ती शहीद, यी सहिद

        प्रकाशचन्द्र परियार   |   प्रकाशित मितिः शुक्रबार, माघ १६, २०७७     ::: 45 पटक पढिएको   |  

शहीद शब्द सुन्नेबित्तिकै सम्मानले छाती फुल्छ; स्वाभिमानले शिर झुक्छ; वीरताको गाथा गाउन मन लाग्छ र तानाशाही शासकप्रति दाह्रा किट्दै बचेखुचेको प्रवृत्तिविरुद्ध धावा बोल्न मन लाग्छ। किनकि महान् सहिदहरूको सहादतको मूल्यमा मुलुकको अग्रगमनको यात्रा तय भएको हुन्छ। उनीहरूको बलिदानी, आहुति र रगतको जगमा राष्ट्रिय स्वाभिमान र समृद्धिको यात्रा तय गर्ने गरिन्छ।

विडम्बना पछिल्लो दशक हामीले सहिद शब्दको ओज, मर्यादा, मूल्य, गरिमा, सम्मान, मर्म र आस्थालाई यति निम्नकोटीमा झारिसक्यौं कि सहिद अब निरीह गालीको स्तरमा पनि प्रयोग हुन थालिसक्यो, त्यसलाई ‘सहिद’ बनाइदिने हो ?; त्यो त ‘सहिद’ भएछ नि ? भो त्यो ‘सहिद’ को पछि नलागेकै बेस। अर्थात् गाडीको हुटबाट झरेर मरे पनि; भीरबाट लडेर मरे पनि; सँधियारसँगको झगडामा मारिए पनि र रक्सी खाएर झगडामा मारिए पनि दल, दबाब, भोट र प्रभावको बलमा सरकारी सूचीमा परेका ‘सहिद’ प्रकरणले निम्त्याएको अवमूल्यन।

वास्तविक शहीदको अवमूल्यनसँगै विकृत ‘सहिद’
सहिदको अवमूल्यन हुँदै गएपछि पछिल्लो दशक सस्तो ‘सहिद’ शब्दको जगजगी छ। जहानिया राणाशासनविरुद्ध सहादत दिएका लखन थापा मगरदेखि राणाशासनको अन्त्यका लागि हाँसीहाँसी फाँसी चढ्न तयार शुक्रराज, धर्मभक्त, गंगालाल, दशरथ चन्दहरूका अगाडि अमूल्य सहिद उपमा लाग्दा जीउ जिरिङ्ङ हुने गथ्र्यो र सम्मानले रगत उम्लिन्थ्यो। तर जब ‘सहिद’ हरूको सूची रुपैयाँ पाउने हिसाबले बढ्न थाल्यो; सहिद शब्दकै अपमान, अवमूल्यन र मान मर्दन हुन थाल्यो।

भाषाविद् शरच्चन्द्र वस्ती व्यंग्य गर्दै भन्नुहुन्छ, ‘बलिदानी, सहादत मर्म र ओजसहितको शहीद शब्द स्खलित हुँदै ‘सहिद’ बनाइयो अब विस्तारै ‘सइद’, ‘सइत’ हुन बेर छैन।

मागेर गुजारा चलाउन बाध्य शहीद पिताका रूपमा मिडियाका आँखामा त परे; विडम्बना सरकारको ध्यान कहिल्यै पुगेन।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको नेपाली शब्दकोशमा ज्वाजल्यमान भएर बसेको शहीद शब्द हिजोआज नयाँ परिचयको ‘सहिद’ शब्दले पनि सोही स्थान पाउँदा कतै वास्तविक महान् सहिदको योजनाबद्ध अपमान त होइन भनेर प्रश्न गर्नुपर्ने बेला पनि आएको छ।

अमर शहीद, कागजी ‘सहिद’
आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने उनै व्यक्तिलाई सहिद भनिन्छ भनेर पढ्दै आएका नेपालीलाई पछिल्लो दशक राजनीतिक पहुँच, दाउपेच र पैसाका लागि ‘सहिद’ घोषणा गर्ने विकृत अभ्यासले गाँजेको छ।

