प्रहरी हिरासतमा पुस्तकालय
दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले मुद्दाको अनुसन्धान प्रक्रियाको क्रममा हिरासतमा थुनिएकाहरु व्यक्तिलाई समय गुजार्न र ज्ञानका लागि पुस्तकालय व्यवस्थापन गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल थुनुवाहरुलाई पुस्तक वितरण गरेर सोमवार पुस्तकालयको शुभारम्भ गर्नुभयो ।
बिभिन्न उद्योग, व्यबसायी, भद्रभलादमी, बुद्दिजिवी, तथा प्रहरी कर्मचारी समेतको सहयोगमा बिभिन्न बिधाका उपन्यास, कथा, कविता, निवन्ध, धार्मिक ग्रन्थ, सामान्यज्ञान जस्ता दुई सय भन्दा बढी पुस्तकहरू राखिएको बताइएको छ । स्वच्छिक रुपमा पुस्तक दिनेहरुको अभिलेख राखिने जानकारी दिइएको छ ।
प्रहरी हिरासतमा रहेका व्यक्तिहरुले लिएको पुस्तक भरपाई गरी पढ्न दिने र पढिसकेपछि फर्काउने र अर्को पुस्तक पढ्न पाउने तर मुद्दाको अनुसन्धानपछि अभियोग पेश भएपछि अदालतले कारागार चलान हुने वा धरौटीमा छुटेकाहरुले पुस्तक फर्काउनुपर्ने नियम बनाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुरुषोत्तम कार्कीले बताउनुभयो ।
हिरासतमा रहेका व्यक्तिहरुलाई पुस्तक पढ्ने व्यवस्था गराएको जानकारी पाएर आफूलाई खुशी लागेको दैलेख अदालत बार इकाईका अध्यक्ष ललित थापाले बताउनुभयो । उहाँले पुस्तक बाहेक रेडियो र टेलिभिजनको पनि व्यवस्था सके सूचना सञ्चारमा राम्रो हुने सुझाव दिनुभएको छ ।
प्रतिक्रिया