उपप्रधानमन्त्री खड्काद्वारा बारुदखाना निरीक्षण

उपप्रधानमन्त्री खड्काद्वारा बारुदखाना निरीक्षण


काठमाडौँ -  उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गर्नुभएको छ  ।

नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपूर्तिका लागि पहल गर्ने स्पष्ट पार्नुभयो  । 

करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले नेपाली सेना र यसमा काम गर्ने जनशक्तिको गौरव बढेको भन्दै उहाँले सैनिक सामग्री निर्माण र अनुसन्धान गर्दा व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । 

निरीक्षणका क्रममा उहाँले केही वर्षदेखि विकास निर्माणमा समेत प्रयोग हुने विस्फोटक पदार्थको उत्पादन कच्चा पदार्थको अभावमा रोकिएपनि त्यसलाई खुलाउन सरकारले चाँडै पहल गर्ने समेत बताउनुभयो । 

नेपाली सेनाका लागि हातहतियार तथा विस्फोटक पदार्थ उत्पादन गर्ने स्वयम्भू बारुदखानाको क्षमता बढाउन आवश्यक भएको भन्दै उहाँले नीतिगत निर्णयका लागि सरकार सधैँ सकारात्मक रहेको स्पष्ट पार्नुभयो  । 

सो अवसरमा उपप्रधामन्त्री खड्काले बारुदखानाको ल्याब तथा उत्पादनस्थल निरीक्षण गर्नुका साथै सम्बन्धित अधिकारीसँग जानकारी लिनुभएको थियो  । निरीक्षणका क्रममा उपप्रधानमन्त्री खड्कासहित प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मासहित उच्च सैनिक अधिकारीको समेत सहभागिता थियो ।

प्रतिक्रिया