पूर्वमुख्यमन्त्री शाहीद्धारा एमआई सेभेन्टिन हेलिकोप्टरको सुर्खेतमा व्यवस्था गर्न माग

पूर्वमुख्यमन्त्री शाहीद्धारा एमआई सेभेन्टिन हेलिकोप्टरको सुर्खेतमा व्यवस्था गर्न माग


सिमकोट – पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश सभामा बर्खायाम भरी नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरको सुर्खेतमा व्यवस्थाका लागि संघीय सरकारसँग माग गर्नुभएको छ ।

सडक यातायात नजोडिएको साविक कर्णालीका हिमाली जिल्लामा उद्धार तथा राहत सामग्री ढुवानीका लागि प्रदेश सभामार्फत शाहीले संघ सरकारसँग माग गर्नुभएको हो ।

प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै हुम्ला जिल्लाको ख नम्बर क्षेत्रका सांसदसमेत रहेका शाहीले सानो खाले हेलिकोप्टरले उद्धार र राहत ओसार्न कठिन हुने भएकाले संघ सरकारले सेनाको एमआई हेलिकोप्टरको बर्खाका लागि मात्र भए पनि व्यवस्था गर्न माग गर्नुभयो।

यसअघि देश तीन क्षेत्रमा सरकार उद्धार तथा राहतका लागि उक्त हेलिकोप्टरको व्यवस्था गरेको स्मरण गराउँदै अहिले पनि कर्णालीका लागि सो सुविधा आवश्यक रहेको संसद्मा आवाज उठाउनुभएको थियो ।

हुम्ला जिल्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको जिल्ला हो। शुक्रबार राति हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिकाका चार वटा बस्तीमा बाढी–पहिरो गएर धनमाल क्षति भएको थियो।

प्रतिक्रिया