विकासको नाममा मासिदै इतिहासकालीन चौतारी

आधुनिक विकासकै निम्ति पुराना चौतारी बिनास कहिलेसम्म ?

विकासको नाममा मासिदै इतिहासकालीन चौतारी


गह्रुंगो भो घाँसको भारी, घाँसको भारी
भेटिएन बिसाउने चौतारी
डाँडै पिपल
डाँडै पिपल भाँच्यो हुरीले छैन शीतल....

गायिका मुना थापा मगरको यो गीतले वर–पिपल (चौतारी) बारे धेरै कुरा भन्छ। कुनै समय यस्तो पनि थियो, जहाँ प्रेमी होस् या बटुवा, वन-जंगल पाखा-पखेरा, लेकबेँसी खर्कबाट घाँस–दाउरा गरेर थकाइ मेट्न चौतारीमा पुग्थे। मेलापात गर्दा होस् या उकाली–ओराली, थकान महसुस भएपछि चौतारीमा बसेर सिर्सिरे बतासको आनन्द लिँदै प्रेमिल र आत्मीय गफ गर्थे।

यिनै चौतारीमा बसेर बूढापाकाहरू आफ्ना बालापनका दिन सम्झिँदै ठट्यौली गर्थे। यसरी चौतारीको शीतलमा बस्दाबस्दै समय बितेको पत्तो हुँदैनथ्यो। हो, कुनैबेला यस्तो पनि जुग थियो।

तर, पछिल्लो समय आयातित विकासको स्वरूप गाउँघरमा मोटर बाटो पुगेपछि यी सबै कुरा हराउन थालेका छन्। पहिले डाँडाको वर–पिपल हावाहुरीले भाँच्थ्यो। अहिले विकासका नाममा मान्छेले नै डोजर लगाएर उखेल्न थालेका छन्।

चौतारीमा मै बसे होला कि ?
वरको डाली नुगेर छोला कि ?

यिनै चौतारीमा कहिले सुखका त कहिले दुःखका भारी बिसाइन्थ्यो। कहिले मायापिरतीका कथा लेखिन्थ्यो। अनि कहिले परदेश गएका परदेशीको सम्झनामा गीत बनेर विरह पोखिन्थ्यो। घाँसदाउराको भारी बिसाई नौडाँडापारिको माइती देशको सम्झनादेखि सासूको शासनमा नवआगन्तुक बुहारीहरू यिनै चौतारीमा पीडाको आँसु बगाउँथे। खासमा वर–पिपलका चौतारीसँग हरेक नेपालीका कथा र सम्झना गाँसिएका छन्।

केही समयअघि मात्र दैलेखको ठाटीकाँध गाउँपालिका २ का रघे लुवार ठाटीकाँधका पिपल चौतारीमा बसेर आफ्ना दुःख मेटाउनुहुन्थ्यो। दिउँसोको टन्टलापुर घाममा घरबाट हिँडेर बजार पुग्ने उहाँ चौतारीमा बूढापाकासँग बसेर आफ्ना मनको बह पोख्नुहुन्थ्यो। तर चौतारी ढलेपछि पहिलेजस्तो त्यहाँ जान मन नलाग्ने गरेको उहाँ बताउनुहुन्छ। ‘पहिले डाँडाको चौतारी थियो,’ उहाँ भन्नुहुन्छ, ‘बूढो मान्छे, घरमा बस्दाबस्दा दिक्क लागेपछि आफ्ना सँगातीसँग चौतारीमा भलाकुसारी गर्दा बुढेसकाल लागेको महसुस नै हुन्थेन। अहिले चौतारी ढलेपछि त्यतातिर जान मनै लाग्दैन।’

गर्मीमा हिँडेर ठाटीकाँध बजार पुग्नेको बाटोभरिको थकाइ चौतारीमा विश्राम गर्दा हराइजान्थ्यो। अहिले त्यो चौतारी ढलेको छ। ठाटीकाँध गाउँपालिकाले सडक विस्तार गर्ने भन्दै चौतारी ढलाएको छ। पहिले ठाटीकाँध बजारलाई समेत उज्यालो बनाएको चौतारी अहिले उजाड डाँडाका रूपमा परिणत भएको स्थानीय बताउँछन्।

