कर्णालीका संक्रमित युवा क्वारेन्टाइनमै

कर्णालीका  संक्रमित युवा क्वारेन्टाइनमै

हिक्मतबहादुर नेपाली
दैलेख जेठ ६ गते ।
कर्णाली प्रदेशका पहिलो कोरोना संक्रमित अहिले पनि क्वारेन्टाइनमै छन् । युवकलाई कोरोना संक्रमण रहेको सोमबार नै पुष्टि भएपनि अहिलेसम्म अस्पताल लगिएको छैन । आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले उनी क्वारेन्टाइनमै रहेको र उनी बसेको कोठामा अन्य ८ व्यक्ति समेत रहेको जानकारी दिएका छन्।

उनी अहिले सात्तलाको लक्ष्मी माविमा बनाइएको क्वारेन्टाइमा छन्। युवालाई कुन अस्पतालमा लाने भनेर छलफल भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले बताए । ‘कहाँ पठाउने भनेर प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य सेवा कार्यालयका डाक्टरलगाय छलफल गरिरहनुभएको छ, आज नै टुंगो लाग्छ,’ उनले भने ।

सोमबार दैलेख आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । उनी भारतको आगरामा मजदुरी गर्दै आएका थिए । 

संक्रमित युवक रहेको क्वारेन्टाइनमा उनीसहित ३९ जना बस्दै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नमुना नेपालगन्ज पठाइएको थियो। 

संक्रमित युवासँगै ५३ जना भारतबाट आएका 

कोरोना संक्रमण देखिएका युवकसँगै ५३ जना एउटै बसमा आएका थिए । आठबीस नगरपालिकाका ३९ जना,  ठाटीकाँध गाउँपालिकाका ८ जना, दुल्लु नगरपालिका र चामुण्डा विन्द्रासैनी नगरपालिकाका १/१ जना र बर्दियाका ४ जना एउटै बसमा थिए। 

भारतको आगरामा मजदुरी गर्ने आठबीस नगरपालिकाका ३९ जनाको टोली चैत्र १८ गते कञ्चनपुर गड्डाचौकी नाका आइपुगेका थिए । ३९ जनामध्ये १४ जना वनबासा नजिकैको सारदा इन्टरकलेजमा र २५ जना टनकपुर स्थित एमडी स्कुलमा करिब ४५ दिन क्वारेन्टाइनमा बसे । जेठ १ गते कञ्चनपुरबाट आठबीस नगरपालिकाले उद्धार गरी ल्याएको थियो । 

ठाटीकाँध गाउँपालिकाका ८ जनालाई गाउँपालिकाले एक दिन क्वारेन्टाइनमा राखेर घर पठाएको थियो । सँगै आएका युवकलाई कोरोना संक्रमण रहेको पुष्टि भएसँगै पुन क्वारेन्टाइनमा ल्याएर राखिएको गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए।

प्रतिक्रिया