दैलेखका कोरोना संक्रमित पनि भारतबाटै आएका थिए

दैलेखका कोरोना संक्रमित पनि भारतबाटै आएका थिए

हिक्मतबहादुर नेपाली
दैलेख जेठ ५ गते ।
कर्णाली प्रदेशमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमित नदेखिएको कर्णाली प्रदेशमा पहिलो पटक सोमबार राति मात्रै एकजनामा पुष्टि भएको हो । दैलेखका आठबीस नगरपालिका– १ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको  हो । सात्तला स्थित लक्ष्मी माध्यामिक विद्यालयमा बनाइएको क्वारेन्टाइमा बसेका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त क्वारेन्टाइनमा उनीसँग अरु ३९ जना बस्दै आएका छन् ।

भेरी अस्पताल नेपालगन्जस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिए पनि पुन परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा नमुना पठाइएको थियो ।

सुर्खेतमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको थियो । कोरोना संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताए । भारतको आगराबाट फर्किएका संक्रमित युवा जेठ १ गते गाउँ आइपुगेका थिए । भारतले रेल सेवा सुरु गरेसँगै कर्णालीबासी पनि धमाधम फर्किन थालेका छन् । भारतका विभिन्न क्षेत्रबाट मानिसहरु कर्णालीमा भित्रिने क्रम बढेपछि कर्णाली प्रदेशमा जोखिम बढेको छ ।

वडा नै गरियो सिल

भारतबाट आएका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि आठबीस नगरपालिका–१ सात्तलालाई पूर्ण रुपमा सिल गरिएको छ । भारतको आगराबाट आई लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा बसिरहेका बेलामा एक जनामा कोरोना संक्रमण देखिएपछि वडा नै सिल गरिएको आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले बताए ।

प्रतिक्रिया