भूस्वर्गदेखि स्वर्ग पुर्‍याउने कर्णाली राजमार्ग

        गोकर्णप्रसाद उपाध्याय   |   प्रकाशित मितिः मङ्लबार, माघ २७, २०७७     ::: 37 पटक पढिएको   |  
गोकर्णप्रसाद उपाध्याय

सन् असीको दशकतिर असीम पृथ्वीमा आउँदा कर्णाली राजमार्गको चर्चा भर्खर सुरू भएको हुँदो हो। चर्चा वर्षौं भयो, अनि मात्र निर्माण सुरू भयो। बाटो तयार भयो। कर्णालीबासीमा औधी खुसी वर्षियो।गाडी गुड्न थाले। सडकका बारेमा कर्णप्रिय गीतै बने। यी सबबारे जानकार उसलाई गाडी गुड्न थालेको चौध वर्षपछि सन् २०२१ मा एक्कासि यात्रा गर्ने अवसर जुर्‍यो त्यही राजमार्गको। ज्यानजस्तै सर्लक्क कपाल मिलाएको, दाहिने हातका औलाभरि चाँदीका औंठी भिर्ने डडेलधुरी चालक सिद्धको छेउमा बसेर असीम कर्णाली राजमार्गको पहिलो अनुभव लिँदै थियो।कुनैबेला यही राजमार्ग हुँदै रारा ‘रिटर्न’ साथीले भनेको सम्झियो, ‘यार, कर्णाली राजमार्ग त जुम्ला, सिंजा, राराजस्तो भूस्वर्गसम्म पुर्‍याउने बाटो हो। तर छुसुक्क गल्ती भए स्वर्गै पुगिने। भूस्वर्गदेखि स्वर्ग पुर्‍याउन सक्ने गज्जबकै बाटो रहेछ, कर्णाली राजमार्ग।’ त्यसपछि ऊ चनाखो भएर राजमार्ग नियाल्न थाल्यो। 

उसो त यातायात साधनका रूपमा उड्ने चिलगाडी देखेका वा ढुवानी गर्ने साधनका रूपमा हिँड्ने घोडा, खच्चडको भर परेका, हटारूको कष्टकर जीवन बिताएका कर्णालीबासीका घरछेउमै गाडी ल्याउने बाटो यही थियो। यसको इतिहास स्वर्णिम हुनुमा दुविधा भएन। तर अहिले आएर तिनै कर्णालीबासीलाई यो बाटो दोधारे बनाउँछ। हिडौं कि नहिडौं। दोधार भए पनि विकल्प भएन। ऊ निर्विकल्प गुड्दै थियो।गुड्दा गुड्दै उसले देख्यो असरल्ल बिजुलीका पोल। पोल त गुड्दैनन्। त्यसैले कोही ठडिएका, कोही लडेका। कोही ठडिई सकेपछि अडिन नसकेर लडेका। अनि कोही लडौंला लडौंलाझैं गरी अडेका। राजमार्ग किनारै किनार कालिकोट जान हिँडेका राष्ट्रिय प्रसारण लाइनका पोलहरू। ‘चाँडो हिँड’ भन्ने कोही धरालो गोठालो नभएजस्ता। उता कुलमान घिसिङ ‘हिँडेको’ पनि सुने हुन्। अब त झन् आफूखुसी सुस्त सुस्त हिँडिरहेछन्।

दायाँबायाँ कतै पहिरो खसेर, कतै भेल पसेर थुप्रिएका गेग्रान। जीर्ण सडक देख्दा उसलाई लाग्यो कर्णाली राजमार्ग दशकौं पुरानो हो। तर, कालोपत्रे भएर सञ्चालनमा आएको दशक पनि भएको छैन। सडकमाथि अत्याधुनिक मोडेलका गाडी चिप्लिएर के गर्नु? दुई सय बत्तीस किलोमिटर बाटोमा कतै लगातार दुई सय बत्तीस मिटर सद्दे र दुरुस्त खण्ड खोजिरहेथे उसका आँखा। राजमार्गले पूरा गर्नुपर्ने एकाधबाहेक अधिकांश मापदण्ड पूरा गरेको महसुस भएन उसलाई। चौडाइ, घुम्तीको मोहडा, गुणस्तर, ट्राफिक संकेत, सेफ्टी बार, यात्रुको खाने-बस्ने व्यवस्था नपुगे नपुगेजस्तो।ऊ नियाल्दै गयो एकातिर कर्णाली नदी, अर्कोतिर भीर पहरा। नदी किनारपट्टि ठाउँठाउँमा धेरथोर संख्यामा टुसुक्क बसेका घरहरू। तिनैमध्ये केहीमा कुचुक्क परेका होटलहरू जसले यात्रुको ध्यान तान्दैनन्। बरू पट्यारलाग्दो यात्रा चाँडो सक्न पाए भन्ने लागेर गन्तव्यले नै तान्छ।

लामो बाटोमा न ‘फ्रेस’ गराउने ‘भ्यु प्वाइन्ट’ छ न सिन्धुली हाइवेजस्तो ‘सेल्फी प्वाइन्ट’। मेची राजमार्गजस्तो चिया बगान नहोला, स्याउ बगान भए पनि हुन्थ्यो। कतै मन बहलाउन अग्लो झरना देखिँदैन। भीमदत्त राजमार्ग जस्तो खीर पाइने ठाउँ पनि छैन। न हिलेमा झै तोङ्बाको स्तम्भ छ, न लसुनेको झैं लसुन। बाटोमा एकैछिन ध्यान खिच्ने कृत्रिम सौन्दर्य छैन। छ त, उच्चाटिला चट्टानका माझ त्यही एउटा कर्णाली, बस।ती सबै ठाउँ एकएक गरी ‘मिस’ गरिरहेथ्यो ऊ।

मोबाइल हेर्थ्यो, ‘नो सर्भिस’। एक छिनपछि फेरि नजर लाउँथ्यो, ‘नो सर्भिस’। मोबाइलले पनि आफूलाई जिस्काइरहे जस्तो। सोच्यो पहिलोपटक सहरबाट गाउँ आउँदै गरेका वा गाउँबाट सहर हिँडेका छोराछोरीसँग मोबाइल सम्पर्क हुने सम्भावना र अभिभावकको तनाव।झ्यालतिरबाट तन्किएर हेर्थ्यो, टुप्पो मात्र देखिने, बिजुली नभएकाले सोलारबाट चल्ने, रातमा काम नगर्ने मोबाइल ‘टावर’हरू। अनि दिनमा पनि संयोगले टिप्ने ‘फोरजी’ नेटवर्कको खोजी गर्न छाड्यो।

हुन त ऊ कर्णाली आसपासकै मान्छे। गणतन्त्रअघि आकाशबाटै कर्णालीका केही जिल्ला सदरमुकाममा आकाशै आकाश झरेर चियाएको अरे! गणतन्त्रमा जमिनबाट पुग्ने अनुभव गरेछ। सुर्खेत पुगुञ्जेल कर्णाली राजमार्गको यस्तो अवस्था होला सोचेकै थिएन। दैलेखबाट अगाडि बढ्दै जाँदा यात्रा कम, सुर्ता बढी हुन थालेछ।नहोस् पनि किन ? मुन्तिर राजमार्गमा गुड्ने सवारी साधनको खन्द्राङ खुन्द्रुङ सुन्दै सलल बगेकी कर्णाली। मास्तिर डर, बेचैनी, खाल्डाखुल्डीका कारण खलल पसिनै काढ्ने कर्णाली राजमार्ग।

