दैलेखमा लम्पी स्किनबाट पाँच सय चौरानब्बे पशु मरे

दैलेखमा लम्पी स्किनबाट पाँच सय चौरानब्बे पशु मरे

दैलेख – दैलेखका ११ वटै पालिकामा फैलिएको लम्पी स्किन रोगले पाँच सय ९४ चौपायको मृत्यू भएको र ७४ हजार सात सय ५३ पशुचौपाय बिरामी परेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जनाएको छ । 

मर्ने पशुबस्तुहरु सबै गाईगोरु भएको र बिरामी पर्नेहरुमा भैंसी समेत रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भीमबहादुर बिष्टले बताउनु दिनुभयो । बिरामी मध्ये १९ हजार नौ सय ६४ पशु चौपाय निको भएका उहाँले जानकारी दिनुभयो । 

लम्पी स्किन संक्रमणबाट पशुहरुमा फोको उढ्ने, पाक्ने र किरा पर्ने गरेको पाइएको बताउदै पशु सेवा केन्द्र र स्थानीय तहका पशु सेवा प्राविधिकहरु परिचालन गरी प्राथमिक उपचार प्रयास गरिएको बिष्टले बताउनुभयो । 

प्राथमिकता उपचारपछि पनि निको नभएका पशु बस्तुहरुको थप उपचारका लागि प्रदेश सरकारको पाँच लाख र पशु अस्पताल दैलेखको एक लाख ८५ हजार रुपैंयाँ औषधि जिल्लाका ११ पालिका र पशु अस्पतालमा पठाइएको जानकारी दिइएको छ । 

जिल्लामा प्राप्त भएको एक हजार डोज खोप प्राप्त भएको मध्ये दुल्लू र आठबीस नगरपालिका, ठाँटीकाँध, महाबु र भगवतीमाई गाउँपालिका समेत पाँच वटा पालिकामा चार सय पैतीस पशुबस्तुलाई लम्पी स्किन खोप लगाएको बताइएको छ । 

पशुबस्तु मरेका किसानहरुलाई क्षतिपूर्ति र उपचारमा सरकारी निकायबाट सन्तोषप्रद तरिकाबाट तत्परता नपाइएको राष्ट्रिय कृषक समूह महासंघका कर्णाली प्रदेश सदस्य तेजबहादुर थापाको गुनासो छ । 

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार दैलेखमा किसानहरुले एक लाख २७ हजार छ सय २१ वटा गाईगोरु र एक लाख एक हजार चार सय तीन भैंसी पालेका छन् । परापूर्व कालमा दूधदही धेरै पाइने भएकोले जिल्लाका नाम दहीलेख हुँदै ‘दैलेख’ रहन गएको किवदन्ती छ । 

प्रतिक्रिया