पुष्टि भएकाे एक दिनपछि कोरोना संक्रमित आइसोलेसनमा

पुष्टि भएकाे एक दिनपछि कोरोना संक्रमित आइसोलेसनमा

हिक्मतबहादुर नेपाली
दैलेख जेठ ७ गते
। जिल्लाको आठबीस नगरपालिका–१ का ३५ वर्षीय एक युवामा कोरोना संक्रमण आशंका भएको खबर सोमबार बिहानै सार्वजनिक भयो । रिपोर्ट शंकास्पद् देखिएपछि सोमबार दिउँसो पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा नमूना पठाइयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती सवा १० बजे ती युवामा कोरोना भाइरस (कोभिड-१९) भएको पुष्टि गर्यो ।

त्यसपछि बिहानभरी प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य सेवा कार्यालयका डाक्टरलगायत सबैजना छलफलमा जुटे । छलफल सकिएलगत्तै कोरोना पुष्टि भएको १८ घण्टा पछि मंगलबार दिउँसो ४ बजे स्वास्थ्य सेवा कार्यालय दैलेखका डाक्टर सहितको टोली संक्रमित बसेको लक्ष्मी मावी सात्ततास्थित क्वारेन्टाइनमा पुग्यो ।

क्वारेन्टाइनमा बसेका ३९ मध्ये एकजनालाई कोरोना ‘पोजिटिभ’ आएको खबर गाउँभरी फैलिए पनि कसलाई कोरोना पोजिटिभ देखिएको हो भन्नेबारे सबै बेखबर थिए । ‘हामी जनप्रतिनिधि, क्वारेन्टाइनमा रहेका अन्य व्यक्ति र स्वयम कोरोना संक्रमितलाई समेत थाहा थिएन, जिल्लाबाट टोली नपुग्दासम्म क्वारेन्टाइनमा रहेका ३९ जनासँगै बसे,सँगै खाए, ‘वडाध्यक्ष पर्वसिंह विश्वकर्माले भने ।

वडाध्यक्ष विश्वकर्माकाअनुसार विभिन्न निकायमा हारगुहार गरेपछि मात्र संक्रमित व्यक्तिको उद्धार भएको हो। संक्रमित युवकलाई मंगलबार राती ९ बजे दैलेख सदरमुकाम पुर्याइयो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा शंकास्पद् देखिएको ४२ घण्टाभन्दा बढी समयपछि मंगलबार राती ९ बजे आइसोलेसनमा राखिएको छ । संक्रमितलाई नारायण नगरपालिकाको तर्ताङ्ग झुप्रेसालस्थित जंगलको बीचमा रहेको सरस्वती मावीमा बनाइएको आइसोलेसनमा राखिएको छ । उक्त स्कुलमा २० बेडको आइसोलेसन निर्माण गरिएको थियो । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरबहादुर रेग्मीले बताए । 

पहुँच नभएकै कारण उद्वारमा ढिलाइ

दैलेखका ती युवा कर्णाली प्रदेशको पहिलो संक्रमित हुन् । कर्णालीका अन्य जिल्लामा हेलिकोप्टर प्रयोग गरेर स्वाब संकलन गरिरहेको कर्णाली प्रदेश सरकारले दैलेखका संक्रमितको उद्वारमा वेवास्ता गरेको यहाँका नागरिकले आरोप गराएका छन् । कर्णाली प्रदेश सरकारका मन्त्रीहरुले पहुँचको भरमा हवाई मार्गमार्फत कालिकोट, मुगु, हुम्लामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिरहेको भएपनि संक्रमितको उद्वारमा ४२ घण्टा लगाएको आठबीस नगरपालिका-१ का वीरबहादुर नेपालीले बताए ।

‘पहुँचबिहीन दलित समुदायको व्यक्ति भएकै कारण उद्वारमा वेवास्ता गरियो,’ नेपालीले भने, ‘उद्धार गरेर सुविधा सम्पन्न अस्पतालमा पनि लगिएको छैन्, जंगलको बीचमा रहेको स्कुलमा राखेर उपचारमा चरम लापरबाही गरिएको छ ।’प्रदेश सरकारले संक्रमित व्यक्तिको उद्धार र उपचारमा वेवास्ता गरेको संघीय सांसद पार्वतीकुमारी विशुन्केले बताइन् । ‘कोरोना संक्रमित व्यक्तिलाई उपचारमा दैलेख जिल्ला सदरमुकाममा ल्याउन किन ४२ घण्टा लाग्यो,’ यस विषयमा छानवीन हुनुपर्छ,’ उनले भनिन् ।

संक्रमितको गाउँ, न सुरक्षा न सिल !
 
कर्णाली प्रदेशको पहिलो कोरोना संक्रमित गाउँ आठबीस नगरपालिका-१ सात्तालालाई सिल गर्ने नगरपालिकाले निणर्य गरेपनि स्थानीय नागरिक ओहोर-दोहोर गर्ने क्रम नरोकिएको स्थानीयले बताएका छन् ।सुरक्षा व्यवस्था समेत नभएको स्थानीयको भनाई छ । ‘क्वारेन्टाइनमा बसेका देउडा खेलिरहेका छन्, सामाजिक दूरी कायम गर्न उनीहरु चाहिरहेका छैनन्, दिनभरी क्वारेन्टाइनमा बस्छन् राती घरमा जान्छन्,’ स्थानीय वीरबहादुर नेपालीले भने, ‘हामीले सरोकारवाला निकायसँग बारम्बार वडा सिल गर्न र कोरोनाको पीसीआर विधिबाट जाँच गर्न माग गरेपनि सुनुवाई भएको छैन् ।’ राज्यले यस क्षेत्रलाई चरम विभेद गरेको उनले बताए । 

प्रतिक्रिया