कांग्रेसका तीन सर्त माने मात्र अन्य दलसँग गठबन्धन हुन्छ : काेइराला

कांग्रेसका तीन सर्त माने मात्र अन्य दलसँग गठबन्धन हुन्छ : काेइराला

कांग्रेसका तीन सर्त आर्थिक नीति , परराष्ट्र नीति र कांग्रेसको नेतृत्वमा आगामी ५ वर्षसम्म स्थायी सरकार हुन्।

वीरगन्ज : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेसका तीन सर्त माने मात्र अन्य दलसँग आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन्। वीरगन्जमा बुधबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य कोइरालाले यस्तो बताएका हुन्।

उनले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेका तीन सर्त गठबन्धनका अन्य दलहरुले माने मात्र आगामी निर्वाचनमा चुनावी तालमेल हुने बताए। कांग्रेसका तीन सर्त आर्थिक नीति , परराष्ट्र नीति र कांग्रेसको नेतृत्वमा आगामी ५ वर्षसम्म स्थायी सरकार हुन्।  उनले भने, ‘यी विषयमा गठबन्धनका दलहरु बिच छलफल भइरहेको छ। यी तीन सर्त माने मात्र गठबन्धन हुन्छ।’   कांग्रेस सबैभन्दा पुरानो र सबै भन्दा ठूलो दल पनि भएको कारण गठबन्धनका अन्य दलहरुले कांग्रेसको सर्त मान्नु पर्ने उनको जिकिर छ। यसका साथै कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी मात्र आगामी निर्वाचनमा गठबन्धन हुनु पर्ने धारणा पनि उनले राखे।

उनले अहिले माओवादी केन्द्रले भने अनुसारको सिट बाँडफाँड गरेर चुनावमा जान नसकिने पनि प्रष्ट पारे। कोइरालाले भने, ‘स्थानीय निर्वाचनमा प्राप्त जनमतका आधारमा मात्र गठबन्धन दलबीच सिटको भागबण्डा हुनु पर्छ। आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस नेतृत्वले तेरो मेरो नगरी योग्य उम्मेदवारलाई टिकट दिए मात्र कांग्रेसको भविष्य उज्वल हुन्छ।’

कांग्रेस पार्टीमा अहिले पनि गुट उपगुट हावी रहेको सन्दर्भमा कोइरालाले पार्टीमा गुट-उपगुट हुनु स्वभाविक नै भएको बताए। उनले भने, ‘पार्टीमा गुटिज्म हुन्छ । त्यो स्वभाविक नै होर। गुट भनेको विचार हो, यसलाई अन्यथा लिनु हुँदैन तर जब अन्य दलसँग प्रतिस्पर्धाको सवाल आउँछ त्यसबेला भने सबै गुट एक हुनुपर्छ। त्यो बेला गुट उपगुटमा लाग्नु हुँदैन।’

कोइरालाले अहिले कै  परामा चले संघीयता धरापमा पर्न सक्ने चेतावनी पनि दिए। अहिलेको संघीयता अधिकार विहीन अवस्थामा रहेको भन्दै उनले भने, ‘संघीयता अहिले राम्ररी कार्यान्वयन हुन सकिरहेको छैन। यदि यसरी नै चलाउने हो भने संघीयता धरापमा पनि पर्न सक्छ। अधिकार विहीन संघीयता धेरै समय चल्न सक्दैन।’

प्रतिक्रिया