चिनियाँ काजी, दुर्गानन्द झा, जगतप्रकाशजंग शाह, रत्न वान्तवा, वीरेन राजवंशी, हमसेर राई, दिलबहादुर रम्तेल, यज्ञबहादुर थापा, भीमसेन दाहाल, दयाराम परियार, चन्द्र बयलकोटी, सेतु बिक, चन्द्र दर्जी, ताहिर अली अन्सारी, योगेन्द्रमान शेरचन, भीमदत्त पन्त, अनील लामा, सुरज विश्वास, दर्शनलाल यादव, प्रद्युम्न खड्का, सगुन ताम्राकारजस्ता हजारौं सहिदको बलिदानी अमूल्य छ। त्यसैले त हामी उहाँहरूलाई आदर र सम्मानका साथ गर्वले सहिद भन्छौं। उहाँहरूका नाम लिँदा आज पनि हाम्रो शिर गर्वले ठाडो हुन्छ; सम्मानले निहुँरिन्छ; वीरताको गाथा गाउन मन लाग्छ र स्वाभिमानको स्वर गुन्जिन्छ किनकि उहाँहरूको बलिदानको जगमा हामीले स्वतन्त्रताको अभ्यास गरिरहेका छौं, समानताको स्वाद चाखिरहेका छौं।

त्यसो त पछिल्लो दशक पैसाका लागि, सत्ताको पहुँचका बलमा, विपक्षीलाई ठीक पार्न, कार्यकर्ता पाल्न, भोटको खोट राजनीति गर्न ‘सहिद’ सूचीकरणमा विकृति आएको छ। जब दुर्घटनामा निधन भएका व्यक्तिलाई ‘सहिद’ घोषणा गराउन पाए राज्यबाट पैसा पाइन्थ्यो भनेर चक्काजाम गरेर राज्य–दल–बिचौलिया र नेता–कार्यकर्ताबीच साँठगाँठ हुने संस्कृति मौलायो, राम रमाइलोका लागि रक्सी खान बसेकाहरू झगडामा मारिएका एकथरी मान्छेहरूसमेत ‘सहिद’ को सूचीमा पर्न थाले। देखासिकी कतिसम्म बढ्यो भने फलाना ठाउँको घटनामा यसरी नै मारिँदा ‘सहिद’ घोषणा गरेर सरकारले पैसा दिएको थियो हामी पनि आन्दोलन गरौं ‘सहिद’ घोषणाका लागि भन्ने जमात फैलिँदै गयो।

शहीद घोषणाविनै कसरी अमर भए मार्टिन लुथरदेखि जुल्फिकर अली भुट्टोसम्म ?
संसारमै सहिदहरू भनेका अकाल मृत्युवरण गरेका योद्धाहरूका रूपमा समेत परिभाषित गर्ने चलन छ, अर्थात् सहिदहरूको निधन भएको हुन्न उनीहरू मारिएका हुन्छन्।

अमेरिकामा मार्टिन लुथर किङ, अब्राहम लिंकन, भारतमा महात्मा गान्धी, राजीव गान्धी, बंगलादेशमा अब्दुल अहल पहले, पाकिस्तानमा बेनजिर भुट्टोहरूको हत्या गरिएको थियो तर कसैलाई पनि राज्यले सहिद घोषणा गरेन तर पनि उनीहरूको बहुआयामिक योगदान र सहादतलाई विश्वले नै स्विकारेको छ उनीहरूको निधन होइन हत्या भए पनि।

नेपालमा राजनीतिक रूपमा पक्ष–विपक्षमा विभक्तमध्ये जग्गाको किचलोमा होस् या ‘केटी भगाउने’ प्रकरणमा हुने गलफत्ती, सडक दुर्घटना होस् या दादागिरीमा, दुई पक्षबीच भएका ग्याङ गिरोह कुटपिटमा मारिएकालाई दलीय पक्षधरताका आधारमा ‘सहिद’ घोषणा गरेर सरकारबाट पैसा असुल्ने खराब प्रवृत्तिले वास्तविक महान् सहिदको अवमूल्यन गरेको छ; सहादत, आहुति र बलिदानीको मर्यादालाई सस्तो बनाइदिएको छ अर्थात् कागजी ‘सहिद’ खेतीको फसलमा युरिया मल हाल्दिने नेतृत्व दलका नेताहरू स्वयंले गरेका छन्।

