका ज्येष्ठ सदस्यहरूलाई त आघात पुर्‍याएकै हुन्छ। ससाना बालबालिकालाई पनि मर्माहत बनाउँछ। यस्तोमा अभिभावकले बालबालिकाको सुरक्षाका लागि मनोबल अभिवृद्धि र प्रतिरोधात्मक क्षमता सिकाउनु अहिलेको आवश्यकता रहेको अधिवक्ता रेखा झाले बताइन्।

अधिवक्ता झाले भनिन्, ‘बालबालिकाहरू निकै जिज्ञासु स्वभावका हुन्छन्। झन् नकारात्मक कुराहरूले छिट्टै आकर्षित गर्छ। यस्तोमा बालबालिकाहरूलाई यस्ता सन्त्रासबाट जोगाउनु निकै आवश्यक छ।’

अधिकारकर्मी तथा पूर्वप्रहरी सुभद्रा आलेले बालबालिकाका लागि विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गर्नु आवश्यक रहेको बताइन्। ‘हाम्रो समाजमा बालबालिकालाई प्राथमिकतामा राख्ने चलनै छैन। उनीहरूको पीडा खासै सुन्ने परिपाटी पनि छैन्’, उनले भनिन्, ‘जसले गर्दा यस्ता हिंसाका घटनाहरू भयो भने ठूलाबडाले आफ्ना कुरा साटासाट गरेर मन हलुको गर्छन्। अन्नपूर्ण पोस्ट्बाट साभार गरिएको ।





Leave a comment

Your email address will not be published.


*