सामाजिक न्यायको लागि मिडियाको भूमिका महत्वपूर्ण
दैलेख – जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले आमसञ्चार माध्यमहरुले सामाजिक न्यायको लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । रेडियो मातृभूमिले आयोजना गरेको एक हप्ते रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
‘रेडियो मातृभूमिले एक वर्ष अवधिमा आवाज विहीनहरुको आवाज बनेको र सूचना तथा सञ्चारमा रचनात्मक भूमिका खेलेको छ । रेडियोले आगामी दिनमा अझैं धेरै प्रगति गर्दै जाओस्’ उपप्रमुख शाहीले रेडियोलाई शुभकामना दिनुभयो ।
त्यसबखत नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजालले नेपाली पत्रकारिता अभाव र असहजतामा गुज्रिएको बताउदै पत्रकारमा आउन चाहेका प्रशिक्षार्थीहरुलाई दृढता र आत्मबिश्वासका लागि व्यवसायिक पत्रकारितामा जुट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पुस्कर थापाले पत्रकारिता जति चुनौतीपूर्ण त्यति अवसर र सम्भावनाहरु पनि रहेको बताउनुभयो । रेडियो मातृभूमिका प्रवन्ध निर्देशक भीम सिजापति, पत्रकार अमर सुनार र भरतराज अधिकारीले पनि दैलेखको पत्रकारिता र प्रशिक्षार्थी पत्रकारहरुसंग गरिएको अपेक्षा बारे प्रकाश पार्नुभएको थियो ।
रेडियो मातृभूमिले एक वर्ष पूरा गरेको अवसरमा आयोजना गरिएको एक हप्ते रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिममा ९ महिला सहित २२ जना प्रशिक्षार्थीहरुको सहभागिता छ । तालिममा पत्रकारिता सम्वन्धी आधारभूत सैद्धान्तिक ज्ञानसंगै प्रयोगात्मक अभ्यास गराइने प्रमुख प्रशिक्षक अमर सुनारले बताउनुभयो ।
यसैगरी रेडियो मातृभूमिको वार्षिकोत्सवको साप्ताहिक कार्यक्रम अनुसार पहिलो दिन दैलेख अस्पतालका ४१ जना विरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजाल, दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मी, दैलेख उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश हमाल समेतको उपस्थिति फलफूल वितरण गरिएको थियो ।
प्रतिक्रिया