पाटीपौवा र चौतारीलाई गुरुकुल शिक्षाको पहिलो पाठशाला मानिन्छ। सामाजिक थलोको साझा चौतारीले बटुवाको थकान मेटाउने र बूढापाकाको दिन कटाउने काम गर्थे। तर यी र यस्ता पाटीपौवा तथा चौतारी विकासको निसानामा परेका छन्। आधुनिक विकासका नाममा यस्ता पाटीपौवा र चौतारी मासिन थालेको स्थानीय बताउँछन्।

विभिन्न इतिहास र संस्कृति बोकेका धेरै चौतारी आधुनिक विकासको निसानमा पर्न थालेका छन्। यसरी वर, पिपल, समी, टुनी, सिमललगायतका चौतारी, रुखबिरुवामा विकासको डोजर चल्न थालेपछि गाउँघरमा पानीका स्रोत समेत सुक्न थालेका छन्। चौतारी पाटीपौवा माँसिदै जाँदा पुराना धाराको पानीसमेत सुक्दै गएकोे नारायण नगरपालिका दैलेखका भक्तिकिशोर श्रेष्ठ बताउनुहुन्छ। आधुनिक विकासले पानीका मूल सुक्नेदेखि प्रकृतिलाई नै क्षति पुर्याएको उहाँको भनाइ छ।

गाउँघरको मध्य भागमा होस् या डाँडाको शिरमा, देउरालीमा होस् या भन्ज्याङमा, दिनप्रतिदिन इतिहास बोकेका चौतारी मासिँदै गइरहेका छन्। घरघर, गाउँगाउँ र डाँडापाखामा मोटरबाटो खुलेपछि केही चौतारी भने एक्लिएका छन्। यसरी चौतारी, पाटीपौवालाई अतिक्रमण हुनबाट बेलैमा बचाउन नसक्ने हो भने भावी सन्ततीले इतिहासमा चौतारी पनि थिए भनेर पाठ्यक्रममा पढ्नुपर्ने दिन नआउला भन्न सकिँदैन।

चौतारा मासिएपछि समस्या भएको नारायण नगरपालिका दैलेखका मणिराम रेग्मी बताउनुहन्छ। गाउँठाउँकै विकासको पहिचान गरी अघि बढ्ने जिम्मा पाएको स्थानीय तहले पनि यतातिर चासो नदिँदा चौतारी मासिन थालेको उहाँ बताउनुहुन्छ। यस्तै, समुदायसँग बसेर आवश्यकताको पहिचान गरिरहेको नारायण नगरपालिका दैलेखका उपमेयर तप्तकुमारी थापा बताउनुहुन्छ। ‘पाटीपौवा, चौतारी, मठमन्दिरको आवश्यकता पहिचान भएको छ,’ थापा भन्नुहुन्छ, ‘हामी नीति नै ल्याएर अघि बढ्छौँ। सामाजिक सांस्कृतिक रूपमा मात्र नभएर आध्यात्मिक हिसाबले पनि चौतारीको ठूलो महत्व छ।’

गाउँघरमा शीतल हावा मात्र होइन स्याउलासमेत चौतारीबाट उपलब्ध हुन्छ। आधुनिक विज्ञानले पनि पिपलबाट प्रशस्त मात्रामा अक्सिजन पाइने पुष्टि गरेको छ। ‘धर्म गर्नु छ भने चौतारो लगाउनू’ भन्ने पुरो भनाइ सुन्दै आएको अहिलेको पुस्ता नै विकासका नाममा चौतारी विनाशमा लागेको छ। यसले सांस्कृृतिक मात्र नभएर पर्यावरणीय प्रभावसमेत चुलिँदै जाने जानकारहरू बताउँछन्।