उसले जानेको पुलले दुइटा सडकलाई जोड्ने हो। अर्कोपट्टिबाट आएको गाडी नै एकापसमा जोडिने होइन। तर यो सडकमा कैयौंपटक जोडिइसके। ऊ सवार गाडी नजोडिए पनि अटेसमटेस गरी मात्र छिर्न सक्ने पुल यही देख्ने मौका मिल्यो। बनिसकेका पुलको अवस्थाले मन दुखेछ, बन्न बाँकीले त चिरिएछ नै।२०६३ सालदेखि आंशिक सञ्चालनमा आएको सुर्खेत-जुम्ला सडक अर्थात कर्णाली राजमार्ग विश्व बैंकको सहयोगमा बनेको मात्र नभई विश्वकै नमूना बनेको महसुस भयो उसलाई। यात्रा गरिसकेपछि अनुभव सुनाउँदै थियो ‘राजमार्गका मापदण्ड पूरा नभएको बाटो, खाल्डाखुल्डी, गेग्रान, हिलो आदिका कारण गाडी चिप्लिने, फस्ने डर। कतिपय ठाउँमा त पांग्रा भएको गाडी गुड्नै नमिल्लाजस्तो। नंग्रा भएको गाडी चाहिएला झैं लाग्ने। राज्य स्रोतमाथि नंग्रा गाडेर काम कम, कमिसन कडा खोज्दा बाटोको हालत यस्तो भएको हो।’ बाटोले उसलाई निकै अनुभव दिएछ।

सबै बुझेजसरी भन्दै गयो ‘दाताले सरकार, सरकारले ठेकेदार, ठेकेदारले जेभी ठेकेदार, जेभी ठेकेदारले पेटी ठेकेदार, पेटी ठेकेदारले अर्को ठेकेदार, काम सर्दै सर्दै आएकाले होला गुणस्तर झर्दै झर्दै गएको। न कसैको माया देखेँ बाटोप्रति, न कसैको छत्रछाया। तरिका हुन्छ नि! मालवाहक गाडी, टिपर, ट्रयाक्टरले तोकेभन्दा बढी वजन, यात्रुवाहकले तोकेभन्दा बढी यात्रुजन बोक्दा कसैको टाउको दुख्दैन। जति दुख्छ, त्यही बाटोलाई र तिनै यात्रुलाई।’

यात्रु असीम र चालक सिद्धजस्तै मानिसहरू अचेल कर्णालीको ‘भाग्यरेखा’ मा हिँड्नुपर्दा भाग्यलाई दोष दिन्छन्। बाटो साँच्चै बाटो लाग्दैन। केटाकेटीले टालाटुली बटुली बनाएको पुतलीझैं टाटेपाटे देखिन्छ। मान्छेहरूले बुझेका छन्, बाटो त अधिकार हो तर त्यसैमाथि खेलवाड छ। अर्थात जिन्दगीमाथि खेलवाड छ। त्यसैले वर्षैपिच्छे थुप्रैले जिन्दगी गुमाउनुपर्छ यही बाटोका हिँडेका कारण।पहिले दुई-तीन वर्ष सरकारी कार्यालयमा करारको जागिर खाएको डडेलधुरी चालक थप्छन्, ‘सरकारै सरकार छन् तर सप्पैले टार्छन् सर।’

अब त एकले अर्कोलाई, अर्कोले अर्कोलाई देखाउँदा देखाउँदै साँच्चै बाटोको अधिकार खोज्ने बाटो भेटाउन मुश्किल छ कर्णालीबासीलाई। बाटो भेटिए पनि, नभेटिए पनि, बाटोले स्तरवृद्धि खोजिरहेछ।उसलाई लाग्छ डाँडाकाँडा भत्काउँदै बनाइएको कर्णाली राजमार्ग गाडीका पार्टपूर्जा भत्किने, यात्रुका मन भत्किने, राज्यको ‘इमेज’ भत्किने मार्ग हो। तर पनि आशा त्यही हो, भरोसा त्यही हो। केही घण्टे यात्राको निराशा पनि त्यही हो।

(लेखक गोकर्णप्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी हुन्।) सेतोपाटीबाट साभार





Leave a comment

Your email address will not be published.


*