सहिदका पिताहरू भिख माग्दै हिँड्नुपर्ने नियती
२०४६ सालको जनआन्दोलनमा सरिक रौतहट कनकपुरका रणबहादुर सार्कीले २०४६ चैत २७ गते सहादत प्राप्त गरे। सहिदको बलिदानीको जगमा आएको परिवर्तनपश्चात् विभिन्न सरकार बनिरह्यो। सहिद पिता सूर्यबहादुर सार्की पर्याप्त कागजात बोकेर मन्त्रालयदेखि नेताहरूका घरघर धाइरहे कहींकतैबाट राहत, सहयोग नपाएपछि पशुपति आसपास मागेर गुजारा चलाउन बाध्य शहीद पिताका रूपमा मिडियाका आँखामा त परे; विडम्बना सरकारको ध्यान कहिल्यै पुगेन।

नेपाल राजनीतिक सामाजिक आन्दोलनको उर्वर भूमि हो भन्नेमा कुनै सन्देह छैन। अहिले पनि विभिन्न कालखण्डका क्रान्ति, युद्ध, आन्दोलन, विद्रोह र दमनविरुद्धको प्रतिवादमा सहादत पाएकाहरूका सन्तति खाडीमा पसिना चुहाइरहेका छन् भने कतिपय सूर्यबहादुरकै हालतमा जीवन गुजारा गरिरहेका छन्।

आजको पुस्ता गौरवमय इतिहास आत्मसात गर्दै विकास, समृद्धि, सुशासन र स्वाभिमानको यात्रामा सरिक हुन चाहन्छन्। उनीहरू पटकपटक आन्दोलन, विद्रोहमा भन्दा पनि विकास र समृद्धिको राजमार्गमा गुड्न चाहन्छन्; दुर्भाग्य शासन सत्ता अनुदार केपी ओलीहरूको हातमा छ। असंवैधानिक ‘कू’ गरेर नेपाली जनतालाई फेरि पनि सडकमा जबर्जस्त उत्रन बाध्य पार्ने ओली कदमविरुद्ध सत्ताले के फेरि सहादत माग गरेको हो ? जटिल प्रश्न ठडिएको छ।

सहादत जहिले पनि स्वतन्त्रता, समानता, न्याय, मर्यादा र लोकतन्त्र प्राप्तिका लागि हुने गर्छ। नेपाल यस्तो मुलुक हो; जहाँ साथीको माया–प्रेमलाई गन्धर्व विवाहमा रूपान्तरण गर्न सहयात्रीका रूपमा जाने गोविन्द शाही, गणेश बुढा मगरहरूको हत्या गरिन्छ, नवराज विश्वकर्माहरूलाई आजसम्म मान्छेको कोटीमा स्वीकार गर्न हम्मेहम्मे परेको छ।

एकपटक थाहा अभियन्ता रूपचन्द्र विष्टले भनेका थिए– जो नेपाली आफ्नो शरीरको उचिरो काट्न पनि कर्तनालय जान खोज्छन्; उनीहरूलाई नै सबैभन्दा बढी स्वतन्त्रताको अभ्यास गर्नु छ र सोच्छन् अर्काको छोराछोरीले बलिदान गरिदिऊन्। कुरो गम्भीर यस मानेमा छ कि अबको जुनसुकै राजनीतिक र सामाजिक विद्रोह, खबरदारी, आन्दोलन रचनात्मक र अहिंसात्मक भएन भने दुःख पाउने उनै भुईंमान्छेले हुन्; जसका नाममा राज्यसत्तामा पुग्ने र उसैलाई ‘म शासक तिमीहरू रैती’ का व्यवहार गर्ने उही सदावहार आम नेपाली राजनीतिक शैलीमा परिवर्तन खोजौं।

प्रिय कवि भूपि शेरचनका यी कालजयी कविता जसले फरकफरक भाव अभिव्यक्त गर्छ; आज कति उपयुक्त कति असान्दर्भिक पाठककै रोजाइ।

‘हुँदैन बिहान मिरर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए।

मैले पिएको देखेर रिसाउने साथीहरू हो
पिएर त हेर पिउन झन् गाह्रो छ।
मरेर शहीद हुनेहरू हो
जिएर त हेर जिउन झन् गाह्रो छ ।





Leave a comment

Your email address will not be published.


*