‘बाटो बनाउँदा, विद्युत् विस्तार गर्दा अरु बोटबिरुवा मासिए,’ दैलेखको आठबीस नगरपालिकाका रमेश बडुवाल भन्नुहुन्छ, ‘गाउँलाई स्वच्छ बनाउने यिनै वर–पिपल हुन्। धेरै रुख बुढा भैसके। यिनको विकल्पमा अरू वर–पिपल हुर्काउन जरुरी छ।’

धार्मिक आस्थासँग जोडिएको, प्राकृतिक र वैज्ञानिक दुवै दृष्टिकोणले महत्वपूर्ण र गाउँको पहिचानसँग जोडिएका वर–पिपलको संरक्षण सबै तहबाट हुुुनुपर्ने उहाँको धारणा छ।

‘पिपल रुख मात्रै नभएर शितलता प्रदान गर्ने बिरुवामध्येकै शुद्ध वृक्ष भएको कलाकार प्रेमदेव गिरी बताउनुहुन्छ। हिन्दू धर्ममा पिपल वृक्षको विशेष महत्व रहेको र यसलाई विश्ववृक्ष, चैत्यवृक्ष अथवा वासुदेवको नामले पनि चिनिन्छ,’ उहाँले भन्नुभयो, ‘पिपल भनेको एउटा आँगन हो। सार्वजनिक ठाउँ र बाटोघाटोको शोभा बढाएर शितलता दिएको वृक्षलाई संरक्षण गर्नु सबैको साझा दायित्व रहन्छ।’

वर–पिपलका चौतारी गाउँघरका ‘कुलर’

वर–पिपलका चौतारी सहरका कुलर, एसीजस्तै रहेको र यसको संरक्षणमा ध्यान दिनुपर्ने प्रदेश आयुर्वेदिक अस्पताल तथा अनुसन्धान केन्द्र कर्णाली प्रदेशका निमित्त प्रमुख डाक्टर शंकर रिजाल बताउनुहुन्छ। ‘हामीले आधुनिकताको नाममा पुराना र राम्रा अभ्यास भुल्न थाल्यौं भने के हुन्छ ?  गाउँका चौतारा, पाटीपौवा हाम्रा एसी, कुलर हुन्,’ उहाँले भन्नुभयोे, ‘यिनको संरक्षण आवश्यक छ।’

रिजालका अनुसार कुनै जुगजमाना थियो, जतिबेला धर्म कमाउन बाजेबराजुले डाँडामा वर–पिपल रोप्थे। पछिल्लो समय त्यो क्रम लोप हुँदै गएको छ। अहिलेको पुस्ता प्राचीन, धार्मिक, सांस्कृति र पर्यावरणीय महत्व बोकेका चौतारी मास्न प्रतिस्पर्धा गरिरहेको छ। यस्ता चौतारीको संरक्षणमा स्थानीय, प्रदेश र संघ सरकारले बेलैमा ध्यान दिुनपर्ने हुन्छ।

यसैगरी हिन्दू धर्म–संस्कृतिमा वरको बोटलाई पूज्य मानिएको वरिष्ठ आयुर्वेद डाक्टर रामबहादुर बोहरा बताउनुहुन्छ। उहाँका अनुसार अलग–अलग देवअनुसार फरक–फरक बोट उत्पन्न भएका छन्। वरको जरामा पूजा गर्नाले मनइप्सित फल प्राप्त हुने उल्लेख छ। यस्तै वर–पिपल दुवैको पूजा गर्दा सन्तान सुख हुने भनिएको छ।

तर विडम्बना भन्नुपर्छ, धर्म, संस्कृति, इतिहास र पर्यावरणीय महत्व बोकेका वर–पिपलका चौतारीहरू डोजरे विकासको निसाना परी मासिँदै गइरहेका छन् । जलवायु परिवर्तनमा समेत विशेष भूमिका रहने यस्ता वृक्षको संरक्षणमा सरकारले यथाशीघ्र ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया