अब मदिरा सेवन गर्न लाईसेन्स अनिवार्य

अब मदिरा सेवन गर्न लाईसेन्स अनिवार्य


 

जुम्ला-  के तपाईलाई थाहा छ? मदिरा सेवन गर्न लाईसेन्स चाहिन्छ  भनेर । यदि छैन भने अब थाहा पाउनुहोस् । गुठिचौर गाउँपालिकामा मदिरा सेवन गर्नेलाई लाईसेन्स अनिवार्य गरेको छ ।

 गाउँपालिकाले आगामी भाद्र १ गतेदेखि लागू हुने गरी लाईसेन्स अनिवार्य गरेको हो । गाउँपालिकाका प्रवक्ता अर्जुन कुमार महताराका अनुसार गाउँपालिकालाई मदिरा निषेधित पालिकाु घोषणा गर्नको लागि लाइसेन्स अनिवार्य गरेको हो । 

उनले सोलाई कार्यान्वयनमा ल्याउनका लागि मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि  जारी गरेको बताउनुभयो । सो कार्यविधिलाई आधारमा मानेर लाईसेन्स अनिवार्य गरेको उहाँले बताउनुभयो । 

उहाँले सो कार्यविधि अनुसार पालिकाभित्र मदिरा उत्पादन गर्ने, वितरण गर्ने, सेवन गर्ने तथा ओसार पसार गर्ने सबै व्यक्तिले अनिवार्य रुपमा लाईसेन्स लिनु पर्ने छ । लाइसेन्स नलिई सो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । 

मदिरा सेवनले पालिका क्षेत्रमा धेरै विकृती फैलिएको छ । शान्ति सुरक्षामा समेत असर परेको छ, उहाँले भन्नुभयो, सो नियन्त्रणका लागि पालिकाले सो निर्णय गरेको हो । 

उनले लाईसेन्स बनाउनका लागि नेपाल सरकारको प्रचलित कानुन बमोजिमको प्रक्रिया लागू हुने बताउनुभयो । गाउँपालिकामा ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिएर लाइसेन्स दिन सकिने छ, उहाँले भन्नुभयो, थोरै मदिरा सेवन गर्ने तथा घरमै सेवन गर्नेलाई सो लागू हुँदैन ।

उनका अनुसार एक व्यक्तिले एक दिनमा बियर अधिकतम एक बोतल र हार्डड्रिंक्स १ सय ८० मिलिलिटर मात्र सेवन गरेमा सो लागू हुँदैन । सोभन्दा बढी पिउनु परेमा मात्रै लाईसेन्स अनिवार्य रहेको उहाँले बताउनुभयो  । 

उहाँले पालिकाभन्दा बाहिरका लागि  एक सय रुपैयाँमा अतिथि मदिरा कार्ड उपलब्ध गराइने बताउनुभयो  । 

प्रतिक्रिया