दैलेखको कोटिलामा पञ्चकोशी मानवनिर्मित ताल निर्माण हुने

दैलेखको कोटिलामा पञ्चकोशी मानवनिर्मित ताल निर्माण हुने काेटिला ताल बन्ने ठाउँ फाेटाेः नेपाली रैबारबाट

दैलेखः दैलेखको कोटिलामा पञ्चकोशी मानवनिर्मित  ताल निर्माणका लागि लगानी जुटाउन पहल थालिएको छ । नारायण नगरपालिका–१ र ९ र दुल्लु नगरपालिका–११ को सिमानामा निर्माण गर्न लागिएको तालका लागि लगानी जुटाउन पहल थालिएको हो ।

पुनः डिपिआर गरेर ताल निर्माणको काम अघि बढाउनुपर्ने भएकाले सोही अनुसार लगानी जुटाउन पहल भइरहेको छ । गौरवको आयोजनाका रूपमा हेरिएको पञ्चकोशी ताल निर्माणका लागि विभिन्न क्षेत्रका दातृ निकायसँग समेत छलफल भइरहेको जनाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ताल निर्माणका लागि आवश्यक सहयोग माग गरिएको प्रतिनिधि सभा सदस्य अमरबहादुर थापा जानकारी दिनुभयाे सांसद थापाका अनुसार नारायण नगरपालिकाले गरेको डिपिआरको काम पूर्ण छैन । पुनः डिपिआर गरेर काम अघि बढाउनुपर्ने छ । ताल निर्माणका लागि ठुलो लगानी लाग्ने भएकाले बाह्य लगानीका विषयमा समेत छलफल भइरहेको छ ।

पर्यटन प्रवर्धनका लागि सम्भावनाका रूपमा हेरिएको आयोजना अघि बढाउन आवश्यक रहेकाले सबै क्षेत्रको सहयोग आवश्यक हुने थापाले बताउनुभयाे । नारायण नगरपालिका दैलेखले मानवनिर्मित ताल निर्माणका लागि २०७५ सालमा ३३ लाख रुपियाँ खर्चेर डिपिआर तयार गरिसकेको छ ।

नगरपालिकाका इन्जिनियर पूर्णप्रसाद कोइरालाका अनुसार ताल निर्माणलाई लक्षित गरी गत वर्ष प्रदेश सरकारको दुई करोड लगानीमा बाटोको स्तरोन्नति गरिएको छ । नगरपालिकाले बनाएको डिपिआरमा ताल निर्माणका लागि दुई अर्ब छ करोडको लागत अनुमान छ । ससाना खोल्सामा तटबन्ध निर्माणको काम भने भइरहेको छ ।

ड्याम निर्माण, जग्गा अधिग्रहण, पुल निर्माण गर्नुपर्ने छ । ताल वरिपरि चार किलोमिटर रिङरोडको अवधारणासमेत छ । डिपिआर अनुसार १२७ मिटर लम्बाइ र १५ मिटर उचाइमा बाँध बाँधेर ५४ हेक्टर क्षेत्रफलमा करिब चार सय करोड लिटर पानी जम्मा गर्ने गरी ताल बनाउन लागिएको हो ।

नारायण नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत पञ्चकोशी मानवनिर्मित ताल निर्माणको योजना समावेश गरेको छ । धेरै लगानी लाग्ने भएपछि लगानी जुटाउन छलफललाई तीव्रता दिएको नगर प्रमुख लोमन शर्माले बताए । उनले नगरपालिका आफैँले यो काम सम्भव नहुने भएपछि लगानी जुटाउन पहल थालेको र ताल निर्माणको योजना अघि बढाउन विभिन्न क्षेत्रसँग छलफल भइरहेको जानकारी दिए ।

प्रदेश र सङ्घीय सरकारसँग समेत आयोजनालाई अघि बढाउन मागपत्र पेस गरिएको छ । प्रदेशमा मुख्यमन्त्री र सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मागपत्र पेस गरिएको जनाइएको छ । नगरपालिकाले पहिलो गौरवको आयोजनाका रूपमा पञ्चकोशी मानवनिर्मित ताल निर्माणलाई राखेको छ । ताल निर्माणका लागि डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सकिएको छ ।

पर्यटन प्रवर्धन गर्नका लागि कोटिलामा पञ्चकोशी मानवनिर्मित ताल निर्माण गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण गरेर धेरैभन्दा धेरै आन्तरिक पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य छ । नारायण नगरपालिका–९ का वडाध्यक्ष महेन्द्र खड्काले पर्यटन प्रवर्धनका लागि ताल निर्माण आवश्यक हुने बताउनुभयाे । 

पञ्चकोशी तीर्थस्थललाई प्रचारप्रसार गर्ने गरी नारायण नगरपालिकाले उक्त अवधारणा अघि सारेको हो । उहाँका अनुसार श्रीस्थान, नाभिस्थान, कोटिला, पाधुका, धुलेश्वरलगायत गन्तव्यमा आउने पर्यटकलाई लक्षित गरी ताल निर्माण गर्न थालिएको हो । पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न मानवनिर्मित तालको अवधारणा अघि सारिएको दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताउनुभएकाे छ । 

प्रतिक्रिया