‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके’

‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके’

 


दैलेख – राउटे समुदायका मुखिया वीरबहादुर शाही फिरन्ते जीवन नबिताउनेलाई राउटे भन्न नमिल्ने टिप्पणी गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके ।’

राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका–११ आमपानीमा स्थायीरूपमा बस्दै आएको छ । आमपानीमा बस्दै आएको यो राउटे समुदायका बालबालिका विद्यालय जाने अनि वयस्कहरूले मजदुरी गर्ने गर्छन् । सामान्य जनजीवनमा फर्किएकाले उनीहरूलाई राउटे मान्न नसकिने वीरबहादुर शाहीको टिप्पणी छ ।

राउटे समुदायमा पढाइलेखाइ, खेती किसानी र एकै ठाउँमा बस्ती बस्न हुँदैन भन्ने विश्वास रहेको छ । अहिले परम्परागतरूपमा बस्दै आएको राउटे समुदायको पनि जनसङ्ख्या घट्दै गएको छ । राउटे समुदायको जनसङ्ख्या घट्दै जानुको मुख्य कारण जाँड–रक्सीको कुलत रहेको जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही बताउनुहुन्छ । सामाजिक विकास कार्यालय दैलेखले राउटे समुदायका लागि उपलब्ध गराएको त्रिपाल, खाद्यान्न र सहायक सामग्री हस्तान्तरण गर्न पुग्नुभएका प्रमुख शाहीले बस्ती सर्दै हिँड्ने, अव्यवस्थित बसोबास तथा अस्वस्थकर खानपिन लगायतका कारणले पनि राउटे समुदायको जनसङ्ख्या घटेको बताउनुभयो ।

राउटे समुदायको संरक्षणका लागि जाँड–रक्सीलगायतको कुलत छुटाउन, फजुल खर्च नियन्त्रण र स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

त्यही कार्यक्रममा पुग्नुभएकी महाबु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले राउटे समुदायले सडेगलेको खानेकुरा खाने गरेको र व्यक्तिगत सरसफाइमा ध्यान नदिने गरेको बताउनुभयो । राउटे समुदायलाई हरेक छाकमा आवश्यकताअनुसार मात्र पकाउने र सरसफाइका बारेमा शिक्षा दिनुपर्ने उहाँले बताउनुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले राउटे समुदायको जीवनस्तर सुधार्न प्रत्यक्ष रेखदेख तथा सहयोग गर्न निकाय तोकिनुपर्ने, सीपअनुसार उत्पादन गरिएका सामग्रीको बजारीकरण र सामाजिकीकरणका लागि बालबालिकालाई पढाउन सुझाव दिनुभयो ।

हरेक दुईरतीन महिनामा बस्ती सर्दै हिँड्ने क्रममा राउटे समुदाय असार दोस्रो हप्तादेखि महाबु गाउँपालिका–३ बालतडामा बस्दै आएका छन् । सामाजिक विकास कार्यालयले राउटे समुदायको ४१ परिवारका लागि हरेक घरधुरीलाई एकरएक वटा पाल, कम्बल, तन्ना, ऐना, काइयोँ, दारी काट्ने मेशिन तथा एक सय ४१ जनालाई लगाउने कपडा र बालबालिकालाई खेलकुद सामग्री दिएको छ । यस्तै समुदायको आवश्यकता र राउटे मुखियासँगको सल्लाहमा पुरुषहरूले नसिलाएरै लगाउने गादो, बालिकाहरूका लागि फरक र वयस्क महिलाहरूले आफैँले सिलाउने ब्लाउज तथा लुङ्गीको कपडा वितरण गरिएको थियो । त्यस्तै ४१ परिवारलाई २५ केजीका दरले चामल, दुईरदुई वटा नुहाउने र कपडा धुने साबुनसमेत दिइएको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख महेशकेशर खनालले जानकारी दिनुभयो ।

फिरन्ते जीवन निर्वाह गर्दै नेपालको दैलेख, जाजरकोट, सुर्खेत र सल्यान आसपासमा घुमिरहने राउटे समुदायलाई सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत सामाजिक सुरक्षा भत्ता पठाउने गर्दछ । राउटे समुदायको जीवनस्तर सुधार गर्न, बालबालिकालाई पढाइलेखाइमा प्रेरित गर्न, स्वास्थ्य शिक्षा र सामाजिकीकरणको पहल गर्न ुसोसेक नेपालु नामक संस्थाले राउटे परियोजना सञ्चालन गरिरहेको छ । राउटे समुदायसँगै बस्तै सर्दै हिँड्ने गरी परियोजनामा संस्थाले चार जना कर्मचारी परिचालन गरेको छ ।

पहिले काठपात, जडीबुटीको भरमा उपचार गर्ने राउटेहरू परियोजना सञ्चालन भएपछि र सहजकर्ताहरूको लामो प्रयासपछि सामान्य बिरामी पर्दा वा चोटपटक लाग्दा परियोजनामा कार्यरत स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्ने गरेका छन् ।

सोसेक नेपालले महिलाहरूको स्वास्थय जाँच तथा उपचारमा महिला र पुरुषहरूका लागि पुरुष स्वास्थ्यकर्मी खटाएको छ ।  परियोजनाकै सहयोगमा गुराँस गाउँपालिकाले दुई महिना लगाएर २०७५ साल असार ३० गते गुराँस गाउँपालिका–८ पातलेखोलामा रहेको राउटे बस्तीमै पुगेर एक सय ४९ जनालाई परिचयपत्र दिएको थियो ।

त्यस बेलादेखि गुराँस गाउँपालिकाले उनीहरूलाई वडा नम्बर (८ को बासिन्दाका रूपमा गणना गरी बस्ती जहाँ सर्दै गयो त्यहाँ पुगेर सामाजिक सुरक्षा भत्ता दिने गरेको छ ।

त्यति बेला परिचयपत्र लिँदा राउटे महामुखिया महिनबहादुर शाहीले आफूले परिचयपत्र लिँदा अहिले परिचयपत्र त लिन्छौँ पछि नागरिकता पनि बनाउनुपर्छ भनेर करकाप नगर्नु भनी सर्तसमेत राख्नुभएको थियो ।

प्रतिक्रिया