विद्यार्थीको आकर्षण बढाउन आवासीय शिक्षा

विद्यार्थीको आकर्षण बढाउन आवासीय शिक्षा


सल्यान -   सामुदायिक विद्यालय तर्फ विद्यार्थीको आकर्षण बढाउन भन्दै सल्यानको एक विद्यालयले आवासीय सहितको पठनपाठनको व्यवस्था गरेको छ । भौगोलिक रुपमा विकटता भएको र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने लक्ष्यका साथ कपुरकोट गाउँपालिका ४ मा रहेको श्री प्राथमिक विद्यालयले आवासीय सेवा सहितको पठनपाठन सुरु गरेको हो । 

प्राथमिक विद्यालयको सेवा क्षेत्र भित्र रहेर हिँडेर आउने बालबालिकालाई आवासीय विद्यालयको अवधारणा सञ्चालन गरिएको प्रधानाध्यापक  डिल बहादुर थापाले बताउनुभयो ।

 विद्यालयको आवश्यकता अनुसार शैक्षिक सुधार गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय व्यवस्थापन समितिको प्रस्ताव  अनुसार अभिभावकको बृहत् भेलाको निर्णयबाट आवासीय शिक्षा कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ । विद्यालयको सेवा क्षेत्र भित्र रहेका विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमा आकर्षण गर्न आवासीय शिक्षा सञ्चालन गरिएको बताउनुभयो ।

विद्यालयमा बाल विकास सहित विद्यार्थीको सङ्ख्या ५७ छ भने कक्षा १ देखि ५ सम्म ६ जना शिक्षकले पडाउँछन् । शिक्षकहरूले विद्यालयको समय बाहेक बिहान २ घण्टा र बेलुका २ घण्टा अतिरिक्त पढाउने गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर थापाले आधारभूत विद्यालयमा सल्यान जिल्ला मै पहिलो पटक आवासीय शिक्षा कार्यक्रम सञ्चालन गरेको दाबी गर्दै आवासीय शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताउनुभयो ।

थापाले विद्यार्थीहरूलाई सुरक्षित रुपमा स्कुलमै बसेर पढ्ने वातावरण बनाएको बताउनुभयो । उहाँले भन्नु भयो साना बालबालिकाहरू विद्यालय आउन जान गाह्रो हुनु साथै पढ्ने समेत समय नपाउने हुँदा अभिभावकहरूकै सल्लाह अनुसार आवासीय पठनपाठनको व्यवस्था गरेका हौँ ।  विद्यालय हाता भित्र रहेका समिति स्रोत साधनको अधिकतम प्रयोग गरेर आवासीय शिक्षा सञ्चालन गर्दै आइरहेको थापाको भनाई छ । 

कपुरकोट गाउँपालिका अध्यक्ष तथा शिक्षा समिति संयोजक दुर्गा बहादुर पुनले प्राथमिक विद्यालयले आवासीय शिक्षा कार्यक्रम सुरुवात गरेर शिक्षामा नयाँ आयाम ल्याएको बताउनुभयो ।

अध्यक्ष पुनले विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको अवस्थामा शिक्षालाई गुणस्तरीय बनाई अभिभावकको मन जित्न आवासीय शिक्षा कार्यक्रमले प्रभावकारी भूमिका खेल्नमा सहयोग गर्ने बताउनुभयो । विद्यालयले सञ्चालन गरेको आवासीय शिक्षा कार्यक्रम प्रभावकारी भएमा कार्यक्रमलाई गाउँपालिका भर लागु गर्ने अध्यक्ष पुनको भनाई छ । सल्यानखबर

प्रतिक्रिया