दुर्गम ठाउँमा परियोजनाहरु बिस्तार गर्न सुझाव
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले गैरसरकारी संस्थाहरुले दुर्गम र अविकसित ठाउँमा पनि परियोजनाहरु बिस्तार गर्न सुझाव दिनुभएको छ । ‘नेपालमा प्रारम्भिक बालविकास शिक्षा तथा विकास सवलीकरणका लागि प्रारम्भिक सिकाई तथा विकास मापदण्ड परियोजना’ समीक्षा कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
यूनिसेफको सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुर र सेतो गुराँस बाल विकास सेवा दैलेखको सहजीकरणमा नारायण नगरपालिकाले आइतबार दैलेख सदरमुकाममा गरेको समीक्षा वैठकमा प्रमुख शाहीले परियोजनाले विद्यालयमा पढ्न अघि संवेगात्मक विकासका लागि उत्कृष्ट सिकाई अभ्यास ग्रामीण र विकट गाउँबस्तीमा झनै जरुरी रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो यस्तो कार्यक्रम दैलेखका ११ वटै स्थानीय तहमा सञ्चालन गर्न जरुरी छ ।
बैठकमा नारायण नगरपालिका मेयर लोमन शर्माले सेतो गुराँसको परियोजनाले शिक्षक, विद्यार्थी र अभिभावकलाई दिइने ज्ञान, सीप बालविकास केन्द्रका बालबालिकालाई प्रेरित गर्ने मनोवैज्ञानिक तवरतरिकाहरु सञ्चालन भइरहेको भन्दै परियोजनाको प्रभावको प्रशंसा गर्नुभयो ।
सेतो गुराँस बाल विकास सेवा दैलेखका कोषाध्यक्ष गंगाराम रोकायले बालबालिकाको शिक्षामा गरिएको लगानीले देशेको उज्ज्वल भविष्य बनाउन सक्ने असल कर्णधार उत्पादन हुन सके दिगो प्रतिफल प्राप्त हुने बताउनुभयो । त्यसबखत सेतो गुराँस बाल विकास सेवा दैलेखका कार्यकारी निर्देशक राधा मल्लले परियोजनाले गरिरहेका काम र सिकाई प्रभाव बारे प्रस्तूती गर्नुभएको थियो ।
नारायण नगरपालिका क्षेत्रका ४३ विद्यालय मध्ये बालविकास केन्द्र सञ्चालन गरिरहेका ३८ विद्यालयमा प्रारम्भिक बालविकास, अभिभावक शिक्षाको महत्व, सहजीकरण विधि, प्रक्रिया र शिक्षाप्रति जागरुकता निम्ति स्थानीय ज्ञान, सकारात्मक चलन, समस्याको बिश्लेषण, प्रभावकारी शिक्षा संकल्प विषयमा परियोजनाले सहजीकरण गर्दै आएको बताइएको छ ।
प्रतिक्रिया