भागरथी बलात्कार–हत्या प्रकरण : एउटै स्कुलमा पढ्ने छिमेकी किशोर पक्राउ

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन ५, २०७७     ::: 27 पटक पढिएको   |  

बैतडी : भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । भागरथीका छिमेकीसमेत रहेका उनलाई आज बुधबार सार्वजनिक गरिने प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।

जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने बताए । ‘हामीले सफलता हात पारेका छौं । प्रहरीका केही टोली जिल्ला फर्के । म खोचलेकबाट फर्कने तयारीमा छु । केही समयपछि आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘आधिकारिक पुष्टि गरेपछि सबै कुरा खुल्छ ’

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो ।





Leave a comment

Your email address will not be published.


*