भैँसेगौँडामा १७४ प्रजातिका चरा

भैँसेगौँडामा १७४ प्रजातिका चरा


गण्डकी-   तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका-२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन्।

‘प्रकृतिका साथी’ संस्थाले प्रत्येक वर्ष गर्दै आएको उक्त क्षेत्रको वन्यजन्तु अनुसन्धान विधि तालिमका क्रममा एक सय ७४ प्रजातिका चरा रहेको पाइएको हो। प्रकृतिका साथी संस्थाले देशका विभिन्न जिल्लाबाट सहभागी १३ जनालाई उक्त क्षेत्रमा १९ दिन तालिम दिएको संस्थाका निर्देशक राजु आचार्यले बताउनुभयो । 

तालिममा सहभागीलाई जंगलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुबारे जानकारी गराउने काम गरिएको उहाँले बताउनुभयो । ‘नेपालमा मात्रै पाइने काँडेभ्याकुर भैँसेगैँडामा पर्याप्त पाइन्छन्,’ उहाँले भन्नुभयो, ‘चाइना मंगोलियाबाट बसाइँ सर्ने सिकारी प्रजातिका चराहरू पनि यही स्थान भएर नेपालको तराईसहित भारततिर जाने भएकाले चरा अध्ययनका लागि यो महत्वपूर्ण गन्तव्य हो।’

तनहुँ र स्याङ्जाका विभिन्न भाग जोड्ने ७२ किलोमिटरअन्तर्गत रहेको सहश्राब्दी पदमार्गको ५२ किलोमिटर वनजंगल क्षेत्रमा पर्ने भएकाले चराचर, पर्यावरणलगायत वन्यजन्तु र वातावरणसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यो आकर्षक गन्तव्य बन्दै गएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।

चराकै कारण होमस्टे सञ्चालनमा

यस क्षेत्रमा काँडे भ्याकुरदेखि धेरै प्रजातिका चरा, वन्यजन्तु र वनस्पति पाइने भएकाले पर्यावरणीय अध्ययन तथा अनुसन्धानका लागि यो स्थल महत्वपूर्ण रहेको उनको भनाइ छ। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ‘मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गुरुङले बताउनुभयो ।

उहाँका अनुसार होमस्टेमा २० जनासम्म पर्यटक अटाउँछन्। अन्नपूर्ण, धवलागिरिलगायत हिमशृङ्खलाका साथै पहाडी दृश्यावलोकनका लागि पनि भैँसेगौँडा पुग्नैपर्ने गन्तव्य भएको बताउँदै गुरुङले पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या पनि बढ्दै गएको बताउनुभयो ।

गाउँको विकासका लागि सामूहिक प्रयासमा मेकाडामिया नटको खेतीसमेत गरेको भन्दै उनले स्थानीय उत्पादनमा जोड दिइएको बताए। पछिल्ला केही वर्षयता दुःख गरेर लगाएको खेती बाँदरले खाइदिने र असिनाले झारिदिँदा किसान मर्कामा पर्न थालेका भन्दै अध्यक्ष गुरुङले स्थानीयको जीवनस्तार सहज बनाउन सामूहिक प्रयासमा मेकाडामिया नटको खेती सुरु गरिएको बताउनुभयो ।

बाँदरले धेरै क्षति पुर्‍याउन नसक्ने भएकाले स्थानीय पनि यस खेतीतर्फ आकर्षित बन्दै गएका उनको भनाइ छ। ‘राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह’मा आबद्ध भई यहाँका २५ कृषकले पाँच सय बिरुवा लगाएकामा केहीले उत्पादनसमेत दिन थालेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उनका अनुसार भैँसेगौँडा आसपासका ओरष्टे, कोल्मा, काउले, बाकोटलगायत स्थानमा व्यक्तिगत रूपमा पनि कृषकले यो खेती गरेका छन्। भैँसेगौँडालगायत आसपासका क्षेत्रमा हालसम्म एक हजार पाँच सयभन्दा बढी बोट लगाइसकिएको उहाँले बताउनुभयो ।

अध्यक्ष गुरुङका अनुसार विसं २०७२ मा कृषि अनुसन्धान केन्द्र, मालेपाटन पोखराको पहलमा साविक राङभाङ गाविसका २५ कृषकले सामूहिक रूपमा मेकाडामिया खेतीका लागि पहिलोपटक नर्सरी तयार गरेका थिए। उत्पादनसँगै वरपरका पर्यटकीय सम्भावनायुक्त स्थललाई संरक्षण र विकास गर्न पनि यहाँका स्थानीयले जागरुकता देखाएका छन्। भैँसेगैँडासँगै जोडिएको स्याङ्जाको बिरुवा गाउँपालिका(३ स्थित रहस्यमय भ्वाङलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास थालिएको अध्यक्ष गुरुङले बताउनुभयो। रासस

प्रतिक्रिया