स्वास्थ्य चौकीमा औषधि अभाव, सर्वसाधारण मर्कामा

स्वास्थ्य चौकीमा औषधि अभाव, सर्वसाधारण मर्कामा

मुगु-    सोरु गाउँपालिका —९ स्थित खनाया स्वास्थ्य चौकीमा असार १० गते देखि औषधिको अभाव हुँदा उक्त वडाका खनाया,सिडी र कालै गाउँका सर्वसाधारण मर्कामा परेका हुन ।

आफनो एक बर्षका छोरालाई दुई दिन देखि ज्वरो आएपछि गाउँको स्वास्थ्य चौकीमा उपचार गर्न पुग्दा छोरालाई अनमीले छातिमा समस्या भएको बच्चालाई आवश्यक पर्ने झोल सिटामोल सिरफ नभएको औषधी किन्न सोरु गाउँपालिका—७ सिप गाँउमा रहेको मेडिकलमा जान भन्ने सल्लाह दिएपछि तीन घण्टा हिडेर पुग्नु परेको सोरु गाँउपालिका—९ का तिर्थ शाहीले बताउनुभयो ।

सोही वडा कालै गाउँका नरनाथ योगीले आफनो ७५ वर्षिया आमालाई झाडापखाला लागेर शरीर गलेपछि उपचारकालागि उक्त स्वास्थ्य चौकीमा लगेको भएपनि जीवनजल सम्म नभएको भन्दै स्वास्थ्यकर्मीले मेडिकलमा पुर्याउनु भनेपछि तीन घण्टाको बाटोमा बोकेर मेडिकल पुगेर औषधी उपचार गर्नु परेको बताउनुभयो ।

असार १० गतेबाट खनाया स्वास्थ्य चौकीमा सिटामोल, जीवनजल र यसिलक औषधि अभाव भएको हो । बालबालिकाहरुका लागि आवश्यक पर्ने सिरफ जस्ता औषधि अभाव हुँदा स्वास्थ्य चौकीमा आउने दैनिक १० देखि २० जनासम्म बिरामीलाई खाली पठाउनु पर्ने गरेको खनाया स्वास्थ्य चौकीकामा कार्यरत अनमी तुलसा बिश्वकर्माले बताउनुभयो ।

औषधी अभाव भएको जानकारी गाउँपालिकाको स्वास्थ्य शाँखा र वडा कार्यालयलाई पठाएको भएपनि हाल सम्म औषधी आपुर्ति नहुँदा सर्वसाधारण मर्कामा परेको उक्त स्वास्थ्य चौकीकामा कार्यरत अनमी बिश्वकर्माले बताउनुभयो ।

पालिकाले औषधि खरिदमा पर्याप्त बजेट नछुट्याउँदा र जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध गराउने औषधि समयमै स्वास्थ्य चौकीमा नपुग्दा बेला बेला औषधी अभाव हुने गरेको सोरु गाउँपालिका—९ का वडा अध्यक्ष सागर शाहीले बताउनुभयो ।

वडा कार्यलयमा बजेट अभाव भएकाले आवश्यक औषधी खरिद गर्न नसकिएकाले तत्काल औषधीको व्यवस्था गर्न गाउँपालिकालाई जानकारी दिएको भएपनि अहिले सम्म औषधि आपुर्ति नगरेको यस बारेमा आफै गाउँपालिकामा पुगेर समन्वय गर्ने वडा अध्यक्ष शाहीले बताउनुभयो ।

सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले खनाया स्वास्थ्य चौकीमा मात्र नभई अरु स्वास्थ्य केन्द्रमा समेत औषधि अभाव भएको भन्ने जानकारी आएको छ । केही दिन भित्रमा सबै स्वास्थ्य केन्द्रमा औषधी व्यवस्थापन गरिने बताउनुभयो ।-इन्सेक अनलाइन

प्रतिक्रिया