छाउगोठ : सरकार भत्काउने, स्थानीय ठड्याउने

        हिक्मतबहादुर नेपाली   |   प्रकाशित मितिः मङ्लबार, माघ २०, २०७७     ::: 92 पटक पढिएको   |  
छाउगोठ भत्काउने अभियानकै बेला राकमकर्णालीमा छाउगोठ भत्काउँदै प्रहरी र स्थानीय।

दैलेख : ६ वर्षअघि दैलेख पश्चिममा छाउगोठ भत्काउने अभियान जोडतोडका साथ चल्यो। गैरसरकारी संघसंस्थाको अगुवाईमा सरकारी निकायका साथै स्वंम समुदाय पनि अभियानमा सरिक भए। त्यसबेला जिल्लाका सात गाविस छाउगोठमुक्त घोषणा गरिए। तै पनि जिल्लाका महिलाहरू छाउगोठमा बस्न छाडेनन्। अभियान सकियो। गोठहरू फेरि ठडिन थाले। अलग्गै बस्ने, सार्वजनिक पधेंरा प्रयोग गर्न नपाउने, दूध खान नपाउने, फलफूलका विरुवा छोइए हप्कीदप्की सहनुपर्ने अवस्था उस्तै रह्यो। महिनावारीको समयमा घरमा बस्दा देवीदेउता रिसाउने त्रास अझै हट्न सकेको छैन।

फलस्वरुप महिनावारी बार्न छाउगोठ बसेकी चामुण्डाविन्द्रासैनी नगरपालिकाकी लालसरा विकलाई ०७४ जेठ ८ गते सर्पले टोक्यो। सर्पले टोकेको भोलिपल्टै लालसराको ज्यान गयो। त्यसको एक महिना नबित्दै सोही नगरपालिकाकी तुलसी शाहीले छाउगोठमै ज्यान गुमाइन्।छाउगोठ बसेका बेला उनलाई ०७४ असार २२ गते सर्पले टोकेको थियो। आफन्त र परिवारको दबाबामा गोठमा सुत्न बाध्य पारिएकी लालसरा र तुलसीले छाउगोठमा सुतेकै कारण ज्यान गुमाइन्। मृत्यु भएका घटना चर्चामा आए पनि छाउगोठ बस्दा महिलाले भोग्नुपरेका थुपै्र शारीरिक र मानसिक पीडाका खबर प्रायः सहन बाध्य छन्। 

दुई महिनाको अवधिमा भएका यी दुई घटनाले छाउ बार्ने परिवारमा सन्नाटामात्र छाएन्, छाउपडी न्यूनीकरणमा क्रियाशील सरोकारवालाहरूको भूमिकामाथि नै प्रश्न उब्जाइदियो। यी दुई घटनाको दुई वर्षपछि सरकारले कर्णाली र सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्‍यो। गृहमन्त्रालयको निर्देशनमा जनप्रतिनिधिको अगुवाई र स्थानीय प्रशासनको समन्वयमा छाउगोठ भत्काउने अभियान थालिएको थियो। त्यसबेला दैलेखमा झण्डै एक हजार बढि छाउगोठ भत्काईएको छ। कतिपयले स्वेच्छाले र कतिपयले जबरजस्ती छाउगोठ भत्काए। स्थानीय सरकारदेखि प्रशासन र प्रहरीले छाउगोठ भत्काइए पनि मनभित्रको त्रासबाट भने यहाँका महिलाले अझै मुक्ति पाउन सकेका छैनन्। 

अभियान सुस्ताएसँगै अहिले महिलाहरू महिनावारी हुँदा छाउगोठमै बस्न थालेका छन्। कतिपय महिलाहरू महिनावारी भएको बेला ओडार, बारीमा त्रिपाल हालेर वा खुला आकाशमुनि तथा गाईबस्तुसँगै रात कटाउन बाध्य छन्। छाउ हुँदा घरमा बस्न नहुने भन्ने मान्यताकै कारण ग्रामीण महिलाहरूले सभ्य समाज देख्न नसकेको अधिकारकर्मी दुर्गा गिरी बताउँछिन्। ‘आधुनिक समाजमा मानिस र चौपाया एकै गोठमा सुत्नु अनौठो र अकल्पनीय अवस्था हो,’ उनले भनिन्। ठाटीकाँध गाउँपालिकामा शतप्रतिशत छाउगोठ रहेको गिरीको भनाइ छ। ‘ठाटीकाँधमा छाउगोठ नभएको कुनै घर छैन्, किशोरीहरू महिनावारी हुँदा विद्यालयको माथिल्लो तलासम्म पनि जान दिइँदैन्,’ उनले भनिन्। 

महिलाहरू देवी–देउताको भयले गोठमा बस्न बाध्य भएको तर्क गर्छन्। ‘नछुने भएको बेला छुटै गोठ नभए पनि घरको मुनि वा गाई गोरु भैसी बाँध्ने एक छेउतिर बस्ने गर्छौं,’ ठाटीकाँधकी विमला विक भन्छिन्, ‘छुई नबारिकन क्या अन्र्या, देउता रिसाउँछन्, घरमा विसञ्चो हुन्छ, घरमा कोही बिरामी पर्दा धामी झाँक्री छुई हुँदा लसपस भयो भन्छन्, छुई बार्नै त पर्‍यो।’ स्थानीय सरकारले छाउपडी प्रथा न्यूनीकरणका लागि बजेट विनियोजन गरे पनि कार्यान्वयनबारे बेखबर रहेको ठाटीकाँध गाउँपालिका–२ की मनसरा विष्ट बताउँछिन्। ‘छाउ हुँदा गोठमा बस्नु परम्पराजस्तै भइसक्यो,’ मनसरा भन्छिन् ‘यस्तो कुरिति अन्त्य नहुनुमा धामीझाँक्री र घरमूली नै बढी जिम्मेवार छन्।’





Leave a comment

Your email address will not be published.


*