एक वर्षमा सल्यानमा ६ हजार बढी सवारीसाधनलाई कारबाही

एक वर्षमा सल्यानमा ६ हजार बढी सवारीसाधनलाई कारबाही


सल्यान  -   सल्यानमा गत आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियमको  उल्लङ्घन गर्ने ६ हजार बढी सवारी साधनलाई कारबाही गरिएको छ । एक वर्षको अवधिमा सवारी साधन कारबाहीबाट ५२ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गर्त आर्थिक वर्षमा ८ सय २६ बस, ९ सय ४७ ट्रक, १ हजार ३ सय २२ जिप कार, ३ सय ५१ ट्याक्टर, २ हजार ९ सय ५९ मोटरसाइकल र अन्य ३ सय ५० गरी ६ हजार ७ सय ५५ सवारी साधन कारबाहीमा परेका छन् । 

उक्त अवधिमा १६ पुरुष, ४ महिला र २ बालकको सवारी साधन दुर्घटनाबाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका कृष्ण प्रसाद मरासिनीले बताउउनुभयो । 

मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी सामान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभाबी पार्किङ गर्ने सवारी धनीहरूलाई कारबाही गरिएको उहाँले बताउनुभयो । जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दे आइरहेको छ । 

कार्यालयले सो अवधिमा विभिन्न विद्यालयका विद्यार्थी, व्यावसायिक, चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्वसाधारणलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको मरासिनीको भनाई छ  ।

प्रतिक्रिया